१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४७

भाषाका कुलगुरु

यी नहुँदा नेपाली भाषाको गति रोकिने त थिएन, तर यी नभएका भए नेपाली भाषा आजको स्थितिमा आइपुग्ने पनि थिएन । २३ वर्षको कलिलो उमेरमै, २०१३ सालमा उनले झर्रोवादको शंखनाद गरे । झर्रोवाद नेपालीलाई अन्य भाषा, खासगरी हिन्दी, अंग्रेजी र संस्कृतको छायाबाट मुक्त गरेर टडकारो पहिचानका साथ अघि बढाउने नौलो पाइलो थियो ।
शरच्चन्द्र वस्ती

नेपाली भाषालाई मौलिकता, शुद्धता र स्तरीयताको बाटोमा डोर्‍याउने कुलगुरु हुन्, प्रा. बालकृष्ण पोखरेल । ऐतिहासिक अन्वेषण, भाषाशास्त्रीय अनुसन्धान र वैयाकरणिक एवं शब्दकोशीय व्यवस्थापनद्वारा उनले नेपाली भाषालाई छ दशकसम्म पथप्रदर्शन गरे, जुन कालखण्डलाई भाषाको बालकृष्ण युग भन्न सकिन्छ ।

भाषाका कुलगुरु

यी नहुँदा नेपाली भाषाको गति रोकिने त थिएन, तर यी नभएका भए नेपाली भाषा आजको स्थितिमा आइपुग्ने पनि थिएन । भाषाको जुन स्वरूपको परिकल्पना यिनले गरे र त्यसलाई साकार पार्न जस्तो अभियान चलाए, आजको नेपाली भाषा त्यसैलाई मियो मानेर विकसित भएको हो ।


प्रतिभाको विस्फोट प्रतीत हुन्थे उनी, र ऊर्जाको सागर जस्ता लाग्थे । नेपाली भाषाका ‘फ्रेन्ड, फिलोसफर, गाइड’ त छँदैथिएÙ संस्कृत, हिन्दी, अंग्रेजी, बंगाली, मगर आदि भाषामा समेत गहिरो अधिकार राख्थे । तीन दशक विश्वविद्यालयमा पढाएका यिनका आठवटा त उपनाम नै थिए । काव्य, नाटक, उपन्यास, कथा संग्रह, कविता संग्रह, निबन्ध संग्रह गरी झन्डै ११० वटा सरस साहित्यिक कृति रचेका छन् उनले । हप्तैपिच्छे एउटा (कहिलेकाहीं त दुइटा पनि) का दरले लगालगी ५० भन्दा बढी उपन्यास ‘वसन्त’ उपनामबाट मात्र लेखे । भाषिक–अनुसन्धानात्मक गहन कृतिहरूको फेहरिस्त फेरि यसभन्दा बेग्लै छ । ‘नेपाली भाषा र साहित्य’ पुस्तकमा २०२१ सालमा मदन पुरस्कार पाए । जीवनको अन्तिम समयमा उनले सबैभन्दा बढी सम्झने आफ्ना कृति चाहिं तीनवटा थिए : नेपाली भाषाको प्राचीनता अनुसन्धान गरिएको ‘पाँच सय वर्ष’, १४ वर्षको मिहिनेतबाट तयार पारिएको ‘खस जातिको इतिहास’, अनि ५२ वर्षको अध्यवसायबाट निर्माण गरिएको ‘बृहत् नेपाली–अंग्रेजी–नेपाली शब्दकोश’ । आफैं चाहिं विश्वकोश जस्ता थिए : कुनै एउटा थर, नदी वा ठाउँको नाम मात्र भनिदिनुपर्थ्यो; त्यो शब्दको उठान इतिहासमा कसरी भयो, त्यो शब्द विश्वमा कहाँ कहाँ पुगेको छ, कुन भाषामा कुन रूपमा प्रचलित छ, त्यसको स्वरूप र अर्थ परिवर्तन कसरी भएको छ, त्योसँग सम्बद्ध जाति, भूगोल, परम्परा र संस्कृति के के हुन् आदि इत्यादिको धाराप्रवाह वर्णन चल्थ्यो— तीन, चार वा पाँच घण्टासम्मै ।


