कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

‘कसको तागत अब प्रजातन्त्र खोस्ने ?’

ध्रुव सिम्खडा

काठमाडौँ — २०४६ चैत ३ गते । हावाहुरीको समय । मुलुकमा पञ्‍चायती व्यवस्थाविरोधी आन्दोलनको राप र ताप दुवै बढेको समय । कांग्रेस र कम्युनिष्ट दुवैथरी मिलेर निर्दलीय पञ्‍चायती व्यवस्था फ्याँकेर बहुदल स्थापनाको जनआन्दोलनमा होमिएको समय । 

‘कसको तागत अब प्रजातन्त्र खोस्ने ?’

त्यसबेला दलका धेरै नेता/कार्यकर्तारू जेलमा थुनिएका थिए । जनआन्दोलनका कमान्डर गणेशमान सिंहलगायत केही नेता घरमै नजरबन्दमा थिए । सिंहले ‘आन्दोलन दबाउन हामीलाई सत्ताले पक्रिहाल्छ । अब साहित्यकार, कलाकारलगायत विभिन्न पेशाकर्मी सडकमा आउनुपर्छ,’ भन्नुभएको लेखक तथा नाटककार अशेष मल्लले ३० वर्षपछि स्मरण गरे ।

प्रजातन्त्रमा विश्वास राख्ने कवि, लेखक, कलाकारलगायत विभिन्न पेशा र कर्ममा आबद्धहरू कसरी आन्दोलनबाट विमुख हुन सक्‍ने कुरै थिएन । त्यसैले आन्दोलनमा ऐक्यबद्धता जनाउन के गर्ने भन्नेबारे खगेन्द्र सङ्ग्रौला, हरि अधिकारी, आनन्ददेव भट्टलगायत कलाकार, लेखकहरू चावहिलस्थित एक चियापसलमा भेटघाट गरेर चैत ३ गते विरोधमा उत्रने योजना तयार पारेको लेखक तथा नाटककार मल्लले स्मरण गरे ।

उनी भन्छन्, ‘त्यसदिन हामीले प्रज्ञा प्रतिष्ठानमा गएर पञ्‍चायती व्यवस्थाको विरोध गर्ने र आन्दोलनको समर्थन गर्ने योजना बनाएका थियौं । योजनाअनुसार प्रज्ञा प्रतिष्ठान पुग्दा त्यहाँ प्रहरीले विरोध गर्न नदिएपछि सोझै त्रिचन्द्र कलेजको प्राङ्गणतिर अघि बढ्यौं । र, मुखमा कालोपट्टि बाँधेर विरोधमा उत्रियौं ।’

फागुन ७ गतेदेखि गणेशमान सिंहको आव्हानमा शुरू भएको आन्दोलन तीव्र हुँदै थियो । आन्दोलनले देशका कुना–काप्चा जताततै नागरिकहरूलाई आन्दोलित बनाइसकेको थियो । पञ्‍चायती व्यवस्थाका समर्थकहरू आन्दोलन दबाउन र आन्दोलनकारीहरूलाई धम्काउन, तर्साउन र थुन्‍न लागिपरेका थिए ।

चैत ३ गते जुन दिन साहित्यकारहरूले विरोध कार्यक्रम तय गरेका थिए त्यसैदिन राजा वीरेन्द्रको सन्देश आउने हल्ला चलेको थियो । धेरैले राजाले अब पक्कै पनि आन्दोलनकारीहरूसँग सम्झौता गर्नेछन् र आन्दोलन टुंगिनेछ भन्ने सोचेका थिए । तर, राजाले उल्टै आन्दोलनकारीहरूलाई दबाउने खालको सन्देश दिएको स्मरण गर्दै नाटककार मल्ल भन्छन्, ‘राजा दबाएर अगाडि बढ्न चाहन्थे । हामीलाई प्रज्ञा भवनमा गएर विरोध गर्न नदिनुको पछाडि राजाको उक्त सन्देशले नै काम गर्‍यो ।’

नेता/कार्यकर्ताहरू थुनिएका बेला कवि, लेखक, कलाकार, प्राध्यापक, वकिल, चिकित्सक सबैले आन्दोलनमा उत्रिनु पर्छ भन्दै घरघर गएर सबैलाई प्रज्ञा भवन जान भनिएको मल्लले उल्लेख गरे । मल्ल भन्छन्, ‘त्यसबेला हामीलाई प्रज्ञा भवनको प्रांगणमा विरोध गर्नसमेत नदिने र प्रहरी लगाउने पञ्‍चायती समर्थक साहित्यकार, लेखकहरू बहुदल आएपछि हामीभन्दा ठूला कांग्रेस बने ।’

त्यसदिन त्रिचन्द्र कलेजको विरोधमा पारिजात, कमलमणि दीक्षित, वाशु शशी, आनन्ददेव भट्ट, हरिगोविन्द लुइटेल, खगेन्द्र संग्रौला, हरि अधिकारी, विमल निभा, रामेश, मञ्जुल, शार्दुल भट्टराई, निनु चापागाइँ, हरिवंश आचार्य, मदनकृष्ण श्रेष्ठ, सुनील पोखरेललगायत धेरैको उपस्थिति थियो ।

मल्लका अनुसार त्यसदिन छरिएको पर्चाको पछिसम्म पनि धेरैले चर्चा गर्थे । मुखमा कालोपट्टि बाँधेर चित्रन्द्रको प्रा‌ंगणमा बसेको केहीबेरमै प्रहरीले पक्रेर बग्गीखाना पुर्‍याएको थियो– कवि, लेखक र कलाकारहरूलाई ।

