१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६८

'भ्यालेन्टाइन डे' अर्थात् पुष्प व्यवसायीकाे 'दसैं'

पोस्टकार्ड हुँदै गुलाबमा माया साट्‍ने बढ्दै
रीना मोक्तान

काठमाडौँ — दरबारमार्गको अस्तव्यस्तता । सवारी साधनको आउजाउ । राइजिङ मलको सडकछेउ 'रोयल ड्‍याफोडिल फ्लावर सप'मा वरमाला उन्दै थिइन्, मीना तामाङ श्रेष्ठ । पसल अगाडि रंगीविरंगी फूलका गुच्छा सजाएर राखिएका थिए । त्यसबीच रातो गुलाब मुस्कुराइरहेझैं लाग्थ्यो ।

'भ्यालेन्टाइन डे' अर्थात् पुष्प व्यवसायीकाे 'दसैं'

'भ्यालेन्टाइन डे' अर्थात प्रणय दिवसका लागि राता गुलाब केही दिनअघि मीनाले भारतबाट मगाएकी हुन् । पसलमा ग्राहकलाई त्यही रातो गुलाफले तानिरहेको थियो । गुलाफको रेखदेख अनि मोलमोलाइमा पसलका स्टाफ व्यस्त देखिन्थे । उनीहरूमध्ये केही गुलाबका हाँगा काँटछाँट गर्दै थिए ।

'रातोको प्रतीक प्रेम । त्यसैले भ्यालेन्टाइनमा धेरै रातो गुलाबको व्यापार हुन्छ,' वरमाला किन्‍न आएकी ग्राहक रम्मी केसीसँग गफिँदै थिइन् मीना । उनले केही दिनअघि मात्रै ३ हजार रातो गुलाब मगाएकी हुन् । गत वर्षदेखि रातो गुलाबको व्यापार खस्कँदै गएको उनको गुनासो छ ।

'प्रेम गर्ने घटे त्यसो भए ?' रम्मीले ठट्यौली शैलीमा प्रश्‍न गरिन् । 'होइन । प्रेम गर्ने त कहाँ घट्नु, यहाँ फूलका पसल चाहिँ थपिए । यसै लाइनमा कति फूल पसल छ,' मीनाको जवाफ । कमलादीमा अधिकांश फूलका पसल थपिएकोप्रति इंगित गर्दै उनले भनिन् ।

पहिला त मीना 'भ्यालेन्टाइन डे'मा ४ लाख रुपैयाँको गुलाफ बेच्थिन् । अहिले त्यो संख्या स्वात्तै घटेर १ लाख रुपैयाँसम्म पुगेको छ । त्यतिको बेच्‍न पनि उनलाई हम्मेहम्मे पर्छ । ‍

१८ वर्षदेखि फूलको व्यापार गर्दै आएकी मीना फागुन २ (फेब्रुअरी १४) पुष्प व्यवसायीका लागि दसैं नै हुने बताउँछिन् । 'हाम्रा लागि त यो पर्व दसैं नै हो नि !,' उनले भनिन् । विगतका भ्यालेन्टाइनमा उनी १५/१६ हजार फूल बिक्री गर्थिन् । यसपालि भने ३ हजार फूल बिक्री गर्न पनि मुस्किल पर्छ कि भन्ने उनलाई चिन्ता छ ।

यतिबेला उनको व्यस्तता बढेको छ । उनको पसलमा काम गर्नेहरू आजभोलि बिहान ७ बजेदेखि राति ८ बजेसम्म व्यस्त हुन्छन् । भ्यालेन्टाइनको दिन त आराम गर्ने समयसमेत पाउँदैनन् । त्यसैले होला, भ्यालेन्टाइनको अघिल्लो दिनसम्म पनि उनीहरू रातो गुलाबको स्याहार गर्नमै रमाइरहेका थिए ।

फूलको व्यापारमा बिदाले पनि असर गर्ने बताउँछिन् मीना । भ्यालेन्टाइन डे शनिबार परेको दिन धेरै गुलाब व्यापार हुने उनको अनुभवले बताउँछ । तर, यसपाली शुक्रबार परेकाले अन्य दिनभन्दा व्यापार कम हुन्छ कि भन्ने अनुमानले उनलाई चिन्ता छ । यसपाली ३ हजार गुलाब बेच्ने उनको लक्ष्य छ ।

मायामा गुलाब आवश्यक छ त ?

