जसले गणतन्त्रको सपना देखाए 

गणतन्त्र नेपालको बीज पुष्पलालले त्यति बेला रोपेका थिए जतिखेर जहानियाँ राणा शासनको अन्त्य पनि मुस्किल लाग्थ्यो । 
सुरेश ढकाल

पुष्पलाल श्रेष्ठ (सन् १९२४—१९७८) नेपालको समकालीन राजनीतिक इतिहासमा बिर्सन नसकिने व्यक्ति हुन् । उनलाई नेपाली कम्युनिस्ट आन्दोलनको अग्रपुरुष, नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव र कतै–कतै नेपाली कम्युनिस्ट आन्दोलनका पितासमेत भनेर चिनिन्छ । 

पुष्पलाल सहिद गंगालालका माइला भाइ हुन् । दाजुको हत्या भएपछि उनी राणाविरोधी राजनीतिमा लागेका थिए । पुष्पलालले प्रजा परिषद्बाटै राजनीति गर्न थाले जहाँ उनका दाजु गंगालाल थिए । तर तीव्र परिवर्तनको आकांक्षाले डोर्‍याएर उनलाई नेपाल राष्ट्रिय कांग्रेस (पछि नेपाली कांग्रेस बन्यो) को सदस्य बन्न प्रेरित गर्‍यो । त्यति बेला उनलाई कांग्रेसले राणा शासन ढाल्न सक्छ भन्ने लागेको थियो । उनी कांग्रेस पार्टीको कार्यालय सचिवसमेत थिए । तर कांग्रेसभित्रको किचलो र नेताहरूको केही राणासँग हिमचिम र बसउठ उनलाई मन परेन र राणा शासनविरुद्ध सम्झौताहिन संघर्ष र गणतन्त्रसम्मको आकांक्षासहित उनी नेपाल कम्युनिस्ट पार्टी निर्माणमा लागे । अन्तत्वगत्वा लेनिनको जन्मदिन पारेर २२ अप्रिल १९४९ मा उनी र अन्य चार जनाले कोलकातामा नेपाल कम्युनिस्ट पार्टी स्थापना गरे । पुष्पलाल महासचिव बने । उनी त्यतिबेला भर्खर २५ वर्ष लागेका थिए ।


कोलकातामा पार्टी स्थापना गर्न उनलाई प्रख्यात भारतीय कम्युनिस्ट नेता नृपेन्द्र चक्रवर्ती र बंगाल पार्टीको साथ र सहयोग थियो भनिन्छ । त्यसैकारण पछि केही कम्युनिस्ट घटकहरूले उनको र कम्युनिस्ट पार्टी गठन प्रक्रियाको आलोचना पनि गरेका थिए ।


गुट र फुटको निरन्तर शृंखलामा विकास हुँदै आएका नेपाली कम्युनिस्टहरूको इतिहासमा एकले अर्कालाई गर्ने गाली र लगाउने आरोप सबै खेपेका छन् पुष्पलालले । उनी खासखास कालखण्डमा अन्य कम्युनिस्टहरूका नजरमा राजावादी, संसद्वादी, संशोधनवादी, सम्झौतावादी, अवसरवादी र गद्धार सबै भए । तर अहिले एकाधबाहेक सबै कम्युनिस्टहरू उनी र उनका विचारलाई कम्युनिस्ट आन्दोलनका पथप्रदर्शक थिए भनेर मान्छन् । कम्युनिस्ट नेताहरू आफूलाई पुष्पलालका अनुयायी र राजनीतिक उत्तराधिकारी भन्नमा गर्व गर्छन् । पुष्पलाल र उनको योगदान त उही थियो, अरू उभिएको स्थान फरक पर्दा उनी कहिले हिरो र कहिले भिलेनका रूपमा व्याख्या भइरहे ।


यस सानो आलेखमा समकालीन नेपालमा पुष्पलालको राजनैतिक योगदानको सान्दर्भिकता संकेत गर्ने प्रयत्न गरिएको छ ।