यसरी कलाकार, साहित्यकार तथा विभिन्न पेशाकर्मीहरू पञ्‍चायती व्यवस्थाविरूद्ध आन्दोलनमा उत्रेपछि त्यसले राष्ट्रियमात्र होइन अन्तर्राष्ट्रिय ‘कभरेज’ पाएको थियो । बीबीसी र सीएनएनले प्राथमिकतासाथ आन्दोलनको समर्थनमा कवि, साहित्यकार र कलाकारहरूको सहभागिताको समाचार दिए । त्यसले व्यवस्थाका पृष्ठपोषकहरूलाई ठूलो दबाब पर्‍यो । आन्दोलनकारीहरूको तर्फबाट सडक शून्य भएका बेला लेखक, साहित्यकारहरूको यो हिम्मतिलो समर्थनले दरबारलाई चुनौती थपेको उल्लेख गर्छन् मल्ल । भन्छन्, ‘त्यसपछिचाहिँ आममानिसले पनि साँच्चै आन्दोलन सफल हुन्छ भन्ने सोचे र आन्दोलनको पक्षमा आफूलाई समाहित गरे ।’

३० वर्षे पञ्‍चायतको त्यो कालो दिन र त्यसयताका बहुदल र गणतन्त्रको ३० वर्षको यो क्षणलाई कसरी हेर्छन् त अशेष मल्ल ? उज्ज्वल छ कि निराशाजनक छ प्रजातन्त्रको भविष्य ?

सानातिना कमीकमजोरी भए पनि उनी प्रजातन्त्रको भविष्य उज्यालो देख्छन् । ३० वर्षअघिजस्तो बोल्नै नपाउने, लेख्‍नै नपाउने, आफ्‍ना कुरा लिएर देश डुल्नै नपाउने अवस्था अहिले छैन भन्दै उनी भन्छन्, ‘त्यसबेला जस्तो एउटै परिवारको हुकुमभित्र मुलुक कैद छैन अहिले । अहिले वातावरण खुल्ला छ । विरोध गर्न कसैले रोक्‍न सक्दैन । पत्रपत्रिका, सामाजिक सञ्जाललगायत सञ्‍चारका साधनले प्रजातन्त्रलाई मजबुत पारेको छ ।’ त्यसैले अब प्रजातन्त्र नखोसिने कुरामा ढुक्क छन् उनी । प्रजातन्त्रको भविष्यमाथि सोधिएको प्रश्नमा उल्टै प्रतिप्रश्न गर्दै मल्ल भन्छन्, ‘कसको तागत अब प्रजातन्त्र खोस्ने ?’

प्रजातन्त्र पुनःप्राप्ति हुँदा राजनीतिक नेतृत्वमा चेतना भए पनि आमजनतामा कम थियो । तर, अहिले नेताभन्दा जनता बढी चेतनशील भइसकेका छन् । जनता चेतनशील भएको मुलुकमा प्रजातन्त्र खोस‍्‍न मुस्किल हुने नाटककार मल्लको बुझाइ छ । अहिले ‘देशै खत्तम भयो’ भन्नेहरूसित असहमति जनाउँदै मल्ल भन्छन्, ‘त्यसबेलाको जस्तो मूर्दाशान्ति अहिले छैन । प्रजातन्त्रमा विरोध हुन्छ, गल्ती गर्नेहरू ढिलोचाँडो बाहिरिन्छन् । ३० वर्षमा जनचेताको स्तर यतिधेरै बढेको छ कि त्यसलाई अब कसैले पनि दबाउन सक्दैन । प्रजातन्त्रका असली पहरेदार र प्रयोगकर्ता भनेकै तिनै चेतनशील नागरिक हुन् ।’

हामीलाई प्रजातन्त्रले शक्तिशाली बनाएको उल्लेख गर्दै नाटककार मल्ल भन्छन्, ‘त्यसबेला नमिता–सुनीता हत्याकण्ड भयो । कसैले बोल्न सक्दैनथ्यो । भ्रष्टाचारका कत्राकत्रा काण्ड भए, सबै गुपचुप । मन्दिर, मूर्ति, वन केही बचेनन् तर पनि बोल्यो कि ज्यानै जोखिममा पर्ने भयले कोही बोल्न सक्दैनथे । अहिले केही होस् त कसैले लुकाउन सक्दैन । जनसमक्ष आइहाल्छ । किनकि, प्रजातन्त्रको तागत भनेकै पारदर्शिता हो ।’ उनी थप्छन्, ‘हामीले प्रजातन्त्र पाइसकेका छौं । अबको पुस्ताले यसको उपयोग गर्छ ।’

२०४६ सालमा बहुदलीय प्रजातन्त्र आएपछि एकचोटी आफूलाई तत्कालीन अन्तरिम सरकारका प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले बोलाएर उहाँलाई भेट्‍न गएको स्मरण गर्दै मल्लले भने, ‘ठूलो संघर्षले प्रजातन्त्र प्राप्त भएको छ । तर यसलाई चाहिने जनचेतनाको कमि छ । त्यसकारण तिमीले गाउँगाउँ पुगेर जनतालाई जगाउने र जागृत गराउने नाटकहरू देखाऊ ।’

भट्टराईको त्यही वचनलाई शीरोधार्य गरेर आज पनि आफू प्रजातन्त्रलाई मजबुत तुल्याउने अभियानमा खटिरहेको र गाउँगाउँ पुगेर नाटक देखाउने, कविता वाचन गर्ने गरिरहेको बताउँछन् उनी ।

प्रकाशित : चैत्र ३, २०७६ १२:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?