१४.०६°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

राणा रिम्पोछे

कुनै बेला भिक्षुलाई देशनिकाला गर्ने चन्द्रशमशेरका खनाति बुद्ध शिक्षाका विद्याधर महायोगी बनेका छन् 
मनोज पौडेल

कपिलवस्तु — अघिपछि सुसारे–धराले । जस्तो खोज्यो उस्तै सुविधा । रोजेको लाउन–खान मिल्थ्यो । जे सोच्यो, त्यही पुग्थ्यो । राजसी सुखसयल थियो । राम्रो शिक्षादीक्षा प्राप्त गरेका थिए । तैपनि उनी वंश–परम्परा जोगाउनतिर लागेनन्, शासनसत्तामा ध्यान दिएनन् । सुख–सुविधा र लोभ–मोह त्यागेर बुद्धका सच्चा अनुयायी बने । 

राणा रिम्पोछे

काठमाडौंका ७० वर्षीय श्रीधर राणा रिम्पोछे ध्यानी, तपस्वी, तान्त्रिक, अभ्यासी हुँदै अहिले महायोगी बनेका छन् । उनी पितृवंशमा राणाकालीन महाराज पद्मशमशेरका पनाति हुन्, मातृवंशमा बझाङे राजा जयपृथ्वीबहादुर सिंहका नाति । तत्कालीन डीआईजी नारायणशमशेर र शान्ति शमशेरका जेठा छोरा श्रीधरको सानैदेखि शान्ति र अध्यात्ममा लगाव थियो । सात/आठ वर्षको उमेरमा बाबुआमाले के बन्छस् भन्दा ठूलो तन्त्र अभ्यासी बन्छु भनेको उनी सम्झिन्छन् । ‘त्यतिखेर आमाबाबुले राम्रो मान्नुभएन,’ उनले भने, ‘त्यतिखेर मैले राम्रो भनेको रैछु भन्ने लागेको छ ।’


उनले भारतको नयाँदिल्लीबाट होटल व्यवस्थापनमा उच्च शिक्षा हासिल गरेका छन् । उनी तन्त्रमन्त्रमा विश्वास गर्थे । तान्त्रिक बन्न चाहन्थे । तन्त्रमन्त्रको खोजमा लीन हुन उपसचिवको जागिर त्यागे । बझाङको खप्तड स्वामी आश्रममा वेद सिक्न पुगे । त्यहींबाट हिन्दु धर्मसेवक बनेको उनले बताए । केही समय वेद सिके पनि सन्तुष्टि नमिलेपछि फर्किए । त्यसपछि जापानको झेन बुद्ध धर्मको एउटा पुस्तक पढे । त्यसैमा आकर्षण बढ्न थाल्यो । थप अध्ययनका लागि जापान गए । उतै बसे । सधैं जापान बस्न खर्चिलो हुन्थ्यो । आउआउ गर्न पनि गाह्रो भयो । त्यसपछि तिब्बती विद्वान् मिलरेप्पाका पुस्तक अध्ययन गर्न थाले ।


दक्षिणी अमेरिकी साथीमार्फत सन् १९८७ मा नागी गुम्बाका उर्गेन रिम्पोछेसँग भेटेपछि बालापनदेखिका जिज्ञासाको उत्तर पाए । सुरुमा तिब्बतीयन बुद्ध धर्मका बारेमा जानकारी थिएन । आफूले खोजको मोक्ष, ज्ञान र तन्त्रमन्त्र तिब्बतीयन दर्शनमा पाएपछि अनुयायी बने । अवतारी लामा, रिम्पोछे र काठमाडौंका नेवार गुरुबाट बज्रयान बुद्धधर्मका बारेमा ज्ञान हासिल गरे । महत्त्वपूर्ण अभिषेक, साधना उपदेश र आगम प्राप्त गरे । बुद्ध धर्म र शिक्षामा समर्पित भए ।


सन् १९९६ अप्रिलमा बज्रयान परम्पराअनुसार उनी साढे ६ वर्षका लागि गुफावास प्रवेश गरे । फेरि गुरु चोब्ग्य ठ्रिचेन रिम्पोछेको निर्देशनमा साढे ६ वर्ष गुफबास लम्ब्याए । मन्त्र, विद्या, धारणीजस्ता बज्रयानका विषयमा सिद्ध प्राप्त गर्न उनले गुफाबास लम्ब्याएका थिए । २१ वर्षसम्म पूर्ण गुफाबास बिताएपछि सन् २०१७ को मार्चमा उनी पहिलो पटक सार्वजनिक भए । उनको ध्यानको गहिराइ देखेर प्रतिष्ठित रिम्पोछे, गुरु र विद्वान्ले महायोगी, आचार्य, विद्याधर र रिम्पोछेजस्ता बौद्ध आध्यात्मिक उपाधि प्रदान गरेका छन् ।


