सूधपाको सुध- फिचर - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सूधपाको सुध

केदार शर्मा

‘हाँस्दा हाँस्तै खरायाको माथिल्लो ओठ च्यातियो दुख्न लाग्यो जसै ओठ खरायो अनि आत्तियो’

आफ्नो सुरमा चर्दै गरेका भेडालाई तर्साएर, उनीहरू आत्तिएको देखेर हाँस्दाहाँस्दै खरायाको ओठ च्यात्तिएको कथा खुच्चिङ मान्दै सुन्दा म बालखै थिएँ । हाम्रा बा शिक्षक भएकाले होला, हामीलाई कथा, कविता आदि सुनाउँदा त्यो कसले लेखेको भनेर पनि भनिदिनुहुन्थ्यो । यो ‘लोभी झिँगो’ लेख्ने कवि भनेर सानैदेखि ‘चिनेका’ पारसमणि प्रधानको परिचयका अरू केही आयाम औपचारिक रूपमा नेपाली साहित्यको विद्यार्थी भएपछि खुले ।


‘श्री पण्डित धरणीधर शर्मा कोइराला’ को ‘नैवेद्य’ भने मैले अलि पछि, आफैं पढ्न सक्ने भएपछि पढेको हुँ । त्यसमा संग्रहीत दुइटा कविता जाग जाग र साहित्य–सुधा अहिले पनि याद छन् । सम्झँदा रमाइलो लाग्छ, ‘जाग जाग’ सजिलो लाग्थ्यो, त्यसमा नबुझिने कुरा केही थिएनन् । तर मलाई ‘साहित्य–सुधा’ ले दिने चुनौती मन पर्थ्यो ।


‘मह झैं छ मिठो बह पार्छ पिठो

तह लाउँछ यो मनलाई छिटो

पढि भाइ सबै अब काव्य मिठो

मन माझी गरौं निज बुद्धि ढिटो’


बुझ्दा (वा बुझेजस्तो लाग्दा) आफूलाई भएको हुर्किएको अनुभूति अझै सम्झिन्छु । हाम्रातिर अलि अटेरी पाराका केटाकेटीलाई ‘ढिटो/ढिटी’ भन्ने चलन थियो । त्यसैले यस कवितामा प्रयोग भएको शब्द ‘ढिटो’ (‘मन माझी गरौं निज बुद्धि ढिटो’) मलाई ‘एकदमै अनुपयुक्त’ लागेको पनि सम्झन्छु र खिस्स हाँस्छु । पछि बुझेको कुरा हो, धरणीधर कोइरालाले जीवनभर जातीय जागृति र स्वाधीनताका लागि मान्छेलाई जगाउने र अड्याउने काममा सबभन्दा बढी ध्यान दिए ।


हाम्रो स्कुल (इलामको करफोक विद्यामन्दिर) मा २००९ साल मंसिरमा भएको कवि सम्मेलन अहिलेसम्म पनि हाम्रो ठाउँकै लागि गौरवको विषय बनेको छ । ‘त्यसबेला काठमाडौंबाट लेखनाथ, देवकोटा, सम आएका थिए । ‘हाम्रातिरका पुराना मान्छे अझै सम्झिन्छन् । काठमाडौंका त्यत्रा साहित्यकारहरू इलामको करफोक भनेरै आउने कुरा थिएन । वास्तवमा त्यो कवि सम्मेलन करफोकमा हुनुका पछाडि दार्जिलिङको हात थियो । सूधपा (सूर्यविक्रम ज्ञवाली, धरणीधर कोइराला, पारसमणि प्रधान) लगायतका प्रभावशाली भाषा–साहित्य साधकहरूले दार्जिलिङमा बोलाएका मूर्धन्य कविहरू विद्यालय संस्थापकमध्येका महानन्द सापकोटा र नरेन्द्रनाथ बाँस्तोला, त्यस बेलाका प्रधानाध्यापक कमलबहादुर पराजुली आदिका कारण करफोकसम्म आएका थिए । त्यही कार्यक्रमले करफोकको प्रतिष्ठा बढाएकाले पनि हुन सक्छ, त्यसै वर्ष फागुनदेखि इन्द्रबहादुर राई करफोकमा प्रधानाध्यापक भएर आए र करिब दुई वर्ष सेवा गरेका थिए ।


