२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७३

भाग्यवादका भाष्यकार

डम्बर चेम्जोङ

ललितपुर झरुवारासी गाउँका चेतबहादुर विष्ट यति कट्टर थिए कि ‘को छ, को छ, कसरी जोसुकैसँग यात्रा गर्ने ?’ भनेर बससमेत चढ्दैनथे । गाउँघरमा घोडा चढेर र हिँडेरै सहर पुग्थे । घरमा हाँस, कालिज, गाई, भेडा थिए तर कुखुरा पाल्न बन्देज थियो ।

भाग्यवादका भाष्यकार

तिनै चेतबहादुरका छोरा डोरबहादुर कालान्तरमा जातजाति र समुदायका विविध पक्ष अध्ययनअनुसन्धान गरेर कहलिए । नेपाली मानवशास्त्रका संस्थापक प्राध्यापक बने ।

चेतबहादुर र मीनाकुमारी विष्टका जेठो छोरा डोरबहादुर १९८३ माघ ४ मा जन्मिएका हुन् । उनको विवाह गोरखाकी नारायणी बस्नेतसँग भएको थियो । उनीहरूका तीन छोरा र एक छोरी छन् ।

डोरबहादुरका माइला छोरा पूर्वमन्त्री केशरबहादुरका अनुसार चेतबहादुरले दोस्रो विश्वयुद्ध लडेका थिए । युद्धमा घाइते भएर नेपाल फर्केपछि उनी नेपाली सेनाको कर्णेल भए । २००७ सालमा सेनाबाट अवकाश लिएका उनको दैनिक जीवन र पारिवारिक व्यवस्थामा पनि सैनिकतरहकै अनुशासन थियो । डोरबहादुरले २०१२ सालमा बेलायत बसेर फर्कंदा पशुपतिमा शुद्धि अनुष्ठान गरीवरी चोखिएर मात्र घर पस्ने अनुमति पाएका थिए । डोरबहादुर सानो छँदै अलि बढी जिज्ञासु थिए । पूजा, अनुष्ठान, कर्मकाण्डमा किन, के, केका लागि जस्ता अनेक प्रश्न तेर्स्याएर पण्डित बाजेलाई हैरान पार्थे । मृत्युपश्चात्को किरिया–कर्मलाई ‘आडम्बर’ मान्थे ।

केशरबहादुरका अनुसार हजुरबुबा चेतबहादुरमा जोगी (साधु–सन्त) पाल्ने सोख थियो । गाउँमाथिको महादेवस्थानमा जोगी आएर कुटी जमाउँथे । जोगीलाई खानपिन बन्दोबस्त गरिदिन्थे । कुनै दिन अचानक जोगी गायब हुन्थे, कुटी सुनसान पारेर । प्रश्न उठ्थ्यो, ‘जोगी कता गयो ?’ उत्तर सधैं एउटै— ‘जोगी अलप भयो ।’ यी सबै देख्दै–भोग्दै आएका डोरबहादुर आफैं एक दिन अलप भए ।

बहुप्रतिभाशाली डोरबहादुर

डोरबहादुरलाई लेखनी वा पेसाको कुनै एक विधा र एक शास्त्रमा सीमित गर्न सकिँदैन । उनी कथाकार, उपन्यासकार, चित्रकार, अध्येता, मानवशास्त्री, समाजसेवी, शिक्षक, निष्ठावान कर्मचारी, सिद्धहस्त लेखक, चित्ताकर्षक वक्ता र राष्ट्रप्रेमको जिम्मेवारीबोध गरेका नागरिक थिए । उनी आफू जन्मेको गाउँ र देश बिर्सन पाइँदैन भन्थे । जेठा छोरालाई विवाह गरेर पारिवारिक नबनेसम्म विदेश अध्ययन गर्न जाने अनुमति दिएनन्, विवाह नगरी जाँदा छोरो देश फर्केर नआउला कि भन्ने पीरले ।

