कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सहिद बहादुर सदाको बहादुरी बिर्सेको मधेस

भोला पासवान

काठमाडौँ — बारा र रौतहटमा सयौं वर्षदेखि जोताहामाथि उत्पीडन हुँदै आएको छ । त्यसका विरुद्ध समयसमयमा किसानहरूले विद्रोह पनि गर्दै आएका छन् । २००९ सालमा यस क्षेत्रमा किसान विद्रोह भएको थियो । जोतहा किसानहरुले आफूमाथि तराई र पहाडका जमिनदारले गरेको अन्यायका विरुद्ध यससमय आसपासमा विद्रोह भएको थियो । 

सहिद बहादुर सदाको बहादुरी बिर्सेको मधेस

त्यसबेला किसानहरुले बाँच्नका लागि भखारी फोडे, जाली तमसुक च्यात्ने काम गरे । आन्दोलनको स्वरुप अनुरुप यस्तो गतिविधि भएको थियो । यस आन्दोलन वि.स २०११ सम्म आइपुग्दा सिरहासम्म फैलिसकेको थियो ।

नारा थियो : ‘रोजी, रोटी, कपडा दो, नही तो गद्दी छोड दो’, ‘जसको जोत उसको पोत’ ।

यस आन्दोलनमा मनमोहन अधिकारी लगायतका कम्युनिस्ट नेताहरुको पनि समर्थन र सहभागिता थियो । नेपालको कम्युनिस्ट आन्दोलनको आधार र जग यही मधेसका क्षेत्र र किसान आन्दोलन पनि हाे।

त्यस समयमा अन्न र जमिन प्राय किसानका हुँदैन थिए । जमिनदारकोमा काम गरेमात्र अन्न पाइन्थ्यो । अन्न नै नभएपछि २०११ साल सिराहाको कर्जन्हा स्थित सूदखोर, जमीनदार विश्वनाथ साहको घरमा करिब १ सय ५० भन्दा बढी किसान अन्न माग्न गएका थिए । जमिनदार साहले आज हुँदैन भोली आएर धान लिएर जान उर्दी दिए । दोस्रो दिन बहादुर सदासँगै वीरध्वज मगर लगायत गाउँका करिब २ सयभन्दा बढी किसानहरु विश्वनाथ साहको घरमा गएका थिए । अघिल्लो दिन नै जमिनदारले धान दिने प्रतिवद्धता गरेकाले पहिलो दिनभन्दा दोस्रो दिन किसानहरुको बढी सहभागिता थियो ।

विश्वनाथ साहको घर अगाडि आँपको बगैंचा थियो । आँपको बगैंचा हुँदै जब किसानहरु कम्पाउण्ड भित्र प्रवेश गरे । त्यहाँ जमिनदारले पुरै ब्यारेक (प्रहरीहरुको एक टोली) ल्याएर राखेका थिए । जमिन्दारले गरेको वाचा विपरीत प्रहरी ल्याएको देखेर किसानहरु आक्रोसित भएका थिए । किसानहरु लामवद्ध थिए ।

९३ वर्षिया सुनमाया थापाले ६ वर्षअघि आन्दोलनबारे खोजीनीति गर्नेक्रममा यो पंक्तिकारलाई उक्त घटना सुनाएकी थिइन् :

सबभन्दा अगाडि म त्यसपछि वीरध्वज र त्यसपछि उभिएका थिए बहादुर सदा । प्रहरीले किसानहरुलाई फर्केर जान निर्देशन दियो । तर किसानहरुले धान नलिकन नजाने बताए । प्रहरी र आन्दोलकारी बीच भनाभन हुनथाल्यो । प्रहरी बन्दुक तानेर बसेको थिए । पछाडि रहेका बहादूर सदा एकाएक अगाडि आएर एक प्रहरीको बन्दुक खोस्ने कोसिस गर्न थाले । प्रहरीको बन्दुक खोस्न लागेपछि अर्को प्रहरीले बहादुर सदालाई बन्दुकले हान्यो । ऊ मेरो काखमै लड्यो । बन्दुक नजिकबाटै हानेकोले बहादुर सदाको पटको आन्द्राबाहिर आइसकेको थियो । तर ऊ तत्काल मरेन । हामी करिब १० बजेतिर गएका थियौं । गोलीकाण्ड १० : ३० बजेतिर भएको थियो । उसको ज्यान भने दिउँसो ४ बजेतिर मात्रै गयो ।

बहादुरलाई गोली हानिसकेपछि प्रहरी टोली पनि जनताले विद्रोह गर्छ कि भनेर ब्यारेक फिर्ता भएको थियो । केही आन्दोलनकारी पुरुषहरु पनि डरले भागेका थिए । तर करिब सयभन्दा बढी महिलाहरु घटनास्थलमै थियौं ।