स्कुलको हाजिरीजवाफ प्रतियोगिताका लागि सामान्य ज्ञान बढाउने क्रममा मैले पहिलो पटक ‘सूधपा’ भन्ने शब्द पढेको हुँ । तर आफूलाई कवितामा रस बसेको हुनाले सूधपामध्येका पहिला, अर्थात् सूर्यविक्रम ज्ञवाली भने त्यसबेला मेरा लागि ‘अकवि’ थिए । पछि काठमाडौं आएपछि ती ‘अकवि’ का अरू आयाम पनि खुल्दै गए र उनीप्रति आदरभाव बढ्दै गयो । एक–दुई पटक मैले गौशाला रत्नपार्क कुद्ने मिनीबसमा सूर्यविक्रम ज्ञवालीको दर्शन (अँ, दर्शन) पाएको सम्झिन्छु ।

परिपक्व गठबन्धन

सूर्यविक्रम ज्ञवाली बनारसमा जन्मेका हुन् । उनले बनारस र कलकत्तामा पढेका थिए । करिब २५ वर्षको उमेरमा उनी बनारसबाट दार्जिलिङ गए, जहाँ नेपालबाट दार्जिलिङ छिरेका आफूभन्दा अलि जेठा धरणीधर कोइराला र कालेबुङका समवयी पारसमणि प्रधानसित उनको भेट भयो । धरणीधरको पारिवारिक पृष्ठभूमि राजनीतिक भएकाले उनी राजनीतिक अधिकार र जातीय चेतनाका मुख्य सचेतक थिए ।


पारसमणि प्रधानको मणि प्रिन्टिङ प्रेसले भारतीय नेपालीभाषी क्षेत्रमा मात्र होइन, नेपालमा पनि पाठ्यपुस्तक आपूर्ति गर्थ्यो । सूर्यविक्रमको साहित्यिक चाख र दक्षता जीवनी, समालोचना, भूमिका लेखन आदिमा थियो । उनीहरू तीनैजना आफ्नो शैक्षिक योग्यता बढाउन र सामाजिक रूपमा प्रभाव बढाउन कहिल्यै पछि परेनन् । उनीहरूले कैयौं काम मिलेर गरे भने आ–आफ्नै किसिमले रचनात्मक काम पनि गरिरहे । लेख्ने, लेख्नेहरूलाई प्रेरणा दिने, कृतिहरू प्रकाशित गरिदिने र आ–आफ्नो पद, ज्ञान र प्रभावको प्रयोग गरेर नेपाली भाषालाई शैक्षिक र प्रशासनिक क्षेत्रमा स्थापित गर्ने क्रममा उनीहरूले धेरै काम गरे । सूधपा जन्मिँदा भने सू, ध र पा को उमेर क्रमशः ५१, ५७ र ५१ वर्ष थियो । त्यसअघि पनि उनीहरूलाई संयुक्त रूपमा ‘सूधपा’ भनिने गरेको हुन सक्छ तर २००६ साल साउनको भारती पत्रिकामा उनीहरूको छोटकरी नाम (सूधपा) भएको प्रहेलिका (अड्को) छापिनुअघि यो संयुक्त नाम कतै छापिएको पाइएको छैन ।


हाँस्तछन् सकललाई हँसाई

को हुनन् ? चिन र लेख मलाई

हेर खोज अनि नाउँ बताऊ

सू–ध–पा–इना भनी नलजाऊ !