माइला छोरा एसएलसीको परीक्षा दिएपछि बोस्टन (अमेरिका) गएका थिए । पारिवारिक मित्रहरूले उनलाई बोस्टन सहरकै स्कुलमा भर्ना गरिदिएछन् । यता डोरबहादुरले दूतावासमार्फत ‘घुम्न पठाएकोलाई स्कुल भर्ना गर्न पाइँदैन’ भनेर फिर्ता बोलाइहाले । पीर उही, उतै पढेपछि देश नफर्कला कि भन्ने । डोरबहादुरका लागि छोराछोरीले घोडा चढ्न, बन्दुक हान्न, साइक्लिङ, ड्राइभिङ र स्विमिङ जान्नैपर्थ्यो ।

शिक्षक डोरबहादुर

डोरबहादुर २०१२ सालमा बेलायतबाट फर्केपछि पाटन मंगलबजारको कन्या हाइस्कुलको हेडमास्टर भए । कन्या हाइस्कुलसँगै जोडिएको घर हालका शताब्दी पुरुष सत्यमोहन जोशीको थियो । डोरबहादुरको मित्रता र बसउठ तिनताका सत्यमोहनसँग थियो ।

डोरबहादुरले ‘नर्मल’ तालिमको शिक्षक भएर देशका विभिन्न भागमा पढाए । त्यसबेला १२–१४ वर्षसम्म पनि स्कुल नगएकाहरूलाई नर्मल तालिम पढाएर कक्षा १, ३, ६, ८, १० गर्दै एसएलसी परीक्षा लेख्न लगाउने चलन थियो । डोरबहादुरपछि त्रिभुवन विश्वविद्यालयमा मानवशास्त्रको शिक्षक भए । उनले आफू रहेबसेको स्थानमा स्कुल खोले । जस्तै– कीर्तिपुरमा दलितहरूका लागि स्कुल (आजसम्म चलेकै छ), जुम्लाको चौधबीसमा कर्णाली इन्स्टिच्युट स्थापना, पछि स्कुल ।

आख्यानकार डोरबहादुर

पाटन कन्या हाइस्कुलको हेडमास्टर हुँदाताका आफूले भोगे–देखेको, अवलोकन गरेको सामाजिक जीवनलाई डोरबहादुरले आख्यानात्मक कलेबर दिएर कथा लेखे ।

कामका दौरान देश–विदेश भ्रमणका क्रममा अवलोकन र अनुभवमा आधारित कथाहरू ‘डोरबहादुर विष्टका कथाहरू’ मा सँगालिएका छन् । ‘कालीगण्डकीको हुरी’, ‘ता कर्व्यु’, ‘पान सुका’ केही प्रमुख कथा हुन् । ती कथा सामाजिक यथार्थपरक घटनामा बुनिएका छन् ।

डोरबहादुरले महावाणिज्यदूतका हैसियतमा ल्हासा बसाइमा आफूले अवलोकन गरेको नेपाली व्यापारीहरूको जीवनको एउटा पाटोमा आधारित रहेर उपन्यास ‘सोताला’ लेखेका छन् । डोरबहादुरका कथा र उपन्यासबाट मात्र पनि उनी सामाजिक यथार्थवादी आख्यानकार हुन् भन्न सकिन्छ ।

एथ्नोग्राफर डोरबहादुर

डोरबहादुर विष्ट नेपाली मानवशास्त्रका संस्थापक हुन् । उनले आफैं भ्रमण गरेर र समुदायसँग भेटेर नेपालका जात–जाति तथा समुदायको सामाजिक, सांस्कृतिक परम्परा, जीवनशैली र रहनसहन समेटिएको पुस्तक ‘पिपुल अफ नेपाल’ सन् १९६७ मा प्रकाशन गरे । त्यति बेला नेपालको सांस्कृतिक र सामाजिक विविधता झल्काउने सबैभन्दा आधिकारिक पुस्तक थियो ‘पिपुल अफ नेपाल’ । सम्बन्धित विषयमा यो पुस्तक आज पनि अतुलनीय छ । ‘पिपुल अफ नेपाल’ को नेपालीमा अनूदित पुस्तक ‘सबै जातको फूलबारी’ हो ।

