कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

महिला अधिकारकी अग्रणी

‘प्रजा पञ्चायत नामक एउटा संस्थाले यहाँ आन्दोलन गर्न लागेको थियो । त्यसबेला भूमिगत तरिकाले बीपी कोइराला र किसुनजी पनि काठमाडौं आउनुभएको थियो । तर त्यो भेलाले स्वास्नी मानिसका विषयमा छुट्टै कुनै निर्णय लिएन । मलाईचाहिँ कताकता पोल्यो । मैले मनमनै अठोट गरें, म महिलाहरुको बेग्लै संघ खोल्छु ।’
ज्ञानु पाण्डे

मंगलादेवी सिंह (विसं १९८२–२०५३) नेपालको राजनीतिक इतिहासमा महिला अधिकार, नारी शिक्षा र प्रजातन्त्रको आवाज बुलन्द गर्ने अग्रणी योद्धा हुन् । निरंकुश राणातन्त्रको जुन समयमा उनी जन्मेकी थिइन्, त्यसबेला देशभित्र त्यसका विरुद्ध आवाज उठाउनु त परै जाओस्, त्यो परिस्थिति निरंकुश हो भन्ने कुराको हेक्का पाउने मानिस पनि औंंलामा गन्न पुग्दैनथे ।

अझ त्यसमाथि नारी हुनु भनेको त अभागकै परिभाषा थियो । छोरी परिवारका बोझ ठानिन्थे । नारीले परिचयपूर्ण जीवन बाँच्न खोज्नु अनर्थको कुरा ठानिन्थ्यो । मंगलादेवीको परिवार धनी थियो, त्यसैले उनी मीठो खान पाउँथिन् राम्रो लगाउन पाउँथिन्, तर नारीलाई दोस्रो दर्जाको हैसियतमा राख्ने चलनबाट भने उनको पारिवारिक परिवेश पनि अलग थिएन । भाइहरूलाई स्कुल भर्ना गरिएको थियो । उनी भने दिनभरि घरैमा थुनिएर बस्नुपर्थ्यो । छोरीलाई स्कुल पठाउने चलन थिएन त्यो बेला । न त देशमा छोरीहरूले पढ्ने कुनै स्कुल नै खुलेको थियो । तर, त्यो अवस्थामा पनि उनले पढ्ने आफ्नो इच्छालाई मनभित्र दबाएर राखिनन् । पहिला आमालाई भनिन्, पछि बासित पनि गुहारिन् । त्यसपछि उनका लागि घरमै मास्टर आएर पढाउने व्यवस्था जुर्‍यो । घरमै बसेर उनले अक्षर सिकिन्, घरैमा चार कक्षासम्मको पढाइ पूरा गरिन् ।


पन्ध्र वर्षको उमेरमा उनी बडाकाजी रत्नमानसिंहको घरमा बुहारी बनेर भित्रिसकेकी थिइन् । जन्म घरभन्दा अझै बढी सम्पन्न र प्रतिष्ठित थियो उनका पतिको घर । भौतिक सुखसुविधाको अभाव हुने कुनै गुञ्जायस थिएन । उनले चाहेको भए सुखसयलमै जीवन व्यतीत गर्न सक्थिन् । तर उनलाई छोरी र बुहारीको परिचयमा सीमित भएर कथित सुखको जीवन व्यतीत गर्न मञ्जुर भएन । पहिचानपूर्ण जीवन बाँच्ने आफ्नै मनको आकांक्षा र अठोटको बलमा उनी स्वेच्छाले संघर्षको बाटोमा अग्रसर भएकी हुन् । आफूमात्र होइन, समाजका तमाम नारीहरू आफ्नो अस्तित्वप्रति जागृत होऊन् भन्ने उनी चाहन्थिन् । यस प्रकारको चेतका साथ प्रजातन्त्रको लडाइँमा होमिएकी हुन् मंगलादेवी ।