सूधपा तीनजनाको भेटघाट भएर अलिअलि तालमेल मिलेपछि कुनै साहित्यिक आन्दोलन सुरु गर्न राखिएको नाम थिएन । नेपाली भाषालाई कलकत्ता विश्वविद्यालयमा समेत स्थापित गरिसकेपछि, नेपाली जातीय कविका रूपमा दार्जिलिङमा भानुभक्तको सालिक स्थापना गरिसकेपछि ज्ञवाली, कोइराला र प्रधान नेपालबाहिर मात्र होइन, नेपालभित्र पनि प्रभावशाली भइसकेका थिए ।

नेपालीत्वको कथा

भाषा–साहित्यका प्रेमीहरूका लागि सूधपा अनन्य भाषासेवक हुन्, जसले भारतमा नेपाली भाषाको प्रचारप्रसार र प्रतिष्ठा अभिवृद्धिका लागि अतुलनीय काम गरे । तर अनुसन्धाताहरू त्यति भनेर चित्त बुझाउँदैनन् । उनीहरू भारतमा नेपाली जातीय चेतनाको विकास नेपालमा भन्दा पहिले भएको मान्छन् र त्यसमा त्यसबेला भाषा साहित्यका अभियानीका रूपमा सक्रिय व्यक्तिहरूको हात रहेको मान्छन्, जसमा सूधपा स्वतः पर्छन् । इतिहासकार डा. प्रत्यूष वन्त भन्छन्, ‘नेपालीहरूको जातीय पहिचान नेपालभन्दा बाहिर, विशेषगरी बनारसमा सुरुमा र पछि १९७०–८० को दशकमा चाहिँ विशेष जोडतोडसहित दार्जिलिङमा हुन थालेको हो । १९९५–२००० तिर सूर्यविक्रम ज्ञवालीले सम्पादन गरेको ‘भानुभक्त स्मारक ग्रन्थ’ प्रकाशित भएपछि र त्यो नेपालमा उपलब्ध भएपछि मात्र भानुभक्तबारे नेपालीले बढी जानकारी पाउन थालेका हुन् ।’ २०६० मा हिमाल खबरपत्रिकामा प्रकाशित एउटा लेखमा रोड्रिक चाल्मर्सले ‘नेपालभित्र देशलाई ‘गोर्खा राज्य’ र भाषालाई ‘गोर्खा’ नै भन्ने समयमा भारतमा ‘नेपाली’ शब्दले जाति र भाषाको प्रतिनिधित्व गर्न थालिसकेको थियो’ भनेका छन् । उनको लेखको दाबीअनुसार प्रवासमा जन्मिएको त्यही जातीय भावना नै नेपालभित्रको राष्ट्रिय भावनाको आधारभूमि बनेको हो ।


जुनबेला सूधपा भाषिक, साहित्यिक र सामाजिक गतिविधिमा संलग्न थिए, त्यसबेला भारतका विभिन्न भागमा नेपालीभाषीहरूको संख्या बढ्दै थियो । धर्मकर्म र पढाइलेखाइका लागि गएकाहरू बनारसमा थिए । उन्नाइसौं शताब्दीको अन्त्यतिरदेखि नै ब्रिटिस इन्डियन आर्मीमा गोर्खालीहरूको भर्ती बढ्न थालेको थियो । सुगौलीको सन्धिपछि दार्जिलिङमा हुने निर्माणकार्य र त्यसपछिको चियाखेतीले लोभ्याएर सीमाना काटेका नेपालीहरू उतैको बसाइ रोज्न थालेका थिए । धानको भात खाने अवसर खोज्दै हिँडेका नेपालीहरू असम (अहिलेको मेघालयसमेत) सम्म पुगेर गाई पाल्न र दूधको व्यापार गर्न थालेका थिए । अवकाशप्राप्त गोर्खा सैनिकहरूमध्ये पनि निकैले उतै बसोबास गर्न थालेका थिए । भारत भूमिमा स्थायी नेपाली समाजले जरो गाड्दै थियो । दक्षिण एसियाका भाषा र संस्कृतिमा विद्यावारिधि गरेका चाल्मर्स लेख्छन्, ‘भारतमा बसोबास गर्ने अरू जातिका तुलनामा आफूहरू धेरै पछाडि रहेको चेतना सचेत नेपालीहरूमा तीव्र रूपमा जाग्यो । लगभग साझा समस्याहरू सामना गर्दागर्दै एउटा समान अस्तित्वले विस्तारै स्पष्ट रूप लिन थाल्यो ।’


