३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

‘राजा, आज भ्यालेन्टाइन्स डे हो, ह्याप्पी भ्यालेन्टाइन्स डे!’

बुनु थारु

काठमाडौँ — २०७३ साउन १५ गतेको त्यो दिन नआएको भए राजेन्द्रमान श्रेष्ठ र आराधना राणा सायद आज प्रेम दिवस धुमधामसँगै मनाइरहेका हुन्थे । धुमधाम यस अर्थमा कि यही बुधबारमात्रै ३० वर्षे प्रहरी सेवाबाट राजेन्द्रमानले अवकाश पाएका थिए । त्यसैले सायद आज फुर्सदको दिनलाई उनले थप रोमाञ्चक बनाउँथे होलान् ।
तर, उनी कोमामा छन् । न बोल्न सक्छन् र न त कुनै प्रतिक्रिया व्यक्त गर्न नै । 

‘राजा, आज भ्यालेन्टाइन्स डे हो, ह्याप्पी भ्यालेन्टाइन्स डे!’

त्यो दिन आराधना कोठामा बसेर कुकुरसँग खेलिरहेकी थिइन् । करिब ९ बजे हुँदो हो । फोनको घण्टी बज्यो । श्रीमान् एसएसपी राजेन्द्रमान श्रेष्ठको फोन रहेछ । त्यतिबेला उनी क्षेत्रीय प्रहरी तालीम केन्द्र विराटनगरका एसएसपी थिए ।


राजेन्द्रमानले साथीहरुसित ब्याडमिन्टन खेल्दै गरेको जानकारी गराए । हालखबर सोधेर फोन राखे ।


श्रीमतीलाई मनपर्छ भनेर उनैले घरमा कुकुर ल्याइदिएका थिए । एकछिनमै आराधनाको फेरि फोन बज्यो, राजेन्द्रमानको अफिसबाट आएको रहेछ । ‘म्याम, सर बेहोस भएर लड्नु भएको छ । तपाईं तुरुन्त आउनुपर्‍यो,’ कुनै सहकर्मीले फोनमा अत्तालिँदै भने ।


अघि भर्खर हाँसीखुसी कुरा गरेको मान्छे कसरी बेहोस् भए होलान् ? सायद केही नखाएर कमजोरीले ढलेका होलान् ? यस्तै अड्कल लगाउँदै उनी धरान पुगिन् । राजेन्द्रमानलाई विपि प्रतिष्ठान लगिएको थियो ।


आराधना अस्पताल पुग्दा प्रहरीका उच्च अधिकारीहरु उपस्थित थिए । धेरैजना अफिसर एकैपटक देख्दा आराधनाको मन झन् आत्तियो ।


ब्याडमिन्टन खेल्दै गर्दा लडेका उनको हृदयगति अचानक बन्द भएको र केही सेकेन्ड रक्तसञ्चार रोकिएको अवस्थामा मस्तिष्कमा अक्सिजन पुग्न नसकेको अवस्था रहेछ ।


उनी त्यहाँ पुगेको २–३ घण्टापछि मात्र भित्र जाने अनुमति दिइयो । उनी जब भित्र पसिन् देखिन् राजेन्द्रमान पल्टिरहेका छन् र हातखुट्टामा मेसिन लगाइएको छ ।


अब त उठेर बोल्लान्, अनि भन्लान् आराधना आयौ ? यही आशमा २२ दिन जति बसिन् अस्पतालमा । हरेक दिन कसैको फोन आउँदा श्रीमानकै खुसीको खबर होला भनेर झटपट उठाउँथिइन् । अहँ, तर उनी बोलेनन् । आजसम्म पनि बोलेनन् । उनी अहिलेसम्म पनि त्यही खबरको प्रतिक्षामा छिन् ।


...


