अलबिदा चाचाजी !

रुपा गहतराज

नेपालगन्ज — बाँकेका अग्रज पत्रकार प्रेस स्वतन्त्रता सेनानी पन्नालाल गुप्ताको बुधबार राति निधन भएको छ । केही वर्ष यता रोगले थलिँदै आएका सेनानी गुप्ताले बुधबार साँझ उल्टी गरेपछि उपचारका लागि अस्पताल लगिएको थियो । उपचारका क्रममा बुधबार राति अस्पतालमा ९२ वर्षीय गुप्तालाई चिकित्सकहरुले मृत घोषणा गरेका हुन् ।

अलबिदा चाचाजी !

नेपालगन्जको पत्रकारितामा छुट्टै पहिचान बनाएका सेनानी गुप्ता किरण साप्ताहिकका सम्पादक हुन् । नेपाल पत्रकार महासंघको प्रेस स्वतन्त्रता सेनानी सम्मान र प्रेस काउन्सिलको गोपालदास पत्रकारिता पुरस्कार पाइसकेका पन्नालाल गुप्ताले यस्ता थुप्रै सम्मान र पुरस्कार प्राप्त गरेका छन् । बाँकेमा उनकै नामबाट ‘चाचाजी पत्रकारिता पुरस्कार’ पनि स्थापना गरिएको छ ।


उनको जीवनीमा आधारित वृत्तचित्र पनि बनाइएको छ । पत्रकारितामा गुप्ताको योगदानको कदर गर्दै नेपाल पत्रकार महासंघले एक दशकअघि उनलाइ सेनानीको उपाधि दिएको थियो ।


नेपाली तथा हिन्दी पत्रिकामा प्यारोडी लेख्ने युवक पन्नालाल गुप्ताले पत्रकार हुँला भन्ने सोचेकै थिएनन्। रमाइलोका लागि प्यारोडी लेख्ने गुप्तालाई पत्रकारिताले यसरी बाँधेर राख्यो कि पछि यो पेसा र जिम्मेवारी बन्यो । ‘समाजप्रतिको जिम्मेवारीले यताउता जानै दिएन,’ गुप्ता भन्थे ।


नेपालगञ्जको रानीतलाउका गुप्ता ००७ सालअघि हिन्दी पत्रिकाहरुमा प्यारोडी लेख्थे । प्रजातन्त्र स्थापनापछि नेपालमा पनि पत्रपत्रिका प्रकाशित हुन थालेपछि उनले नेपालीमा पनि लेख्न थाले । ०११ सालमा नेपालगञ्जमै हिन्दी भाषाको पत्रिका ‘अनुराधा’ स्थापना भएपछि त्यसैमा काम गर्न थाले । पछिल्लो समय उनी नेपालगन्जमै क्रियाशील थिए किरण साप्ताहिकको सम्पादकको रुपमा ।


‘चाचाजी’ बनाउने मुद्दा

पत्रकार भएपछि केही वर्ष उनले फुक्काफाल भएर लेख्न पाए । ०१७ बाट पञ्चायती व्यवस्थाको सुरुआतसँगै भने दुःखका दिन सुरु भए। समाचार लेख्दा पटक–पटक मुद्दा झेले । एक पटक ‘श्री ५ को सरकार’ को सट्टा ‘श्री ५ सरकार’ लेखिएको पत्रिका बजार गएपछि उनी थुनामा परे ।


एक पटक राजाको विरोध गरेको समाचार लेख्दा सात वर्ष राजद्रोहको मुद्दा खेपे । स्थानीय प्रशासनलाई स्पष्टीकरण त कति हो कति । ०४६ सम्म यो क्रम चालू रहृयो। तर, उनको पेसागत जुझारुपन कहिल्यै भुत्ते भएन ।


हिन्दी भाषाको ‘अनुराधा’ मासिकबाट सुरु भएको उनको पत्रकारिता नेपाली साप्ताहिक ‘मातृभूमि’ मा पुग्यो । उनका दाजु महावीरप्रसाद गुप्ता मातृभूमिका सम्पादक थिए । २० वर्ष दाजुको सहायक भएर काम गरेका उनले ०३१ सालमा ‘किरण’ दर्ता गराए ।

०३७ मा महावीरप्रसाद गुप्ता नेपालगञ्ज नगरप्रमुख बनेपछि ‘मातृभूमि’ को सम्पादन र प्रकाशनको जिम्मा उनकै काँधमा आयो ।

०४६ को जनआन्दोलन, त्यसपछिको सशस्त्र माओवादी विद्रोह र ०६२–६३ को जनआन्दोलनमा पन्नालाल गुप्ता सम्झनलायक रिपोर्टिङमै खटिए । जस्तोसुकै अवस्थामा पनि निर्भीक भएर निरन्तर पत्रकारितामा सक्रिय गुप्त मध्य र सुदूरपश्चिम क्षेत्रमा अनुकरणीय व्यक्तित्व बने, ’चाचाजी’ का रुपमा ।

अच्छा सम्पादक’

नेपाल पत्रकार महासंघको प्रेस स्वतन्त्रता सेनानी सम्मान र प्रेस काउन्सिलको गोपालदास पत्रकारिता पुरस्कार पाइसकेका पन्नालाल गुप्ताले यस्ता थुप्रै सम्मान र पुरस्कार पाएका मात्र नभई बाँकेमा उनकै नामबाट पनि पुरस्कार स्थापना भएको छ– ‘चाचाजी पत्रकारिता पुरस्कार।’

उनको जीवनीमा आधारित वृत्तचित्र पनि छ– ’चाचाजी’। वृत्तचित्र निर्माता सन्तोष रेग्मी गुप्तालाई नेपाली पत्रकारिताको एक युग मान्छन् । ‘त्यसैले चाचाजीको योगदानको ‘डकुमेन्टेसन’ गर्ने प्रयास गरेको हुँ,’ रेग्मी भन्छन्, ‘वृत्तचित्रबाट संकलित रकमबाट उहााकै नाममा अक्षयकोष स्थापना गर्छौं ।’


पञ्चायतकालमा सबैले गुप्तालाई ’दाइ’ भनेर सम्बोधन गर्थे, त्यसपछिको पुस्ताले चाचाजी भन्न थाले । पछिल्लो समय उनीसँगै पत्रकारिता गरिरहेको चौथो पुस्ताको सम्बोधन पनि ‘चाचाजी’ नै भयो ।


२२ पुसमा दुर्घटनामा परेका ‘चाचाजी’ अहिले पहिलेजस्तो दौडधूप गर्न नसक्ने अवस्थामा पुगेका थिए । उनको मेरुदण्डमा समस्या देखिएको थियो र कान पनि कम सुन्थे । तैपनि किरण साप्ताहिकको ‘फाइनल प्रिन्ट’ उनले हेरेपछि मात्र प्रेसमा जान्थ्यो ।


जीवनको अन्तिम क्षणसम्म पनि उनी भन्ने गर्थे, ‘सक्दै नसक्ने अवस्था आए अर्कै कुरा । समाजलाई कस्तो समाचार दिने वा नदिने भन्ने तय गर्नकै लागि त सम्पादक रहन्छ, नहेरी कसरी पठाउने ?’


विभिन्न कालखण्डमा परिवर्तनका पक्षमा कलम चलाउँदै आएका ‘चाचाजी’ नरहे पनि नेपाली पत्रकारिता क्षेत्रले उनको योगदानको सधैं कदर गरिरहनेछ । अलबिदा चाचाजी !

प्रकाशित : माघ १६, २०७६ १०:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?