त्रिभुवन विश्वविद्यालयको अनुसन्धान केन्द्र सेन्टर फर नेपाल एन्ड एसियन स्टडिज (सिनास) मा रहेर उनले नेपालको मानवशास्त्रीय अध्ययन अनुसन्धान गरिरहेकै बखत सन् १९८१ मा स्नातकोत्तर तहमा मानवशास्त्र र समाजशास्त्र विषयको अध्यापन सुरु भयो । त्यसका प्रथम शिक्षक डोरबहादुर नै भए ।

‘पिपुल अफ नेपाल’ सम्भवतः नेपालबारे नेपालबाट प्रकाशित पुस्तकमा सबैभन्दा बढी बिक्री हुनेमा पर्छ । प्रथम प्रकाशन भएको पाँच दशकपछि आज पनि यो पुस्तक निरन्तर बिक्री भइरहेको छ । डोरबहादुरका छोरा केशरबहादुर सम्झन्छन्, ‘त्यो पुस्तक राजा वीरेन्द्रलाई अत्यन्त मन परेको थियो । अंग्रेजीभाषीका लागि नेपाल चिनाउन त्यो नै सबैभन्दा उपयुक्त पुस्तक हो भन्ने थियो । राजा वीरेन्द्रले आफूसँग भेट्न आउने प्रत्येकजसो विदेशीलाई त्यो पुस्तक उपहार दिनुहुन्थ्यो ।’

आफ्नो ल्हासा बसाइको अवसर सदुपयोग गरेर डोरबहादुरले वर्णनात्मक रूपको ‘रिपोर्ट फ्रम ल्हासा’ पनि लेखेर प्रकाशन गरे ।

“डिभलपमेन्ट एन्थ्रोपोलोजिस्ट” डोरबहादुर

मानव समुदायका व्यावहारिक समस्या समाधान गर्न वा समाजलाई सकारात्मक दिशातर्फ लैजान मानवशास्त्रको सैद्धान्तिक ज्ञान र अध्ययन विधि सदुपयोग गर्ने कर्म र उपविधालाई विकास मानवशास्त्र भनिन्छ । यस कर्ममा अर्थात् विकास मानवशास्त्रीका रूपमा डोरबहादुरलाई अरू नेपाली समाज वैज्ञानिकहरूको त कुरै छाडौं, मानवशास्त्रीहरूले समेत हेर्न वा बुझ्न खोज्ने प्रयास गरेझैं लाग्दैन । डोरबहादुरमा स्पष्ट सैद्धान्तिक दृष्टिकोण र त्यसलाई कार्यान्वयन गर्ने क्षमता तथा जुक्ति थियो भन्ने उनका कामले प्रस्ट्याउँछन् ।

दुर्गम क्षेत्र विकास समितिको सदस्यसचिवका हैसियतमा डोरबहादुर सरकारी सेवामा पनि रहे । त्यस अवसरमा उनले भारतको कश्मीरबाट सानो हवाइजहाजमा बिरुवा ल्याएर जुम्लामा स्याउ बगैँचा सुरु गराए । छोरा केशरबहादुरका अनुसार सुरुमा जुम्लाको स्याउको बजारै थिएन । खाइनसक्नु फल्थ्यो ।

स्थानीयले स्याउले बजार नपाएकोमा डोरबहादुरसँग गुनासो गर्थे । त्यतिबेला उनी ‘मान्छेले खाइनसकेको गाईलाई खुवाउनू, ती साना–साना गाई बढेर ठूला हुन्छन्’ भनेर जवाफ दिन्थे । आज जुम्लामा लाखौंको स्याउ बिक्री हुन्छ ।