पुष्पलाल राणाविरोधी संगठित आन्दोलन उत्कर्षमा पुग्दै गरेका बेला राजनीतिमा लागेका थिए । उनलाई राजनीतिमा होमिन पारिवारिक, राष्ट्रिय र अन्तर्राष्ट्रिय वातावरणले मद्दत गर्‍यो । परिवार राजनीतिक चेतनाले युक्त थियो । भारतमा भएको मार्क्सवादी आन्दोलनको प्रभाव र भर्खरैको चिनियाँ क्रान्तिको सफलता पनि उनलाई प्रेरित गर्ने तत्त्वहरू थिए । दोस्रो विश्वयुद्धपछि औपनिवेशिक पञ्जाबाट मुक्त भएका थुप्रै मुलुक उन्मुक्तिको दौडमा थिए र त्यसको झोक्का कुनै न कुनै रूपमा नेपालमा पनि परेको थियो । यस सन्दर्भमा राणाविरोधी तर नेपाली कांग्रेससँग नजिक हुन नसकेको ठूलो हिस्सालाई समाजवाद र मुक्तिको सपना सबैभन्दा आकर्षक हुन सक्थ्यो । पुष्पलालले त्यही सपना देखाए । नेपाली समाजलाई गणतन्त्रको सपना देखाउने आधिकारिक व्यक्ति पुष्पलाल थिए । आज प्राप्त गणतन्त्र नेपालको बीज पुष्पलालले त्यति बेला रोपेका थिए जतिखेर जहानियाँ राणशासनको अन्त्य पनि मुस्किल लाग्थ्यो । नेपालको साक्षरता दर पाँच प्रतिशतभन्दा कम भएको समयमा पनि कम्युनिस्ट पार्टी स्थापना र कम्युनिस्ट पार्टीको घोषणापत्रको नेपालीमा अनुवाद धेरै अर्थमा नेपाली राजनीतिक दुनियाँलाई दिशानिर्देश गर्ने कदम थियो ।


विश्वमा अन्यत्रजस्तै कम्युनिस्ट पार्टीको घोषणापत्रलाई कम्युनिस्ट आन्दोलनको पथप्रदर्शक सिद्धान्तका रूपमा स्थापित गर्न सफल भए उनी । यो सात दशकअघिको कुरा थियो । उक्त घोषणापत्र र त्यसमा पुष्पलालले खेलेको भूमिका कालान्तरसम्म नेपाली समाजको विश्लेषणका लागि उपयुक्त साधन बन्न गयो ।


कम्युनिस्ट आन्दोलनका अनेक उतारचढाव र विभाजनको राजनीतिको प्रभाव पुष्पलाललाई कसरी हेर्ने भन्नेमा परेको देखिन्छ अर्थात् उनी नेपाली कम्युनिस्टहरूको नजरमा महान् पुष्पलालदेखि संशोधनबादी र गद्धार पुष्पलालसमेत बनाइए । सिंगो नेपाली समाज उनलाई हेर्ने कुरामा विभाजित हुन सक्छ । पुष्पलालको विवादित व्यक्तित्व निर्विवाद यथार्थ हो । तर के पनि निर्विवाद हो भने, नेपाली राजनीतिको अवस्था र नियति बदल्न उनको प्रभाव जबर्जस्त रहिरह्यो ।


भनिन्छ, बाइबलपछि सबैभन्दा बढी भाषामा अनुवाद भएको कृति हो, कम्युनिस्ट पार्टीको घोषणापत्र । यो २०० भन्दा बढी भाषामा अनुवाद भइसकेको छ भनिन्छ । यसको विश्वव्यापी प्रभाव र सान्दर्भिकता अझै छ । कैयौं पश्चिमा विद्वान्हरू पुँजीबादलाई बुझ्न, व्याख्या गर्न र यसबाट उन्मुक्ति पाउन मार्क्सवाद अझै सान्दर्भिक रहेको ठान्छन् । भनिन्छ, सन् २००८ को विश्व अर्थतन्त्रमा आएको मन्दीपछि कम्युनिस्ट पार्टीको घोषणपत्रको बिक्री ह्वात्तै बढेको थियो अर्थात् यसको सान्दर्भिकताको पुनर्उत्थान आज पनि खोजी हुँदै छ । सात दशकअघिको विश्व र नेपालमा यसको उपादेयता अवश्य पनि आजभन्दा धेरै थियो । तसर्थ कम्युनिस्ट पार्टीको घोषणपत्र अन्यत्रजस्तै नेपालमा पनि ‘गाइड बुक’ का रूपमा उपयोग हुन थाल्यो । यसको प्राथमिक श्रेय पुष्पलाललाई जान्छ । नेपाली समाजको वामपन्थी राजनीतीकरणमा उनको योगदान अतुलनीय छ ।