सूधपाले त्यही अस्तित्वलाई भाषिक र सांस्कृतिक आत्मविश्वास दिए । ‘नेपाली’ भने पनि वा राजनीतिक कारणले ‘गोर्खाली’ भने पनि त्यो अस्तित्वको खोजी र पहिचानका कारण अहिले भारतमा बस्ने दसौं लाख नेपालीभाषीको समाजले उनीहरूलाई आफ्नो अभिभावक मानेको हो । जातीय र भाषिक चेतनाका यी नायकहरू हाम्रा लागि पनि सधैं वन्दनीय छन् । तीनै जनाको निधन ८७ वर्षको उमेरमा भयो ।

प्रकाशित : फाल्गुन ७, २०७६ १३:४६
प्रतिक्रिया
पठाउनुहोस्

हर आँधीबेहरीलाई चुनौती 

अनुहारको आधा भाग पूरै रङविहीन र अर्को आधा भाग पूरै चहकिलो रङैरङले बनाउँदा जसको मुहारचित्र बन्छ, त्यो पारिजातको हुन्छ । 
सरस्वती प्रतीक्षा

पहिलोपटक बाहेक पारिजातको किताब कहिल्यै बन्द वा खुला कोठामा बसेर पढिनँ । पारिजात पढ्न मलाई आफ्नो कोठा वा पुस्तकालयको एकान्तले पुग्दैन । बरीलाई सम्झन सुयोगवीरलाई छुट्टै समय र एकान्त चाहिएजस्तै पारिजातलाई पढ्न मलाई पनि छुट्टै समय र एकान्त चाहिन्छ । 

पहिलोपटक स्कुलमा पारिजातको नाम सुन्दा शिरीषको फूलसँगै जोडिएर आयो । यी दुवैलाई एक–अर्काको पर्यायका रूपमा सुनेँ । त्यसरी नै पढेँ । सुरुआतको पढाइले पारिजातभन्दा पनि शिरीषको फूलकी सकमबरीले हुरुक्क बनाएकी थिई मलाई । मुडुलो टाउको, बेपत्ता दुब्लो शरीर, बुलेट पड्केको जस्तो आवाज, ठाडो स्वभाव, असामाजिक मूल्यमान्यताकी प्याकेज अर्थात् सकमबरी मेरो ‘लभ एट फस्ट रिड’ थिई ।

२०५६ सालमा कुनै एउटा पुस्तक प्रदर्शनीमा निर्माण प्रकाशन, सिक्किमद्वारा प्रकाशित पारिजातका रचनाहरूको संकलन देखेँ । ६ भागमा प्रकाशित ती रचनाहरूको सबै संकलन किन्ने पैसा मसित थिएन । क्याम्पसकालीन सुरुआतका दिनहरूमा साहित्यिक किताब किन्ने पैसा जोहो गर्नु भनेको खाजा खाने पैसा बचाउनु जो हुन्थ्यो, मेरा लागि । त्यसैले आफ्नो गच्छेअनुसार केवल एउटा भाग अर्थात् ग्रन्थ ५ किनेँ, किनकि त्यसमा पारिजातका कविताहरू थिए ।

