चेतनाको चपरी पल्टाउने हलो 

लमजुङको दुराडाँडामा जातपात, उचनीचविरूद्ध तोयनाथ, शेषकान्त, श्रीकान्त अधिकारी, हरिभक्त पौडेलहरुले हलो जोतेर चेतनाको झिल्को झोसे । त्यसले मानिसमा तमाम सत्ता निर्मित मान्यता र चेतनाविरूद्ध उठ्न सकिन्छ भन्ने साहस दियो । 
यादव देवकोटा

वैदिक हिन्दु समाजमा स्मृति व्याख्यानको आवरणमा अनेकन् मुनिहरूको पटाक्षेप हुँदै गएपछि हिन्दु समाज वर्णव्यवस्था र उँचनीच (जातपात) को विभेदकारी संरचनामा विघटित भयो । प्रारम्भमा कर्मको, योग्यताका आधारमा तय हुने वर्णव्यवस्था कालान्तरमा जन्मका आधारमा स्वतः निर्धारण हुने परम्परा बन्यो ।

चेतनाको चपरी पल्टाउने हलो 

त्यसले समाजमा जन्मका आधारमा भेदभाव, छुवाछूत, जातपातको घृणित चेतना, व्यवहार आरोपित गरिदियो । त्यस्तो व्यवहारका लागि अभ्यस्त चेतनामा बनिबनाउ आधारहरू थिए– कसले के गर्न हुने, कसले के गर्न नहुने । एउटा जातका लागि तय गरिएको कर्म अर्को जातका लागि निसिद्ध थियो । जस्तो– वेद पढ्न दलितहरूलाई निषेध थियो (अझै आमरूपमा निषिद्ध छ), हलो जोत्न ब्राह्मणलाई ।


निषेधविरुद्धको कर्ममा क्रियाशील हुनु धार्मिक, सामाजिक सत्ता परम्पराविरुद्ध हुन्थ्यो । दण्डनीय हुन्थ्यो । तत्कालीन जातीय सत्ताले बहिष्कृत, निष्कासित र परित्याज्य कर्मका रूपमा व्यवहार गर्थ्यो । त्यसैले मानिसपरम्परा, संस्कृति, धर्मका नाममा आफूमाथि थोपरिएको बोझले खिइँदै, टाक्सिँदै त्यसैलाई सत्य मानेर त्यसको भार खेप्दै जिन्दगी निखार्न अभिशप्त हुन्थ्यो । यसरी समाजमा परम्पराको रखवारी गर्ने र त्यसैको बलमा सामाजिक सत्ताको अमनचयन कायम गर्नेहरूको बिगबिगी रहन्छ ।


अर्कोतिर धार्मिक, सामाजिक सत्ताको अडेस लगाएर जनसाधारणको जीवनको शान्ति, सुख, अमनचयनमा लुट मचाएर गरिखाने मानिसको जिन्दगीलाई अशान्त र अत्यासलाग्दो बनाउनेहरूविरुद्ध चेतनाको झिल्को बाँड्न जुनसुकै स्तरको बलिदानीका लागि तम्तयार चेतनादूतको उपस्थिति पनि समाजमा भइरहेकै हुन्छ । ढिलोचाँडो मात्रै हो, अन्धकारविरुद्ध चेतनाको दियो सल्काउन कठिन परम्परा, सत्ता बन्धनविरुद्ध दृढतापूर्वक उभिने र मानिसमा नयाँ उत्साह, सपना, बाटो देखाउन हिम्मत गर्नेहरूको गर्जो समाजलाई कहिल्यै पर्दैन ।


लमजुङ दुराडाँडामा २००६ सालमा ब्राह्मणहरूले सामूहिक रूपमा सञ्चालन गरेको हलो जोत्ने अभियान रूढ परम्पराविरुद्धको साहसिक विद्रोह थियो । दुराडाँडाका पण्डित तोयनाथ अधिकारी, शेषकान्त अधिकारी, हरिदास अधिकारी, हरिभक्त पौडेललगायतले वि.सं. २००३ तिरै हलो जोत्नेबारे मतो गरेका थिए । तोयनाथ आफ्नो समयका नामी आयुर्वेद चिकित्सक थिए । शेषकान्त भैरहवा वेथरी अमिनीमा लप्टन भई भीमशमशेरको कोपभाजन भएर जेल परिवरी जुद्धशमशेरको पालामा रिहा भई आएका बुज्रुक थिए । गाउँका अन्य अगुवाहरू मुखिया हरिदास, हरिभक्तसमेत भई उनीहरूले त्यही मतोलाई अघि बढाउने सिलसिलामा जनचेतना बढाउन २००३ सालदेखि लगातार एक वर्ष गाउँमा श्रीमद्भागवत पुराण लगाए । त्यसैका माध्यमबाट अन्याय, अत्याचार, कुरीतिविरुद्ध चेतना फैलाए ।