कम्युनिस्ट पार्टीका संस्थापक पुष्पलाल संगठकका रूपमा भने त्यति सफल देखिँदैनन् । पार्टी गठनको दशकमा उनले महत्त्वपूर्ण भूमिका निर्वाह गरे तर सन् १९६२ मा पार्टी विभाजन भयो । उनी एउटा डफ्फा लिएर तुलसीलाल अमात्यसँग मिल्न गए र नेपाल कम्युनिस्ट पार्टीको नेतृत्वमा रहे । १९६७—६८ तिर पार्टीलाई वैधानिक बनाउने क्रममा तत्कालीन प्रधानमन्त्री टंकप्रसाद आचार्यको सहयोगमा उनले राजासँग गुपचुप भेटे भनेर उनको चर्को आलोचना भयो । चीन—सोभियत संघको विवादमा मतभेद भएपछि उनी अमात्यसँग पनि अलग्गिएर नेपाल कम्युनिस्ट पार्टी (पुष्पलाल) गठन गर्न पुगे र जीवनभर त्यसैको नेतृत्वमा रहे । तर पनि उनले नेपाली कम्युनिस्ट आन्दोलनलाई वैचारिक नेतृत्व गरिरहे ।


नेपालको हालको राजनैतिक उपलब्धि र शक्ति सन्तुलनमा पुष्पलालको योगदान छ भन्दा अत्युक्ति हुँदैन । उनले नेपाली कांग्रेसलाई भारतको गर्भबाट जन्मिएको भनेर सुरुमा आलोचना गरेका भए पनि पञ्चायती व्यवस्था ढाल्न संयुक्त मोर्चाको अवधारणा ल्याए । नेपाली कांग्रेसलाई पनि मित्रशक्ति मान्नुपर्ने जिकिर थियो उनको । केही कम्युनिस्ट घटकहरूले ‘कांग्रेससँग वामपन्थी मितेरीको गर्तमा आसीन हुन पुगेको’ भनेर उनको आलोचना गरे । तर पछि प्रजातन्त्र पुनःस्थापनार्थ कम्युनिस्टहरूले गठन गरेको वाममोर्चामार्फत नेपाली कांग्रेससँगको संयुक्त जनआन्दोलन होस् वा गणतन्त्र स्थापनाका लागि भएको संयुक्त जनआन्दोलन, वामपन्थीवृत्तमा तिनीहरूको वैधानिकता उनै पुष्पलालको अवधारणाबाट लिने गरिएको छ ।


पुष्पलालले कम्युनिस्ट पार्टीको घोषणापत्रको सामान्य अनुवाद मात्र गरेका थिएनन्, त्यस अनुवादमा भूमिकासमेत लेखेका थिए जसमा उनको गहन अध्ययन र विद्वत्ता एवं विश्लेषण क्षमताको उदाहरण पाइन्छ । नेपाली समाजको त्यति छरितो र बोधगम्य मार्क्सवादी विश्लेषण त्यस अघि भएको थिएन होला । नेपाली समाजको मार्क्सवादी धारबाट विश्लेषण र परिवर्तनको कार्यदिशाबारे लेखिएको त्यही भूमिका र अनुवाद कोसेढुंगा थियो, जहाँबाट नेपाली वामपन्थी आन्दोलन र मार्क्सवादी चिन्तन सुरुवात भयो । पुष्पलालले नेपाली राजनीतिमा लागेको ठूलो हिस्सालाई फरक ढंगबाट सोच्न सिकाए । राजनीतिलाई नयाँ दिशा दिए । उनले उक्त भूमिकामार्फत नै आफूमा रहेको भविष्यप्रतिको आशावादिता, विश्व ज्ञानको चेत र त्यसको क्षितिज तथा प्रभाव पार्ने शक्तिको अनुमान लगाउन आधार दिएका थिए ।