यो घटना घटेको साढे ३ वर्ष भइसक्यो । उनी अझै उनको बोली सुन्नको लागि तड्पीरहेकी छिन् । यी घटनाको फ्ल्यास्कब्याकमा गइरहँदा उनले आफूलाई सम्हाल्न सकिनन् ।


‘उनको बोली सुन्न हरेक दिन तड्पन्छिु...’ यति भन्दा उनका आँखा आँसु झरे ।


आँसु रोकिएपछि उनले फेरि सामान्य रुपमा कुरा अगाडि बढाइन् ।


‘लक्ड इन सिन्ड्रोम’ को यो अवस्थामा स्याहारमा दिनरात नभनी खटिरहेकी आराधनालाई हरेक दिन राजेन्द्रमानमा सुधार होला भन्ने पर्खाइ छ । उनको जीवन अहिले त्यही पर्खाइमा व्यतित भइरहेको छ । सुनौलो बिहानीको पर्खाइमा रहेकी आराधना सकेसम्म दह्रो बन्ने प्रयास गर्छिन् ।


काठमाडौंको वीरेन्द्र प्रहरी अस्पतालमा विशिष्ठ क्याबिनमा छिर्दा आराधना राजेन्द्रमानकै स्याहार लागेकी थिइन् । बेडमा राजेन्द्रमान बिनाकुनै हलचल पल्टिरहेका थिए । उनको त्यो मुहारको चमकता हराएको छ । त्यहाँ छिर्ने जोसुकैको मन त्यो कारुणिक अवस्था देख्दा खिन्न हुन्छ ।


उनी दुब्लो देखिन्छन् । आँखा तथा मुख यताउता चलाइरहन्छन् । कुनै प्रतिक्रिया भने जनाउन सक्दैनन् ।

कुरा गर्दै गर्दा राजेन्द्रमानको खाना खाने समय भयो । पेटमा प्वाल पारेर जोडेको ट्युबमा ‘पेग’ (सिरिन्जले नापेर) खानेकुरा, झोल र औषधि दिइन्छ । उनले झोल तयार पारिन् र सिरिन्जले नापेर हालिदिइन् ।

निकै संवेदनशील शल्यक्रिया ‘ट्र्याकियोस्टोमी’ (घाँटीमा प्वाल पारेर स्वासप्रस्वासका लागि ट्युब जोड्ने प्रक्रिया) गरेर जोडिएको पाइपको सहारामा उनको स्वासप्रस्वास चलिरहेको छ । उनको लाइफलाइन हो त्यो । मस्तिष्क र शरीरका अंगबीच सञ्चार (संवाद) अवरुद्धको स्थिति छ । त्यो अवस्थामा पनि आफ्नो हिम्मत डगमगाउन दिएकी छैनन् आराधनाले ।

...

राजेन्द्रमान र आराधना दुवै नेपालगञ्जवासी हुन् । राजेन्द्रमानको घर आदर्शनगर हो भने आराधनाको सदरलाइन । दुवैको घर १५–२० मिनेटको दुरीमा पर्छ । सानैदेखि भारतमा बसेर पढेकी उनी छुट्टीको समयमा घर आउने गर्थिन् । उनकी दिदीका साथी थिए राजेन्द्रमान । दिदीको पछिपछि लाग्ने बानीका काराण दिदीका सबै साथीहरुलाई उनले पनि चिन्थिन् । उनी दिदीकै साथीहरुसँग कहिले लुकामारी खेल्ने गर्थिन् त कहिल्यै स्केटिङ अनि ब्याडमिन्टन । राजेन्द्रमानलाई उनले पनि साथीजस्तै व्यवहार गर्थिन् । उनीहरु बीच उमेरको अन्तर पनि धेरै थिएन । राजेन्द्रमानलाई सबैले राजु भनेर बोलाउँथे उनी पनि त्यसरी नै बोलाउँथिन् ।

सँगै हिँड््ने, बोलिराख्ने साथीहरुबीच कतिबेला प्रेम अंकुराउन पुग्यो दुवैलाई पत्तै भएन ।

विगतको रमाइलो अनि प्रेमिल प्रसंग निकाल्दा आराधना बिस्तारै मुस्कुराइन् । धमिलिन पुगेको अनुहारमा एकाएक उज्यालोपन आयो ।

‘सुरुमा कसले प्रपोज गर्‍यो त ?’