हलो जोत्ने मतोलाई व्यवहारमा उतार्न शास्त्रको विधिविधान अध्ययन गर्ने जिम्मा तोयनाथलाई, समाज व्यवहार मिलाउने जिम्मा हरिदासलाई, समन्वय र व्यवस्थापनको जिम्मा शेषकान्त र कानुनी पक्षको जिम्मा हरिभक्तमा विन्यास गरियो । २००५ फागुनमा हरिदासको निधन भएपछि केही सुस्ताएको अभियानले २००६ साउन ११ मा दुराडाँडाको बाटेगरामा मूर्तरूप लियो । तोयनाथले सुरु गरेर २७ जना ब्राह्मणले एकपछि अर्को गर्दै सामूहिक रूपमा हलो जोतेर रूढ परम्पराविरुद्धको जागरणलाई पहिलो पटक आकार दिए ।



हलाकर्षण अभियानमा दुराडाँडाका बाहुनहरू सामेल भएपछि स्थानीयस्तरमा चर्काचर्की, सामाजिक बहिष्कार, कविता र गीतमा आरोप प्रत्यारोप चल्न थाल्यो । दलितले समातेको अनौ छोएको भन्दै छिछि, दुरदुर गर्न थालियो । सार्की र घर्तीहरूले मात्रै हलो जोत्ने प्रचलन थियो । हलो जोत्नेहरूका विरुद्ध झ्याली पिटाएर उनीहरू दलितसरह भएको घोषणा स्थानीय कट्टरपन्थी ब्राह्मण समाजले गर्‍यो । भातपानी नचल्ने गराइयो । रुढिवादीहरूले परम्परा, रीतिथिति, संस्कृति विकृत पारेको भनेर कारबाहीको माग गर्दै राणा सरकारसमक्ष चुक्ली पठाए ।


जो छोरी/बुहारी घर/माइत गएका थिए उनीहरू उतै रहे । कोही आउन, जान पाएनन् । डेढ/दुई वर्षपछि घर, माइत जान पाउन थालेपछि समेत भान्सामा बन्देज गरियो । कसैले छोरी, बुहारीलाई भान्सामा लग्यो कि भनेर चियोचर्चो गर्थे (अधिकारी मित्रकुमारी– ससुराले हलो जोतेकाले माइतीको भान्सा छिर्न दिएनन्, सेतोपाटी, ३ वैशाख, २०७६, अमृता लम्सालसँगको कुराकानी) ।

वैदिक आर्यहरूमा हलो जोत्नु कुनै अपराधजन्य कर्म थिएन । ‘पराशरस्मृतिः हलवेधकरण’ ले ब्राह्मणले हलो जोत्न हुने भनाइ राखेको, मनुस्मृतिले समेत ब्राह्मणले हलो जोत्न हुने भनाइ राखेको भन्दै तोयनाथलगायतले परम्परावादीहरूको लाञ्छना, आरोप र निन्दालाई शास्त्रकै अडेस लगाएर प्रतिवाद गरेका थिए (सुवेदी, हंसपुरे–सांस्कृतिक परिवेशमा नेपालको हलो क्रान्ति, पृ. ५६) ।


दुराडाँडाको हलो क्रान्तिको बद्ख्वाइँ गर्न दुराडाँडाकै कोइरालाफाँटका कोइरालाहरू, बर्बोटका खनियाँहरू, पछि बडागुरुज्यूसमेत भएका जुननाथ पण्डित, तीर्थराज, उमानाथ, नरनाथ आचार्यहरूले धार्मिक विश्वासमा आधारित रुढिग्रस्त चेतमा अडेस लगाउने कोसिस गरेको देखिन्छ :

पराशरका बचनको अनर्थ गरी अर्थको

सरासर जोति हालेछन् वास्ता नगरी धर्मको

ब्राह्मणले पनि जोत्न हुन्छ भन्ने मुस्तेज तिघ्रे हठै

मर्यादा श्रुतिशास्त्रको नबुझी क्यै सन्केर बिग्रे कठै !