पछिल्लो पटक डोरबहादुरले कर्णाली इन्स्टिच्युट स्थापना गरे । जुम्लाको चौधबीसमा पानीघट्टबाट विद्युत् निकालेर गाउँमा बाँडे । विद्यालय स्थापना गरे । त्यहाँ चुह्लोको धूवाँ घरभित्रै भुमरीसरी घुमिरहने चिम्नीबिनाका घर थिए । डोरबहादुरले घर–घरमा धूवाँ जाने चिम्नी राख्न सिकाए ।

तातो पानीले नुहाउन, हात–मुख धुन सजिलो र सफा हुन्छ भन्ने हेक्का थिएन चौधबीसवासीमा त्यतिबेला । छोरा केशरबहादुरका अनुसार बालबालिकाले हात सफा नगर्नाले मयल जमेको हुन्थ्यो । डोरबहादुरले बालबालिकालाई विद्यालयमा पढ्न बोलाउँथे र उनीहरू ‘बड्डाकामा पढ्न जाने’ भन्दै आउँथे । ‘बड्डा’ ले ठूलो खड्कुलोजस्तो भाँडोमा पानी तताउँथे । बालबालिकालाई दाहिने वा देब्रे एउटा मात्र हात मनतातो पानीमा डुबाएर राख्न लाउँथे । निकैबेर राखेपछि मयल ढाडिन्थ्यो र हात बाहिर निकालेर पुछपाछ गरेपछि सफा र सेतो हुन्थ्यो । दुवै हात सँगै अगाडि देखाउन लाउँदा फरक स्पष्ट देखिन्थ्यो । अनि ‘बड्डा’ ले विद्यार्थीलाई भन्थे, ‘लौ घर जाओ र आमालाई अर्को (मयलपत्रे) हात पनि यस्तै बनाइदिनू भन ।’

सिद्धान्तनिष्ठ मानवशास्त्री डोरबहादुर

प्राध्यापक विष्टले समग्र नेपाली समाजको चरित्रबारे अध्ययन गरे । अध्ययन र विवेकका आधारमा नेपालको विकास र आधुनिकीकरणको बाटोमा देखापरेका तगारा पत्ता लगाए र ती कुरा लेखे । उनको किताब ‘फेटलिजम एन्ड डिभलपमेन्ट ः नेपाल्स स्ट्रगल फर मोर्डनाइजेसन’ (१९९१) प्रकाशित भयो । यो पुस्तक विहंगम दृष्टिले समग्र नेपाली समाजको चरित्र जे देखिन्छ त्यसको वर्णन हो ।

डोरबहादुरले जुम्लाको चौधबीसका जनताको सामाजिक, आर्थिक, शैक्षिक जीवनस्तरको रूपान्तरण गर्न जुन विकास–मानवशास्त्रीय कर्म गरे, त्यस किसिमको वस्तुनिष्ठ अध्ययन र अनुभवमा आधारित भएर लेखिएको पुस्तक होइन ‘फेटलिजम एन्ड डिभलपमेन्ट...’ । कुनै व्यक्तिले कुनै पनि क्षेत्रमा हासिल गरेको सफलता वा असफलतालाई निजको भाग्यसँग जोड्ने प्रवृत्ति, चाकरी नगरी जागिर पाइन्न र पाएको जागिर पनि बचाउन सकिन्न भन्ने विश्वास एक–दुई पुस्ताअगाडिको नेपाली समाजमा व्याप्त थियो । व्यक्तिले आफ्नो उन्नति, प्रगतिका निम्ति कल्पनाशीलता (सपना), श्रम, सीप र ज्ञानमा विश्वास नगरेर भाग्यवादी चिन्तनमा भर पर्ने, ‘कर्म गर फलको आशा नगर’ भन्ने र ‘आफ्नो मान्छे’ प्रवृत्ति र चिन्तन नै समाजको आधुनिकताका निम्ति तगारो हो भन्ने व्याख्या ‘फेटलिज्म एन्ड डिभलपमेन्ट...’ मा छ । उनका अनुसार उल्लिखित प्रवृत्तिहरू हिन्दु वर्णव्यवस्थामा आधारित उच–नीच, जोखो–जुठो जातीय व्यवस्थाबाट निसृत भएको हो । यसै प्रवृत्तिलाई विष्टले समग्रमा ब्राह्मणवाद भनेका छन् ।