बडो उत्साहमा त्यो किताब बाबा सरुभक्तलाई भेट्न जाँदा देखाएँ । मैले अन्य भाग नकिनी एउटा मात्र भाग किन्नुको अर्थ उहाँ आफैंले बुझ्नुभयो सायद । त्यसको केही दिनमै उहाँले पारिजातका सबै ग्रन्थ उपहारस्वरूप मेरो हातमा थमाइदिनुभयो र भन्नुभयो, ‘यी किताबहरू मन लगाएर पढ्नू छोरी । मेरो सपना छ— आज मान्छेले पारिजातको किताब खोजीखोजी पढेजस्तै कुनै दिन मेरी छोरीका किताबहरू खोजीखोजी पढून् ।’

पत्रिकामा जम्माजम्मी एक–दुईवटा फुटकर कविता प्रकाशित हुँदाका ती दिनहरूमा बाबाको सपनाको वजन मेरो उमेरले थेग्न सक्नेभन्दा अलि बढ्ता नै गह्रुंगो महसुस भएथ्यो । उहाँको वाक्यभन्दा पनि वाक्यभित्रको भावले आजपर्यन्त झक्झकाइरहन्छ मलाई ।
पारिजातका सबै ग्रन्थ एकसाथ उपहार पाएपछि अचम्मको भूत सवार भयो ममा । सबैजसो किताब घरमै पढ्न रुचाउने मान्छे म । पारिजातका किताब भने दुलेगौंडास्थित शिव मन्दिरमा बसेर पढेँ । भीरमा बनाइएको नयाँ मन्दिर थियो । मन्दिरभित्र त कहिल्यै पसिनँ तर मन्दिरको खुला वातावरण र बगैंचा मनमोहक लाग्थे । तलतिर सेती नदी बग्दै गरेको दृश्य देखिन्थ्यो । कहिले सेती नदी हेर्दै सेती बग्दाको एक तमासको आवाज सुन्नु, कहिले माथितिरको खुला आकाशको रसस्वादन गर्नु । वरपर चिरबिराइरहने थरीथरीका चराहरू । अलि साँझ पर्दै गएपछि झ्याउँकिरीको चर्को आवाज । किशोरवयका ती दिनहरूमा पारिजातका सम्पूर्ण ग्रन्थ मैले प्रकृतिसितको सान्निध्यमा पढेँ ।

पठनसँगै पुनर्पठनको यात्रा पनि रोमाञ्चक रह्यो । २० देखि ३० सम्मको उमेरमा पारिजातका किताबहरू फेवातालको छेउमा बसेर कहिले मिल्क टी त कहिले मिल्क कफी पिउँदै पढेँ । ४० कटेपछि कसरी पढ्छु, थाहा छैन तर ३० कटेपछि भने एउटा हातमा कहिले ब्ल्याक टी त कहिले रेड वाइन र अर्को हातमा पारिजातको किताब लिएर पढ्ने गर्छु । अहिले सोच्दा लाग्छ, एउटी असामान्य स्वास्नीमान्छेलाई पढ्न मैले अर्को खाले असामान्यपनको अभ्यास गरेँ सधैं । एउटा फुक्काफाल अराजकतालाई पढ्न मैले अर्को खाले फुक्काफाल अराजकताको अभ्यास गरेँ सानै उमेरबाट ।

एक दिन फोनमा एउटी कवि साथीसित पारिजातका कुरा भए । मैले पारिजातका किताबहरू पढ्न खुला आकाशमुनिको तालतलैया, नदीनाला वा डाँडाकाँडा खोज्दै हिँड्ने बताएपछि ती साथीले अचम्मको कुरा रहस्योद्घाटन गरिन् । भनिन्, ‘सरस्वती, म त घरको छतमा बसेर चुरोट पिउँदै पारिजातलाई पढ्छु नि । वरपर चुरोटको सेतो धूवाँ उडाउँदै पारिजातलाई पढ्दा सेतो बादलमाथि उड्दै–उड्दै पढेजस्तो लाग्छ ।’

