१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

गुमनाम सहिद तुलाराम अर्थात् गोले काइँला

‘गिरिजाबाबु जस्तो नजिकबाट चिन्‍ने को छ र ?’
रवीन्द्र ढकाल

काठमाडाैं — २००७ सालको प्रजातन्त्र प्राप्तिको आन्दोलनले नयाँ समय र चेतनाको प्रवाह समाजमा भित्र्याएको थियो । राजनीतिक रुपमा नेपाली कांग्रेसको यस आन्दोलनमा मुख्य भूमिका थियो । कांग्रेसको आन्दोलनको आधार स्तम्भ थियो- जनमुक्ति सेना । त्यो जनमुक्ति सेनाका एक गुमनाम पात्र हुन्- तुलाराम तामाङ अर्थात् गोले काइँला ।

गुमनाम सहिद तुलाराम अर्थात् गोले काइँला

राणा शासनलाई हटाएर प्रजातन्त्र स्थापना गर्न गठन गरिएको जनमुक्ति सेना नै पछि नेपाल प्रहरीमा रुपान्तरण भएको थियो ।

सन् १९५० नोभेम्बर ११ तारिखका दिन राति ११ बजे देशैभरी सशस्त्र क्रान्तिको सुरुआत भएको थियो । विराटनगर मोर्चाबाट यस आन्दोलनमा सहभागी भइ तुलाराम तामाङ यो आन्दोलनका पहिलो सहिद भएका थिए । प्रजातन्त्र प्राप्त नहुन्जेलको संघर्षमा जनमुक्ति सेनाबाट २९ जना सहिद भएका थिए ।

यसै सेनाका सदस्य सचिव श्यामकुमार तामाङ थिए । उनी जनमुक्ति सेना र त्यसबेलाको कांग्रेस पार्टीको मिटिङका माइन्युट पनि राख्थे । आफू पनि लडाइँमा सहभागी भए । उनले त्यसबेलाको टिपोट, तथ्य र अनुभवका आधारमा ‘जनमुक्ति सेना एउटा नलेखिएको इतिहास’ पुस्तक २०५६ सालमा तयार पारे । हाल उनी नेपालगञ्‍ज बस्छन् । ९० वर्षका भए । २००७ सालमा उनी २० वर्षका थिए ।

श्यामकुमारसँग हामीले कुराकानी गर्दा उनी ९० वर्षको उमेरमा पनि स्वर र स्मरणमा २० वर्षे युवकजस्ता लागे । तुलारामको व्यक्तित्व र उनी 'सहिद' भएको पृष्ठभूमिमा श्यामकुमार तामाङसँग इकान्तिपुरका लागि रवीन्द्र ढकालले गरेको कुराकानी -

२००७ सालको क्रान्तिमा विराटनगरको मोर्चा गिरिजाप्रसाद कोइरालाले सम्हालेका थिए । विराटनगरको जुट मिलमा तुलाराम तामाङ काम गर्थे । तामाङ गिरिजाबाबुकै साथी हुन् ।

राणाहरुले सबैलाई हाम्रा रैतीमात्र भन्थे । हामीलाई रैतीबाट सर्वभौम सम्पन्न नागरिक कसले बनायो ? यस्ता प्रश्नमा हाम्रो ध्यान पुगेको छैन । प्रजातन्त्र आएको यही तामाङले गर्दा हो । जनमुक्ति सेनाले लडेर ल्याएको हो ।

तुलाराम तामाङ बाह्रबीसेबाट पश्चिमतिर पर्ने पाखर गाउँका हुन् । तामाङलाई हेला गरेर 'भोटे' भन्थे त्यसबेला । अझै भन्छन् । तामाङ समुदाय काठमाडौं वरिपरि बस्थे, अझै बस्छन् । त्यतिबेला तामाङले आर्मीमा जागिर खान पाउँदैन थिए । अंग्रेजलाई समेत पनि तामाङहरुलाई आर्मीमा नलिनु भनेर चिठी पठाएका थिए राणाहरुले ।