म, वीरध्वज र अरु केही साथी पनि बहादुरलाई कुरेर बसकेको थियौं । बहादुर मेरो काखमै सुतिरहेको थियो । रगत बगिरहेको थियो । गोली लागिसकेपछि पनि बहादुर प्रहरीलाई भिनरहेका थिए, ‘म मरेपनि मेरो धेरै साथीहरु जिउँदै छन्, तिनीहरुले तिमीहरुलाई छोड्ने छैनन् ।’

बहादुर गोली लागेपछिको करिब पाँच घण्टा मेरै काखमा थियो । लगभग ४ बजेतिर उसको प्राण गयो । त्यक्तिखेर न त यातायातको सुविधा थियो । न त अस्पताल नै थियो नजिकमा । त्यसैले हामीले बहादुरलाई बचाउन सकेनौं ।

प्रहरीहरु गइसकेपछि पुनः किसानहरु भेला भए । जमिन्दार साहको भखारी लुटेर वितरण गरियो । गरिब किसानहरुसँग बनाएर राखेको तमसुक कब्जामा लिएर जलाइयो । पटवारीलाई पाता कसेर झण्डै तीन किलोमिटर पूर्व लगिएको थियो । उसलाई किसानहरुले कुटपिट पनि गरे । पछि बहादुर सदाका जहानलाई तीन विगहा खेत दिने सर्तमा उसलाई कागज गराएर छाडियो ।

बहादुर सदाको शवलाई कमला नदीमा लगेर दाहसंस्कार गरिएको थियो । सहमति अनुसार जमिन पायो कि पाएन मलाई थाह छैन ।

यस्ता घटनाहरु बारेमा अध्ययन अन्वेषण हुन बाँकी छ । मधेसमा सदापनि सहिद हुनसक्छ भन्ने कुरातर्फ कसैको ध्यान गएको देखिन्न । थाहा हुनेहरुले लेखेको भए सायद इतिहासका यी महत्वपूर्ण खण्ड यति दिनसम्म ओझेलमा पर्ने थिएन । मधेसका सहिदबारे खासै चासो दिएको पाइँदैन ।

मधेशवादीहरुले आफ्नो राजनीतिका लागि मधेस आन्दोलनका सहिदहरुलाई मात्र अगाडि सार्ने गरेका छन् । मधेसका सहिद कृष्णवीर कामी र बहादुर सदा पनि हुन् । सिरहा जिल्लाकाे साबिककाे बड्डामाल गाविसका बहादुर सदा वास्तवमा कति बाहदुर थिए भन्ने कुरा उनले आफनो युवा अवस्था नै खेलेको अविस्मरणीय तथा तेजस्वी भूमिकाबाट ज्ञात हुन्छ ।

लेखक रामरिझन यादवका अनुसार २०११ सालमा आफ्नो हक अधिकारका लागि नारा जुलुस लगाउँदा प्रहरीको गोलीबाट उनको मृत्यु भएको थियो । सिरहा जिल्लाको पहिलो सहिद को हुन् भन्ने कुरा खोतल्दै जाँदा बहादुर सदा सिंगो मधेसको पहिलो वा दोस्रो सहिद हुनपुगेको देखिन्छ ।

अहिलेको अवस्थामा पनि बहादुर सदाको परिवारको दैनिकी फेरिएको छैन । ३ कठ्ठा ऐलानी जग्गामा ३५ जनाको परिवार बसोबास गर्दछन् । बहादुर सदाका छोरा नाति अझै दैनिक मजदुरी गरेर जिविका चलाइरहेकाछन् ।

गाउँमा छुवाछुत व्याप्त छ । कृषि मजदुर र ज्यालामा काम गर्नेलाई अझै सम्मानजनक ज्याला त्यहाँका जमिनदारले दिइँदैनन् ।

सम्मानमा स्वरुप राखिएको सालिकमा पनि विभेद छ । कर्जन्हाको बजारमा बहादुरको भत्किएको सालिक अझै पूर्णरुपमा पुनर्निमार्ण भएको छैन । कर्जन्हा छिर्ने मुख्य गेट बस्तीपुरमा जयगोविन्द साहको पनि ठूलो सालिक निमार्ण गरिएको छ । नेपाल कम्युनिस्ट पार्टीका अध्ययक्ष पुष्पकमल दाहाल यही क्षेत्रबाट निर्वाचित भएका हुन् । तर, यही क्षेत्रका ऐतिहासिक व्यक्तित्व बहादुर सदालाई हामीले सम्झिरहेका छौनौं ।


प्रकाशित : माघ १६, २०७६ १६:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?