कट्टरपन्थी परम्परावादी त्यसरी हलो क्रन्तिमा सामेल भएकाहरूलाई निन्दित गर्दै व्यक्तिगत तवरमा मानमर्दन गर्नसमेत उद्यत् रहे :

शेषकान्त लप्टन हरिभक्त तिघ्रे

तोयनाथ पण्डित हलो जोती बिग्रे (सुवेदी, उही, पृ. २३)


सर्वत्र निन्दा र आलोचनाले लपेटेपछि हलो क्रान्तिले स्वाभाविक हिसाबले सार्वजनिक चर्चा र चासो बढायो । हलो जोत्नु नै परम्परा, सत्ताविरुद्धको विद्रोहको झिल्को बन्न गयो । माथिदेखि तलसम्म हुकुमी मनोमानीको बुटमुनि मानिसको स्वतन्त्रता कुल्चेर निष्पट्ट अँध्यारो र चकमन्न सन्नाटामा देशलाई बन्धक बनाएका दिनमा नागरिकको सामान्य चल्मलाहट पनि विस्फोटक आवाज बन्ने अवस्था थियो । दुराडाँडाका बाहुनहरूले हलो जोत्ने साधारण कर्म गरेपनि त्यसले मानिसमा प्रचलित तमाम सत्ता निर्मित मान्यता र चेतनाविरुद्ध उठ्न सकिन्छ भन्ने साहस र चेतना दियो । सामाजिक वर्गसंघर्षको बलमा अन्ततः त्यसले राणा सत्ताद्वारा थोपरिएको सन्त्रासविरुद्ध उभिएर अधिनायकवादको चपरी पल्टाउने जागरणको झिल्को बनिदियो मानिसको आत्मबलमा ।


त्यही झिल्कोमा लपेटिएर २००६ पुस ६ गते कविराज रामप्रसाद खनाललगायतका ब्राह्मणले तनहुँ टुहुरेपसल नजिकको बिर्ताबगरमा हलो जोते । माघ ६ गते लमजुङ करापुटार चिशंकुमा डिट्ठा श्रीप्रसाद घिमिरेलगायत ब्राह्मणले हलो जोते भने माघमै दुराडाँडामा पुनः पुरानै अभियन्ताको नेतृत्वमा नयाँ सदस्यहरू समेत सामेल भई दोस्रोपटक हलो जोतियो । फागुनमा कास्कीको तालबाराही फाँटमा मुक्तिनाथ तिमिल्सिना, ऋषिकेशव पराजुलीलगायतका बाहुनले, फागुन २२ मा धादिङ केवलपुरमा देवीप्रसाद पौडेल (केवलपुरे किसान) लगायत बाहुनले, २००७ वैशाख १३ मा गोरखाको काफलडाँडा देउरालीफाँटमा पूर्णप्रसाद ब्राह्मण (दुवाडी) सहितका बाहुनले हलो जोते । वैशाखमै त्यो झिल्को फैलिएर अर्घाखाँची पोखराथोक पुग्यो । त्यहाँ काशीनाथ गौतमलगायतका बाहुनहरूले हलो जोतेका थिए (सुवेदी, उही, विभिन्न पृष्ठ) ।


दुराडाँडाको हलो क्रान्तिका जनक तोयनाथ अधिकारी प्रतिबद्ध समाज सुधारक, छुवाछूत, भेदभावविरोधी अभियन्ता थिए । तिनले २००९ मै गाउँमा विद्यालय खोलेर दलित र गैरदलितबीच सामूहिक शिक्षा लिने व्यवस्था गरेका थिए । बहिनी चिजमाया पौडेल माइत आउँदा आइतबहादुर सार्कीलाई कोसेलीको भारी बोकाएर घर पठाएका थिए । सार्कीलाई बोकाई कोसेली ल्याएको भनेर चिजमाया घरबाट निकालिइन् र बाँकी जिन्दगी माइतीमै बसेर गुजार्न बाध्य भइन् (पौडेल, चिजमाया/सार्की, आइतबहादुर– हलो क्रान्तिका जनक पण्डित तोयनाथ अधिकारी, पृ १०२/७७) ।