पोखरेलको प्रतिभा जति बहुआयामिक भए पनि उनको मूल व्यक्तित्व भने भाषाशास्त्रीकै हो । त्यसमा पनि नेपाली भाषाको मौलिकता, क्षमता र स्वीकार्यता विस्तार गर्न उनले गरेको काम र देखाएको दिशा उनको जीवनको सारांश हो । भाषाशास्त्रको अध्ययन र भाषिक अनुसन्धान त उनले पछि गरे, नेपाली भाषालाई शुद्धता र मौलिकताको बाटोमा डोर्‍याउने अभियान त्यसभन्दा धेरै अघि थालिसकेका थिए । तीव्र भाषिक चेतना उनले शायद जन्मजात रूपमै आफूसँग लिएर आएका थिए, पछिका अध्ययन–अनुसन्धानले त त्यसमा उकेरा हाल्ने काम मात्र गरेका हुन् ।


विद्वत्ता, व्यक्तित्व र भाषाबोधको अतलस्पर्शिता कस्तो भने, उनीसँग राय बझाउने ह्याउ कसैको भएन । होस् पनि कसरी ? ज्ञान र गहिराइको ‘टप टेन’ मा उनी जहाँ थिए, त्यसपछिका सात स्थान त रिक्त नै थिए !


भाषामा काम गर्ने सबैजसो उनकै चेला वा नाति–चेला थिए; सबैका गुरु र पथप्रदर्शक उनै थिए । सगरमाथाका सामु थुम्काथुम्कीको के गन्ती ? तर, आफ्नो गल्ती–कमजोरी थाहा पाएपछि आफैं सच्चिन, ‘प्रायश्चित्त’ गर्न र सही बाटो पक्रन पनि पटक्कै संकोच गरेनन्, जसले उनलाई अतुलनीय त बनाएकै छ, नेपाली भाषाको भविष्यका लागि समेत उत्तिकै सान्दर्भिक र केन्द्रस्थानीय बनाएको छ ।


२३ वर्षको कलिलो उमेरमै, २०१३ सालमा उनले झर्रोवादको शंखनाद गरे । अरू भाषाका शब्द र वाक्यगठन–शैलीको जथाभाबी पैठारीले नेपाली भाषाको पहिचान नै धमिलिंदै गएको त्यस समयमा झर्रोवाद नेपालीलाई अन्य भाषा, खासगरी हिन्दी, अंग्रेजी र संस्कृतको छायाबाट मुक्त गरेर टडकारो पहिचानका साथ अघि बढाउने नौलो पाइलो थियो । झर्रोवादका तर्क, उपपत्ति र ढाँचाकाँचा अलि चर्कै खालका थिए र केही त अतिवादी पनि लाग्थे, तर यसको आलोकमा नेपाली भाषा सङ्लिंदै गयो । विशेषतः हिज्जे सम्बन्धी यसका आग्रहलाई स्थापित गराउन पोखरेलकै अगुवाइमा विभिन्न प्रयास भए र २०४० सालको नेपाली बृहत् शब्दकोश (नेबृश) मा तिनले स्थान पनि पाए । नेबृश उनकै निर्देशन र सक्रियतामा तयार भएको थियो, सम्पादकीय टोली उनकै प्रभामण्डल अन्तर्गत थियो ।