नेपाली कम्युनिस्ट आन्दोलनका थुप्रै जीवित र दिवंगत नेताले पुष्पलालसँग सहकार्य गर्ने र प्रशिक्षित हुने मौका पाए । पुष्पलालभन्दा जेठो भए पनि मनमोहन अधिकारीले राजनीतिमा पुष्पलालको उत्तराधिकार सम्हाले । १९७६ मा मुक्तिमोर्चा गठन गर्नुभन्दा पहिले मदन भण्डारी पुष्पलालबाटै प्रभावित र प्रशिक्षित भएका थिए । नारायणमान बिजुक्छे (रोहित) पनि पुष्पलाल नेतृत्वको केन्द्रीय कमिटीमा थिए । यसरी पुष्पलालको वैचारिक र सांगठनिक नेतृत्वमा रहेकाहरूले नै नेपालमा कम्युनिस्ट राजनीतिलाई नेतृत्व गरिरहे । त्यस्तै, पुष्पलालको विचारबाट प्रभावित हुनेहरू उनको सादगी जिन्दगीबाट पनि प्रभावित हुन्थे भनिन्थ्यो । अहिले पुष्पलाललाई आदर्श मान्नेहरूमा न उनको वैचारिक प्रभावको झल्को भेटिन्छ न सादगीपन ।


पुष्पलाल ५२ वर्षको अल्पायुमा दिवंगत भए । तर सम्भवतः नेपाली कम्युनिस्ट राजनीतिको इतिहासमा उनी सबैभन्दा लामो आयु बाँच्नेछन् । प्रजातान्त्रिक धारको शिखरपुरुष विश्वेश्वरप्रसाद कोइराला थिए भने कम्युनिस्ट खेमाका पुष्पलाल । आजसम्मको राजनीतिको मोड र मनोदशा यी दुईको राजनैतिक, वैचारिक योगदानबाट निर्धारित देखिन्छ । पुष्पलाल गणतन्त्रप्रति प्रतिबद्ध थिए । त्यसैले उनी नेपाली कांग्रेससमेतलाई मित्रशक्ति मान्दै संयुक्त आन्दोलनको पक्षमा थिए । तर १९७७ मा बीपीले मेलमिलापको नीति लिएपछि पुष्पलाल त्यसको पछि लागेनन् ।


पुष्पलाल चिनियाँ नेता माओत्सेतुङबाट प्रभावित थिए तर कार्यकर्तालाई भन्ने गर्थे रे, ‘माओत्सेतुङको विचारधारालाई सही रूपमा समाते दुनियाँ खान सकिन्छ, गलत रूपले समातियो भने आफू खाइनेछ ।’ यसबाट उनी सिद्धान्तलाई सन्दर्भअनुसार उपयोग गर्ने व्यवहार कुशल पनि थिए भन्ने झल्कन्छ । उनी व्यक्तिगत लाभका लागि अवसरवादी कहिल्यै बनेनन् ।


थुप्रै कमीकमजोरी भए पनि मूलतः सिद्धान्त, सगंठन, व्यवहार र भविष्योन्मुख चिन्तन प्रणालीका कारण पुष्पलाल नेपालको समकालीन इतिहासका महत्त्वपूर्ण पात्र हुन् । आजसम्मको राजनीतिक उपलब्धिमा उनको प्रत्यक्ष–परोक्ष योगदान छ । अबको बदलिँदो परिवेशमा उनको सान्दर्भिकता कति रहन्छ वा उनका राजनीतिक उत्तराधिकारी हौं भनेर वकालत गर्नेहरूले पुष्पलालको निष्ठा कति जोगाउन सक्छन्, समयले बताउला । आजका नेपालका कम्युनिस्ट पार्टीका स्वरूप र नेताहरूको आचरणका आधारमा मात्र पुष्पलालको सान्दर्भिकता आकलन गर्न खोज्नुचाहिँ इतिहासप्रति अन्याय हुनेछ । प्रकाशित : फाल्गुन ७, २०७६ १२:४६

प्रतिक्रिया
पठाउनुहोस्

सम्मोहन सम्पत्तिको

धनतेरस, लक्ष्मीपूजाको अवसर पारेर सुन, गरगहना, सिक्का किन्ने र पूजा गर्ने भनेकै धनप्रति सम्मोहन हो । पुँजीवाद पूर्ण विकास भएको ठाउँमा यो खाले प्रचलन छैन । त्यहाँ उत्पादनलाई सघाउने वस्तु र उत्पादनलाई पूजा गरिन्छ ।
सुरेश ढकाल

निजी सम्पत्तिको उत्पत्ति १० हजार वर्षअघि कृषि युगसँगै सुरु भएको हो  । टर्की, जोर्डन, इराकतिर कृषिको उत्पत्ति भएको इतिहास पढ्न पाइन्छ  ।