राणा प्रधानमन्त्री चन्द्रशमशेरले सन् १९२४ मा पाँच भिक्षुलाई देशनिकाला गर्ने निर्णय लिए । महाप्रज्ञा, महाचन्द्र, महाज्ञान, महावीर्य र महाक्षान्तिलाई देश निकाला गरे । त्यसबेला भिक्षुले ‘हामी गृहस्थमा फर्कंदैनौं, बरु देश छाड्छौं’ भनेका थिए । इतिहास जानकारका अनुसार भिक्षुले आफूहरूसँग केही नभएकाले दुई/चार दिन भिक्षा माग्नका लागि समय दिन आग्रह गरेका थिए । चन्द्रशमशेरले पाँच दिन समय दिए । भिक्षा माग्ने बेलामा दुई जना पुलिस सँगसँगै पठाउँथे । सरकारले त्यतिखेर रक्सी बनाउनेलाई जरिवाना तोकेको थियो । त्यसले रक्सी बनाउने घटेनन् तर भिक्षुले भनेर चार हजार जनाले रक्सी खान छाडेका थिए । तत्कालीन सुब्बाले चन्द्रशमशेरलाई सुनाए, ‘सरकारले भन्दा नमान्ने, भिक्षुले भन्दा रक्सी बनाउन छाड्ने ।’ सुब्बाकै सिफारिसमा पछि अप्ठ्यारो पर्न सक्ने भनेर कठोर निर्णय लिन लगाइएको जानकार बताउँछन् । यस्तो कडा निर्णय लिने चन्द्रशमशेरका खनाति पर्ने श्रीधरशमशेर बुद्धका ठूला अनुयायी बनेका छन् । चन्द्रशमशेर र पद्मशमशेर काका–भतिजा हुन् ।पद्म शमशेरका बुवा भीम शमशेर र चन्द्र शमशेर दाजुभाइ हुन् ।


‘जंगबहादुरले उपत्यकाका विहार र चैत्य तोडफोड गरेका थिए,’ श्रीधरले भने, ‘विभिन्न बौद्धग्रन्थ र पुस्तक जलाइदिएका थिए ।’ बेलायती नागरिक ब्रायन हडसनले जलाउनुभन्दा आफूलाई दिन भनेपछि नौवटा पुस्तक जंगबहादुरले बेलायत लगेको उनले बताए । पछि नेवार समुदायका व्यक्तिले ती पुस्तक नेपाल फर्काएका थिए । अहिले अनुयायीलाई पुर्खाले गरेका नराम्रो कामको गुन तिरिरहेको उनले बताए । ‘बुद्ध शिक्षामा समर्पित भएर शान्ति र सद्भावका लागि सेतुको काम गरिरहेको छु,’ उनले भने ।


सात दशक उमेर पुग्दासमेत श्रीधरमा युवा जोस छ । धर्मदेशनाका लागि हिँडिरहन्छन् । यात्रा गर्दा झन् ऊर्जा थपिने गरेको बताउँछन् । जीवनशैली पनि गुफाबासजस्तै छ । आफूले प्राप्त गरेको अभिषेक र उपदेश बाँड्न हिँडिरहन्छन् । बुद्धको शिक्षा, चार आर्यसत्य र अष्टांगिक मार्ग व्याख्या गर्दा उपासक/उपासिका ध्यानमा मग्न हुन्छन् । त्यो देखेर उनी आनन्दित हुन्छन् । उनी धर्मदेशना मात्र गर्दैनन्, योग र अभ्यास पनि गराउँछन् । शिष्यानुग्रह भएमा धर्मदेशना गर्न घुमिरहन्छन् । उनी सहज र सरल छन् । त्यही भएर सबैको रोजाइमा पर्छन् । सरस, तार्किक र व्यावहारिक हुँदा उनको धर्मदेशना सुन्न धेरै व्यक्ति लालायित हुन्छन् । विदेशमा पनि उनका अनुयायी उत्तिकै छन् ।


लुम्बिनीमा भर्खरै सम्पन्न तीनदिने प्रथम प्राणीधान मोल्लाम पूजामा उपासिका चन्दा श्रेष्ठ काठमाडौंबाट सहभागी हुन आएकी थिइन् । उनी तीन दिन धर्म लिएर भिक्षु लामाहरूलाई भोजन दान गरी फर्किइन् । यस्ता धेरैलाई उनले शिष्य बनाएका छन् । ठाउँ–ठाउँमा धर्मदेशना गरेर शान्ति र करुणाका सन्देश बाँड्छन् । जबसम्म शान्ति हुँदैन, तबसम्म विकास र समृद्धिले गति लिँदैन भन्ने उनको मान्यता छ । आफूले अहिले स्वास्थ्य र शिक्षा क्षेत्रमा टेवा पुग्ने किसिमका विभिन्न सामाजिक र कल्याणकारी काम गरिरहेको उनले बताए । ‘त्यसकारण शान्ति अनिवार्य छ, देशमा शान्ति हुनका लागि पहिले मानिसमा शान्ति हुनुपर्छ,’ उनले भने, ‘मानिसमा रहेको मोह, माया, क्रोध, लोभ र हिंसा त्याग्न सके मात्र शान्ति आउँछ । बुद्ध शिक्षाको साथर्कता हुन्छ । आफूभित्रको अशान्ति हट्छ । आफूले आफैंलाई चिनिन्छ । परिवार, समाज, गाउँ र समग्र राष्ट्र निर्माणमा टेवा पुग्छ ।’

प्रकाशित : फाल्गुन १५, २०७६ १५:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?