निकै मिहिनेत गरेर तयार पारिएको त्यस शब्दकोशलाई प्रयोगकर्ताले मान्यता त दिए, तर त्यसमा समावेश गरिएको झर्रोवादी उग्रतालाई स्वीकार गरेनन् । नेबृशमा जोश, होश, खुशी, शहर, वकील, रसीद, जादू, कानून जस्ता शब्दको हिज्जे बिगारेर जोस, होस, खुसी, सहर, वकिल, रसिद, जादु, कानुन बनाइएको थियो र तिनै विकृत रूपलाई मूल शब्दका रूपमा पहिलो दर्जाको मान्यता दिएर शुद्ध हिज्जेलाई चाहिं दोस्रो दर्जामा झारिएको थियो । त्यो विचलनलाई प्रयोगकर्ताले मान्यता दिएनन्, शुद्ध हिज्जे नै प्रयोग गरिरहे ।


नेबृशमा गरिएको त्यस प्रयोगले नेपाली भाषामा अराजकताको अन्तहीन शृंखला शुरू गर्‍यो । त्यसले भाषाको परम्परागत हिज्जेलाई कसैको निर्णय वा आदेशबाट एकमुस्ट बदल्न पाइन्छ भन्ने, दुनियाँको कुनै पनि जीवन्त भाषामा कल्पना समेत गर्न नसकिने, अनर्थकारी नजीर स्थापित गर्‍यो । फलस्वरूप, प्रज्ञा–प्रतिष्ठानले घरीघरी जथाभाबी एकमुस्ट हिज्जे बदलेको उर्दी जारी गर्न थाल्यो । २०४० को नेबृशमा दोस्रो दर्जामै झारेर भए पनि राखिएका शुद्ध हिज्जेका शब्दहरूलाई त्यसको तेस्रो संस्करण (२०५८) देखि षड्यन्त्रमूलक शैलीमा हटाइयो । फलतः बालकृष्ण सम, लेखनाथ पौड्याल, लक्ष्मीप्रसाद देवकोटा आदिले प्रयोग गरेका नेपाली वाङ्मयका शब्द नेबृशमा नभेटिने भए । पाठ्यपुस्तकमा उनीहरूका रचनाको हिज्जे बिगारेर राख्ने अभियान चलाइयो । स्कूल–कलेजमा विद्यार्थीलाई शुद्ध हिज्जे पढ्न लेख्न नदिने चाँजोपाँजो मिलाइयो । सञ्चार माध्यम पनि त्यो अराजकतामा फस्दै गए । संयुक्ताक्षर समाप्त पारेर विद्या, विद्वान्, द्वन्द्व लेख्नेसम्मको उर्दी जारी भयो र स्वयं नेबृश समेत त्यसको शिकार हुन पुग्यो । नेपाली भाषा अन्योल, आक्षेप र विवादको चक्रवातमा फस्यो । यसबाट पोखरेल भन्दा बढी व्यथित को हुन सक्थ्यो !


पोखरेलसँगै नाम मिल्ने नाटककार समले ‘आत्मविश्वास’ निबन्धमा भनेका छन् : “वृथाभिमान आत्मविश्वास होइन । ...सत्यको पछिपछि दौडनु, सत्यलाई भेटेपछि खुशी भएर समात्नु, आफूले सत्य ठानेर समातेको त असत्य पो रहेछ र सहवासको प्रभावले त्यो असत्यतामा अनहद प्रीति पनि बसिसकेको रहेछ भने तापनि त्यसलाई एकदम भूइँमा मिल्काएर लुकेको सत्यताको खोजमा जीवनको अन्तिम सास फुकिदिनु, आलस्य त्यागिदिनु नै आत्मविश्वास हो ।” शास्त्र र सूत्रको भेदन गरेर विवेक र प्रज्ञाको तेस्रो नेत्र खुलेकाले पोखरेलमा त्यो आत्मविश्वास थियो । त्यसैले २०४० को नेबृशमा आफूले ‘सत्य’ ठानेर गरेको प्रयोग ‘असत्य’ रहेछ भन्ने थाहा पाउनासाथ त्यसलाई भुइँमा मिल्काएर सत्यको खोजमा उनी आलस्य त्यागेर, सम्पूर्ण शक्तिका साथ अघि बढे र आफ्ना पुराना मान्यता परिमार्जन गरेर नेपाली भाषालाई पुनः बाटो देखाए । उनकै शब्दमा :