खेती गर्न निश्चित क्षेत्र चाहियो । खेती गर्न थालेपछि अतिरिक्त उत्पादन पनि हुन थाल्यो । यसलाई मौज्दात गर्न थालियो । मेरो–तेरो सम्पत्ति भनेर छुट्टिन थाल्यो ।
पहिला घुमन्ते हुन्थे मान्छेहरू । १० हजार वर्षअघिबाटै परिवारको महत्त्व पनि बढ्दै गएको हो । मान्छेले परिवार र आफूले खेती गर्ने क्षेत्रको सुरक्षा गर्न थाले । खेतीपाती, परिवारको अवधारणा बलियो हुँदै गयो । धन र यसको महत्त्व निजी सम्पत्तिको उत्पत्तिसँगै सुरु भयो । त्यसभन्दा अगाडि ढुंगे हतियार सम्पत्ति मानिन्थे । ढुंगे हतियार शक्तिको स्रोत थियो तर धनको महत्त्वका रूपमा थिएन । जब धनको सुरक्षाका लागि लडाकु, जनसांख्यिक समूह बन्न थाले, यसले राज्य–राज्य बनायो । धनको अवधारणा र महिमा नै यहीँ सुरु भएको हो । बिहाबारी तथा अन्य सम्बन्धका काम गर्दा गोठ कत्रो छ, कति खेत छ भनेर हेर्ने गरिन्थ्यो । गोठ र खेतबारी अन्तरसम्बन्धित हुन्थे । धेरै खेत हुनेको ठूलै गोठ र ठूलो गोठ हुनेको धेरै खेत हुन्छ भनेर बुझन्थ्यिो ।
धन पनि विभिन्न प्रकृतिका हुन्छन् । उत्पादन प्रणालीमा श्रम पनि धन हो । श्रमलाई सहज गराउने हलो, गाई गोरु अथवा आधुनिक मेसिन पनि धन हुन् । यिनीहरूको सहयोगबाट हुने उत्पादन धान पनि धन हो । धनप्रति धन्य हुने परम्परा पनि कृषि युगमै सुरु भएको हो । गाई, गोरु, हलोले धन सिर्जना गरेकै कारण धन्य हुने अथवा पूजा गर्ने चलन बसेको हो । नयाँ उत्पादनलाई पनि पूजा गरिन्छ । अहिले पनि धान काटिसकेपछि पूजा गर्ने अथवा न्वागी खाने गरिन्छ । दही चामल बनाएर गाउँभरि प्रसाद बाँड्ने गरिन्छ । त्यसपछि मात्रै नयाँ अन्न खाइन्छ । धनलाई पूजा गर्ने संस्कार यसरी सुरु भएको हो । अरू ठाउँमा पनि नयाँ बाली भित्र्याइसकेपछि यस्तै चालचलन हुन्छन् ।
अहिले पनि हामी सांकेतिक रूपमा मात्रै गाई तिहार, गोरु तिहार मनाइरहेका छौं । तराईमा हलोलाई पूजा गरिन्छ । पहाडमा भकारी पनि पुँजिन्छ । औद्योगिक क्रान्तिपछि धन पुँजीका रूपमा परिणत भएको छ । धन र पुँजी फरकफरक विषय हुन् । अहिले समाजको सम्मोहन पुँजीप्रति बढी देखिन्छ । तर, खासमा पुँजीको काम धन सिर्जना गर्ने हो । यसमा पनि श्रमको अवमूल्यन हुँदै गयो । मेसिनमा लगाव बढ्दै गयो । मेसिन र पुँजी अनिवार्य मान्न थालियो । त्यसपछि पैसा अर्थात् नोटलाई पूजा गर्न थालियो । यो समाजको परिर्वतन हो । पैसालाई पूजा गर्नु भनेको सम्मोहन हो । धनतेरस, लक्ष्मी पूजाको अवसर पारेर सुन, गरगहना, सिक्का किन्ने र पूजा गर्ने भनेकै धनप्रति सम्मोहन हो । यो नभई केही पनि हुँदैन भनेर ‘ग्ल्यामराइज’ गरिएको हो । पुँजीवाद पूर्ण विकास भएको ठाउँमा यो खाले प्रचलन छैन । त्यहा उत्पादित वस्तुलाई पूजा गरिन्छ । पैसालाई गरिँदैन । हामीले चाहिँ हिजो धनलाई पूजा गर्ने गरेको चलनबाट आएकाले परिवर्तित अवस्थामा पैसालाई गर्न थाल्यौं । यो अलि मिलिरहेको छैन । हिजो धनप्रति धन्य होइन्थ्यो । अहिले सम्मोहन देखाइन्छ ।
मध्यपहाडी क्षेत्रमा खासगरी धनतेरस प्रभावित संस्कार हो । कतिपय अवस्थामा यसलाई सांस्कृतिक अतिक्रमण पनि भन्नुपर्ला । विशेषगरी भारतीय संस्कारको प्रभाव हो । पछिल्ला २० वर्षमा हिन्दी टेलिसिरियल हेर्न नपाएको भए महिलाले लगाउने मंगलसूत्रको विषयमा थाहा हुने थिएन । धनतेरस पनि थाहा हुन्थेन । छिमेकी राष्ट्रको प्रभाव हो । मध्यपहाडी क्षेत्रमा एउटा खालको र तराईमा अर्कै प्रकृतिको संस्कृति छ ।