साथीको कुराको प्रभाव ममा यसरी पर्‍यो कि एक दिन मैले घरमा कसैले थाहा नपाउने गरी चुरोट तान्दै पारिजात पढ्ने प्रयास गरेँ, ताकि मलाई पनि माथिमाथि सेतो बादलमा उडेको महसुस होस् । बादलमाथि त त्यस्तै हो, पहिलोपटक चुरोट तान्नासाथ पिरो धूवाँको यसरी सर्को पर्‍यो कि बादलमा नटेक्दै सीधै जमिनमा खसेजस्तो भयो । खोक्दाखोक्दा छाती नै दुख्यो । त्यसपछि त्यो सेतो बादलवाला अराजकताको अभ्यास जीवनमा कहिल्यै गरिनँ ।

विक्रमाब्द १९९४ मा दार्जिलिङमा पहिलोपटक आँखा उघारेकी पारिजातले २०५० मा पछिल्लोपटक काठमाडौंमा आँखा चिम्लिन् । यो बीचमा उनले जति बाँचिन्, त्यो एक बचाइ मात्र बनिदिएन, किंवदन्ती बनिदियो । सबको मुखारावृन्दमा झुन्डिने दन्त्यकथा बनिदियो ।

एउटा मान्छे सम्पूर्ण मान्छे हुन उसमा सबैखाले भाव र संवेदना हुन जरुरी हुन्छ । कोही मान्छे सधैं एकोहोरो मुस्कुराइ मात्र रहन्छ भने उसको मुस्कुराहट कतै न कतै बनावटी हुन्छ । कोही मान्छे सधैं रोई मात्र रहन्छ भने त्यो मान्छे पनि रोगी मान्छे हुन्छ किनकि जीवनमा भएका दुःखभन्दा नभएका काल्पनिक दुःख निर्माण गरेर बाँच्ने उसलाई आदत लागेको हुन्छ । एउटा मान्छे सम्पूर्ण मान्छे हुन ऊ आशा, निराशा, खुसी, हाँसो, विक्षिप्तता, विद्रोह सबैखाले चरम अनुभूति हुँदै गुज्रनुपर्ने हुन्छ । एउटा सम्पूर्ण मान्छेमा हुनुपर्ने सम्पूर्ण संवेदना भएकाले नै पारिजात मन परेको हो मलाई ।

‘जीवन विसंगतिपूर्ण छ’ भन्दै पारिजातले शिरीषको फूल लेखिन् । मान्छेले शिरीषको फूललाई औधी मन पराए । आफैंले उद्घोष गरेको दर्शनमा आफैंले ‘नोट अफ डिसेन्ट’ लेखिन् र दर्शन सच्याउँदै भनिन्, ‘विसंगति मान्छेको जीवनको अन्त्य होइन ।’ त्यसपछि राल्फाली बनिन् । वाम चिन्तक र लेखकहरूसितको उठबसले उनलाई भुइँमान्छेको नजिक पुर्‍यायो । पारिजातको यो नयाँ अवतार र अवतारसँगैको प्रतिरोधी लेखनलाई पनि मान्छेले उत्तिकै मन पराए ।

एकातिर शिरीषको फूल लेख्दाताकाकी घोर निराशावादी र पलायनवादी पारिजात, अर्कोतिर पर्खालभित्र र बाहिर, परिभाषित आँखाहरू देख्दाताकाकी विद्रोही र क्रान्तिकारी पारिजात । झरी परेका बेला रुझ्दै हिँड्ने अराजक र फुक्काफाल पारिजात एउटी पराकाष्ठा । बाथरोगले कुँजिएर अरूको सहारामा बाँच्नुपर्ने रोगी पारिजात अर्को पराकाष्ठा । उनको एउटा खुट्टा अभाव, पीडा, एक्लोपन, संघर्षहरूको उत्तरी ध्र्र्रुवमा हुँदा अर्को खुट्टा भने नाम, प्रशंसा, लोकप्रियता आदिको दक्षिणी ध्रुवमा हुन्थ्यो ।