लमजुङको दुराडाँडाबाट जातपात, भेदभाव, उँचनीचविरुद्ध तोयनाथ, शेषकान्त, श्रीकान्त अधिकारी, हरिभक्त पौडेलहरूले झोसेको चेतनाको झिल्कोक्रान्तिको स्वरूप धारण गरेर देशव्यापी रूपमा प्रज्वलित हुन थाल्यो । शताब्दीऔंदेखि जमेर बसेको चेतनाको बाँझो पाखोलाई तिनले अदम्य सहस र विद्रोहको फाली गाडेर एकएक चपरी पल्टाउँदै खुकुल्याए । किसानलाई सजिलो पार्ने, श्रमप्रति सम्मान गर्ने र छुवाछूतविरुद्ध चेतना फैलाउने झिल्कोका रूपमा हलो क्रान्तिले भूमिका खेल्न थाल्यो ।त्यसबाट झस्किएको राणा सरकारले आफ्ना रैथाने चाकरीदारमार्फत प्राप्त चुक्लीलाई आधार बनाएर दुराडाँडामा हलो क्रान्ति भएको वर्ष दिन पुगेकै दिन २००७ साउन ११ को साँझ तोयनाथ, शेषकान्त र श्रीकान्तलाई गिरफ्तार गर्‍यो । लेफ्टिनेन्ट यमबहादुरको नेतृत्वमा गएको मिलिसियाले उनीहरूलाई दुराडाँडाबाट पोखराका बडाहाकिम धनशमशेरकहाँ पुर्‍यायो । थुनुवा पुर्जीबिना हिरासतमा राखियो । पुर्जीबेगर अन्नपानी नै नखाने भनी अनशन बसे र उनीहरू४८ घण्टापछि हाजिरी जमानतमा छुटे (अधिकारी, जीवन– हलो क्रान्ति, विभिन्न पृष्ठ) ।


आजको चेतनाले हेर्दा ब्राह्मणले हलो जोत्नु कुनै अनौठो र चर्चायोग्य विषय होइन । तर सामन्तवादी रुढि चेतनाले जकडिएको सामाजिक मनोदशालाई कज्याई धर्मलाई टेको लगाएर बसेको निरंकुश सत्ताले ढलीमली गरेको दिनमा परम्पराविरुद्ध उभिनु अकल्पनीय विद्रोह हुन्थ्यो । आफूले मानेको व्यवहार, प्रचलित संकथन, स्थापित मान्यताविरुद्ध छुस्स कसैले मत राख्यो भने आजैका दिनमा समेत ती स्थापित मतका अनुचरहरूमा नयाँ मत र चलमलाहटविरुद्ध झम्टिने प्रवृत्ति जारी छ । बोल्ने, मत राख्ने, आफ्नो चेतनालाई सार्वजनिक आकार दिने काम केही निश्चित समूह, मानिस, वर्गको हो भन्ने आजै पनि केही रूढहरूलाई लागेको छ । किन पनि भने विगतमा वाणीविहीन जनसाधारण प्रविधिको विकासले ल्याएको विभिन्न सामाजिक सञ्जालबाट मुखर हुन थालेपछि मानिसलाई भ्रम बेचेर राजनीतिको जीविका चलाउनेहरू उदांगिन थालेका छन् । तिनको भ्रमको मायाजाललाई जनसाधारणले सस्ता टुक्काहरूको उपमा दिएर सार्वजनिक अविश्वास प्रकट गरेपछि नागरिकको मुखर वाणी रोक्न बर्दीवालहरू परिचालन गर्ने कानुनी छिद्रहरूको तर्जुमाका लागि सत्ताधारी छट्पटाहट सतहमा आएको छ ।


दुराडाँडाको हलो क्रान्तिले स्पष्ट रूपमा चेतनाको झिल्कोको काम गरेको निर्विवाद छ । त्यसअघि नै परम्परागत मान्यताविरुद्ध ब्राह्मणहरूले हलो जोतेको दाबी गरेको पनि पाइन्छ । तरचेतना फैलाउने गरी संगठित र सार्वजनिकस्तरमा त्यसरी हलो जोतेको देखिँदैन । २००६ फागुनमा कास्की तालबाराही फाँटको हलो क्रान्तिमा सामेल भएका मुक्तिराम तिमिल्सिनाले लेखेका छन्– २००१ फागुनमा मैले हलो जोतेर आफ्नै बारीमा मकै लगाएको थिएँ । अधिराज्यमा हलो जोत्ने पहिलो उपाध्याय बाहुन म नै हुँ (मुक्तिनाथ तिमिल्सिना, पृ. ११) ।

