कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

‘स्याटेलाइटबारे सुनेको थिएँ, बनाउँछु भन्‍ने कहिल्यै सोचेकै थिइनँ’

गोविन्द पोखरेल

काठमाडौँ — जापानको क्युटेक विश्वविद्यालयसँगको सहकार्यमा नेपालले पहिलो पटक आफ्‍नो झन्डा अंकित स्याटेलाइट अन्तरिक्षमा प्रक्षेपण गरेर एउटा इतिहास रच्यो । हातमा बोक्‍न सकिने नानो स्याटेलाइट उडाउनु विकसित मुलुकका विद्यार्थीका लागि सामान्य काम हो ।

‘स्याटेलाइटबारे सुनेको थिएँ, बनाउँछु भन्‍ने कहिल्यै सोचेकै थिइनँ’

तर, हाम्रो जस्तो विकासाेन्मुख मुलुकका लागि भने यो गौरवको विषय बन्यो । फोटो खिच्‍ने बाहेक 'एकेडेमिक' अनुसन्धानमा मात्रै केन्द्रीत छ- 'नेपाली स्याट वान' ।

बर्डस् ३ मिसन अन्तर्गत यो स्याटेलाइटको हार्डवेयरदेखि सफ्टवेरसम्मको काम अभास मास्के र हरिराम श्रेष्ठको काँधमा थियो । जुन उनीहरुले कुशलतापूर्वक निर्वाह गरे । बर्डस् ३ मिसन सफल भयो ।


नेपाल विज्ञान तथा प्रविधि प्राज्ञ प्रतिष्ठान नाष्टमा चिफ टेक्निकल एसिसटेन्टको रूपमा कार्यरत ३३ वर्षीय श्रेष्ठ र आभास मास्केको नाम नेपालको पहिलो स्याटेलाइट निर्माणकर्ताका रुपमा दरियो ।


नेपाली स्याटेलाइटको मिसन सफल भएकोमा उनी सन्तुष्ट छन् । तर, यसलाई निरन्तरता दिन सके मात्र मुलुकको अन्तरिक्ष सपना पूरा हुने श्रेष्ठ बताउँछन् । स्याटेलाइट निर्माणका दिनहरु सम्झँदै हरिराम भन्छन्, ‘नेपालको नाम जोडिएको मिसन थियो । निकै मिहिनेतका साथ काम गर्नुपर्ने थियो । मिसन अनुसार एकएक कुरामा जिम्मेवार भएर काम गर्नुपर्थ्यो । हामी दिनरात खट्यौँ । मिसन सफल पनि भयो ।’


०००


श्रेष्ठको चासो भुँइचालोको अनुसन्धानमा थियो । स्याटेलाइटबाट तथ्यांक लिने,विश्लेषण गर्ने र प्रयोगात्मक कार्यमा प्रयोग गर्थे उनी । कुनै बेला स्याटेलाइटबाट तथ्यांक लिने काम गर्ने हरिराम पछि स्याटेलाइट निर्माणमा संलग्‍न भए । उनी भन्छन्, ‘मेरो नाम पनि स्याटेलाइट निर्माणमा जोडियो भन्दा अहिले पनि सपना जस्तै लाग्छ । जीवनमा नसोचेको हुँदो रहेछ ।’


उनी गोरखाको पालुङटारमा जन्मिए । हेटौंडाबाट एसएलसी दिएँ । ३ वर्षे डिप्लोमा इन इलेक्ट्रिकल इन्जिनियरिङ गरे । त्यसपछि पूर्वाञ्चल विश्वविद्यालयबाट इलेक्ट्रोनिक कम्युनिकेसनमा इन्जिनियरिङ गरे । उनमा एउटा एकेडेमिक लाइफ बिताउने सपना मात्रै थियो । उनी नास्टसँग १० वर्ष अघि जोडिन पुगे । पुराना दिनहरु सम्झदै श्रेष्ठ भन्छन्, 'बर्डस् थ्री मिसन अन्तर्गत नेपालको झन्डा अंकित स्याटेलाइट उठाउने मिसनमा पुग्छ भन्‍ने सोचेकै थिइनँ । स्याटेलाइटबारे सुनेको थिए तर बनाउँछु नै भन्ने कहिल्यै सोचेको थिइनँ ।’


०००

नेपाली स्याटेलाइट अहिले पृथ्वीको तल्लो कक्षमा घुमिरहेको छ । अहिले यसको गति घटेको छ । आयु सकिँदै छ । सुरुमा यसबाट धेरै फाइदा लिन सकिन्छ भनेर प्रचारप्रसार गरियो । ‘नेपालको झन्डा अंकित कुनै वस्तु अन्तरिक्षमा रहनु आफैंमा गौरव हो । हामीले अवसर पाएर निर्माण गर्‍यौं । सँगसँगै अरुलाई सिकाउनुपर्ने जिम्मेवारी पनि बढ्यो तर, दक्ष जनशक्तिको अभाव छ ।’


