विमल निभाको चैत ३ सम्झना : कालोपट्टीदेखि कालोपट्टीसम्म 

विमल निभा

काठमाडौँ — पञ्चायत कालो व्यवस्था थियो । २०४६ चैत्र ३ गते कालो समयलाई प्रतिविम्बित गर्न कालोपट्टी मुखमा बाँधेर लेखक, सहित्यकार र कलाकार त्रिचन्द्र क्याम्पस परिसरममा विरोध जनाएका थिए । यो विरोध धर्नालाई इतिहासमा कालोपट्टी पर्वको रुपमा चिनिन्छ । 

विमल निभाको चैत ३ सम्झना : कालोपट्टीदेखि कालोपट्टीसम्म 

२०४६ सालको जनआन्दोलन जारी थियो । समाज जुर्मुराइरहेको थियो । त्यस आन्दोलनमा लेखक, कवि तथा कलाकारले आफ्नो पनि भागिदारी देखाएका थिए । पञ्चायत व्यवस्थाले अभिव्यक्तिका सबै माध्यम लगभग बन्द गरेको थियो । साहित्यिक पत्रिका टाक्कटुक्क निस्कन्थे । त्यो पनि छाप्नुअघि अञ्चलाधीश कार्यालयलाई काचो कपी देखाउनुपर्थ्यो । खरदार र मुखियाले ‘बढ्ता लेखेको छ’ भनेर कवितामा कालो पोतिदिन्थे । कविताको शब्दलाई कालो रंगले ढाक्थ्यो ।

म त्यसबेला काठमाडौंमा कविता लेख्दै डुलिहिँड्थें । मेरो रचनामा पनि कालो रंग लाग्थ्यो ।

चैत्र ३ गतेको दिन म पनि लेखक, साहित्यकार र कलाकारको संयुक्त विरोध प्रदर्शनमा सरिक भएँ । विरोध राजकीय प्रज्ञा प्रतिष्ठानको प्राङ्गणमा गरिने पूर्व निधारित कार्यक्रम थियो । विरोधको स्वरुप सांकेतिक होस् भनेर कालोपट्टी मुखमा बाँधियो । यसले खराब व्यवस्थाले अभिव्यक्ति स्वतन्त्रता हनन गर्‍यो भन्ने संकेत गर्थ्यो । अनि प्रतिष्ठान लेखकहरुको प्रतिनिधि संस्था थियो । त्यसैले विरोध प्रर्दशनको लागि यो ठाउँ रोजियो ।

प्रज्ञा प्रतिष्ठानमा विरोध हुँदैछ भन्ने खबर लेखक पुग्नु अगाडि पुगिसकेको रहेछ । कवि माधवप्रसाद घिमिरे कुलपति र नाटककार विजय मल्ल सदस्यसचिव थिए । पुलिसको घेराबन्दीबीच घिमिरे भयानक रिसमा राँकिएर बसेको मैले पहिलोचोटी त्यहीं देखें । उनी प्रज्ञामा विरोध गर्न लागेकोमा क्रुद्ध थिए । कोमल कविको त्यस्तो रौद्ररुपको कल्पना पनि गरेको थिइनँ । त्यसबेला सबभन्दा खतरनाक कोही व्यक्ति थिए भने माधव घिमिरे थिए । उनका कृतिमा कलात्मक राजतन्त्रवादी चेत झल्कन्थ्यो । सुन्दर पद्य भएर के गर्ने विचारमा राजामात्रै भएपछि ।

पुलिसको घेराबन्दी र घिमिरेको रौद्ररुपको सामु धर्ना दिन सम्भव भएन । लेखकको समूह अगाडि बढ्यो र त्रि–चन्द्र क्याम्पस परिसरमा पुगेर विरोध जनायो । विरोधको अग्रपंक्तिमा थिए आनन्ददेव भट्ट, युद्धप्रसाद मिश्र, पारिजात, कमलमणि दीक्षित, भुवनलाल प्रधान, कृष्णचन्द्रसिंह प्रधान, अरुणा उप्रेती, शारदा शर्मा, रामेश, रायन, महेश मास्के, निनु चापागाइँ, अन्जु दीक्षित, बेन्जु शर्मा, खगेन्द्र संग्रौला, कृष्णसेन इच्छुकलगायत नाम चलेका लेखकहरु थिए । चलचित्रकर्मी र कलाकारको पनि उपस्थिति थियो ।

