कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

'आउटडोर' सुटिङमा अभिनेत्रीका दु:ख 

रीना मोक्तान

काठमाडौँ — गीतको सुटिङ सुरु हुनै लागेको थियो, अभिनेत्री केकी अधिकारीले निर्माण टिमतिर आँखा घुमाइन् । टिममा कोही महिला देखिनन् । त्यसपछि स्टूडियोजस्तो देखिने कोठामा एक्लै गइन्, लुगा फेर्न । कोठाको माथिल्लो भागमा हावा पस्‍ने झ्यालजस्तै बनाइएको थियो ।

'आउटडोर' सुटिङमा अभिनेत्रीका दु:ख 
लुगा फेरेर बाहिर निस्कन लाग्दा केकीको आँखा त्यहीँ झ्यालमा पर्‍यो । कसैले आफूलाई चिह्‍याइरहेको चाल पाइहालिन्, जब त्यो झ्यालबाट हत्त न पत्त एकजना व्यक्तिले आँखा उठाए ।

सुरुमा त आत्तिइन् । बाहिर निस्केर त्यो व्यक्तिलाई आँखा तरिन् पनि । तर, उसले आफूले नहेरेको भाव अनुहारमा देखायो । उनले त्यसबारे निर्माण टिमका कसैलाई भन्‍न सकिनन् । भर्खरै इन्डस्ट्रीमा प्रवेश गरेकी थिइन्, त्यसैले त्यो घटनाबारे बोल्ने आँट गर्न सकिनन् । घटनाको ८ वर्षपछि बल्ल उनले यो घटनाबारे बोल्ने साहस जुटाएकी छिन् ।


यस्ता सयौं झमेला छन्, अभिनेत्री र महिला टेक्‍निसियले दैनिक आफ्‍नो काममा भोग्‍ने, जसबारे न कसैले चासो लिन्छ न उनीहरूले नै कसैलाई भन्छन् । बरु विस्तारै यसलाई सामान्य मान्दै जान्छन् ।


अहिले भने केकी 'आउटडोर' सुटिङमा पहिरन फेर्नुअघि यस्तो चिहाउन मिल्ने झ्यालहरू कहिँकतै छन् कि भनेर सतर्क हुन थालेकी छिन् ।


सन् २०१० मा 'स्वर' फिल्मबाट ठूलो पर्दामा डेब्यु गर्दा पनि सुटिङमा लुगा फेर्न निकै समस्या परेको केकी बताउँछिन् । त्योबेला जसोतसो काम चलाइन् । यस क्षेत्रमा १० वर्ष बिताइसक्दा समस्या उस्तै देख्छिन् केकी । अझै अभिनेत्रीलाई 'आउट डोर' सुटिङमा पहिरन बदल्ने उचित व्यवस्था छैन ।


केहीदिनअघि मात्र केकीलाई यस्तै आपत पर्‍यो, गीतको सुटिङमा । लुगा फेर्ने उचित स्थान नभेटिएपछि सुटिङस्थल वरपरको घरको दैलोमा अनुरोध गर्न पुगिन् । बल्लतल्ल लुगा फेर्ने कोठा भेटिन् । म्युजिक भिडियोको अधिकांश सुटिङमा केकी यसरी नै दर्शकको घरमा पुगेर लुगा फेरिरहेकी हुन्छिन् ।

०००


फिल्म 'भेरै'को सुटिङका क्रममा अभिनेत्री सुरक्षा पन्त रजश्वला भइन् । मेकअप आर्टिस्टलाई सोधिन्, 'प्याड बोक्‍नु भाएको छ ?' मेकअप आर्टिस्टले प्याड बोकेका रहेनछन् । त्यसपछि सुरक्षालाई चिन्ता पर्‍यो । किन्‍न पठाउँ, फिल्मको सुटिङ डाँडामा भइरहेको थियो । पसल पुग्‍न समय लाग्‍ने देखिएपछि मेकअप पुछ्‍ने कपासलाई प्रयोग गरिन् । त्यसदिनको समस्या टर्‍यो । तर, कतै आपत परिहाले यही अवस्था रहेको सुरक्षा बताउँछिन् ।

०००


फिल्म 'कान्छी'को सुटिङमा मुस्ताङ पुगेकी श्‍वेता खड्कालाई अर्को समस्या पर्‍यो । मुस्ताङका डाँडातिर शौचालय थिएनन् । शौचालय जानुपर्ने अवस्था आउला भनेर उनी दिनभर पानी पिउँदिन थिइन् । अलिकति पानी पिएर प्यास मेट्थिन् ।


'कान्छी' फिल्मको सुटिङमा मात्रै होइन अन्य फिल्मको सुटिङमा पनि यस्तै गर्थिन् श्‍वेता । 'आउटडोर' सुटिङको प्रमुख समस्या नै शौचालय रहेको अधिकांश अभिनेत्रीको अनुभवले बताउँछ । उनीहरू पानी नपिएरै यो समस्याको समाधान गर्छन् । शरीरमा पानी नपुग्दा हुने समस्याबारे उनीहरू यसै पचाइदिन्छन् ।


समाधान खोइ त ?