ग्राउन्ड स्टेसन र कम्युनिकेसनको क्षेत्रमा नाष्टले विद्यार्थीको क्षमता अभिवृद्धिमा सहयोग गर्न सक्थ्यो, तर जनशक्तिको अभावका कारण त्यो पुरा हुन सकेन । उपकरण छनौटमा चुक्दा अहिले ग्राउन्ड स्टेसनबाट नाष्टले पूर्ण रूपमा प्रतिफल पाउन सकेको छैन ।


०००


विज्ञान र प्रविधिको क्षेत्रमा हाम्रो मुलुक पिछडिएको छ । नेपाल आफैंले उत्पादन/आविष्कार गरेका उपकरण, प्रविधि विरलै छन् । ‘हामी अरुले निर्माण गरेको एप्स प्रयोग गर्छौं । हाम्रै देशसम्बन्धी हुने विभिन्न किसिमका वैज्ञानिक अनुसन्धानको तथ्यांक लिन पनि विदेशीसँग किन्‍नुपर्ने बाध्यता छ,’ श्रेष्ठले गुनासो गरे । ग्राउन्ड स्टेसनमा देखिएको समस्यालाई छाड्ने हो भने नेपाली स्याटेलाइटको मिसन सफल भयो । अब नेपाललाई आफ्नै छुट्टै व्यसायिक स्याटेलाइट आवश्यक देखिएको छ ।


आफ्नै मुलुकको स्याटेलाइट हुँदा तथ्यांक र डाटा सुरक्षित राख्‍न सकिन्छ । विदेशी कम्पनीको स्याटेलाइट प्रयोग गरेर काम त हुन्छ, तर तथ्यांकको गोपनियतामाथि सधैं प्रश्‍न उठ्ने श्रेष्ठको भनाइ छ ।


नेपालको हरेक जसो गल्ली, घरहरुको जानकारी विदेशी मुलुकका ‘सर्भिलेन्स स्याटेलाइट’ सँग सुरक्षित छन् । तर, त्यही जानकारी हामीले उनीहरुबाट पैसा तिरेर किन्‍नुपर्ने बाध्यता रहेको उनले सुनाए ।


‘हाम्रो देशको डाटा हाम्रोमाभन्दा विदेशीसँग बढी छ,’ उनले भने । नेपालसँग आफ्नै भू–उपग्रह नभएकै कारण अन्य मुलुकको भूउपग्रह प्रयोग गरेर डाटा लिनुपर्ने बाध्यता छ ।


'नेपालका विभिन्‍न प्रशारण कम्पनीले विदेशी स्याटेलाइटलाई पैसा तिरेर सेवा प्रवाह त गर्छन् तर उनीहरुको हरेक गतिविधिको निगरानी भइरहेको हुन्छ । मोनिटरिङ र तथ्यांक सेवाप्रदायक र सेवाग्राही दुवैसँग हुन्छ । अनि कसरी डाटा सुरक्षित हुन्छ ?' उनले प्रश्न गरे ।


टेलिकम्युनकेसनको स्याटेलाइट खरिद गर्दा रिर्सच र सर्भिस ओरिएन्टेड गरी दुवै किसिमको हुनुपर्नेमा उनको जोड छ । आफ्नै भू–उपग्रह हुँदा आफ्नै सिस्टम र सञ्चार हुन्छ । त्यसो हुँदा डाटा पनि सुरक्षित हुन्छ । अन्यबाट नियन्त्रित स्याटेलाइट प्रयोग गर्दा हाम्रो पहुँचमा डाटा भएपनि त्योभन्दा धेरै अरुसँग हुने श्रेष्ठको भनाइ छ । उनले डाटा लिने र दिने एउटै ठाउँबाट हुँदा अनुसन्धानकर्ता र प्रयोगकर्ता दुवैलाई फाइदा पुग्‍ने बताए ।


उनले नेपालले आफ्नै स्याटेलाइट बनाउन सक्ने तर यसमा विभिन्‍न प्राविधिक समस्या रहेको सुनाए । करिब एक दर्जन नेपाली युवा वैज्ञानिकहरुलाई स्याटेलाइट निर्माण सम्बन्धिको ज्ञान छ । तर उनीहरु विदेश बस्छन् । त्यही कार्यरत छन् । त्यस्ता जनशक्तिलाई स्वदेशमा ल्याउन पहल गरेर नयाँ वैज्ञानिकहरु उत्पादन गर्नतर्फ सरकारले ध्यान दिनुपर्ने हरिराम बताउँछन् ।


नेपालमा स्याटेलाइट बनाएर अन्य मुलुकबाट लन्च गर्न सकिने उनले बताए । नेपालले तत्कालै बहुआयमिक उद्देश्य भएका स्याटेलाइट निर्माण गर्न सम्भव पनि छैन । केही भाग यही बनाउन त सकिन्छ तर परीक्षणका सम्भव नभएको उनले सुनाए ।

विदेशमा सिकेको ज्ञान प्रोग्रामिंङ र सर्भिस भएपनि त्यसलाई परीक्षणका लागि चाहिने सामग्रीहरु नेपालमा नभएको उनले सुनाए ।

प्रकाशित : माघ २६, २०७६ १७:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?