जतिबेला देशमा सात सालको क्रान्तिको पृष्ठभूमि तयार हुँदै थियो, सम्पूर्ण प्रजातन्त्रवादीहरू एकतन्त्री निरंकुश राणाशाहीलाई समाप्त पार्ने ध्याउन्नमा मात्र केन्द्रित थिए । तर मंगलादेवीको ध्यान त्यतिमा मात्र सीमित थिएन । उनी नारी मुक्तिका लागि पनि उत्तिकै चिन्तित थिइन् । प्रजातान्त्रिक लडाइँमा सरिक हुँदाको आरम्भिक चरणमा नै नारीका विषयमा नारीले नै नबोले अरू कसैले बोलिदिनेवाला छैन भन्ने बोध उनलाई भइसकेको थियो ।


राजनीतिक यात्राका आरम्भकालीन दिनहरू सम्झँदै उनले आत्मसंस्मरण ‘नारी संघर्षका पाइलाहरू’ मा भनेकी छन् ः ‘प्रजा पञ्चायत नामक एउटा संस्थाले यहाँ आन्दोलन गर्न लागेको थियो । त्यसबेला भूमिगत तरिकाले बीपी कोइराला र किसुनजी पनि काठमाडौं आउनुभएको थियो । तर त्यो भेलाले स्वास्नी मानिसका विषयमा छुट्टै कुनै निर्णय लिएन । मलाईचाहिँ कताकता पोल्यो । मैले मनमनै अठोट गरें, म महिलाहरूको बेग्लै संघ खोल्छु । उहाँहरूले आयोजना गरेका पाँचवटा भेलाहरूमध्ये एउटाबाहेक म चारवटा मिटिङमा उपस्थित थिएँ ।’


त्यसलगत्तै सहाना प्रधान, साधना प्रधान, सिलवन्ती शाह, स्नेहलता प्रधान, रामलक्ष्मी मानन्धर, शान्ता श्रेष्ठ, चम्पादेवी वज्राचार्यलगायत २१ जना नारीलाई लिएर मंगलादेवी विशालनगरस्थित श्री ३ पद्मशमशेरको दरबारमा पुगेकी थिइन् । राणा प्रधानमन्त्रीको दरबारमा महिलाहरूको जुलुस पुगेको इतिहासकै यो पहिलो घटना थियो । त्यसबेला त्यहीं रहेका बूढा ससुरा बडाकाजी रत्नमान उनलाई देखेर छाँगाबाट खसेजस्ता भएका थिए । उनले झोंक्किएर ‘कहाँ आएकी ?’ भनेका थिए । मंगलादेवीले हाक्काहाक्की ‘सरकारलाई भेट्न आएकी, अधिकार माग्न आएकी’ भन्ने जवाफ दिएपछि उनी अवाक् भएका थिए । त्यो घटनाको वर्णन उनले यसरी गरेकी छन् : केहीछिनको प्रतीक्षापछि पद्मशमशेरबाट भेट्न बोलाहट आयो । बडाकाजीकी नातिनी बुहारी भएको हुनाले नै सायद मलाई सम्झाएर, बुझाएर फर्काउन पनि यति चाँडै भेटघाटका लागि बोलाएको हुनुपर्छ । हामी भेट्ने बैठकमा पुग्यौं । उनी पहिले नै बसिसकेका थिए र हामीलाई ‘बस’ भने । तर हामीले उभिएरै कुरा गर्‍यौं ।


पद्मशमशेरले सोधे, ‘के भन्न आयौ तिमीहरू ?’