सार्वजनिक शौचालयको अभावकै कारण पनि 'आउटडोर' सुटिङमा महिला कलाकारहरूलाई ठूलो समस्या हुने गरेको केकी बताउँछिन् । 'शौचालय त मुख्य समस्या नै हो नि । दिनभरी पानी नपिएरै काम गर्छौं हामी । त्यसो गर्दा स्वास्थ्यमा समस्या देखिने नै भयो । कति समय त सुटिङमा कृत्रिम शौचालय बनाएर प्रयोग गर्‍यौं,' उनले भनिन्, 'हामीसँग सार्वजनिक शौचालय नभएको कारणले पनि यस्तो समस्या भएको हो । अहिले मैले बुझ्दाखेरी सार्वजनिक शौचालय नभएर सर्वसाधारणले भोग्‍ने समस्या नै एउटा कलाकारले भोग्‍नु परेको रहेछ ।'


फिल्म क्षेत्रले ५ दशक पूरा गर्दा पनि सुटिङस्थलको यस्तो समस्याबाट वाक्क भइसके अभिनेत्रीहरू । श्‍वेता त सुटिङको समयमा टेन्टबाट मेकअप कोठा अनि शौचालय बनाउँछिन् । टेन्टभित्र लुगा फेर्ने व्यवस्था मिलाउँछिन् । यो समास्या समाधान लागि फिल्मकर्मीले भ्यानिटी भ्यानको व्यवस्था गरिदिनुपर्ने उनको तर्क छ । 'अब त राम्रो ब्यानरले भ्यानिटी भ्यान राख्दा राम्रो हुन्छ,' उनले भनिन् ।


केकी पनि भ्यानिटी भ्यान नै यो समस्याको समाधान रहेको बताउँछिन् । 'हामीसँग ओभियु भ्यान पनि छैन । त्यसकारण त्यो पनि समस्या हो । पुरुषले त सजिलै कपडा फेर्न सक्छन् । महिलाहरूलाई अलि गाह्रो पर्छ । यो समस्या सबैले भोग्‍ने समस्या हो,' उनले सुनाइन्, 'गाडी नै नपुग्‍ने ठाउँमा सुटिङ गर्न जाँदा भने पहिरन पनि उतै फेर्नुपर्ने हुन्छ । सार्वजनिक स्थानमा त्यसरी पहिरन बदल्दा कसैले फोटो खिचिहाल्ने पनि डर हुन्छ ।'


'आउटडोर' सुटिङमा अभिनेत्रीले रजश्वला हुँदा पनि दु:ख पाइरहेका हुन्छन् । हुन त निर्माण टिम विभिन्‍न औषधिसहित सुटिङमा गएको हुन्छ । तर, यसमा स्यानेटरी प्याड पनि लैजाने चलन अझै सुरु भएको छैन । प्राविधिकको टिममा अधिकांश पुरुष हुने भएकोले पनि समस्या देखिएको अभिनेत्रीको गुनासो छ । स्यानेटरी प्याड त अभिनेत्रीहरू आफैं पनि बोकेर हिँडिरहेका हुन्छन् । तर कहिलेकाहीँ रजश्वला मिती अगाडि पछाडि भइदिन्छ । कहिलेकाहीँ प्याड बोक्‍न भुल्छन् अभिनेत्रीहरू । त्यस्तो अवस्थामा सुटिङ सेटमा यसको व्यवस्था नहुँदा निकै अप्ठ्यारो हुने गरेको केकी बताउँछिन् ।


'औषधिहरू सबै बोकेको हुन्छ प्रोडक्सन टिमले । ब्याकअपमा स्यानेटरी प्याड पनि राख्‍नुपर्छ भन्‍ने ठान्दैनन् । खोइ अप्ठ्यारो लाग्‍ने हो कि के हो । जब कि त्यो कुनै पनि किसिमको बिरामी होइन,' उनले भनिन्, 'हामी सजिलै कहिलेकाहीँ प्याड किन्‍न पठाउँछौं कति प्राविधिकलाई । तर ल्याउने मान्छेले सजिलै ल्याउँदैन । त्यसलाई बम जसरी बेरेर लिएर आउनु हुन्छ । केही हदसम्म परिवर्तन त आ'को छ ।' यस्तो अवस्थामा अभिनेत्रीहरू आफै पनि सजग हुनुपर्ने उनी बताउँछिन् ।