जनआन्दोलनमा त्यसबेला प्रतिबन्धित कांग्रेस, कम्युनिस्ट र अन्य राजनीतिक पार्टीहरु लागेका थिए । विभिन्न पेशाकर्मीका संगठन पनि व्यवस्थाको विरोधमा थिए । तर, आन्दोलन कतै पुगिरहेको थिएन ।

मोटामोटी रुपमा लेखक सोच्ने र विचार गर्ने प्राणी हो नि ! अनि लेखकको विरोध सचेत नागरिकको अभिव्यक्ति हो । यो मानेमा लेखकको विरोधको अर्थ छ । चैत ३ गतेको विरोध धर्नाले समाजका अन्य अंगले मात्र होइन मस्तिष्कले पनि विरोध गर्‍यो भन्ने सन्देश गयो । र, समाजको हरेक अंग व्यवस्थाविरुद्ध गयो भन्ने संकेत तत्कालीन समयमा दियो ।

त्रिचन्द्रलाई पनि केहीछिनमै पुलिसले घेरिहाले । प्रज्ञाप्रतिष्ठानको भन्दा धेरै पुलिस आइपुगे । तर, हामी कोही पनि टसमस भएनौं । पुलिसले लछारपछार नै गर्‍यो । ट्रकमा लेखक र कलाकारलाई कोच्न थालियो । पारिजातलाई भने त्यसै छोडियो । उनी साँझसम्म एक्लै त्रिचन्द्र क्याम्पसमा पञ्चायतविरुद्ध उभिइरहिन् । ट्रकले नपुगेर भ्यान पनि ल्याइयो । कोचिनेमा हरिवंश आचार्य र मदनकृष्ण श्रेष्ठ पनि थिए । आचार्यले आफ्नो आत्माकथा ‘चिना हराएको मानिस’को प्रथम संस्करणमा पारिजातलाई पनि ट्रकमा लगियो भनेका छन् । त्यस्तै वातावरण शान्तिपूर्ण थियो भन्ने कुरा लेख्या छन् । यो गलत हो ।

लेखकलाई बग्गीखाना लगियो, हरिवंश र मदनकृष्णलाई पुलिस क्लब । बग्गीखानामा लेखक र कलाकारलाई क्रुर व्यवहार गरियो । त आतंककारी हो, अराष्ट्रिय तत्व हो भनेर फोटो खिचियो । तेरो बाउको नाम के ? तिमीहरु सरकारी भवन जलाउन आएका हौं ? भन्ने प्रश्नको सम्झना मलाई अझै छ । प्रशासन, पुलिस र राजकीय प्रज्ञा प्रतिष्ठानका लेखक सबै राजाप्रति वफादार थिए । कवि माधव घिमिरे टाइपको व्यक्तिले त त्यसो गरे भने प्रशासनले त स्वभाविक रुपमा गर्ने नै भयो । लगभग ३ घण्टापछि फोटो खिचेर धम्की दिँदै छाडियो ।

रामेश र शार्दुल भट्टराईलाई भने छोडिएन । यी दुईलाई राजतन्त्रको विरोधमा पर्चा छरेको आरोप लगाइयो ।

जुन आशा र सुन्दर भविष्यको कल्पनालाई लिएर लेखकहरुले विरोध गरेका थिए परिवर्तनपछि त्यो आशाअनुरुप काम हुन सकेन । त्यस्तो हुन नसकेकाले लेखकहरुको असन्तुष्टि निरन्तर छ । निरन्तर भएपछि फेरि कालोपट्टी बाँध्ने स्थिति आउन सक्छ । आउन सक्छ के, आयोजस्तो लाग्छ मलाई ।

‘तस्कर ट्रकको रजत जयन्ती’