'गुलाब त महत्त्वपूर्ण नै हो नि । मायासँगै फूल पनि चाहिन्छ । फूल त फ्रेसनेस हो नि । यसले तनाव पनि हटाउँछ,' उनले जवाफ दिइन् । मीनाको जवाफमा पसल बाहिर गुलाबको हाँगा काट्दै गरेका व्यक्तिले भने, 'गर्लफ्रेन्ड फकाउन सजिलो पनि हुन्छ ' उनको यो जवाफले त्यहाँ उपस्थितहरूबीच हाँसोको माहोल बन्यो ।

फेसन बन्दै गुलाब

रातो गुलाबमात्र होइन पछिल्लो समय फूल फेसन बन्न थालेको छ । त्यहीमाथि माया गर्नेको विशेष दिन प्रणय दिवसमा त रातो गुलाफको माग त ह्वात्तै बढ्छ । रातो गुलाफबिना प्रणय दिवस खल्लो हुनेसमेत तर्क गर्छन् युवा पिढीँ ।

पछिल्लो वर्षयता गुलाब किन्नेको उमेर समूह पनि बदलिँदै गएको मीना सुनाउँछिन् । 'पहिलेपहिले युवायुवती धेरै गुलाब किन्‍न आउँथे । अहिले त पाका पनि आउँछन्, जवान गर्लफ्रेन्डसँगै,' उनले हाँस्दै भनिन्, 'अहिले सबैजनालाई भ्यालेन्टाइन लाग्छ भनौं न !'

त्यतिकैमा करिब १९-२० वर्षकी युवती रातो गुलाब लिएर मीनाको काउन्टर छेउ आइन् । लजाउँदै मूल्य सोधिन् । उनले ७० रुपैयाँ तिरेर हत्त न पत्त ब्यागमा राखेर आफ्नो बाटो लागिन् ।

गुलाबको आकार र प्रजातिअनुसार मूल्य तोकिएको हुन्छ ।

यसरी हजारौं प्रेमी/प्रेमिकालाई गुलाब बेच्दै आएकी मीनाले माया गर्दा गुलाबको प्रचलन थिएन । प्रणय दिवसका कुरा गर्दा उनी विगतमा बिलाइन् । 'त्यतिबेला गुलाफ दिने हुन्थेन । मलाई चाहिँ उहाँले क्यालिन्ड्रिना भन्ने फूल दिनु भएको थियो,' लजाउँदै भनिन् ।

फूल किन्न आएकी अधवैंशे महिला ग्राहकले थपिहालिन्, 'हाम्रो पालामा त हिरो हिरोइनको पोस्ट कार्डपछाडि लेखेर दिने चलन थियो ।'

गुलाब दिएर प्रेम गर्नेहरू बढेसँगै कार्ड दिने चलन हराउँदै गएको मीना बताउँछिन् । उपहार दिनेहरू पनि घट्दै गए । महत्वपूर्ण त यही गुलाफ बन्न थालेको छ ।