“डा. तारानाथ शर्मा, डा. बल्लभमणि दाहाल, कोशराज रेग्मी, चूडामणि रेग्मी आदि महारथीको अति उर्वर गिदीमा झर्रोवादको बीजारोपण गर्ने तथाकथित भाषाप्रेमी मै थिएँ । झर्रोवाद अनुरूप नेपाली हिज्जेको रूपान्तरण गराउनलाई त्रिवि मार्फत विराटनगर, पाल्पा, पोखरा र काठमाडौंमा विशेषज्ञको टोली घुमाउने परम्पराका सूत्रधारहरूमध्ये अग्रणी मै थिएँ क्यार । ...(त्यसैले) यस कोश (नेबृश–२०४०) मा मैले मेरो प्यारो झर्रोवादको अनुकूल क्रान्ति ल्याउँला भन्ने आशा मेरा क्रान्तिकारी चेलाहरूको थियो । तर मलाई एकान्तमा बोलाएर ‘यसतर्फ लागेर नब्बे सालको भुइँचालो नल्याउने’ राय कविवर माधव घिमिरेले दिनुभयो । संक्षेपमा जिरेखोर्सानी झैं उहाँको सल्लाह थियो, ‘परिवर्तनका नाममा भाँडभैलो प्राज्ञको धर्म होइन ।’ उहाँलाई नटेरी मैले उक्त कोशमा ०.५ प्रतिशत क्रान्ति चाहिं लागू गरें । ...आज मलाई अर्थ लाग्दैछ, आधा प्रतिशतको कुरो परै जाओस्, यदि ‘क्रान्ति’ हो भने हामीलाई चौथाइ प्रतिशत पनि चाहिंदैन । हिज्जेलाई खासखास याममा परेवा अथवा चीलले झैं प्वाँख झार्ने आवश्यकता पनि पर्दैन । ...बल्ल मैले बुझें, माधव घिमिरेले शब्दकोशमा नब्बे सालको भुइँचालो नल्याउने सल्लाह सुटुक्क मेरो कानमा नदिनुभएको भए आज २०६७ तिर मच्चिएको भाँडभैलो २०४० मै मच्चिने थियो । ...२०४० को मद्वारा शतप्रतिशत निर्देशित र १५ प्रतिशत घुँडाधस शैलीमा सम्पादित ‘नेपाली बृहत् शब्दकोश’ को यो पापको ‘नेकशुले– २०६९’ मार्फत मैले प्रायश्चित्त गरेको छु ।” (कान्तिपुर, २०६९ असार ९)


आफ्नै ‘आधा प्रतिशत क्रान्ति’ का कारण नेपाली भाषामा मच्चिएको भाँडभैलो समाप्त पार्न जीवनको आठौं दशक पूरा हुन लाग्दा पोखरेलले गरेको परिश्रम लर्तरो थिएन । उनले मुकुन्दशरण उपाध्याय, डा. तारानाथ शर्मा, कृष्णप्रसाद पराजुली, डा. कुमारबहादुर जोशी, कमल दीक्षित, जगदीश घिमिरे प्रभृति दिग्गज भाषाविद, साहित्यकार, पत्रकारहरूलाई संयोजित गरेर ‘नेकशुले–२०६९’ को व्यवस्था गरेका हुन् । यहाँनेर बिर्सन नहुने कुरा के हो भने, समकालीन नेपाली भाषा–व्याकरणका दुई केन्द्रीय गुरुकुल छन्— एउटा बालकृष्ण पोखरेलको, अर्को मुकुन्दशरण उपाध्यायको । आफ्नो धार छोडेर मुकुन्दशरणको धार नजीक गएजस्तो देखिए पनि पोखरेल त्यसबाट डराएनन् । भने, ‘नेपालीभाषीहरू बीच फूट ल्याउन खोजिएको भेउ पाएर हामी एक ठाउँ आएका हौं ।’ यही भाव मुकुन्दशरण लगायत अरू सबै भाषा–महारथीहरूमा पनि थियो ।