हाम्रो खासमा लक्ष्मीपूजा मात्रै हो । त्यो पनि अन्न भित्र्याएपछि भकारी पूजा गर्ने हो । अहिले पनि जस–जसले खेती गर्छन् भकारीकै पूजा गर्छन् ।
अहिलेको अभ्यासले पुँजी आर्जन गर्छ कि धनप्रति आशक्ति मात्रै बढाउँछ भनेर बहस गर्नुपर्ने बेला भएको छ । मेरो बुझाइमा धनप्रति आशक्ति मात्रै बढाउँछ । नगद राखेर, गरगहना किनेर कोठामा मौज्दात गरिन्छ । उत्पादनशील क्षेत्रमा प्रयोग भइरहेको छैन । पश्चिमाहरूले पुँजीलाई उत्पादनशील क्षेत्रमा लगाउँछन्, थप पुँजी बढाउने वातावरण बनाउँछन् । यो पुँजीवादी सोच हो ।
पुँजी भन्ने बित्तिकै अर्थशास्त्रको विषय आउँछ । अर्थशास्त्रीले ध्यान नदिएको तर हामी मानवशास्त्रीले जोड गरिरहेको अर्थशास्त्र विषय सामाजिक, सांस्कृतिक अवस्था, वातावरण र प्रचलनमा टाँसिएको हुन्छ । सामाजिक, सांस्कृतिक पाटो हटाएर आर्थिक पाटो मात्रै हेर्न सकिँदैन । त्यसकारण अहिले भइरहेको खर्च, कारोबार, धनतेरस वा लक्ष्मीपूजा अर्थशास्त्रसँग मात्रै जोडिएको छैन, सांस्कृतिक र सामाजिक विषयसँग जोडिएको छ । धन कमाउनुपर्छ वा आशक्ति हुनुपर्छ भनेर सिकाउने पनि सांस्कृतिक चेत हो । पैसा कमाउनुपर्छ वा धनी हुनुपर्छ भन्नु सांस्कृतिक चेत हो । यसको अभ्यास भइरहेको छ । व्याख्या गरिरहेका छैनन् । ‘द प्रोटेस्टान्ट इथिक्स एन्ड स्पिरिट अफ क्यापिटलिजम’ पुस्तकमा म्याक्स वेबरले पश्चिमाहरूले यसैगरी विकास गरेको पुँजीवादको विषयमा व्याख्या पनि गरेका छन् । ‘तपाई धेरै कमाउनुस्, कमाएको केही अंश चर्चलाई दिन सक्नुहुन्छ, जति धेरै दिनुहुन्छ त्यति धेरै धन आर्जन गर्नुपर्छ,’ उनले भनेका छन् । बढी आर्जन गर्न धेरै मिहिनेत गर्नुपर्छ, जसले धेरै धन कमाइन्छ । यसले पुँजीवादलाई गति दिन्छ भन्ने हो । तर, वेबरले भनेअनुसार हामीले सांस्कृतिक चेतले धेरै मिहिनेत गरेका हौं । श्रमिक र उद्योगपतिहरू भगवान्लाई खुसी पार्न गरिरहेका छौं मात्रै भन्छन् । त्यसकारण सास्कृतिक चेत अनुसार धन कमाउन अभ्यास गरिरहेको हुन्छ, महसुस गरेको हुँदैन । यतिवेला अर्थशास्त्र, मानवशास्त्रको काम आउने हो । जीविकोपार्जन गर्ने क्रममा संस्कृति जन्मिएको हो । त्यसपछि अर्थतन्त्रमा टाँसिएको हो ।
वर्णसंकर संस्कृतिका रूपमा पैसालाई पूजा गर्ने गरिएको हो । पूर्ण रूपमा परम्परालाई छाड्न सकिएको छैन, पुँजीवादी मूल्य मान्यतालाई ग्रहण गर्न पनि सकिएको छैन । पुँजीलाई उत्पादन क्षेत्रमा लगाउने चरण पार गरेर जानुपर्छ । औद्योगिकीकरण, उत्पादन, नाफा, पुँजी परिचालनमा जान सकिरहेका छैनौं । अब त्यतातिर जानुपर्छ । अहिले भाडा खाने तथा बिचौलिया प्रवृत्तिमा धनको आशक्ति छ । कुनै कम्पनीको सेयर वा जग्गा किन्ने, पुर्जा र सेयर प्रमाणपत्र राखेर पूजा गर्ने प्रवृत्ति छ ।
