एक युगमा जन्मिने प्रतिभा

रमण घिमिरे

नारायणगोपाल गीत र संगीतमा जसरी नयाँपनका कारण चिनिन्छन्, त्यसरी नै उनका बारेमा नयाँपन खोज्नु र पाउनु त्यति सजिलो छैन ।

एक युगमा जन्मिने प्रतिभा

उनले गाएका गीत र संगीतलाई समालोचक–समीक्षकहरूले नयाँ–नयाँ आयामहरूमा व्याख्या–विश्लेषण गर्न सक्लान् तर व्यक्ति नारायणगोपाललाई फरक दृष्टिकोणबाट चिनाउनु यस पंक्तिकारका लागि असम्भव नै छ ।

उनी आफूले गाएका अघिल्ला गीतहरूमै सन्तुष्ट भएर एकैनासको शैलीमा रमाउने स्वभावका कलाकार थिएनन् । उनी त स्वर र सुरमा मात्र होइन गीतमा पनि नयाँ आयाम दिन चाहन्थे । उनले कालखण्डपिच्छे गीतकार र संगीतकारहरू फेर्दै हिंड्नुको एउटा कारण यो पनि हो । त्यसैले आफैंले संगीत गरेका गीतहरू गाएर यस यात्राको सुरुवात गरेका उनी अन्त्यतिर पनि प्रायः आफ्नै संगीतमा गीतहरू गाएर गए । गोपाल योञ्जनको गीत–संगीतबाट स्थापित भएका उनले कालान्तरमा उनलाई पनि छाडिदिए र दिव्य खालिङ, दीपक जंगम, शम्भुजित बाँस्कोटाजस्ता अनुज पुस्ताका संगीतमा गाएर उनीहरूलाई पनि लोकप्रिय पारिदिए ।

गोपाल योञ्जनसँग मितेरी सम्बन्ध स्थापित भएपछि नारायणगोपालले असीमित आरोह–अवरोह भएको आफ्नो स्वरलाई आफूले चाहेजसरी खेलाउने लय र मूर्च्छना पाएका थिए । गोपाल र नारायण एउटै लयमा बग्न थालेपछि यी दुईको सिर्जना–प्रस्तुतिमा मात्र होइन, नेपाली सुगम संगीतमै ठूलो परिवर्तन आयो । त्यो नेपाली गीत–संगीतमा मौलिकताको खोजी हुन थालिसकेको समय थियो ।

त्यसवेला पाश्चात्य गायकहरू बब डिलन र बिटल्स आदिका गीतको प्रभावले नेपाली श्रोताका मनमा पनि गुँड लगाउन थालिसकेको थियो । श्रोतालाई यस प्रभावबाट निकालेर उनीहरूका मनमा मौलिक नेपालीे संगीतको बीउ रोप्नु र हुर्काउनु आवश्यक थियो र चुनौती पनि । यही चुनौतीलाई स्वीकार्दै नारायणगोपालले गोपाल योञ्जनसँग सहकार्य गरे । र, ‘बिर्सेर फेरि मलाई नहेर’, ‘चिनारी हाम्रो धेरै पुरानो’ (गीतकार : नगेन्द्र थापा), तिम्रो जस्तो मुटु मेरो पनि (गीतकार : गोपाल योञ्जन) ‘जीवनदेखि धेरै धेरै नै थाकेर म मुर्दा भएको तिमी आज हेर’ (गीतकार : ईश्वरबल्लभ) जस्ता फरक धार र भावका गीतहरू उनका संगीतमा गाएपछि नारायणगोपालको गायकीको दोस्रो इनिङ सुरु भयो ।

उनी कुनै समय आफ्नी प्रेमिका पेमला लामाले भनेको ‘मीठो स्वर भएको तर सशक्त गीत र प्रभावकारी लय पाउन नसकेको गायक’ बाट फड्को मारेर सम्पूर्ण गायक हुनपुगेका थिए । त्यसैले पेमलाले गोपाल योञ्जनसितको मितेरी साइनोपछि नारायणगोपालको गायनमा आफूले खोजेजस्तो परिवर्तन आएको कुरा स्वीकारिन् । र यी गीतहरूले पत्रमित्रता मार्फत पेमलासँग झांगिँदै गएको नारायणगोपालको प्रेम–प्रणयलाई पनि थप मलजल गर्न सहयोग गरे ।