०००

फूल व्यवसायी रीता बलामीको भ्यालेन्टाइन पछिल्लो वर्षयता कमलादीको फूल पसलमै बित्ने गरेको छ । उनलाई पनि यो दिन गुलाफ बेचेर भ्याइनभ्याइ हुन्छ । कहिलेकाहीँ रातिको १० नै बज्ने गर्छ । उनको यो दैनिकी १५ वर्षपहिले सुरु भएको हो । उनी पनि मीनाले झैं फूलको व्यापार घटेको बताउँछिन् । पहिला त भ्यालेन्टाइन अघि नै युवा/युवती गुलाब किन्न आइपुग्थे, 'एस ग्रिनरी'मा । यसपाली भने खासै चलहलपहल नरहेको उनको भनाइ छ ।

यसपाली उनले हजार गुलाफ प्रणय दिवस लक्षित गरेर मगाएकी छिन् । त्यसकै स्याहारमा व्यस्त थिइन् उनी ।

गुलाब मगाइसकेपछि त्यसको स्याहारमा समय लाग्छ । हाँगा काँटछाँट गरेर पानीमा डुबाउनुपर्छ । जसले गर्दा गुलाब ताजा नै रहन्छ ।

लामो समय फूलकै व्यवसायमा समय बिताएर होला गुलाब किन्न आउने युवायुवतीको अनुहारको भाव उनी सजिलै बुझ्छिन् । कति युवायुवती त गुलाब किनेपछि त्यसको मूल्य सोध्‍न लजाउँछन् । अनि गुलाबलाई लुकाएर लैजान्छन् । गत भ्यालेन्टाइनमा गुलाब किन्न आउने एक युवतीलाई उनले सोधेकी थिइन् 'ब्वाइफ्रेन्डलाई हो ?' ती युवती लजाएर गुलाबझैं रातो भएकी उनले सम्झिइन् । त्यसैले होला, हिजोआज रीतालाई हत्तपत्त त्यस्तो प्रश्न गर्न मन लाग्दैन ।

रीता भने 'पोस्टकार्ड जमाना'की होइनन् । उनी रातो गुलाब दिएर प्रेम गर्ने जमानाकी पर्छिन् । आफूलाई पनि रातो गुलाब दिएरै प्रेम प्रस्ताव राखेको दिन उनलाई हरेक भ्यालेन्टाइनले सम्झाउँछ ।

रीताको पसलछेउका ४/५ जनालाई फूलको बास्केट सजाउन भ्याइनभ्याई थियो । पाँच वर्षदेखि फूल व्यापारको काम गर्दै आएका प्रमोद पटेल आफूलाई भ्यालेन्टाइनमा फूल बेचेरै समय नहुने बताउँछन् । यसपाली मगाएका १२ सय भन्दा बढी गुलाबको स्याहार उनीसँगै पसलका अन्य स्टाफले मिलेर गरेका हुन् ।

'पहिला त धेरै फूल बिक्थ्यो । यसपाली त मगाएका फूल पनि आइसकेका छैनन् । गुलाब मात्रै होइन सबै फूलको रेखदेख गर्नुपर्छ हामीले,' बास्केटभित्र फूल उन्दै उनले सुनाए ।

हेर्दा फूलको काम सजिलो देखिन्छ । तर, यसमा धेरै मिहेनत लाग्ने प्रमोदको भनाइ छ ।

भ्यालेन्टाइनको अघिल्लो दिन फूल पसल चहार्दा फूल व्यवसायीलाई बोल्ने फुर्सद थिएन । उनीहरू तयार थिए 'भ्यालेन्टाइन डे'लाई स्वागत गर्न । किनकी यही दिन त उनीहरूले मगाएका हजारौं फूलको बिक्री हुन्छ । त्यसैले त मीनाजस्ता हरेक फूल व्यवसायीको लागि पछिल्लो समययता यो पर्व दसैं बन्दै गएको छ ।

पश्‍चिमा सँस्कृति पछ्याएको भनेर आलोचनाका स्वर आए पनि यो पर्व मनाउनेहरूसँगै यी व्यवसायीको मन पनि रमाउँछ ।

तस्बिरहरु : इलिट जोशी

प्रकाशित : फाल्गुन २, २०७६ १४:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?