‘स्टोरी टेलर’ शङ्करलाल सर र साँढे महाराजको कथा

ध्रुव सिम्खडा

फागुन २४ गते शनिबार अपरान्ह ‘घाम–पानी, घाम–पानी स्यालको बिहे’जस्तै भइरहेको थियो । मौसम कहिले खुल्ने अनि कहिले धुम्मिने।२०४० सालमा शान्ति विद्यागृह मावि, लैनचौरबाट एसएलसी दिएका हामी ५२ भाइ बालाजु बाइसधारा पार्कमा भेला भएका थियौं— एउटा सानो वनभोज कार्यक्रमको आयोजना गरेर । त्यस दिन हामीले सर, मिसहरूलाई अभिनन्दन गर्ने कार्यक्रम राखेका थियौं ।

‘स्टोरी टेलर’ शङ्करलाल सर र साँढे महाराजको कथा

‘विन्डप्रुफ ज्याकेट’ लगाएर शङ्करलाल सर लौरो टेक्दै साढे २ बजेतिर पार्क प्रवेश गर्नुहुँदा केही साथीले उहाँलाई बोक्न खोजे । तर, सर मान्नु भएन । गफ गर्दै मज्जाले हिँडेर छाप्रो (सेड) भित्र छिरेर कुर्सीमा बस्न मात्र भ्याउनु भएको थियो, साथीहरुले एक स्वरमा भने– 'शङ्करलाल सर ! आज बादल लागेको छ, पानी पर्न खोज्दैछ । कथा भन्ने सर, कथा।'

सरोज जिसी र पुरूषोत्तम खकुरेलले भूतको कथा र सान्‍चा पहलमानको कथा भन्ने कि सर ? भन्नासाथ सरले भन्नुभयो, ‘आज कथाभन्दा पनि एउटा वास्तविक इतिहासको कुरा गरौं कि ? त्योभन्दा कथाजस्तै लाग्छ । तर कथा होइन, इतिहास हो है !’

हामीले एकै स्वरमा ‘हुन्छ’ भन्यौं ।

किनकि, ३६ वर्ष पहिले हामी अलि धुम्मिएको, पानी परेको, जाडो अनि गर्मीका दिन नपढ्ने कुरा गर्थ्यौं । पढाइ छल्ने हाम्रो दाउ (बहाना) हुन्थ्यो । हाम्रो त्यस्तो बहाना बुझेर शङ्करलाल सर पनि कहिले सान्चा पहलमानको कथा सुनाउनु हुन्थ्यो त कहिले गुरुमापाको । कहिले भूतको कथा त कहिले आजुजे हाको कथा । शङ्करलाल सर कथाकुथुङ्ग्री, कहानी र किम्बदन्तीहरूको त खानी नै हुनुहुन्छ । वास्तवमा, उहाँ यो सहरको एउटा नामुद ‘स्टोरी टेलर’ नै हो ।

त्यस दिन पनि हामीले घेरा हालेर कथा सुनाउन आग्रह गरेपछि उहाँले कथा भन्न थाल्नु भयो । हामीलाई ३६ वर्ष पहिलेकै कक्षाकोठामा पुगेको भान भयो ।

शङ्करलाल सर कथा भन्न लाग्नु भयो । हामी सुन्न लाग्यौं । ९३ वर्षमा पनि उहाँको उस्तै जोश । कथा भन्ने उस्तै रोमाञ्‍चक शैली र सन्दर्भ ।

त्यस दिन सरले साँढे महाराजको कथा सुनाउनु भयो । वास्तवमा, त्यो अलिखित इतिहास थियो । जुन कथा उहाँको प्रकाशोन्मुख कथासंग्रह ‘इन्द्र या यात्रा कुमारी या जात्रा’को एक अंश हो ।

*****

कलाकार चन्द्रमान मास्के सँधै ४ बजेतिर हातमा कुची र कापी बोकेर लैनचौर दूध डेरी अघिल्तिर जाने गर्थे । के गर्न गएका होलान् भनेको त, दुध डेरी अघिल्तिरको कुनामा रहेको एउटा रूखमुनि एउटा साँढे सँधै त्यही समयमा त्यहाँ आएर बस्दोरहेछ । मास्के त्यो छिर्बिरे, यामानको साँढे हेरेर त्यसको चित्र उतार्न त्यहाँ जाँदा रहेछन् ।

मास्केले धेरै दिनसम्म साँढेलाई हेरेर त्यसको उस्तै चित्र त उतारे तर, त्यो कसलाई देखाउने ? को होला काठमान्डू सहरमा पशुपन्छीबारे रूचि राख्ने भनेर बुझ्न थाले । बुझ्दै जाँदा तत्कालीन जङ्गीलाठ मोहनशमशेरले नै पशुपन्छीबारे रूचि राख्ने कुरा थाहा पाएपछि साँढेको त्यो चित्र उनले मोहन शमशेरकहाँ पठाइदिए ।

मोहनशमशेरकहाँ जब त्यो साँढेको चित्र पुग्यो उनले चित्रकार मास्केलाई उपस्थित गराउन आदेश दिए । मास्के मोहनशमशेरको दरबारमा पुगे । मोहनशमशेरले सोधे, ‘ए, यस्तो साँढे कहाँ छ, हँ ?’