नारायण र गोपाललाई दार्जिलिङको महांकाल मन्दिरमा मकलमा आगो बालेर मीत लगाइदिने कवि ईश्वरवल्लभको भाषामा पनि गोपालसँग सहकार्य गरेपछि नारायण ‘नेपाली हृदयका गायक’ भएका हुन् । त्यसपछि नारायणले गोपालका रचना र संगीतमा बिर्सिनसक्नु गीतहरू गाए । तर मानवीय सम्बन्ध सिर्जनासँग मात्र जोडिएको हुँदैन, व्यवहारसँग पनि गाँसिएको हुन्छ । नारायण र गोपालबीचको सम्बन्ध पनि बिस्तारै चिसिन थाल्यो । आफ्ना ‘मीतज्यू’ सँगको सम्बन्ध कठ्यांग्रिएपछि उनी एक्कासि परिवर्तनको नयाँ मोडमा उभिन पुगे । रत्नशमशेर थापाबाट पहिलो इनिङ सुरु गरेका नारायणगोपाल गोपाल योञ्जनसँगको दोस्रो इनिङमा अवरोध आएपछि तेस्रो इनिङमा प्रवेश गर्न पुगे ।

वास्तवमा नारायणगोपाल आफैं राम्रा संगीतकार थिए भन्ने कुरा उनले सुरुआती चरणमा गाएका रत्नशमशेर थापा (पछि हरिभक्त कटुवाल र कालीप्रसाद रिजाल) का गीतहरूले प्रमाणित गरिसकेका थिए । तर उनी नयाँनयाँ उदाएका सर्जकहरूको खोजीमा हुन्थे । नयाँमा पृथकता हुनु स्वाभाविक हो । उनी सधैं नयाँपनका पारखी थिए । यही नयाँपनको खोजीमा भेटिएका हुन् दिव्य खालिङ । उनको तेस्रो इनिङ दिव्यसँग सुरु भयो । उनले दिव्यका रचना र संगीतमा गाएका ‘सधैं नै म हाँसें तिमीलाई रुवाई’, ‘मायाको आधारमा सम्झौता नै हुन्छ’, ‘बिपना नभई बाँचिदिने’ ‘म त लालीगुराँस भएछु’ (गीतकार : क्षेत्रप्रताप अधिकारी) जस्ता गीतहरूले बेग्लै स्वाद दिए । पिटर जे. कार्थकका भनाइमा गोपाल योञ्जनको संगीतमा ‘जीवनदेखि धेरै धेरै नै थाकेर’ गीतमा त्यतिबेलासम्मको नेपाली गायनमा सबैभन्दा माथिल्लो नोटमा गाएका नारायणगोपालले दिव्यको संगीतमा ‘मायाको आधारमा सम्झौता नै हुन्छ’ बोलको गीतमा सबैभन्दा तल्लो नोटमा गाउने गायकको कीर्तिमान रचे ।

नारायणगोपाल नेपाली संगीतमा अपूर्व प्रतिभाशाली गायक थिए । उनी नेपाली संगीतको मात्र होइन, भारतको बरोडा महाराज फिरदौस संगीत महाविद्यालयमा गएर केही समय शास्त्रीय संगीतको अनुभव सँगालेर फर्केपछि पाश्चात्य संगीतको पनि त्यत्तिकै गहिरो अध्ययन गर्थे भन्थिन् उनकी धर्मपत्नी पेमला गुरुवाचार्य । उनी इतिहासका पनि ठूलो अध्येता थिए, फुटबलका पारखी दर्शक थिए भने चेसका पारंगत खेलाडी थिए । गीतकार नगेन्द्र थापासँग त उनको पारिवारिक सम्बन्ध नै थियो । यसबाहेक कवि भूपी शेरचनदेखि पत्रकार मदनमणि दीक्षित, चित्रकार मनुजबाबु मिश्र, उद्योग व्यवसायी वसन्त चौधरीसम्म उनको मधुर सम्बन्ध थियो । भूपीलाई पनि उनले गीत लेख्न लगाए— ‘सानै हुरीमा बैंसको सपना’ । यस अर्थमा उनी संगीतइतरका व्यक्तित्वहरूसँग संगत गरेर आफ्नो विचार र दृष्टिकोणको क्षितिजलाई फराकिलो पार्न चाहने साधक थिए । त्यसैले गीतमा विविधता र उम्दापनलाई प्रोत्साहित गर्थे ।