कवि विमल निभा

त्यसबेला सामूहिक संगालो पत्रिका निस्कन्थ्यो । पत्रिकामा राजाको विरोधमा एक शब्द पनि लेख्न पाइँदैन थियो । त्यस्ता केही शब्द भेटे भने पूरै पत्रिकामा कालो दल्दिन्थे । त्यही कालो दलेको पत्रिका हामी पढ्थ्यौं । अभिव्यक्ति स्वतन्त्रतामा पूर्ण बन्देज थियो ।

मैले ‘तस्कर ट्रकको रजत जयन्ती’ पञ्चायतको रजत जयन्तीको छेको पारेर लेखेको थिए । तस्करले ट्रकमा राखेर सामान ओसारपसार गर्छन् । मैले संकेतिक रुपमा पञ्चायतलाई तस्कर भन्न खोजेको थिएँ त्यस व्यङ्यमा । आखिर पञ्चायत पनि त कालो धन ओसारप्रसार गर्ने न हो । यो रचना छापिएको पत्रिका नै पछि जफत गरियो ।


विद्रोहले बाटो खोज्छ

पञ्चायती समाज गुम्सिएको समाज थियो । भित्र विरोधको स्वर थियो । क्रोधको राँको थियो तर अभिव्यक्त गर्ने माध्यम थिएन । भुसभुसे खरानीजस्तै भित्रभित्र त्यसले आगो ग्रहण गरिरहेको थियो, सतहमा नदेखिने गरी । यही विस्फोट भएको हो– २०४६ सालमा । तर, त्यो विस्फोटले समाजको परिवर्तनप्रतिको चाहनालाई पूर्ती गर्न सकेन । भुस भित्रभित्रै सल्किरह्यो । यही सल्केको भूस माओवादी जनयुद्ध र २०६२ सालको जनआन्दोलनको स्वरुपमा विस्फोट भयो ।

तैपनि, त्यो भुसको आगो अझै निभेजस्तो लाग्दैन । भुस भित्रभित्रै सल्कँदै गएपछि राँको बल्छ । यो कुनै पार्टी वा दलले गराएको विस्फोट थिएन । शोषित जनताभित्र परिवर्तनप्रतिको दमित इच्छा थियो । विद्रोहले त आफ्नो बाटो खोज्छ । सोझो बाटो पाएन भने बाङ्गोटिङ्गो बाटो पनि खोज्छ । २०४६ सालको जनआन्दोलनले त्यही खोजेको थियो । हामी यही बाटोमा हिडेका थियौं ।


आगो फेरि बल्छ

जुन नायकत्वलाई लिएर आजभन्दा तीस वर्षअघि एकखालको विचार र विचार ओढेका व्यक्तिलाई हामीले नायक मानेका थियौं ती त्यो नायकत्व अहिले खलनायकमा रुपान्तरण भइसकेको छ । नायक विचार र व्यक्ति क्रान्तिले जन्मायो तर कर्म खलनायकको गरे । जनतामा समर्पित व्यवस्थाका लागि ३० वर्षअघि लड्यौं । ३० वर्षअघि सकरात्मक कल्पनासहित लेखकहरुले विरोध गरेका थिए । त्यो कल्पना विस्तारै–विस्तारै क्षीण हुँदै गएर अहिले मृत्यु प्राप्तिको दिशामा गएको छ । यस्तै स्थिति रहिरहेको खण्डमा दोस्रो कालोपट्टी पर्व हुनसक्छ ।

पहिले नाङ्गो रुपमा थियो राजतन्त्र, नाङ्गै रुपमा पेल्थ्यो । अहिले गणतन्त्र भनेको छ, कम्युनिस्ट पार्टी भनेको छ, प्रजातान्त्रिक पार्टी भनेको छ, नाम र विचारमा एकदम चमकधमक देखिन्छ । तर, मुख्य कार्य त त्यही छ । सङ्ख्यात्मक सुधार त समयले ल्याउने सुधार हो । हामीले गुणात्मक सुधार चाहेका थियौं ।

पटकपटक विस्फोट भएर बाँकी रहेको खरानी पुनः पुत्पुताइरहेको छ ।

(कवि निभासँग रवीन्द्र ढकालले गरेको कुराकानीमा आधारित ।)

प्रकाशित : चैत्र ३, २०७६ ११:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?