यसैले एउटा मात्र रङले उनको मुहारचित्र बनाउन खोज्यो भने त्यो अधुरो हुन जान्छ । अनुहारको आधा भाग पूरै रङविहीन र अर्को आधा भाग पूरै चहकिलो रङैरङले बनाउँदा जसको मुहारचित्र बन्छ, त्यो पारिजातको हुन्छ । एउटा आँखामा सघन दुःख र अँध्यारो, अर्कोमा भर्भराउँदो आगो र उज्यालो पोत्दा जसको मुहारचित्र बन्छ, त्यो पारिजातको हुन्छ । पारिजातको जीवनमा जुन विविधता पाइन्छ, त्यही विविधता उनका रचनामा पनि पाइन्छ । त्यही विविधता नै पारिजातको ब्रान्ड पनि हो ।

एकथरी मान्छे तिर्खा लाग्यो भने नदीसम्म गएर पानी पिउँछन् । अर्काथरी मान्छे अरूलाई पनि तिर्खा लागेको हुन सक्छ भनेर नदीको पानीलाई अनेक उपाय लगाएर बस्तीसम्म ल्याउने अभियानमा जुट्छन् । साहित्यकार र साहित्यिक कार्यकर्ताबीचको फरक पनि यही हो । राम्रो साहित्यकार खराब साहित्यिक कार्यकर्ता हुन सक्छ । खराब साहित्यकार राम्रो साहित्यिक कार्यकर्ता हुन पनि सक्छ । राम्रो साहित्यकार र राम्रो साहित्यिक कार्यकर्ता– यी दुवै गुण एउटै मान्छेमा भेटिनु एकदमै दुर्लभ कुरा हो । पारिजात तिनै दुर्लभ कोटीकी साहित्यकार एवं साहित्यिक कार्यकर्ता हुन् । त्यसैले त खगेन्द्र संग्रौला ठोकुवा गर्छन्, ‘पुस्तक र साहित्यिक पत्रिकामा, अखबार र पर्चामा, साहित्यिक संघसंस्था र गोष्ठीमा, प्रतिरोधकारी भेला र जुलुसमा, दूरदराजका जनजागरणकारी अभियान र भूमिगत सल्लाह–साउतीमा– पारिजातको हस्तक्षेपकारी उपस्थिति कहाँ मात्र थिएन ?’

पारिजातको सिर्जनाशक्ति देखेर धेरैले वाहवाही गर्दै बूढीऔंला देखाए । केही कुण्ठित मनोरोगीले भने माझीऔंला उठाए र आरोप लगाए— यौनकुण्ठा लेख्ने आइमाई ! चारित्रिक प्रमाणपत्रको ठेक्का लिएका कथित ठेकेदारहरू नानाभाँतीका प्रमाणपत्र दिन पछि परेनन् । प्रशंसाको मात्र होइन, लाञ्छनाको पनि पराकाष्ठा भोगिन् उनले । उनका संस्मरण पढ्दा यदाकदा यस्ता कुराले आँधीबेहरीजस्तो जिन्दगीमा थप आँधीबेहरी थपेको महसुस गर्न सकिन्छ ।

जुन रूखको जरा नै बलियो छ, त्यो रूखलाई आँधीबेहरीसँग केको डर ? पारिजातले हर आँधीबेहरीलाई चुनौती दिइन् । हडबडाएर आफ्नो गतिमा ब्रेक लगाइनन् । उनको प्रतिभाका हाँगाबिँगा यसरी फैलिए कि तिनले राष्ट्रको सीमा नाघेर अन्तर्राष्ट्रिय भूगोलमा समेत रङ देखाए । अमेरिकाको मेरिल्यान्ड विश्वविद्यालयमा उनको ‘द ब्लु मिमोसा’ को अध्ययन–अध्यापन हुनु त्यसैको एक उदाहरण हो ।