यही विविधतालाई प्रोत्साहित गर्न उनले कविहरू– क्षेत्रप्रताप अधिकारी, हरिभक्त कटुवाल, कालीप्रसाद रिजाल, विश्वम्भर प्याकुर्‍याल र दिनेश अधिकारीसम्मका गीत गाए । यो उनको पुरानासँगको क्रमभंगता र नयाँसँग गाँसिँदै जाने क्रमयोजन थियो । यस क्रममा उनले स्रष्टाको ख्याति र नामको होइन, सिर्जनाको मूल्यांकन गरे । अनि मनले खाएका सुन्दर सिर्जनाहरूलाई अग्रज र अनुजबीचको विभेद मेटेर बिना सर्त गाइदिए ।

गीतकार कालीप्रसाल रिजाल यही बेला भेटिएका हुन् । कालीप्रसादले गीत लेख्न छोडेको २० वर्ष भइसकेको थियो । नारायणगोपालले कालीप्रसादलाई ‘आँखा छोपी नरोऊ भनी भन्नुपर्‍या छ’ र ‘झर्‍यो जिन्दगी, छुट्यो जिन्दगी’ जस्ता गीतहरू लेख्न प्रेरित गरेर उनलाई स्थापित कविबाट लोकप्रिय गीतकार बनाइदिए । आज पनि कालीप्रसाद रिजाल आफू गीतकार हुनुको जस नारायणगोपाललाई दिंदा गर्व गर्छन् ।

रिजाल त्यस बेला सूचना विभागमा कार्यरत थिए । त्यहाँ नारायणगोपाल पत्रपत्रिका पढ्न आइरहन्थे । रिजालका कविताका बान्कीबाट प्रभावित थिए नारायणगोपाल र उनी एउटा राम्रो कविले सुन्दर गीत पनि लेख्न सक्छ भन्ने कुरामा सायद विश्वस्त थिए । अनि उनले रिजाललाई गीत लेख्न प्रस्ताव राखे । रिजालले यस प्रसंगको चर्चा धेरै ठाउँ गरेका छन् र यस पंक्तिकारसँग पनि गरेका छन् । यस सन्दर्भलार्ई हिन्दी सिनेमाका प्रसिद्ध गीतकार जावेद अख्तरको गीतलेखनको प्रसंगसँग तुलना गर्न सकिन्छ । ‘सिलसिला’ मा पहिलो पटक गीत लेख्नुअघि जावेद सलिम खानसँग मिलेर ‘सलिम–जावेद’ का नाममा चलचित्रको लेखन गर्थे । उनी ‘शोले’, ‘दिवार’ जस्ता चलचित्रहरूको पटकथा–संवाद लेखेर यसै विधामा स्थापित भइसकेका थिए । सन् १९८१ मा प्रदर्शित ‘सिलसिला’ को निर्माण हुन लाग्दा यसका निर्देशक यश चोपडासँग गायिका लता मंगेशकरले गीतकारका नाममा जावेदको नाम अघि सारिन् र भनिन्, ‘उनी राम्रा कवि हुन्, उनका कविता मैले पढेकी छु । उनलाई गीत लेख्न लगाइयो भने नयाँपन आउन सक्छ ।’ यसरी लताको अनुरोधमा चोपडाले सिलसिलाका गीत जावेदलाई लेख्न लगाए । र जावेदले परम्परित हिन्दी सिनेमामा सुनिने गीतभन्दा पृथक् मात्र होइन गीतसँगै जोडेर कविता पनि लेखिदिए । लताले गाएको ‘ये कहाँ आ गये हम, यूं ही साथ साथ चलते’ गीतका पंक्तिहरू अमिताभको कवितावाचनबाट सुरु हुन्छ, ‘मैं और मेरी तनहाई अक्सर ये बातें करतें हैं’ । यसलाई शिव–हरिको संगीतले जीवन्त पारेको छ । गीत र कवितालाई सम्मिश्रित शैलीमा प्रस्तुत गर्ने यो एउटा नौलो प्रयोग थियो । यसपछि जावेद सिनेमा लेखकभन्दा बढी गीतकारका रूपमा स्थापित भए ।