यसको कारण के भन्दा राणाका लागि काम गर्ने 'नोकर' चाहिन्थ्यो । राणाकालमा बनाएका त्यत्रा काठमाडौंका दरबारमा ज्यामी यिनै तामाङहरु हुन्थे । अहिले पो ट्रकले समान बोक्छ, त्यसबेला भीमफेदीबाट तमाङले नै काठमाडौंसम्म सामान पुर्‍याउँथे ।

कमसेकम ६ हजार तामाङहरु भीमफेदी कुल्ली कामको लागि लाइन लागेर बस्थे । काम त गर्नुपर्‍यो? त्यसबेला राणाले चढ्ने मोटर काँधमा हालेर काठमाडौं लौजाने ठूलो संख्या तामाङको थियो ।

खेतीपातीले पुग्दैन थियो । सधैं कामको अभाव । यसै समय आसपास अंग्रेजहरुले दार्जिलिङमा ठूला चिया बगानहरु खोले । बगानका लागि मजदुर धेरै चाहिने भयो । अनि काठमाडौं आसपासको डाँडाबाट तामाङहरु ओहिरिए त्यता ।

यही हुलमा तुलारामका बुवा पनि थिए । यतैबाट तुलाराम अंग्रेजहरुले वर्मामा बनाएको गोरखा पल्टनमा पुगे । दोस्रो विश्वयुद्धका बेला वर्माको मचिन्ना सहरमा तुलबहादुर तामाङ बस्थे । गोर्खा पल्टनको तर्फबाट दोस्रो विश्वयुद्ध लडे । विश्वयुद्ध सकिएपछि वर्मामा युद्ध भइराख्यो ।

तुलाराम तामाङको परिवारले वर्माको युद्धबाट उम्किन बाह्रबीसे आउने भए । त्यसबेला वर्मा र नेपालबीच घना जंगल थियो । बाटोघाटो केही थिएन । खोलानाला काट्न नसकिने । वर्माबाट नेपालको यात्रा गर्ने थुप्रै मानिसहरु जंगली जनावर र रोगका कारण मरे । तुलाराम तामाङको सानो भाइ र बहिनीमात्र विराटनगरसम्म आइपुगे । परिवारका अरु सबै सदस्यको बाटोमा मृत्यु भयो ।

विराटनगर त्यसबेला नेपालकै ठूलो औद्योगिक सहर थियो । विराटनगरका जुट मिलहरुमा १६ हजारभन्दा बढी मजदुरले काम गर्थे । वर्माबाट यसरी फर्केका मानिसहरुले त्यही मजदुरीको काम विराटनगरका मिलमा पाए । र, यतै बसे । तुलाराम तामा ङपनि त्यहीँ बसे ।

विराटनगर मिल क्षेत्रका बस्तीको नाम नै वर्मा बस्ती भयो । मजदुरीले एक छाक खाने व्यवस्थासम्म गर्दियो । यसै समयमा तुलाराम तामाङ पनि जनमुक्ति सेनामा लागे । नेपालमा प्रजातन्त्र ल्याउनुपर्छ भन्ने चाहना उनको थियो । तुलराम अग्ला थिए । मधुरो र प्रस्ट बोल्ने । मिलेको बलियो शरीर थियो । गिरिजाबाबु जत्तिकै अग्लो ।

अलिअलि पढेका थिए । वर्मामा त्यसबेला बाटोघाटो, स्कुल, अस्पताल सबै थिए । नेपालभन्दा राम्रो थियो । नेपाल आइपुग्दा उनले यी सब केही देखेनन् । शिक्षा नभएका जंगली अवस्थामा जनताहरु भेटे । गरिब जनता, बाटोघाटो र अस्पतालसमेत नभएको ठाउँ थियो त्यसबेला नेपाल । यस्तो अवस्थामा हुकुमी राणा शासकले पुर्‍याएका हुन् चेत उनमा वर्मामा देखेको भागेको कुराबाट आयो । र, यही यस्तो स्थिति परिवर्तन हुनुपर्छ भन्नेमा तुलाराम लागे ।