मैले भनें, ‘नगरपालिकाको चुनाव हुन लागेको छ । हामी महिलाहरूलाई पनि भोट दिने अधिकार दिइनुपर्छ भन्न आएका सरकार ’

‘चुनाव हुने भनेर कसले भन्यो ?’ पद्मशमशेरले सोधे ।

‘हामीले मानिसहरूबाट सुनेका हौं’ मैले भनेकी थिएँ ।

‘महिलाहरूले भोट दिने अधिकार कहाँ छ ?’ उनले फेरि प्रश्न गरे ।

मैले भनें, ‘सबैतिर नहोला । जहाँ–जहाँ अधिकार दिइएको छ, ती समाजहरूमा महिलाको स्थिति राम्रो छ । जनता खुसी छन् ।’

‘अरू केही छ ?’ पद्मशमशेरले सोधे ।

‘महिलाहरूलाई पनि स्कुलमा पढ्न जाने व्यवस्था हुनुपर्छ सरकार १’ मैले भनें ।

‘स्कुल खोले पनि कसले पढ्छ ?’ उनले सोधे ।

‘स्कुल मात्र खोलियोस्, पढ्ने महिलाहरूको खाँचो हुँदैन । आफ्नो नामबाट खोलियोस् सरकार १ सरकारको नाम रहने, हामीले पनि पढ्न पाउने’ हामीले भन्यौं ।

‘ल ऐले जाओ । भोट दिने अधिकार पाउँछौ । स्कुलको कुरो पनि राम्रो छ । म विचार गर्छु ।’


यति भनेर पद्मशमशेरले उनीहरूलाई पठाउन खोजे । तर पद्मशमशेरको मौखिक आश्वासन मात्रले उनी सन्तुष्ट भइनन् र ठाउँको ठाउँ लालमोहर/हुकुम प्रमांगी गराएर मात्र फर्किन् । नगरपालिकाको त्यो चुनाव त भएन तर मंगलादेवीको मिसन सफल भयो । महिलाले भोट हाल्ने अधिकार पाए । केही दिनपछि पद्मशमशेरले डिल्लीबजारस्थित आफ्नै जग्गा र भवनमा छोरीहरूले पढ्ने पद्मकन्या स्कुलको स्थापना गराए ।


बूढो ससुरो, त्यो पनि राणाकालको, अझ त्यतिले नपुगेर तत्कालीन प्रधानमन्त्रीको विश्वासपात्र पनि, बडाकाजी रत्नमानले दरबारमा अधिकार माग्न जुलुसको नेतृत्व गरेर आएकी बुहारी मंगलादेवीप्रति त्यस उपरान्त कुन हदसम्म कडा व्यवहार गरे होलान् ? सजिलै अनुमान गर्न सक्छौं हामी । मंगलादेवीलाई घरमा नआउनू भनी नोकरको हात खबर पठाइयो । त्यसपछि उनी माइत गइन् तर त्यहाँ पनि सहज अवस्था थिएन ।


आमाबाबु उनको विद्रोही क्रियाकलापप्रति खुसी थिएनन् । केही दिनपछि उनलाई बूढा ससुराले नै किलागलस्थित ठूलो घरमा बस्न अह्राए जहाँ उनलाई एक प्रकारले नजरबन्दी गर्न खोजिएको थियो । सासू, बूढी सासूको कडा निगरानीमा राखिएकी थिइन् उनी । तर कसैको केही लागेन । उनले आफ्नो राजनीतिक गतिविधि यो वा त्यो अनेक उपाय झिक्दै निरन्तर अगाडि बढाइरहिन् ।


२००४ साल साउनमा मंगलादेवीको सक्रियतामा काठमाडौंको म्हैपीमा पिकनिक खाने बहानामा महिलाहरू जम्मा भए र नेपाल महिला संघ स्थापना गर्ने निर्णय गरे । त्यसको केही दिनपछि भेडासिङमा चिनियालाल श्रेष्ठको घरमा भएको महिलाहरूको भेलामा मंगलादेवीको अध्यक्षतामा नेपाल महिला संघको जन्म भयो । स्नेहलता सचिव र श्रीमाया कोषाध्यक्ष रहेको २१ सदस्यीय महिला संघमा रेवन्तकुमारी आचार्य, हीरादेवी तुलाधर, सीतादेवी शर्मा, गुलबदन ताम्राकार, प्रतिभा कर्माचार्य, चम्पा वज्राचार्य, तीर्थदेवी श्रेष्ठ, मोती श्रेष्ठ, रजनी, हीरादेवी तुलाधर, तुलसीदेवीलगायत सदस्य रहेका थिए । महिला संघको नेतृत्वमा आएपछि मंगलादेवीले प्रजातन्त्र स्थापनाको लडाइँ र नारीमुक्ति आन्दोलनको आफ्नो यात्रालाई अझै सुस्पष्ट र सशक्त ढंगले अगाडि बढाउँदै लगिन् ।