डोरबहादुरले आफ्नो पुस्तकलाई समाज र संस्कृतिको अध्ययन र विश्लेषणमा जर्मन समाज वैज्ञानिक म्याक्स वेबरको ‘इन्डिविज्युअल रास्नलिटी’ सिद्धान्तको टेकोमा उभ्याएको देखिन्छ । म्याक्स वेबर भन्छन्, ‘समाजमा व्यक्तिहरूको क्रियाकलाप र निर्णय प्रक्रियाहरू रास्नल (विवेकसंगत) हुनुपर्छ । धार्मिक आस्था (जस्तै हरिद्वार तीर्थ गरेपछि पुण्य प्राप्ति हुन्छ भन्ने विश्वास), परम्परागत मूल्य (श्राद्धमा बिरालो बाँध्नुपर्छ) र भावनात्मकता (माया र स्नेहका साथ गरिने व्यवहार) का आधारमा हुने व्यक्तिका क्रियाकलाप विवेकसंगत होइनन् ।

मानिसले के कस्तो जुक्ति र उपायद्वारा कस्तो क्रियाकलाप गरे आफूलाई आर्थिक, सामाजिक र राजनीतिक फाइदा हुन्छ भनेर सकारात्मक परिणामको लक्ष्य किटान गर्न सक्नुपर्छ र त्यसरी अघि बढ्दा भने समग्र समाज र व्यक्ति विवेकसंगत (रास्नल) र आधुनिक (मोडर्न) हुँदै जान्छन् ।’ विष्टको पुस्तकको सार यही हो— नेपाली समाज मूलतः विवेकसंगत सामाजिक अन्तरक्रियामा आधारित छैन । आधुनिकताका अवरोधहरू चाकरी, आफ्नो मान्छे, भाग्यवाद व्याप्त छन् । त्यसैले नेपाली समाजले भनेजस्तो विकास गर्न नसकेको हो ।

अन्तमा

आफ्नो ६९ औं जन्मदिन आउनुभन्दा ६ दिनअगाडि २०५२ पुस २७ देखि डोरबहादुर अलप भएका छन् । जुम्लाबाट नेपालगन्ज उडेर नेपालगन्जमा आफ्नो सम्पर्क केन्द्रमा खबर गरेदेखि उनी सम्पर्कविहीन भएको २४ वर्ष भयो । पहिले गाउँमा जोगी अलप भएको देखिरहँदा डोरबहादुर परिवारमा यदाकदा भन्ने गर्थे रे, ‘म अलप हुन चाहन्छु । मृत्युपछि परिवारका सदस्यहरूले गर्ने कर्मकाण्ड आडम्बर हो ।’

एक महिनाअघि माघ ४ गते उनको ९३औं जन्मदिन मनाउने समारोहमा उनको पुस्तक ‘फेटलिज्म एन्ड डिभलपमेन्ट...’ को नेपाली अनुवाद ‘भाग्यवाद र विकास’ को विमोचन भयो ।

डोरबहादुर मानवशास्त्री मात्र थिएनन्, अध्येता, लेखक, समाज परिवर्तन र विकासका अभियन्ता र देशप्रेमी नागरिक थिए । उनी अलप भएका छन् तर उनले टेकेका पाइला नेपाली मानवशास्त्र र वाङ्मय जगत्मा अमिट छाप बनेका छन् ।

प्रकाशित : फाल्गुन ७, २०७६ १३:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?