परिवर्तनका लागि उनी जनमुक्ति सेनामा मिसिए । सन् १९५० नोभेम्बर महिनाको ११ तरिख ११ बजे राति क्रान्ति सुरु भयो । जनमुक्ति सेनाले एकैसाथ यस दिन वीरगन्ज, विराटनगर र भैरहवामा आक्रमण गरे । विराटनगरको मोर्चाको फ्रन्टमा तुलाराम तामाङ थिए । विराटनगरको मोर्चा गिरिजाबाबुको कमान्डमा थियो ।

राति ११ बजे फाइरिङ सुरु भयो । मोर्चाका सेनाको प्राय: हात खाली थियो । कोहीकोहीको हातमा कमसल बन्दुक हुन्थ्यो । यस्तो फौजले आधुनिक हातहतियारसहित राज्यको सेनासँग लडाइँ गर्नुपर्थ्यो ।

तुलारामलाई यही क्रान्तिको सुरुको दिनको दोहोरो भिडन्तमा पेटमा गोली लाग्यो । कोइराला निवास अगाडि उनी रातभर बेहोस भए। सँगै लडेका उनका साथीहरुलाई थाहा नै भएन । आक्रमणपछि उनको साथीहरु दुई माइल परको भारततर्फको जोगबनी गए ।

तामाङ रगताम्य शरीर लिएर बिहान उठे । उनी घाइते भएको ठाउँबाट भारततर्फको जोगबनी पुग्न निकै हिँड्नुपर्थ्यो ।

उठीसकेपछि घाउँ लुकाउन नजिकै सुकाइरहेको बच्चाहरुको कम्मल भिरे शरीरमा । अनि बिस्तारै हिँड्न थाले । गोली लागेको शरीरले खेतको बाटो हिँड्न सकेन । विस्तारै सडकैसडक मूलबाटोमा हिँड्न थाले ।

त्यतिबेला भन्सार कार्यलय बजारसँगै थियो । मूलबाटोको बीचमा भन्सार कार्यालय पर्थ्यो । उनी असजिलो गरी हिँड्दै गर्दा भन्सारका पालेले देखेछन् ।

पालेहरुलाई भन्सार छलेर केही लग्यो क्या हो ? कम्बल ओडेको पनि छ भन्ने परेछ । ‘के लगेको ?’ भन्सार पालेले तामाङलाई सोधेछन् । ‘केही होइन हजुर’ भनी तुलारामले जवाफ फर्काएछन् ।

शरीरबाट कम्बल पालेले हटाउनेबित्तिकै रगताम्य शरीर देखिहाले । रातभरी फायरिङ चलेको थियो । यही राति लड्ने सेना हो भन्ने परिहाल्यो पालेलाई । पालेले यो खबर हाकिमलाई सुनाएछन् । हाकिमलाई बडाहाकिम कहाँ लौजानुपर्छ भन्ने भएछ ।

भन्सारको हाकिमलाई बडाहाकिमकोमा लग्यो भने केही होला भन्ने भएर त्यसबेलाको विराटनगर गोश्वाराका बडाहाकिम उत्तमविक्रम राणाकोमा पुर्‍याएछन् ।

बडाहाकिमकोमा पुर्‍याउनेबित्तिकै 'हाम्रा राजकाज ताक्ने ? पख तँलाई' भनेर घाइते अवस्थामा नै बेस्सरी तुलाराम कुटिए । तामाङ बेहोस भएका थिए । त्यतिखेर वनमारा घाँसले वरिपरि घेरेको नामको मात्र एक कोठे अस्पताल थियो विराटनगरमा । मद्रासी कम्पाउन्डर थिए । यिनै कम्पाउन्डरले हातखुट्टामा हतकडी लगाएर तामाङलाई अस्पतालको फलामको बेडमा सुताएछन् । बाँधेर राखियो तर उपचार भएन ।

वर्मा बस्तीका गाउँलेलाई तुलारामलाई गोली लागेर घाइते भएको छ भन्ने कुरा थाहा पाएछन् । उनको बहिनी अलि हिँड्न सक्ने उमेरको थिइन् । भाइ निकै सानो थिए ।