उनले मुस्कुराउँदै बोलिन्, ‘म त लजालु मान्छे अलि कम पनि बोल्थें, उनैले प्रपोज गरे ।’

दुवैको परिवारबीच चिनाजान थियो । आराधनाले ब्याचलरको पढाइ सिध्याएर नेपालगञ्जको मोर्डन पब्लिक स्कुलमा पढाउन थालिसकेकी थिइन् भने राजेन्द्रमान पनि प्रहरीमा भर्ना भइसकेका थिए । त्यो २०४६ सालतिरको कुरा हो ।

बिहेको प्रस्ताव दुवैले आआफ्नो परिवारलाई राखे । राजेन्द्रमानको परिवारले राम्रो प्रतिक्रिया दिए तर, आराधनाको घरमा भने अलि समस्या पर्‍यो । कारण थियो अन्तर्जातीय विवाह ।

आराधना परिन् राणा परिवारकी छोरी, राजेन्द्रमान नेवार । आराधना पनि उनी बाहेक अरुसित बिहे नगर्ने भनेर अड्डी कसेर बसेकी थिइन् ।

आराधनाका बुवा मम्मीले नमानेपनि सन् १९९३ मार्च ३ मा दुवैले नेपालगञ्जको बागेश्वरी मन्दिरमा गएर विवाह गरे । सानो बा आमाले कन्यादान गरिदिए ।

बुहारी भएर राजेन्द्रमानको घरमा भित्रिएको करिब ५ महिनापछि मात्रै उनले माइती जाने हिम्मत जुटाउन सकिन् । पछि बुवामम्मीले पनि माने ।

अन्तर्जातीय विवाह भएपनि आफूलाई कुनै समस्या नपरेको उनी बताउँछिन् ।

भारतमा पढेकोले होला आराधनाको लवज पनि त्यस्तै सुनिन्छ । उनी प्रफुलित मुद्रामा भन्छिन्, ‘अन्तर्जातीय विवाहमा यस्तो परिवार पाउनु ठूलो भाग्य हो । कहिल्यै परिवारबाट रोकटोक भएन ।’

बिहेको दुई वर्ष पछि छोरी साम्भवीको जन्म भयो । त्यसको ठीक दुई वर्ष पछि शिवमान । छोरा हाल अमेरिकामा पढिरहेका छन् भने छोरी नेपालमै एक संस्थामा काम गर्छिन् ।

‘श्रीमानको धेरै ठाउँमा सरुवा हुँदा पट्यार लाग्दैन थियो त ?’

उनी हाँस्दै भन्छिन्, ‘मलाई त झन् मजा पो लाग्थ्यो । रमाइलो लाग्ने । धेरै ठाउँ घुम्न पाएँ । धेरै जिल्लाहरु घुमियो ।’

...

हाँसिराख्ने, जिस्किराख्ने राजेन्द्रमान एकदमै ‘जोली नेचर’का थिए । गीत गाउनुपर्ने, रमाइराख्ने मान्छे सबैसँग छिट्टै घुलमिल हुन्थे । काममा लगनशील बानी थियो ।

कहिल्यै रिसाउँदैनथे, बरु आराधना रिसाइदिन्थिन् । रिसाउँदा के कुरा हो भनन् भनेर मज्जाले फकाउने गरेको आराधना सम्झिन्छिन् ।

राजेन्द्रमान जुत्ताको एकदम सौखिन रहेको अनुराधा बताउँछिन् ।

‘जुत्ता लगाएर बेडमै पल्टेर मज्जाले जुत्ता हेरेर बस्थे । अझ बेड निरै राख्थे,’ उनले राजेन्द्रको नौलो स्वभाव हौसिँदै बताइन् ।

खेलकुदमा एकदमै रुचि थियो राजेन्द्रमानको । त्यसैले त आराधना पनि उनको रुचि अनुसारको गिफ्ट दिन्थिन् ।

‘त्यो भ्यालेन्टाइन हामीले दिल्लीमा मनाएका थियौँ । उनले मलाई घडी दिएका थिए । मैले भने ब्याडमिन्टन खेल्दा लाउने टिसर्ट,’ उनले रमाइला दिन सम्झिँदै खुल्दै गइन् ।

भ्यालेन्टाइन डेको स्मरण गर्दा आराधना केही नोस्टालजीक बन्न पुगिन् । ड्युटीको कारणले भेट हुन नपाएपनि एक अर्कालाई वीस भने गर्थे दुवैले ।

कसले सुरुमा वीस गर्ने भनेर त प्रतिष्पर्धा नै चल्थ्यो नि । उनी खुसी देखिइन् ।

सपराइज दिनमा राजेन्द्रमान माहिर रहेको बताउँदै आराधना भन्छिन्, ‘केही खबर नगरिकनै छुट्टीमा घर आइदिन्थे ।’

...