खासमा धन कमाउने चेत ग्रहण नगरी सकेको अवस्था छ । न यता न उताको अवस्था हो यो । उत्पादनशील अर्थतन्त्र भएको छैन । यसलाई हेरेर पनि हाम्रो अर्थतन्त्रको अवस्थाको चित्रण गर्न सकिन्छ । एउटा विन्दुबाट हामी छुटिसकेका छौं, अर्को विन्दुमा पुगेका छैनौं । भाडा उठाएर, बिचौलिया गिरी गरेर कुत खाने प्रवृत्ति दलाल पुँजीवादी अर्थतन्त्र हाबी छ । पैसालाई मात्रै महत्त्व दिने अरू केही पनि मतलव नगर्ने संस्कार विकास भएको छ । जस्तै– पहिला पहिला देउसी–भैलो खेल्न जाँदा धान–चामल, सेल र केही पैसा दिने चलन थियो । अहिले धान–चामल दियो भने रिसाउँछन् । भोक लागेको रहेछ भने रोटीसम्म खान्छन् । यो समाजको एउटा चरित्र हो, जसरी पनि धन कमाउने प्रवृत्ति छ ।
पैसा जसरी पनि चाहियो भन्ने एउटा पाटो उपभोक्तावादी संस्कृति हो । यो पुँजीवादकै चक्रभित्र पर्छ । बलियो राज्य र उसको नीति नियमले जसरी पनि धन कमाउने प्रवृत्तिलाई रूपान्तरण गर्न सक्नुपर्छ । यस्तै सांस्कृतिक पक्षहरूको अध्ययनमा सरकारको भूमिका महत्त्वपूर्ण छ । विदेशी तथा राष्ट्रिय पुँजीलाई उत्पादनमूलक क्षेत्रमा लगानी गर्ने र समानुपातिक लाभ वितरणको अवस्था सिर्जना गर्नुपर्छ । हामी आफ्नै पुँजीले लगानी गर्न सक्दैनौं भने वैदेशिक पुँजी ल्याएर उत्पादनशील क्षेत्रमा लगाउने प्रणाली विकास गर्नुपर्‍यो । नाफाको ग्यारेन्टी गर्नुपर्‍यो । यसो भयो भने मान्छे उपभोक्तावादी पनि हुन्छ, उत्पादन गर्छ, ज्याला कमाउँछ, जसले फेरि पुँजी परिचालन गर्छ । यसले पुँजीवादको सम्पूर्ण चक्र पनि पूरा गर्छ । उपभोग गर्ने, कमाउने र कमाउनका लागि लगानी गर्ने प्रवृत्ति विकास गर्नुपर्छ । हाम्रो राज्यको अहिलेको उदार अर्थतन्त्रको चरित्रअनुसार त्यो दिशामा जाला भन्नेमा आशावादी छु । तर, उत्पादन गर्ने, नाफा कमाउने र नाफा वितरणको सुनिश्चय यथार्थमा आधारित छैन । सपनामा आधारित राजनीति चलिरहेको छ । तत्कालीन माओवादीले विभिन्न एजेन्डा बोकेर द्वन्द्व गर्‍यो । यथार्थ के हो भन्ने अहिले महसुस गरिरहेको छ । महसुस गरे पनि त्यसलाई कार्यान्वयन गर्न सकिरहेको छैन । चुस्त कर्मचारी संयन्त्र, नैतिकवान् राजनीतिक संस्कार, भ्रष्टाचारमा शून्य सहनशीलताको ग्यारेन्टी गर्ने काम हुन सकेको छैन ।