ठ्याक्कै यस्तै त होइन तर कविलाई गीतलेखनमा उतार्ने काम उता लताले भन्दा झन्डै एक वर्षअघि अर्थात् २०३६ सालमा यता नारायणगोपालले गरिसकेका थिए, कालीप्रसाद रिजालका गीत गाएर । यस्तै उनले अर्का प्रसिद्ध कवि हरिभक्त कटुवालका पनि तीनवटा गीत गाए । पहिलो गीत ‘पोखिएर घामको झुल्का भरी संघारैमा’ अम्बर गुरुङको संगीतमा गाए । यस गीतले हरिभक्तलाई कालीप्रसादलाई जस्तै कविको कित्ताबाट झिकेर सशक्त गीतकारका रूपमा स्थापित गराइदियो ।

नारायणगोपाल गीत–संगीतमा नयाँ प्रयोग गर्न पनि त्यत्तिकै मन पराउँथे । आफैंले संगीत गरेको हरिभक्तको अर्को गीतमा उनले यस्तो सुन्दर प्रयोग गरेका छन् । रत्न रेकर्डिङ संस्थानबाट प्रकाशित ‘ब्ल्यु नोट्स’ नामक एल्बममा परेको यस गीतमा उनले पाश्चात्य शैलीको प्रयोग गरेका छन् । यो गीत रेडियो नेपालबाट गुन्जिँदा सुरुसुरुमा केही ‘विज्ञ–श्रोता’ हरूको कान बिझाएको पनि सुनिथ्यो तर पछिपछि सुन्दै जाँदा ‘मलाई नसोध कहाँ दुख्छ घाउ’ ले तिनै बिझाएका कानहरूलाई मन्त्रमुग्ध पारिदियो । हरिभक्त र कालीप्रसाद मात्र होइन महाकवि लक्ष्मीप्रसाद देवकोटा र युगकवि सिद्धिचरण श्रेष्ठसम्मका कवितालाई उनले आफ्नै संगीतमा ढालेर गाएका छन् । उनी लामो युगान्तरमा जन्मेर लामो युगसम्म यात्रा गर्ने उम्दा प्रतिभा थिए ।

यस अर्थमा उनी युग चेतना भएका गायक–संगीतकार थिए । समय–परिस्थितिअनुरूप स्रष्टा–कलाकारले आफूलाई पनि रूपान्तरित गर्नुपर्छ भन्ने मान्यता राख्थे नारायणगोपाल । सुरुमा हिन्दी सिनेगायक मोहम्मद रफीका फ्यान थिए उनी । रफीले ‘बैजू–बाबरा’ मा गाएको ‘तू गंगा की मौज, मैं जमुना की धारा’ बोलको गीत उनले जय नेपाल हलबाहिर दिनहुँ उभिएर १७ पल्ट सुनेका थिए । पिता आशागोपालले एक सुका दिएर घिउ किन्न पठाउँदा पसलेको रेडियोमा बजेको रफीको गीतमा मोहित भएर घिउ किन्नै बिर्सेका किस्सा पनि छन् । तर पछि उनै नारायणगोपालले शरच्चन्द्र वस्तीसँग गोरखापत्रका लागि २०४६ कार्तिकमा अन्तर्वार्ता दिंदा आफूलाई मन पर्ने गायक किशोर कुमार भनेका छन् । यसबाट समयसँगै संगीत र रुचिलाई परिवर्तित गर्दै नेपाली संगीतलाई नयाँ शैली र अवधारणाको दिशातर्फ डोर्‍याउने नारायणगोपालको सोचाइलाई बुझ्न सकिन्छ । यसको अर्को कारण पनि हुन सक्छ । गोपाल योञ्जनसँग आबद्ध भएपछिका गीतमा उनले रफीको जस्तै उच्च आरोहमा गाएका थिए तर अन्तिमतिरका गीतहरू, जस्तै ‘गीतियात्रा’ का गीतहरूमा किशोर कुमारको जस्तो मध्यम सुरमा गाएका छन् । पछिल्लो चरणको गायनमा उनले स्वरको आरोह–अवरोहभन्दा कोमल गायनमा बढी जोड दिएको अनुभव हुन्छ ।

नारायणगोपाल आफ्नो जीवनकालमै एउटा संगीत विद्यालय खोल्ने सुरमा थिए । हामीकहाँ अर्केस्ट्राहरूको विकास हुन नसकेकोमा उनी चिन्तित थिए । शरच्चन्द्र वस्तीले मधुपर्क मासिकको साउन २०४० को अंकमा लिएको अन्तर्वार्तामा उनले यस कुरामाथि पनि आफ्नो धारणा व्यक्त गरेका छन्, ‘हामीकहाँ वाद्यवृन्द (बाजाहरू) को परिवार ज्यादै सानो छ । विविधताको कमी छ । दक्ष वाद्यवृन्द (वादक समूह) त के वाद्यवादकहरू नै हामीसँग छैनन् । संगीतकारले आफ्नो सिर्जना राम्ररी व्यक्त गर्न यिनै कारणले पाउँदैन ।’

