कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

थारु महिलाको नलेखिएको इतिहास

कोइलीदेवी प्रथम थारु महिला सहिद हुन् ?
बुनु थारु

काठमाडौँ — ‘सोझो’ जातिको ट्याग भिराइएको छ, देशको चौथो ठूलो जनसंख्या रहेको थारु जातिलाई । राजनीतिज्ञ तथा अध्येता आहुति भन्छन्, ‘कुनै जातिलाई सोझा भन्नु पनि खतरनाक कुरा हो । सोझा भनिदिने अनि उनीहरु केही चाहदैनन् भनेर सत्ता र शक्तिबाट विमुख बनाइराख्ने एउटा चाल हो ।’

थारु महिलाको नलेखिएको इतिहास

इतिहास हेर्ने हो भने थारुलाई सत्ता र स्रोतबाट विमुख मात्र गरिएको छैन, जुनसुकै कालखण्डमा शासक वर्गले दमन गरेका छन् । राणाकालीन विर्ता प्रथा र पञ्चायतकालीन जमिनदारी प्रथामा यो वर्गमाथि चरम शोषण भएको सर्बविदितै छ । त्यसैले त भूमिपुत्र थारु जमिन्दारबाट कमैया, कमलरी, सुकुमबासी, हरुवा चरुवा बनेको अवस्था छ ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को तथ्यांङ्कअनुसार मगरपछि सशस्त्र जनयुद्धमा सबैभन्दा धेरै ज्यान गुमाउने थारुहरु नै हुन् । त्यतिबेला ९ सय १२ जना थारुहरु मारिएका थिए जसमा जनयुद्धको प्रथम थारु सहिद हुन् बर्दियाकी जुग्गन चौधरी ‘जुना’ । अध्येता तथा लेखिका इन्दु थारु भन्छिन्, ‘जुनालाई नै जनयुद्धको प्रथम थारु सहिद मानिन्छ त्यसैगरी कैलालीमा भने पहिलो थारु महिला शहिद भगवती चौधरी ज्वाला हुन् ।’

सहिदको बारेमा कम दस्तावेजीकरण त भएको छ नै त्यसमाथि दस्तावेजमा महिला त्यति अट्दैनन् ।

यसबारे अध्ययन गरेका अध्येता दिनेश श्रेष्ठले खलिहान आन्दोलनको बारेमा पुस्तक ‘बर्दिया, जमिनदारी, नेपाली कांग्रेस र जननेता राधाकृष्ण थारु’ मा यो गोलीकान्डबारे उल्लेख गरेका छन् ।

त्यसैगरी लवकान्त चौधरीले ‘मासिन्या दस्तुर’ नामको चित्रकला प्रदर्शनीमा थारु सहिदहरुको योगदानबारे उल्लेख गरेका छन् ।

......

प्रथम थारु महिला सहिद को हुन् भन्ने यकिन नभए पनि इतिहासका जानकारहरुले कोइलीदेवी थारुको नाम लिने गरेको पाइन्छ । उनका बारे अध्ययन अनुसन्धान कमैमात्र गरिएका छन् । विभिन्न सन्दर्भ सूचिमा पनि उनको बारेमा निकै कम उल्लेख छ ।

बर्दियाका थारु किसानहरुको खेन्ह्वा अर्थात् खलिहान आन्दोलनबारे धेरैलाई थाहा नहुनसक्छ । यो आन्दोलनमा कोइलीदेवी थारुलगायत ६ जनाले ज्यान गुमाएका थिए ।

२००७ सालमा देशमा प्रजातन्त्र स्थापना भयो । प्रजातन्त्र आए पनि किसानमाथि जमिन्दारको शोषण उस्तै थियो । कमैया किसानहरुले जमिन्दार र शोषणविरुद्ध विद्रोह गर्दै आएका थिए । २००८ साल वैशाख १५ गते बर्दिया जिल्लाको राजापुर क्षेत्र अन्तर्गत मानपुर टपराको बेलवा भन्ने गाउँमा मोही कमैया किसानहरुले जमिन्दार विदुर नरसिंह राणाको खल्यानमा ३ कुर (भाग) पाउनुपर्छ भन्ने माग राखी खल्यान घेरेका थिए ।

त्यो दिन खल्यान घेराउमा रहेका मोही कमैयाहरुको माग पूरा गर्न छोडी जमिनदार राणाले राजापुर चौकीबाट पुलिस बोलाएर गोली हान्न लगाए । त्यतिबेलाका थानेदार खड्कबहादुर गिरी थिए । त्यो हत्याकाण्डमा बेलवाका कोइलीदेवी थारु र पेपवा थारु, मंगलपुरका चापु थारु, कोहलीका लक्ष्मीप्रसाद थारु, दयारामपुरका पतिराम थारु, गुलराका डिबवा थारुसहित ६ जनाको ज्यान गएको थियो ।

