१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

सानैमा क्रिकेट क्रेज

नमिता दाहाल

काठमाडौँ — काठमाडौंमा मात्रै नभएर पूरै देशभरि क्रिकेटको क्रेज बढ्दै गएको पाइन्छ । त्यसको फलस्वरूप काठमाडौं उपत्यका र देशभर नै पनि विभिन्न ठाउँहरुमा सानै उमेरदेखि क्रिकेट सिक्नेको संख्या बढेको छ । स्कुलको पढाइसँगै क्रिकेट एकेडेमी मै गएर औपचारिक रुपमा क्रिकेट सिक्नेको संख्यामा बढोत्तरी भएको विभिन्न एकेडेमीबाट प्राप्त तथ्यांकले पनि देखाउँछन् ।

सानैमा क्रिकेट क्रेज

सानै उमेरमा बालबालिका तथा अभिभावकको क्रिकेट एकेडेमीमाथि देखिएको लगावले नेपालमा क्रिकेटलाई करिअरका रुपमा लिने जमात बढ्दै गरेको स्पष्ट हुन्छ । पहिले क्रिकेटमा करिअर नै छैन भन्नेहरुको सोच पनि केही बदलिएको छ । यसका सहज उदाहरण हुन् अहिले बच्चालाई आफैं क्रिकेट एकेडेमी छोड्न र लिन जाने अभिभावकहरु ।

तारादत्त भट्टका छोरा सुगम भट्ट हिमालयन क्रिकेट एकेडेमीमा बेलुका ४ बजेबाट क्रिकेट सिक्छन् । पिता भने आफ्नो कार्यलय छुट्टी भएपछि सधैं आफ्नो छोरालाई लिन हिमालयन क्रिकेट एकेडेमी आउँछन् । उनी भन्छन्, ‘छोराले खेलेको देख्दा खुसी लाग्छ । पछि गएर पनि उ एउटा क्रिकेटर भएको हेर्न चाहन्छु ।’

हाल काठमाडौंमा आठ भन्दा बढी क्रिकेट एकेडेमीहरु सञ्चालनमा रहेका छन् । जसमा ४ देखि ३० भन्दामाथि उमेर समूहका लगभग एक हजार जनाभन्दाबढीक्रिकेट सिक्ने गर्दछन् । त्यस्ता एकेडेमीमा खेल सिक्नजानेको मुख्य उद्देश्यविश्वस्तरको खेलाडी बन्नु रहेको छ भने एकेडेमीआफैं पनि विश्व सामु परिचय स्थापित गर्न सक्ने खेलाडी उत्पादन गर्ने उद्देश्य राख्छन् ।



यसरी सिक्न आउने विद्यार्थीहरु मध्ये प्रनिस पुलामी भन्छन्, ‘पछि गएर क्रिकेटर नै बन्ने इच्छा छ,’ उनले भने, ‘सुरुमा एकेडेमी आउँदा क्रिकेटर नै बन्छु भन्ने थिएन तर अहिले इच्छा बढ्दै गएको छ । घरबाट पनि क्रिकेटर बन्न बाबाले सर्पोट गर्नुहुन्छ ।’

अहिलेको नेपाली क्रिकेटको स्तर, खेलाडीहरुको व्यावसायिकरण, धेरैभन्दा धेरै राष्ट्रिय स्तरका प्रतियोगिताहरु जस्तै इपीएल, विभिन्न खालका टेस्ट म्याच, अन्तर स्कुल म्याच, पहिलो पटक नेपालमा नै हुन लागेको एक दिवसीय सिरिज उदाहरण्को रुपमा लिन सकिन्छ । फस्टाउँदै गएको क्रिकेट र विभिन्न किसिमको प्रसतयोगिताका आयोजन जस्ता कारणहरुले पनि नयाँ खेलाडीलाई उत्प्रेरित गरिरहेको छ । सोही कारणले पनि अभिभावकहरु आफैंले बालबालिकालाई सानै उमेरदेखि क्रिकेटमा लाग्न प्रेरित गर्ने गरेका छन् । क्रिकेटमा आफ्नो लगाव हुँदाहुँदै पनिअवसर नपाएका अभिभावकले आफ्ना सन्तानलाई राष्ट्रिय खेलाडी बन्न अवसर दिलाउने चाह राखेको उदाहरण पनि प्रशस्तै छन् ।