अन्ततः सात सालमा राणाशाही ढल्यो । देशमा प्रजातन्त्रको उदय भयो । प्रजातन्त्रको खुला वातावरणमा महिला हक अधिकारसम्बन्धी काम विस्तारित गर्ने अभियानमा उनी अगाडि बढ्दै गइन् । सत्र सालमा एकाएक प्रजातन्त्र अपदस्थ गरियो र एकतन्त्रीय पञ्चायती व्यवस्था लागू भयो । त्यसपछि देशको अवस्था राणकालकै जस्तो हुन पुग्यो । सबै राजनीतिक दलहरू प्रतिबन्धित भए, सँगसँगै महिला संघ पनि प्रतिबन्धित भयो । प्रजातन्त्र पुनःस्थापनाका लागि फेरि अर्को लडाइँ लड्नुपर्ने भयो । त्यो परिप्रेक्ष्यमा बीपी, गणेशमान, किसुनजीलगायतका नेताहरूको काँधमा काँध जोड्दै मंगलादेवी निरंकुश पञ्चायततन्त्रविरुद्ध एकोहोरिएर लागिन् ।


जसै २०४६ सालमा पञ्चायती निरंकुश शासनको अन्त्य भई प्रजातन्त्र पुनर्बहाली भयो, फेरि चालु भयो महिला सशक्तीकरणको उनको अभियान । उमेरले विस्तार विस्तार साथ छोड्दै गइरहेको भए पनि मनको आँटलाई कहिल्यै गल्न दिइनन् उनले । महिला संघका तर्फबाट विभिन्न कार्यक्रमहरू अगाडि बढाइरहिन् । बालविवाह, बहुविवाह, बोक्सी प्रथालगायत महिलाविरुद्धका यावत् हिंसाको अन्त्यका लागि जनचेतना जागरणका कार्यक्रमहरू गाउँ–गाउँसम्म पुर्‍याइरहिन् । पैतृक सम्पत्तिमा महिलाको समान हक हुनुपर्ने, राज्यको हरेक तहमा महिलाको अर्थपूर्ण सहभागिता हुनुपर्नेलगायतका आवाज उनले जीवनको अन्तिम घडीसम्म बुलन्द स्वरमा उठाइरहिन् ।


मंगलादेवीको संघर्षशील व्यक्तित्व अस्तित्वपूर्ण जीवन बाँच्न चाहने जो कोही नारीका लागि पनि आफैंमा एउटा ठूलो पाठ हो सशक्तीकरणको । विद्रोह अस्तित्वको पहिचान हो भन्ने ज्ञान उनले किताबमा पढेर सिकेकी होइनन्, न त कसैले उनलाई सिकायो यो कुरा । उनले आफ्नै भोगाइबाट जानेको ज्ञान हो यो । आफूले जानेको त्यही ज्ञानलाई मूल शक्ति बनाएर उनी आफूले रोजेको संघर्षको बाटोमा निरन्तर अगाडि बढिरहिन् । कहीं नरोकी, कसैसित नझुकी । उनले उद्घाटित गरेको महिला अधिकारको क्षितिजले आज नेपाली नारीलाई खुला आकाशको व्याप्ति दिएको छ, उनका कारण प्रज्ज्वलित भएको महिला शिक्षाको ज्योतिले आज नेपाली नारीलाई असीम सम्भावनाको उचाइ दिएको छ । आज हामी जे छौं, जहाँ छौं, त्यसको मूलमा उनै त छन् !

प्रकाशित : फाल्गुन ७, २०७६ १५:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?