मास्केले भने, ‘सरकार ! लैनचौरको पूर्वपट्टिको छेउमा रहेको एउटा रूखको फेदमा यो साँढे हरेक दिन ४ बजेतिर आएर बस्ने गर्दोरहेछ । मैले त्यहीँ गएर त्यसैलाई हेरेर यो चित्र कोरेको हुँ।’

मोहनशमशेरले भने, ‘ल, जा ।’

त्यसपछि पशुपन्छीका सौखिन मोहनशमशेरले आठपहरियाहरूलाई आदेश दिए, ‘यो साँढे कहाँ छ ? यसको हेरचाह कसले गर्दोरहेछ ? त्यो सबै पत्ता लगाएर हाजिर गराउनू ।’

मोहनशमशेर महाराजको हुकुम शिरोपर गर्दै आठपहरियाहरू कत्ति पनि बिलम्ब नगरी साँढेको खोजीमा लागे । साँढे र त्यसको हेरचाह गर्ने दुईजनालाई भेट्टाएर मोहनशमशेरको दरबारमा दाखिला गराए ।

मोहनशमशेर महाराजले तुरून्त साँढेलाई गोठमा राख्न र ती दुईजनालाई त्यसको हेरचाह गर्न आदेश दिँदै भने, ‘तिमीहरूले यो साँढेको राम्ररी हेरचाह गर्नु । यदि यसलाई तलमाथि भएको समाचार लिएर तिमीहरूले मसामु आयौ भने तिमीहरूको पनि ज्यान बाँकी रहने छैन ।’

आदेशमुताविक साँढे राख्ने गोठ तयार भयो । दुईजना स्याहार–सुसारमा खटिए । तुरून्त जागिरको पनि बन्दोबस्त भयो । तर, यदि साँढेलाई केही भइहाल्यो भने त ज्यान जोखिममा पर्ने भयो भन्ने भयले ती दुईजना सुसारे चिन्तित थिए । मनमा जतिसुकै चिन्ता भए पनि महाराजको हुकुम मान्नै पर्ने । त्यसलाई अटेरी गर्ने कसको हिम्मत ?

साँढेले तुरून्तै कर्णेलको दर्जा पायो । सोही मुताविकको खान्गी पनि तोकियो । त्यस उप्रान्त साँढे कर्णेलले सलामी पाउन थाल्यो । अनि हरेक दिन मोहनशमशेरको दरबारमा कर्णेलमुनिका सकल दर्जाले साँढेलाई सलामी दिनुपर्ने भयो ।

हरेक दिन मोहन शमशेर सुसारेहरूलाई सोध्थे, ‘साँढे महाराजलाई कस्तो छ ?’ सुसारेहरू ठीक भएको बिन्ती बिसाउँथे । एवं रितले दिनहरू बितिरहेका थिए । सबै कुरा राम्रै भइरहेको थियो । साँढे मोहनशमसेरको यति प्यारो भइसकेको थियो कि उनले फरमान जारी गरेका थिए- यदि कसैले यो साँढेसम्बन्धी कुनै नराम्रो वा अप्रिय कुरा मलाई सुनायो भने त्यसको ज्यानसम्म जान सक्नेछ ।

तर, एकदिन एक्कासि साँढे बिरामी पर्‍यो । अब यो कुरा मोहनशसशेरलाई सुनाउनु भनेको ज्यान हत्केलामा राख्नु सरह भयो । दुईजना सुसारे यो कुरा उनलाई सुनाउन तयार भएनन् ।

हरेक दिनजस्तो उनीहरुलाई महाराजको सामुन्ने उपस्थित गराइयो । तर उनीहरु केही बोल्नै सकेनन् । एकले अर्कालाई हेरेर चुपचाप बस्नेबाहेक तिनको वाक्य नै फुटेन ।

मोहन शमशेरले सोधे, ‘के साँढे महाराजलाई सञ्‍चो छैन ?’

सुसारेहरू अवाक उभिइमात्रै रहे । महाराजले फेरि सोधे, ‘किन नबोलेको ?’

महाराज, ‘के उसले दाना खाएको छैन ?’

