'महिलाले पनि सर्जन बन्ने सपना बोक्न सक्छन्'
काठमाडौँ — सामान्यतया सर्जन भन्नेबित्तिकै हाम्रो दिमागमा कस्तो चित्र बन्छ ? पक्कै पनि चस्मा लगाएको, सेतो मेडिकल गाउन लगाएको र अलि पाको पुरुष । सितिमिति दिमागमा महिलाको आकृति कमै आउँछ । बनिहाले पनि अवश्य केही समय लाग्छ ।
सर्जरीलाई ‘पुरुषप्रधान’ पेसाको रूपमा व्याख्या गरिँदै आएको छ । महिलाहरू संवेदनशील हुन्छन्, घरपरिवारको दायित्वले बाँधिएका हुन्छन्, गर्न सक्दैनन् भन्ने लैंगिक परम्परागत सोचमा समाज छ । यो समस्या विकासोन्मुख देशमा मात्र नभइ विकसित देशमा पनि व्याप्त छ ।
आखिर किन ? यसको उत्तर इतिहासबाटै खोज्नुपर्ने हुन्छ । ‘अरेक’ (प्राचिन मेसोपोटामिया गाउँ) की रानी सुबाडलाई विश्वकै पहिलो सर्जिकल अभ्यास गर्ने महिलाको रूपमा चिनिन्छ । उनको कामप्रतिको योगदान र त्यागका कारण उनलाई सर्जिकल सामानसहित नै गाडिएको इतिहास पाइन्छ । यो ५ हजार वर्ष अगाडिको कुरा हो ।
१९ औं शताब्दीमा डा. जेम्स बेरी ट्रमा सर्जनको रूपमा काम गर्थिन् । तर उनले जीवनभर सर्जिकल अभ्यास गर्दा आफ्नो परिचय लुकाइन् । उनी महिला भएको मृत्युपछि मात्रै थाहा भयो । उनलाई किन जीवनभर पुरुषको भेषमा सर्जिकल अभ्यास गर्नुपर्यो त ? सजिलो जवाफ छ–महिला चिकित्सकलाई सजिलै पत्याइँदैन । त्यसमाथि सर्जन । उनीहरूलाई जहिल्यै कमजोर नै सावित गरिन्छ ।
अपवाद बाहेक क्षमता तथा अनुभव हुँदाहुँदै पनि महिला सर्जनहरूलाई उच्चतहमा त्यति स्थान दिइएको पाइँदैन । तर त्यो सोच तथा विचारधारालाई चिर्न सफल भइरहेका छन् महिला सर्जनहरूले । आफू यस क्षेत्रमा अब्बल रहेको प्रमाणीत गरिरहेका उनीहरुले । उनीहरूले पुरुषले मात्र राम्रो गर्न सक्छन् भन्ने धारणा तोड्दै नेतृत्व तहमा अगाडि पुगेको उदाहरण प्रस्तुत गरिरहेका छन् ।
प्लाष्टिक सर्जरी, न्युरो सर्जरी, जिआइ एन्ड हेपाटोबिलियरी सर्जरी, कार्डियक सर्जरी, पेडियाट्रिक सर्जरीलगायतका क्षेत्रमा महिला उत्तिकै दक्षताका साथ प्रस्तुत भइरहेका छन् ।
बदलिँदै सोच, सर्जरीमा आकर्षण बढ्दै
कुनै बेला डा. आकृति शर्माले सर्जन बन्छु भन्दा 'तिमीले सक्दैनौ, धेरै महत्वकांक्षी नबन' भनेर धेरैले सुझाउँथे । तर अचेल उनको सफलताले त्यस्तो उत्तर दिनेहरू नाजवाफ छन् । मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर महाराजगञ्जमा कन्सलटेन्ट थोरासिक सर्जनको रूपमा कार्यरत आकृति भन्छिन्, ‘मेरो विचारमा सपनाको कुनै लिंग हुँदैन । महिलाले पनि राम्रो सर्जन बन्ने सपना बोक्न सक्छन् ।'
महिलालाई चुलोचौकोमा सीमित देख्ने सामाजिक चेतमा समयको प्रवाहसँगै परिवर्तन आएको उनको अनुभव छ । हाल काठमाडौँ युनिभर्सिटी अफ मेडिकल साइसेन्जमा रेजिडेन्ट सर्जनको रूपमा काम गरिरहेकी डा. तोषिमा कार्कीले महिला 'आफूलाई कमजोर छु, गर्न सकिँदैन होला' भन्ने ठान्न नहुने बताउँछिन् ।
उनलाई पनि सर्जरी नपढ, अरु नै मेडिकल फिल्डमा जाउ भनेर सुझाव धेरै नै आएका थिए । तर, उनले सर्जरी नै रोजिन् । तोषिमा भन्छिन्, ‘ मैले त सानैदेखि डाक्टर भनेको अप्रेसन गर्ने होला भनेर बुझ्थेँ, त्यसैले सर्जरी भन्दा अरु क्षेत्रमा ध्यान नै गएन ।' ‘हामी व्यवहारमा पनि पुरुषभन्दा नम्र तथा धेरै लगाव अनि ध्यान दिएर अझ कटिबद्ध भएर काम गर्न सक्छौँ,’ डा. तोषिमाको आत्मविश्वास छ।
परिवारले करिअरमा असर पार्छ ?