सो घटनामा १७ जना किसानहरु घाइते हुन पुगेका थिए । श्रेष्ठको पुस्तक ‘बर्दिया, जमिनदारी, नेपाली कांग्रेस र जननेता राधाकृष्ण थारु’मा उल्लेख भए अनुसार घाइते हुनेमा बेलवा गाउँकै दादरे थारु, सेतु थारु, लक्ष्मी थारु, लहरु थारु, विष्णु थारु, लालमनी थारु र लखेरु थारु, खल्लाजयपुरको परवारी थारु, कोलहीको लालु थारु, मुडैयाको बड्कु थारु, सोहेलीको भगत थारु र जुम्मन थारु, बदालपुरको भंगे थारु, जयपुरका बेचन थारु र जखेरु थारु थिए ।

आन्दोलनमा सहादत प्राप्त गर्ने एकमात्र महिला कोइलीदेवीको बारेमा दस्तावेजमा निकै कम लेखिएको छ । कुनै पुस्तकको भूमिकामा उनको इतिहास सीमित छ । कसैमा उनीबारे बुक्रही (कमलहरी)को परिचय दिइएको छ ।

थारु बुद्धिजीवि तथा अधिवक्ता सन्तराम धारकटुवाका अनुसार धेरैले यो घटनामा नेपालका पुलिसले भारतको पुलिसको पनि सहयोग मागेका बताउँछन् । उनी भन्छन् ,‘त्यतिबेला यहाँको जमिन्दारसँग पुलिसको पहुँच थिएन । भारतबाट पुलिस झिकाएर मारिएको भन्ने पनि इतिहास रहेको छ । साथै कतिपयले थारु किसानहरुले लुटको प्रयास गरेर आरोप लगाउँछन् । यथार्थमा उनीहरुले आफ्नो हक मागेका थिए ।’

उक्त गोली काण्डको छानविन गर्न सरकारले जमिनदार विरोधी नेता राधाकृष्ण थारुसमेतको जाँचबुझ टोली बनाएको थियो । तर, छानबिन घटनाको टोलीले के निष्कर्ष निकाल्यो त्यो थाहा हुन सकेन ।


कोइलीदेवी नै प्रथम थारु महिला सहिद हुन्

अभियानकर्ता तथा अध्येता

दिनेश श्रेष्ठ

२००७ सालको क्रान्तिभन्दा अगाडी बर्दियालाई राजाको क्षेत्र मानिन्थ्यो । त्यतिबेला कम्युनिष्ट पार्टी बनिसकेको थिएन । निर्मल लामा, विष्णु मानन्धर आदि नेताहरु त्यस क्षेत्रमा काम गर्थे । त्यतिबेला किसानलाई उत्पादनको ४ भागको १ भाग मात्र दिइन्थ्यो । उनीहरुले ४ भागको ३ भाग पाउनुपर्छ भन्ने नारा लगाए । त्यतिबेला सबैभन्दा ठूलो जमिनदार हरिहर शर्मा थिए । १४ हजार विघाको मालिक थिए उनी । अरु पनि हजारौं विघा जमिन भएका मालिकहरु थिए । बर्दियालाई अलग ठेक्का राज्य मानिन्थ्यो ।

२००७ सालको क्रान्तिपछि किसानहरुले आफ्नो हकहितका लागि लड्नुपर्छ भन्ने जानिसकेका थिए । त्यसैले खल्यान घेरे । थानेदार र जमिन्दार मिलेर गोली चलाए । जसमा कोइलीदेवी पनि मारिइन् । त्यसैले उनलाई पहिलो थारु महिला सहिद मान्न सकिन्छ । मैले नै सबैलाई यो घटनाको बारेमा जानकारी गराएको हो ।

त्यतिबेला बीपी कोइराला गृहमन्त्री थिए । यो घटना निकै ठूलो विषय बनेको थियो । बीपीले गोलीकाण्डको छानबिन गर्न नेता राधाकृष्ण थारु समावेश गरी त्रिपुरेवरसिंह प्रधानको नेतृत्वमा उच्चस्तरीय जाँचबुझ टोली बर्दिया पठाएका थिए । छानविन गर्दा अन्याय भयो भन्ने पनि निष्कर्ष आयो । तर, त्यो घटनालाई अहिलेसम्म राज्यले ध्यान दिएको छैन । हिजोको राजाको शासनमा होस् या अहिले पार्टीको शासनमा कसैले पनि यस्ता कुरालाई महत्व दिएर हेर्दैनन् ।


याे पनि पढ्नुहाेस् :

गुमनाम सहिद तुलाराम अर्थात् गोले काइँला


सहिद बहादुर सदाको बहादुरी बिर्सेको मधेस


टिप्पणी : बहिष्कृत सहिदको सम्झनामा



प्रकाशित : माघ १६, २०७६ १३:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?