रमाइलो गरिराख्नु अनि बोलिरारख्नुपर्ने मान्छे यसरी हलचल नगरी वर्षौंसम्म सुतेको देख्दा आराधनाको मन रुन्छ । उनी सम्हालिन सक्दिनन् । तर, फेरि राजेन्द्रमानको अनुहार हेर्छिन्, माया झन् बढी लागेर आउँछ । उनी चित्त बुझाउँछिन् । छोराछोरीको अनुहार हेरेर पनि मन केही हल्का बनाएकी छिन् उनले ।

जीवनकी सहयात्री उनी अहिले नर्स जस्तै बन्न पुगेकी छिन् ।

केही नगरी बस्दा मनमा कुरा खेल्छ भनेर उनी खाली बस्दिनन् । फुर्सद पाइहालिन् भने राजेन्द्रमान सुतिरहेको ठाउँमा गएर टिभी हेर्छिन् ।



‘खाली समय त हुँदैन तर मन एकछिन बहलिन्छ भनेर पाकिस्तानी सिरियल हेर्छु,’ उनले टिभी नियाल्दै बोलिन् ।

श्रीमानको स्याहार गर्ने रुटिनमा केही पनि तलमाथि हुन दिएकी छैनन् उनले । औषधि खुवाउने, नुहाइदिने, सरसफाइ गरिदिने, लुगा फेरिदिने, मसाज गरिदिने, कोल्टे फेरिदिने उनी समयसमयमा गरिरहन्छिन् । बिहान बेलुका केहीबेर ह्विलचेयरमा राखेर खुला ठाउँमा लान्छिन् पनि ।

...

त्यो हँसिलो अनुहार सम्झिँदा र अहिले यो अनुहार नियाल्दा आराधनाका कति दिन रोएरै बिते थाहा छैन । उनी मुटु दह्रो बनाएर बस्न खोज्छिन् । तर, मनै त हो, कहिले कतै च्वास्स घोची हाल्छ ।

राजेन्द्रमानले आँखा डुलाउँदा आफैंलाई हेरेको झैं लाग्छ उनलाई । कोमामा रहेका राजेन्द्रमानलाई चिकित्सकहरुले पर्ख र हेरको स्थितिमा रहेको बताउँछन् ।

बिहान घरमा रहँदा कल आयो भने हस्पिटलबाटै आएको जस्तो लाग्छ । ‘उनी होसमा आएकी भन्ने भान हुन्छ,’ उनी सुक्सुकाउँदै बोलिन्, ‘आश नै टुट्न दिएको छैन । मलाई चिनोस्, छोराछोरीलाई चिनोस्, भन्ने हो । हिम्मत हारेको छैन ।’

जबसम्म गर्न सक्छु त्यतिबेलासम्म सेवामा खटिने आराधनाको विश्वास छ । यस्तो परिस्थितिमा राजेन्द्रमान रहँदा पनि आराधनाको उनी प्रतिको प्रेममा कमि आएको छैन ।

...

राजेन्द्रमान नबोलेपनि उनीसँग एक्लै बोलिरहेकी हुन्छिन् आराधना । एक्लोपन महसुस हुन दिएकी छैनन् ।

भ्यालेन्टाइन डेको दिनमा आज उनको आधा मन रमाइरहेको होला, आधा दुखित होला ।

कोमामा रहेका श्रीमानले सायद आराधनाका कोमल औंलाको स्पर्श महसुस गर्न नसक्लान् । उनले बोलेका शब्दहरुको जवाफ फर्काउन नसक्लान् । तर, उनी आफ्नो प्रेमलाई सदैव अजर र अमर बनाइराख्ने प्रयत्नमा छिन् ।

र, यसवर्ष पनि अघिल्ला वर्षझैं कानमा फुस्फुसाउनेछिन् ‘राजा, आज भ्यालेन्टाइन डे हो, ह्याप्पी भ्यालेन्टाइन्स डे !’


प्रकाशित : फाल्गुन २, २०७६ १७:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?