कलाकार नारायणगोपाल र व्यक्ति नारायणगोपाल दुई ध्रुव थिए । व्यक्ति नारायणगोपाल घमण्डी मानिन्थे, अन्तरमुखी मानिन्थे, जँड्याहा मानिन्थे र अरू के–के । यी व्यक्ति नारायणगोपालका कमजोरी थिए होलान् । उनी २०३७ सालमा सांस्कृतिक संस्थानका महाप्रबन्धक भएर गएपछि आफ्नै गुरु माणिकरत्नदेखि समकालीन गायिका तारादेवी लगायत धेरै कलाकारलाई नाचघरको जागिरबाट बर्खास्त गरिदिए । उनको कारबाहीका कारण धेरै कलाकार दसैंको मुखैमा बेखर्ची भएका थिए । त्यसपछि उनी र तारादेवीबीच आजीवन बोलचाल भएन । गीतिनाटक ‘मालती–मंगले’ का युगल गीत गाउँदा पनि उनीहरूले आपसमा हेराहेरसम्म नगरी बीचमा नीलो पर्दा टाँगेर गाए ।

तर, कलाकार नारायणगोपालसँग कसैको कुनै गुनासो थिएन । उनको स्वर सुनेपछि प्रतिद्वन्द्वीहरू पनि मन्त्रमुग्ध हुन्थे र प्रशंसा गर्न चुक्तैनथे । मधुपर्कको यही अन्तर्वार्तामा पनि नारायणगोपालको जवाफ घतलाग्दो छ । उनी गीतका कुरा गरिरहेका हुन्छन् । नेपाली गीतबारे भन्छन्, ‘तिमी, म, फूल, माया, मुटु जस्ता केही सीमित शब्दको प्रयोग नभएको गीत हुँदैन ।’ उनी नातागोता, इष्टमित्रकै आधारमा मात्र तिनका गीत गाउँदैन थिए भन्ने कुराको अन्तर्वार्ताले पुष्ट्याइँ गरेको छ । एक पटक एक जना पत्रकारले यस पंक्तिकारसँग नारायणगोपालको यसै सम्बन्धी एउटा रोचक प्रसंग सुनाएका थिए । उनी एक लोकप्रिय साप्ताहिकका सम्पादक थिए । नारायणगोपाल उनको कार्यालयमा आइरहने हुँदा ती पत्रकारसँग उनको घनिष्ठता हुनु स्वाभाविक थियो ।

लामो संगत र घनिष्ठताको पृष्ठभूमिमा एक दिन उनले सोचेछन्, आफ्नो एउटा गीत नारायणगोपालको स्वरमा गुन्जिन सक्यो भने कति उत्तम हुन्थ्यो । र, उनले नारायणगोपाललाई अनकनाउँदै एउटा गीत दिएछन् । नारायणगोपालले दुई–तीनचोटि दोहोर्‍याएर त्यो गीत पढेपछि भनेछन्, ‘...जी, अहिले तपाईं पत्रकारिता नै गर्नुस्, तपाईंको गीत पछि गाउँला नि है !’ अरू त अरू, तत्कालीन रानी ऐश्वर्य अर्थात् चाँदनी शाहको गीत गाउन लगाउन पनि हम्मेहम्मे परेको बताएका थिए संगीतकार दीपक जंगमले । त्यस बेलाकी त्यस्ती प्रभावशाली व्यक्तित्वले लेखेको ‘एउटा मान्छेको मायाले कति फरक पार्दछ जिन्दगीमा’ गीतमाथि दीपक जंगमले २८ वटा धुन बनाएपछि मात्र नारायणगोपालले स्वीकृतिको टाउको हल्लाएका थिए । यस्तैयस्तै कुरामा नारायणगोपाललाई मूडी र घमण्डीको उपाधि दिइएको हो । यो मूड र घमण्ड नभएको भए सायद नारायणगोपाल बितेको तीन दशकपछि पनि यसरी चर्चामा आइरहने थिएनन् र उनका बारे यी पंक्तिहरू पनि लेखिने थिएनन् ।

प्रकाशित : फाल्गुन ७, २०७६ १४:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?