राम्रो सर्जन बन्न लामो अभ्यास तथा मिहिनेत चाहिन्छ । त्यस अनुसारको धैयर्ता र समय पनि । जुन पुरुषलाई भन्दा महिलालाई अलिक गाह्रो हुन्छ नै । विवाह हुनुभन्दा र पछि करिअरमा हल्का हेरफेर हुनपुग्छ । तर सन्तुलन मिलाएर लगेको खण्डमा विवाह र बालबच्चा करिअरको छेकबारको रूपमा नआउने गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रमा कार्यरत कार्डियक सर्जन डा. दिक्षा जोशी बताउँछिन् । उनकी ५ वर्षकी छोरी छिन् । कहिले लामो समयसम्म शल्यक्रिया गर्नुपर्यो भने समयमा घर आउन पाउँदिनन् । भनेको बेलामा बिदा मिल्दैन ।उनले आफूले सक्दो फुर्सद निकालेर परिवारलाई समय दिन्छिन् ।
‘घरमा मम्मीले बच्चाको ख्याल राख्नुहुन्छ, श्रीमान् पनि बुझ्ने हुनुहुन्छ, मैले आफ्नो काम राम्ररी गर्न पाएको छु,’ डा. दिक्षा प्रफुल्ल मुद्रामा भन्छिन् । अरु देशमा भन्दा नेपालमा महिला सर्जनलाई अलि सजिलो रहेको अनुभव दीक्षाको छ । उनी भन्छिन्, ‘महिला यस्तो बाधा आइपर्छ भनेर ‘रिस्क’ लिन चाहँदैनन् तर चाहेको चिज मन लगाएर गर्यो भने सफल भइन्छ । महिला आफैं पनि पछि हटिरहेका हुन्छन् तर डटेर लागिपर्नुपर्ने हुन्छ ।’
नेपाल मेडिकल कलेज जोरपाटीमा कार्यरत ४५ वर्षीया न्युरो सर्जन डा. माया भट्टचन नेपालको पहिलो महिला न्युरो सर्जन हुन् । उनका अनुसार करिअरलाई उकास्न परिवारको झन् ठूलो हात रहेको छ । डा. माया भन्छिन्, ‘परिवार र पुरुष सहकर्मीको सहयोग भएन भने सफलता हात पार्न गाह्रो हुन्छ ।’ सफलताको लागि लगाव, मिहिनेत तथा परिवारको साथ र सहयोग पाएको खण्डमा केही कुरा सम्भव हुन नसक्ने उनी बताउँछिन् ।
नेतृत्वमा तहमा महिला सर्जन
केही पहिले थोरै संख्यामा सर्जरी क्षेत्रमा महिला डक्टरहररू थिए । अहिले उच्च ओहोदामा पुग्न सफल भएका छन् । सर्जरी महिलाको लागि सजिलो छैन् भनिन्छ तर दृढ इच्छाशक्ति र मेहनत भएमा केही पनि असम्भव छैन् भनेर यी महिलाले पुष्टि गरेर देखाएका छन् । कुनै पनि पेसा सजिलो आफैमा हुँदैन तर यसमा अरु पेसाभन्दा बढी समय, लगाव, मेहनत र परिश्रम र अभ्यास आवश्यक छ । त्यसैले पनि यो क्षेत्रलाई अलि चुनौतीको क्षेत्रको रूपमा पनि हेरिने गरेको छ ।
नेपालको सर्जरीको इतिहास हेर्दा महिलाहरूमा सबैभन्दा उच्च तहमा पुगेकी सर्जन हुन् डा. पलेस्वाँ जोशी लाखे । उनी अहिले त्रिवि शिक्षण अस्पतालको जिआई एन्ड जेनेरल सर्जरी विभागीय प्रमुख हुन् ।