सर्लाही घर भई हाल कीर्तिपुर निवासी इशान अलीका पिता दाउद खान खाफ्ना छोरालाई ठुलो क्रिकेटर भएको हेर्न चाहन्छन् । ‘मेरो छोराले पछि गएर देशको नाम राख्न सकोस् भन्ने मेरो चाहना हो,’ उनले भने ।

त्यस्तै अर्का अभिावक रामचन्द्र कार्की पनि आफ्नो छोरालाई पछि गएर अन्त भन्दा क्रिकेटमा नै लागोस् भन्ने चाहन्छन् । ‘छोरा क्रिकेटर भएको हेर्ने ठुलो धोको छ । आफू खेलाडी बन्न नसके पनि छोरालाई बनाउँछु । त्यसै माथि उसको क्रिकेट प्रतिको लगावले मेरो सपना साकार हुनेमा विशवस्त छु,’ उनी बताउँछन् ।

सर्लाही घर भई हाल कीर्तिपुर बस्ने इसान अली ६ वर्षका भए । उनले क्रिकेट खेल्न थालेको २ वर्ष भयो । उनलाई ठूलो भएर रासिद खान र सन्दीप लामिछाने जस्तै क्रिकेटर बन्ने मन छ । उनलाई अन्य खेलहरु भन्दा क्रिकेट एकदम धेरै मन पर्छ ।

इशानका बुवा दाउद अली उनी पहिला आफ्लूे पनि सर्लाही जिल्लाबाट क्रिकेट खेल्थे । तर उनले क्रिकेटलाई निरन्तरता दिन भने पाएनन् । त्यसैले आफ्नो छोरालाई क्रिकेट सिक्न पठाएको उनी बताउँछन् । उनी भन्छन्, ‘जति हामीले सक्छौं त्यतिसम्म हामी उसको क्रिकेटका लागि प्रयत्न गर्छौं ।’

यस्तै इसानसँगै क्रिकेट सिक्ने डडेल्धुराका सुगम भट्टको पनि दिनचर्या उस्तै छ । १४ वर्षका उनी त्रिपुरेश्वरस्थित विश्व निकेतन स्कुलको कक्षा ९ मा पढ्छन् । उनी क्रिकेटका साथै पढाइमा पनि अब्बल छन् । उनले हिमालयन क्रिकेटमा क्रिकेट खेल्न थालेको साढे तीन वर्ष भयो । उनको बाबा सरकारी जागिरे हुन् भने आमा गृहणी हुन् । उनी भन्छन्, ‘क्रिकेटमा नै करीयर बनाउने सोचमा छु ।’

यिनीहरुसँगै प्रतिस जीसी र खड्क बोहोरा, प्रनिस पुलामी, गौरव पुन मगर पनि कीर्तिपुर स्थित हिमालयन क्रिकेट एकेडेमीमा क्रिकेट सिक्न जान्छन् । यसमध्ये प्रतिस जीसी र खड्क बोहोरा भने राष्ट्रिय टोलीबाट यू–१६ र यू–१९ खेलिसकेका खेलाडी हुन् । उनीहरुको प्रगतीले पनि सँगै क्रिकेट सिक्न आउने अन्य खेलाडीलाई प्रेरणा मिलेको एकेडेमीका प्रशिक्षक भुवन कार्की बताउँछन् । यसरी क्रिकेट सिक्न जाने विद्यार्थीका अभिभावक पनि आफ्ना सन्तान क्रिकेटर भएको हेर्न चाहन्छन् ।