तिनै बहिनीले दाजुलाई चियापानी बोकेर अस्पताल भेट्न आइन । एकजना पाको मान्छेलाई साथमा लिएर । तुलाराम त्यसबेला घरिघरि बेहोस घरिघरि होस आउने हालतमा थिए । बहिनीले दिएको चिया खान सकेनन् । गोली लागेको पेट र पिटाइ खाएको शरीरले चिया खाने कुरा पनि भएन ।

यस्तै हालतमा बहिनीलाई उनले भनेछन्, ‘तु फिकर नगर बहिनी मैले तिमीहरुलाई पालेको थिएँ । मेरो हालत अहिले यस्तो भयो । अब मेरो सरकार हुन्छ । मेरो पार्टीले हेर्छ । नेपालबाट राणाहरु हट्छन् । त्यसकारण म नभए पनि तिमीहरु फिकर नगर्नु ।’ यसरी कुरा गर्दागर्दै तुलारामको मृत्यु भयो । बुढा मानिस बहिनीलाई शव कुर्न लगाएर वर्मा गाउँ गएछन् ।

गाउँबाट ८–१० जना मानिस सद्‍गत गर्न भनेर आए । तर, कम्पाउनडरले बडाहाकिमलाई नसोधी शव लैजान पाइन्न भनेछन् । शव लिन भोलिपल्ट बेलाएछन् । यो ग्रुप यसै फर्कियो त्यसदिन । बहिनीले भने रातभर रुँदै दाजुको शव कुरिराखिन् ।

भोलिपल्ट बिहानै फेरि शव लिन जादाँ शवलाई डोरीले गलामा बाँधेर बडाहाकिमको कार्यालयमा सुताइरहेको भेटेछन् । यसैबेला बडाहाकिमले फोटा खिचे । यही फोटो यहाँ राखिएको छ ।

बडाहाकिमले फोटो खिचेर काठमाडौंका राणाहरुलाई पठायो भने पुरस्कार पाइन्छ भनेर खिचेका थिए । पछि जनमुक्ति सेनाले विराटनगर गोश्वारा कब्जा गरेपछि बडाहाकिमको कार्यालयमा मैले यो फोटो भेटेको हुँ ।

‘राजकाज ताक्‍ने मानिसलाई यस्तो गर्नुपर्छ ।’ भनेर शवलाई बाँधेर राखिएको थियो । शव लिन गएका गाउँलेलाई गोश्वाराका सिपाहीले पिटपाट पारेर खेदेछन् । त्यसबेलाको विराटनगर बजारमा तुलारामको शव दुई तीन फन्‍को घिसारिएको थियो । सारा रैतीलाई क्रान्ति गर्यो भने हालत यस्तो हुन्छ भनेर देखाएका थिए बडाहाकिमले त्यसबेला । त्यसपछि उनको शवलाई नदी किनारमा फालियो ।

शवको लुगा च्यातियो । घिसार्दा घिसार्दा मासु पनि पुरै बाटोभरि छरियो । नदीमा हड्डीमात्र पुगेको थियो । यसरी उनको शव केही दिनपछि नदी किनारबाट बिलायो ।

गिरिजाबाबु धेरैपटक देशको प्रधानमन्त्री भए । मैले उनलाई भेटेर थुप्रैपटक यो तामाङलाई सहिद घोषणा गर्दिऔं भने । गिरिजाबाबुले कुरा ठीक हो भनेर मुखले त भने तर काम कहिल्यै गरेनन् । गिरिजाबाबुले जस्तो नजिकबाट तामाङलाई चिन्ने मानिस अरु को हुन सक्छ ?

याे पनि पढ्नुहाेस् :

थारु महिलाको नलेखिएको इतिहास

सहिद बहादुर सदाको बहादुरी बिर्सेको मधेस

टिप्पणी : बहिष्कृत सहिदको सम्झनामा


प्रकाशित : माघ १६, २०७६ १०:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?