अभिनेत्री रेखा थापा फिल्म निर्माणमा करोडौं खर्चने निर्माण टिमले शौचालय अनि लुगा फेर्न टेन्ट खडा गर्नुपर्ने बताउँछिन् । 'एक त अभिनेत्रीहरूले पनि आफ्नो समस्या प्रोडक्सन टिमलाई भन्‍नु पर्‍यो । अनि करोडौं खर्चने प्रोडक्सन टिमले पनि २० हजारको टेन्ट त बनाइदिन सक्छन् नि ।'


'आउटडोर' सुटिङमा विशेषत अभिनेत्री असुरक्षित हुने गरेको सुरक्षा बताउँछिन् । 'कहिलेकाहीँ रातिसम्म सुटिङ हुन्छ । हामीलाई त्योबेला पनि असुरक्षा अनुभव हुन्छ,' उनले सुनाइन् ।


गीतको सुटिङभन्दा पनि फिल्ममा ठूलो टिम हुन्छ । ठूलो टिममा हिजोआज कति फिल्मले भीड सम्हाल्ने सुरुक्षाकर्ता राख्‍न थालेका छन् । भीडबीच सुटिङ गर्दा असुरक्षित अनुभव गर्छन् अभिनेत्रीहरू ।


सुटिङ भइरहँदा भीडमा रहेका दर्शकको नराम्रो प्रतिक्रिया सट दिन तयार अभिनेत्रीको कानमा ठोकिन्छ । यस्ता कमेन्टलाई बेवास्ता गर्छिन् अभिनेत्री वर्षा सिवाकोटी । 'भीडबाट दर्शकले होच्याउने, जिस्काउने गर्नुहुन्छ । अनि हामीले त्यो सबै नराम्रो व्यवहारलाई बेवास्ता गरेर काम गर्नुपर्छ,' उनले आफ्‍नो अनुभव साटिन् ।


भीडमा असुरक्षा देख्छिन् केकी पनि। 'कहिलेकाहीँ भीडमा सुटिङ भइरहेको हुन्छ । हामी दर्शकको छेउमै हुन्छौं । सेल्फी लिने बहानामा छोएर, अंगाल्नै मार्न खोज्नुहुन्छ उहाँहरु । हामीसँग अनुमति पनि लिनुपर्छ भन्ने सोच्नुहुन्न, आफ्‍नो सम्पत्ति ठान्‍नुहुन्छ,' केकीले अनुभव सुनाइन् ।


'आउडडोर' सुटिङको अर्को समस्या हो, पहिरन । अभिनेत्रीहरू सुटिङमा मौषम विपरित पहिरन लगाउन लगाइन्छ । जस्तो, पुसको जाडोमा पनि कालिञ्चोकमा गएर छोटो कपडामा सुटिङ गर्नुपर्ने हुन्छ ।


'हामीले छोटो कपडा लगाएर सुटिङ गर्नुपर्छ, जाडोमा पनि । जब कि वास्तविक जीवनमा कसैले त्यस्तो अभ्यास गर्दैन । अभिनेत्रीलाई ग्ल्यामर्स देखाउनुपर्छ भन्‍ने मानसिकता छ तर साथै उसको स्वास्थ्यको पनि ख्याल गर्नुपर्छ भन्‍ने छैन,' केकी सुनाउँछिन् ।


केकीको भनाइमा वर्षा सिवाकोटी पनि सहमत छन् । 'छोटो कपडा लगाएर सुटिङ गर्न हामीलाई धेरै गाह्रो पर्छ,' उनले भनिन् । शारीरिक असुरक्षामात्र होइन, अभिनेत्रीको प्रमुख समस्या त समाजले गर्ने टिप्पणी पनि हो । सुटिङ गरेर ढिला घरभित्र आउँदा उनीहरूको चरित्रमाथि समाजले औँला उठाउँछ ।


'९ बजेपछि एक किसिमको डर हुन्छ । दिउँसो घर जुन तरिकाले ढुक्कसँगले जान्छौं नि राति कुनै काम अनि कार्यक्रमबाट फर्कँदा एक किसिमको डर हुन्छ,' केकीले भनिन्, 'नेपालको सन्दर्भमा महिलालाई हेर्ने नजरमा फरक छ नि त ।'

प्रकाशित : फाल्गुन २५, २०७६ १२:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?