तिहारको एक सातामा सुन र चाँदीका समान किन्न भीड हुन्छ । सुन किन्नु, लगाउनु संस्कृति मात्रै हैन, प्रदर्शन पनि हो । हाम्रो समाजमा खासगरी धन शक्ति आर्जनसँग पनि जोडिएको छ । पश्चिमाहरूमा यस्तो संस्कृति छैन । ‘पैसा भएपछि जे पनि गर्न सकिन्छ’ भन्ने मान्यता नेपालमा छ । यो आशक्ति हो । पश्चिमाहरूमा पनि धनलाई प्राथमिकतामा राखेर हिँडेका हुन्छन् । तर, शक्ति र आशक्तिका लागि हैन । शासन र सौखका लागि प्रयोग गर्दैनन् । थुपारेर पनि राख्दैनन् । लगानी नै गर्छन् । हाम्रोमा धन थुपारेर राख्नुको कारण सामाजिक सुरक्षाको ग्यारेन्टी नहुनु हो । पश्चिमालाई शिक्षा, स्वास्थ्य राज्यले निःशुल्क गरेको हुन्छ । खानपिन र घुमघामका लागि मात्रै धन प्रयोग गर्छन् ।
हाम्रोमा बाउबाजेको नाम, धर्म, घर र सम्पत्ति के कति छ भनेर मापन गर्ने गरिएको छ । यसले घर अनिवार्य चाहिन्छ भन्ने मान्यता विकास गरेको छ । अलिकति पैसा भयो कि घरजग्गा जोड्न सुरु हुन्छ । घर बनाउने र भाडा लिएर धन कमाउने प्रवृत्ति कायमै छ । भाडा संस्कृतिको धन पनि हाम्रोमा भोलि छोरानातिका लागि चाहिन्छ भनेर ‘होल्ड’ गरिरहेका छौं । मेरो छोराको शिक्षा, स्वास्थ्य राज्यले ग्यारेन्टी गरिदिन्छ भने मैले कमाएको पैसा मेरा लागि मात्रै खर्च गर्छु, नाफा हुने क्षेत्रमा परिचालन गर्छु । जति धेरै पैसा म खर्च गरिन्छ त्यति नै अर्थतन्त्र चलायमान हुन्छ । त्यसकारण धनलाई लगानीमा परिणत गर्न पनि राज्यले सामाजिक सुरक्षा र नाफा कमाउने निश्चितता गरिदिनुपर्छ । यस्तो विषयको स्पष्टता राज्यले गरिदिने हो । नाफा कमाउने शक्तिशाली नीति ल्याउनेबित्तिकै हामीमा पनि परिवर्तन आउँछ । खासगरी नाफाको ग्यारेन्टी गर्ने हो भने पूजा गर्ने संस्कृति रहिरहँदैन । सांकेतिक रूपमा त यस्ता पूजाआजा भइरहन्छ । तर, समयक्रमअनुसार परिवर्तन हुन्छ । जस्तै पहिला गोदान गर्नुपर्दा गाई नै दान गर्नुपथ्यो । केही समयअघि गाई भएको पैसा दान गरियो । अहिले पुरोहितले गोदान गर्ने भन्ने बित्तिकै ‘१ सय ५ निकाल्नुस्’ भन्ने चलन सुरु भएको छ । पुँजीवादको चक्र पूरा भएपछि अहिलेको जस्तो हैन, अर्कै प्रकृतिको संस्कार विकास हुनेछ । त्यसकारण पैसालाई आर्थिक दृष्टिकोणले मात्रै हैन सामाजिक, सांस्कृतिक र धार्मिक हिसाबले जोडेर हेरिनुपर्छ । अर्थतन्त्रको आँखाले मात्रै नीति नियम बनाउनु हुँदैन । धन कमाउने, लगानी गर्ने, नाफा आर्जन गर्ने र त्यसलाई फेरि लगानी गर्ने गरी संस्कृतिको विकास गर्नुपर्छ । यो राज्यको चरित्र र प्रभावकारितामा भर पर्ने कुरा हो । हाम्रो राज्य पनि त्यही बाटोमा छ । कार्यान्वयनमा चुकिरहेको छ ।
(कृष्ण आचार्यसँगको कुराकानीमा आधारित)

प्रकाशित : कार्तिक ८, २०७६ १२:३५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×