त्यसपछि पनि उनी चूप लागेनन् । हिज्जे बिगारेर शब्दलाई विरूप बनाउने झर्रोवादी उग्रता अब असान्दर्भिक भइसकेको छ भन्दै त्यो बाटो परित्याग गर्न सबैलाई सम्झाइरहे । समका शब्दमा भन्दा, ‘जीवनको अन्तिम सास फुकिदिए’ :

“उसवेला (२०१३ सालमा) भाषिक युद्धकाल थियो । त्यसैले उग्रताको नीति लिइएको थियो । अहिले त्यसको आवश्यकता छैन । ...भाषा त सुटुक्क फेरिने कुरा हो । सयौं वर्षमा केही कुरा फेरिन्छ भने त्यसलाई स्वाभाविक रूपमा हेरिनुपर्छ । तर जानीजानी, सिपालु भएर, म भाषा परिमार्जन गर्छु, सजिलो बनाउँछु भनेर हुँदैन । अहिले जसरी नयाँ वर्णविन्यास थोपर्ने प्रयास भइरहेको छ, त्यो देख्ता मलाई हाँस्न मन लाग्छ । ...व्याकरण र वर्णविन्यास छोटो समयमा परिवर्तन गरिरहने हो भने यसले भाषालाई अस्थिर र अस्पष्ट बनाउनेछ । यो परिवर्तन हुन पहिले जनजीवनमा परिवर्तनलाई राम्रोसँग भिजिसक्न दिनुपर्छ । ...नेपाली भाषा परिपक्व र वैज्ञानिक छ । यसमा नियम र परिवर्तन थोपरिनु हुँदैन ।” (सेतोपाटी डटकम, २०७३ भदौ २७)


सच्चा भाषाशास्त्री र व्याकरणकारले कहिल्यै आफूलाई भाषाभन्दा माथि ठान्दैनन्, भाषाको शासक ठान्दैनन् । लोकले स्वीकारेका तर आफ्नो व्याकरणले व्युत्पत्ति दिन नसक्ने शब्दहरूलाई पाणिनि अशुद्ध घोषित गर्दैनथे, निपात आदिको विधानद्वारा भाषासामु ‘ग्वाँ’ गर्थे । फरक मत राख्ने वैयाकरणहरूको मतलाई सम्मान दिन्थे । पोखरेलको प्रवृत्ति पनि यस्तै थियो । उनले पनि त्यसै गरे । कथित नियमको डण्डा चलाएर भाषाको स्वाभाविक गतिमा अवरोधक बन्न तयार भएनन्, न त भाषालाई अघि बढाउने नाममा जथाभाबी एकातिर धकेल्ने दुरभिसन्धिमा नै लागे । भन्थे, ‘नेपाली भाषाको हित हुन्छ भने जिन्दगीभरि मैले गरेका अनुसन्धानलाई पोको पारी सिरानी लगाएर सुत्न तयार छु ।’


दुर्लभ भाषा–मनीषी थिए प्रा. बालकृष्ण पोखरेल, जसले गधापच्चिसी पार नगर्दै नेपाली भाषालाई शुद्धता–मौलिकताको बाटोमा डोर्‍याए; छ दशकसम्म यसको चौतर्फी विकासका माइलखुट्टी खडा गरे अनि जीवनभरको भाषिक साधना, अनुसन्धान, त्रुटिपरिष्कार र मत स्थिरीकरण पछिको अन्तिम निष्कर्षका रूपमा नेपाली भाषाको भविष्य चहकिलो हुने व्यवस्था हामीलाई सुम्पेर गए । हिजो पनि बाटो देखाए उनले र भोलि पनि देखाइरहनेछन् । किन भने, उनी जति राम्रो बाटो देखाउन सक्ने हाम्रा सामु अर्को कोही छैन ।

प्रकाशित : फाल्गुन ७, २०७६ १२:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?