हाजिरीजवाफमा पारिजातको वास्तविक नाम के हो भनेर सोध्दा विष्णुकमारी वाइबा भन्न जति सजिलो छ, विष्णुकुमारी वाइबाले आफैंलाई पारिजातमा रूपान्तरण गर्दाको यात्रा उति नै सजिलो पक्कै थिएन । एउटा अन्तर्वार्तामा उनको स्वीकारोक्ति छ, ‘मेरो व्यक्तिगत जीवन सहज थिएन । म मरुभूमिको पैदलयात्रा गरिरहेकी थिएँ, मेरो कुनै ओयसिस थिएन । मनस्थिति जता छाम्यो उतै रक्ताम्य, जीवन मेरो निम्ति काठको बिछ्यौनामा सुत्नु थियो ।’

उनीभित्रको त्यही द्वन्द्व, दुःख र संघर्षले खारेको हो उनलाई, जसरी आगोले सुनलाई खार्छ । पृथ्वीको गर्भमा डरलाग्दा कम्पनहरू पैदा भएपछि नै हिमालहरू बन्ने हुन्, पहाडहरू बन्ने हुन् । पारिजातभित्रका डरलाग्दा द्वन्द्व र कम्पनहरूले हिमाल पारिजात बनायो, पहाड पारिजात बनायो । त्यसो त आफ्नो पहिलो उपन्यास ‘शिरीषको फूल’ नलेख्दै आईएदेखि बीएसम्म पढ्दाको दौरान पारिजातले चारवटा उपन्यास लेखेकी थिइन् । संघर्ष, मानव अन्तर्यामी, शारदा र वरपीपल नामका ती उपन्यास आफैंलाई चित्त नबुझेपछि निर्ममतापूर्वक च्यातेर फ्याँकेकी थिइन् । एउटा नवोदित लेखकलाई आफ्ना ४–४ वटा उपन्यासको पाण्डुलिपि च्यात्न कत्रो हिम्मत चाहिन्छ ? पारिजात त्यही हिम्मतको अर्को नाम थिइन् ।

पारिजात अर्थात् एक अराजकता । पारिजात अर्थात् एक जटिलता । पारिजात अर्थात् एक घुमावदार अस्तित्व । पारिजात अर्थात् एक विस्फोटन । पारिजात अर्थात् एक विद्रोही पाठशाला ।

पारिजातको सौन्दर्य विरोधको मात्र होइन, विरोधाभासको पनि हो । ‘शिरीषको फूल’ लाई आफैंले ‘जनविरोधी उपन्यास’ घोषणा गरिन्, जनताले सबैभन्दा बढी त्यही शिरीषको फूललाई रुचाए । उनले जलाइ दिए पनि हुन्छ भनेको उपन्यास उनको अमरताको मुख्य कारण बन्न पुग्यो । जसको कर्म पनि लेखन थियो र धर्म पनि लेखन । जिन्दगीभर लेखिरहिन्, बस् लेखिरहिन् । जीवनको उत्तरार्द्घमा उपचारका लागि पासपोर्ट बनाउने क्रममा भने हस्ताक्षरको ठाउँमा औंठाछाप लगाउन बाध्य भइन् ।

पारिजातले के–के गरिन् ? त्यसको लेखाजोखा समयले गर्दै गर्ला । पारिजातले केचाहिँ गरिनन् ? उनले भने कतै भनेकी छन्, ‘म आफूले आफैंभित्रको स्वास्नीमान्छेलाई मायाले कहिल्यै सुम्सुम्याउन पाइनँ ।’ पारिजातले आफैंभित्रकी पारिजातलाई माया गर्न कन्जुस्याइँ गरे पनि पाठकले पारिजातलाई माया गर्न कहिल्यै कन्जुस्याइँ गरेनन् । जसले पारिजातलाई आत्मसात् गरेर पढेको छ, ऊभित्रको जिजीविषाले पक्कै भनेको छ— ओ जिन्दगी ! तँ जति क्रूर छस्, त्यति नै सुन्दर पनि छस् ।

प्रकाशित : फाल्गुन ७, २०७६ १३:४१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×