२००३ सालको गोरखापत्रको सम्पादकीयमा पहाडको कुनै गाउँमा एक जना महिलाले हलो जोतेको विवरण उल्लेख छ । तर ठोस स्थान र परिचय नखुल्नुले ती चेतनशील क्रान्तिकारी महिलाबारे थप जानकारी हासिल हुन सकेन । सम्भवतः राणाकालीन दिनमा ती महिलामाथि पर्नसक्ने सत्ताको कुदृष्टिबाट जोगाउन सम्पादकले परिचय लुकाएका पनि हुनसक्छन् । २००३/०४ को गोरखापत्रमा हलो जोत्नेसम्बन्धी पाठकपत्र, लेख, प्रत्युत्तर बाक्लै छापिएको पाइन्छ । गोरखापत्रमा बाहुनले हलो जोत्न हुनेबारे शास्त्रलाई आधार बनाएर सार्वजनिक बहस चलेको देखिन्छ (पराजुली, लोकरञ्जन– हलो विमर्श, कान्तिपुर, १४ फागुन, २०७३) । पश्चिम नेपालको अमूक ठेगाना दिएर त्यसरी चलाइएको बहसमा कतै तिनै दुराडाँडाका हलो क्रान्ति अभियन्ताहरूको संलग्नता त थिएन भनेर सोच्न बाध्य बनाउँछ । यसर्थ पनि कि, त्यसरी छापिएकामध्ये एउटा सामग्री बन्दीपुरका नेवारहरूका नाममा १ फागुन, २००४ मा छपाएको देखिन्छ– नेवारहरूले पनि हलो जोत्न पाउनुपर्ने भन्दै ।


शेषकान्त अधिकारी


ब्राह्मणले हलो जोत्ने कामलाई कुनै दिनमा राज्य, समाज, धर्माधिकारीले अपराध, पापका रूपमा परिभाषित गरेका थिए । त्यो व्यवहार र परिभाषाविरुद्ध राणाहरूले सत्तामा ढलीमली गरेको दिनमा उभिनु चानचुने काम थिएन । उसै पनि राणाहरू आफूलाई लमजुङ र कास्कीको महाराज भनाउँथे । त्यहाँको व्यवस्थामा रत्तिभर तलवितल पर्नु राणाहरू आफ्नो अहंमाथिको हमला सम्झन्थे ।हलो क्रान्तिका चेतनादूतहरूमा भने परम्परा, धर्म, राणाहरूको त्यो हुकुमी जञ्जिरको खतरा कतिसम्म थियो भन्ने दुराडाँडा हलो क्रान्तिका एकजना अभियन्ता श्रीकान्त अधिकारीका यी बुझाइले संकेत गर्छ– ‘सदियौंदेखि जमठ भएको संस्कारको बाँझो छिचोलेर चेतनाको बत्ती बाल्छौं भन्ने हिसाब राखेर नै एउटा चुनौतीपूर्ण घडीमा हलो क्रान्ति हुन गएको थियो ।


माथि हुकुमी राणाशाहीको क्रूरसत्ता थियो भने गाउँगाउँमा तिनका जरा ठालु, शोषक, जिम्मावाल, तालुकदार, फटाहाहरू र तथाकथित पुरोहित पण्डितको छिचोलिनसक्नु हैकम थियो । बीचमा स्थानीय हाकिम, बडाहाकिमहरूको प्रशासन थियो जसले गर्दा परिवर्तनको हिसाबमा र नयाँ चेतनाको हिसाबमा कसैको चुँ सम्म गर्ने सामर्थ्य हुँदैनथ्यो । सदैव गोर्खेलौरी पर्ने खतरा हुन्थ्यो । (सुवेदी, उही, विशेष मन्तव्य, पृ क,ख) ।’


तिनै चेतनादूतहरूले भेदभाव र कुप्रथाविरुद्ध आफूलाई उभ्याउने हिम्मत गरेकैले नेपाली समाजमा एउटा रूढ परम्पराको चेतना ढल्यो । ब्राह्मणहरूले हलो जोत्नु अपराध होइन, यो त हाम्रो जस्तो आकाशे पानीको भरमा खेती लगाउनुपर्ने किसानका लागि जिन्दगी सजिलो बनाउने सामूहिकता हो भन्ने प्रमाणित गरे । साथै कुनै पनि कर्म जन्मकै आधारमा कसैका लागि पनि स्वतः निषिद्ध या विशिष्ट हुँदैन भन्ने चेत पनि हलो क्रान्तिले परिशीलन गर्‍यो ।

प्रकाशित : फाल्गुन ७, २०७६ १३:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?