आफ्नो कामप्रतिको मेहनत तथा धैयर्ताले नै कुनै समयकी गोल्ड मेडलिस्ट आफू अध्ययन गरेको संस्थानमा नै विभागीय प्रमुख हुने सौभाग्य प्राप्त गरेकी छिन् । यस सफलतामा आफ्नो कामप्रतिको लगाव र धैयर्ता त छँदैछ श्रीमान् तथा परिवारको पनि उत्तिकै साथले यतिसम्मको यात्रा तय भएको उनले स्वीकार्छिन् ।
डा पलेस्वाँ गर्वका साथ भन्छिन्, ‘जहिल्यै पनि धैर्यता रहेर मेहनतले काम गर्नुपर्छ अनि आफै राम्रो हुँदै जाने कुरा हो ।’ करिब दुई दशकको अनुभव बटुलेकी उनको अनुभवले भन्छ त्यतिबेला छात्राहरूले डाक्टरी पढे की त गाइनो वा पेडियाट्रिक्स पढ्न सुझाव दिइन्थ्यो । पक्कै यी विषय पनि सजिला होइनन् तर सर्जन बन्नुपर्छ भन्ने हौसला दिएको पाइँदैनथियो । तर अहिले समय फेरिएको छ ।
उनी भन्छिन्, ‘हामी जहिल्यै लैंगिक विभेदको बारेमा कुरा गरिरहेका हुन्छौँ तर आफूलाई कसरी प्रमाणित गर्ने त्यो आफूमा भर पर पर्ने कुरा हो । विभागीय प्रमुखको जिम्मेवारी, घरपरिवार अनि आफ्नो सर्जरी पेसा सबैमा सफल हुने प्रयत्नमा छिन् उनी ।
किन कम महिला सर्जन ?
चितवन मेडिकल कलेजमा कार्यरत हेपाटोबिलियरी तथा लिभर ट्रान्सप्लान्ट सर्जन डा. छेतेन योञ्जन तामाङले सर्जन भन्दा पनि महिलालाई डाक्टर नै हुनु चुनौतीपूर्ण कुरा भएको बताउँछिन् । उनी भन्छिन्, 'हामी महिलालाई जहिल्यै पनि पहिचान संकट भइरहेको हुन्छ, पटकपटक हामी राम्रो हो भनेर प्रमाणित गर्नुपर्ने हुन्छ, जुन पुरुषले गर्नु पर्दैन ।'
सायद यही कारणले पनि होला विश्वमा नै महिला सर्जनहरूको अवस्था कम नै छ । कार्यस्थल तथा सामाजिक परिप्रेक्ष्यमा प्रत्यक्ष–अप्रत्यक्ष रुपमा उनीहरूले चुनौती सामना गर्नुपरेको छ । लैंगिक विभेद, बिरामीले हेर्ने दृष्टिकोणमा पनि महिला भएका कारण महिला सर्जनहरुले धेरै सुन्नु र देख्नु परेको छ । तर परिवार तथा आफ्नो काम कर्तव्यको पालना गरेर महिला अगाडि बढिरहेका छन् ।
चिकित्सा पेसामा सर्जरी आफैमा पनि चुनौतीपूर्ण विषय हो । यसमा समर्पित हुन जरुरी छ नै आफूलाई अब्बल तथा दक्ष साबित गर्न उत्तिकै लगाव र मेहनत आवश्यक छ ।
कामको चाप, लैंगिक भेदभाव, तलब समयमा नआउने, सम्मान नदिने, यौन दुर्व्यवहार आदि कारणले पनि यस क्षेत्रमा त्यति महिला सर्जकहरुको उपस्थिति कम रहेको अध्ययनहरूले देखाएका छन् ।