उनीहरुसँगै हिमालयन क्रिकेट एकेडेमीमा ७५ जना विद्यार्थी क्रिकेट सिक्न आउँछन् । त्यहाँका म्यानेजर तथा कोच भुवन कार्कीका अनुसार यहाँ आधारभूत तहदेखि नै क्रिकेट सिकाइन्छ । यस क्रिकेट एकेडेमीमा ६ देखि २८ वर्ष सम्मका विद्यार्थीहरु सिक्न आउँछन् । यहाँ यू–१२, यू–१६ रयू–१९गरी विशेष तीन तहमा छुट्याई एकदिनमा ३ सिफ्ट गरी सिकाउने गरिन्छ । यस क्रिकेट एकेडेमीमा सिक्ने महिलाहरु भने छैनन् ।

क्रिकेट एकेडेमीका प्रशिक्षक कार्की भन्छन्, ‘जीवनमा खेलाडी नै बन्न नसके पनि एउटा असल नागरिक बन्न चाहिने अनुशासनमा भने खुब ध्यान दिएको छौं ।’ यस क्रिकेट एकेडेमीमा कहिले काँही राष्ट्र्रिय खेलाडी दिपेन्द्र सिंह ऐरी, सन्दिप सुनार जस्ता खेलाडीहरुबाट पनि विशेष प्रशिक्षण दिइन्छ । कार्की भन्छन्, ‘जुनअवसर हामीले क्रिकेटलाई व्यवसायीक रुपमा सिक्न पाएनौं पछाडीको पिढीले पाउन् र क्रिकेटको क्ष्ोत्रमा नेपालको नामअझ अगाडी बढाउन सकुन् भन्ने हाम्रो चाहना हो ।’

सानेपास्थित काठमाडौं क्रिकेट ट्रेनिङ सेन्टरमा भने १५० प्रशिक्षार्थी रहेका छन् । यस क्रिकेट एकेडेमीमा १०० जना नियमित आउँछन् भने लगभग ५० देखि ६० जना प्रशिक्षार्थी हप्ताको एकदिनमात्रै आउँछन् । यो क्रिकेट एकेडेमीमा अभिभावक आफैं बच्चा लिएर आउने गर्छन् । खेल्न आउने हरेक खेलाडीलाई परिवारबाट सहगोग र समर्थन रहेको एकेडेमीका प्रशिक्षक मनोज गुप्ता बताउँछन् । ‘बच्चाहरुलाई परिवारबाट एकदम धेरै सर्पोट छ । अभिभावकआफै लिन र पुर्‍याउन आउनुहुन्छ,’ उनले भने । यस क्रिकेट एकेडेमीले धेरै राष्ट्रिय खेलाडी उत्पादन गरिसकेको छ ।

बानेश्वर शान्तिनगरमा अवस्थितग्रेट हिमालयक्रिकेट एकेडेमी २०७० मा स्थापना भएको हो । हाल यस क्रिकेट एकेडेमीमा भने २०० भन्दा बढी प्रशिक्षार्थीहरु क्रिकेट सिक्न आउँछन् । दिनहुँ ११० भन्दा बढी प्रशिक्षार्थीहरु बिहान, दिउँसो र बेलुका गरी यहाँ क्रिकेट सिक्न आउँछन् । यहाँ भने बालिकाहरु पनि रहेका छन् । क्रिकेट एकेडेमीको मुख्य उद्धैश्य नै सर्वसुलभ मुल्यमा गुणस्तरीय क्रिकेट सिकाउनु हो । काठमाडौंमा क्रिकेट सिक्न चाहने व्याक्तिहरुलाई उनीहरुको इच्छा अनुरुप क्रिकेट सिकाउनु क्रिकेट एकेडेमीको मुख्य उद्धेश्य रहेको यहाँका प्रशिक्षक तथा म्यानेजर आर्यन शाहीले बताए ।

यसरी क्रिकेटमा नयाँ पिढीको आकर्षणले नेपाली क्रिकेटको राम्रो भविष्यतर्फ बढिरहेको संकेत गर्दछ ।


प्रकाशित : माघ २२, २०७६ १२:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?