दुवैजना सुसारेले मुन्टो हल्लाउँदै इशारा गरे, ‘हो सरकार ।’

महाराज, ‘के उसले आँखा हेरेको छैन ?’

दुवैजना सुसारेले फेरि मुन्टो हल्लाउँदै सहमति जनाए, ‘हो सरकार ।’

महाराज, ‘के उसले सास पनि फेरेको छैन ?’

दुवैजना सुसारेले मुखामुख गर्दै मुन्टोमात्र हल्लाए, ‘हो सरकार ।’

आठपहरियाहरूसहित मोहनशमशेर साँढे महाराजलाई हेर्न गए । साँढे महाराज इन्तु–न– चिन्तु थियो । आँखा बन्द थियो ।

मोहनशमशेरबाट आदेश भयो, ‘ल, यसको पशुपतिमा लगेर विधिपूर्वक सद्गद् गर्नू ।’ त्यसपछि पशुपतिमा विधिपूर्वक साँढे महाराजको सद्गद् भयो ।

सुन्नेलाई सुनको माला, भन्नेलाई फूलको माला भन्दै शङ्करलाल सरले साँढे महाराजको कथा विट मार्नु भएको थियो ।

साँढे महाराजका सुसारेहरूको ज्यान र जागीर दुवै जोगियो । किनकि, तिनीहरूले आफ्नै मुखले साँढे महाराज मरेको कुरा मोहनशमशेरलाई सुनाएका थिएनन् । खाली मोहन महाराजले सोधेको सवाल जवाफमा मुन्टो हल्लाएरमात्र साँढे महाराजको मृत्युको पुष्टि गरेका थिए । यसैले यदि यो समाचार भनेबापत ज्यान जाने हो भने मोहन शसशेरकै जानु पर्ने भयो ।

*****

ठहिटी, क्वाःबहालमा जन्मिएका शङ्करलाल मानन्धरले २००४ देखि २०४९ सालसम्म शान्ति विद्यागृह माविमा ऐच्छिक गणीत (अप्सलन म्याथ) पढाउनु भयो ।

उहाँले ४६ वर्षसम्म ‘साइन थिटा’ र ‘कस बिटा’मात्र पढाउनु भएन सान्चा पहलमान र भूतका कथा पनि सुनाउनु भयो । अहिले पनि भेट्न जाने जोकोहीलाई कथा सुनाउन उहाँ जुर्मुराइहाल्नु हुन्छ ।

शान्ति विद्यागृहमा अध्ययन गर्ने सायद कोही पनि छैन होलान् उहाँका कथा वाचनबाट मन्त्रमुग्ध नभएका ।

किन सुनाउनुहुन्छ त शङ्करलाल सर कथा ? कुराकानीको सिलसिलामा उहाँले भन्नुभयो– उहाँलाई दरबार हाइस्कुल पढ्दादेखि नै कथा भन्ने रूचि जागेको हो । त्यसबेला उहाँलाई नेपाली पढाउने बोधविक्रम अधिकारी हुनुहुन्थ्यो । उहाँ पढाउँदा कथालाई प्राथमिकतामा राख्नुहुन्थ्यो । दरबार हाइस्कुल पढ्दा उहाँ बोधविक्रम सरबाट प्रभावित त हुनुहुन्थ्यो नै । त्योभन्दा बढी अमरबाबू (भूगोल पढाउने बङ्गाली शिक्षक) को चड्कन गालामा कतिबेला बर्सने हो भन्ने भयले त्रसित पनि बन्नुहुन्थ्यो । (नेपाली साहित्यमा पहिलो एमए बोधविक्रमद्वारा लिखित ‘नेपाली दन्त्यकथा’ निकै लोकप्रिय छ । पहिलो एमए भएकै कारण उहाँलाई राजधानी छिर्नेक्रममा थानकोटदेखि नै अवीर जात्र गरेर भित्र्याइएको कुरा पनि शङ्करलाल सरले स्मरण गर्नुभयो।)

शंकरलाल सरलाई यतिका वर्षपछि भेट्दा मैले एउटै कुरा बोध गरें- कक्षाकोठामा सुगारटाइभन्दा कथा, इतिहासका अलिखित घटना, किम्बदन्ती सुनाएर विद्यार्थीलाई ज्ञान दिन सकिन्छ । राम्रा शिक्षकले विद्यार्धीलाई पाठ्यपुस्तकभन्दा धेरै कुरा सिकाउन सक्छन् । यसैले त शंकरलाल सरले सुनाएका यी कथा अझै पनि हामी विद्यार्थीका स्मृतिमा जस्ताको तस्तै छन् ।

प्रकाशित : चैत्र ८, २०७६ १३:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?