विश्वमा नै हेर्ने हो भने महिला सर्जनहरूको उपस्थिति खासै सन्तोषजनक देखिँदैन । महिलाहरू सर्जरीमा दक्ष छैनन् भन्ने परम्परागत सोच तथा दृष्टिकोणले अझै समाजलाई गाँजेको छ । एउटा असल महिला सर्जन श्रीमती हुन धेरै गाह्रो छ । महिलालाई तथापी धेरैले यसलाई राम्ररी नै लगिरहेका छन् । जसले सँगै लैजान सक्दैनन् । धेरैले पेसाबाट सन्यास नै लिने पनि हुन्छन् । मेडिसिन पढ्ने धेरै छात्राहरू बढेता पनि सर्जरीकै क्षेत्रमा आउने महिलाहरू अझै पनि कम नै छन् ।
अमेरिकाबाट सन् २०१५ मा ह्यासट्याग 'आइ लुक लाइक सर्जन' भन्ने ट्विटर ट्रेन्डिङ नै चल्यो । सर्जरीमा जेन्डर स्टेरियोटाइप र लैंगिक विभेद घटाउनका लागि यो अभियान चलाइएको थियो । हजारौं महिला सर्जनले सेल्फिसहित फोटो पोस्ट गरेर एक्येबद्धता जनाएका थिए ।
अप्रिल २०१९ को एनल्स् अफ सर्जरीमा प्रकाशित अध्ययन अनुसार सर्जिकल तालिममा यौन दुर्व्यवहार भएको पाइएको छ । जसको बारेमा धेरैले मुख नै खोल्दैनन् । अझै पनि सर्जरी पुरुषको लागि र महिलाले मेडिसिन मात्र अध्ययन गर्नुपर्छ भन्ने भेटिने सुझाव थुप्रै अध्ययनमा पुष्टि समेत भएको छ ।
ल्यान्सेट अध्ययनका अनुसार महिलाहरू सर्जरीमा कम हुनुका कारण प्रेरणादायी रोल मोडलको कमी हुनु, विभेद, दुव्यवहार, गर्भव्यस्था तथा बच्चा जन्माउनु, बच्चा हुर्काउनु, लामो समयसम्म काम गर्नुपर्ने, परिवारसँग समय मिलाउन नसक्नु, परिवार तथा सम्बन्धमा दरार आउनु, कामको सिकाइमा राम्ररी सहयोग नपुग्नु, आदि कारण हुन सक्छन् ।
अझै पनि नेतृत्व तहमा पुग्ने महिला सर्जनहरू कमै रहेका छन् । २०१६ को एक तथ्यांक अनुसार अमेरिकामा डिर्पामेन्ट अफ सर्जरीमा २० जना मात्र महिलाहरू रहेका छन् । साथै ८ जना प्रोफेसर, १३ प्रतिशत सहायक प्रोफेसर र २६ प्रतिशत सहायक प्रोफसर सर्जरीका थिए ।
नेपालमा सर्जरीको सुरुवात सन् १९६० मा सुरु भएको मानिन्छ । हाल नेपालमा ३५ सर्जन, १५ रेजिडेन्ट सर्जिकल सर्जन, ८ न्युरोसर्जन, ३ कार्डियो भास्कुलर थोरासिक सर्जन, २ जना लिभर ट्रान्सप्लान्ट सर्जन तथा २ जना जिआइ एन्ड एचपीबी सर्जन रहेका छन् ।
सर्जरी पेसामा मात्र होइन पत्रकारिता होस् वा वकिल, बैंकर होस् या इन्जियर होस् यस्तै समस्या उनीहरूले भोगका छन् तर पनि डटिरहेका छन् । आफूलाई स्थापित र प्रमाणित गर्न ।
प्रकाशित : फाल्गुन २५, २०७६ १३:५८