कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

पुस्तक विक्रेताको प्रश्न : नाकामा रोकियो पुस्तक, सरकारले गर्न खोजेको के ? 

राजश्व अनुसन्धान कार्यलय पथलैयामा रोकियो पुस्तक
रीना मोक्तान

काठमाडौँ — 'अब हामी पुस्तक आयात गर्न नसक्ने भएका छौं । त्यसैले जो-जो आफ्नो मनपर्ने पुस्तकको पर्खाइमा हुनुहुन्छ, उहाँहरुसँग हामी एकदमै माफी माग्न चाहन्छौं । हामीले सक्ने प्रयास गर्‍यौं तर यो हाम्रो हातमा छैन ।'  

पुस्तक विक्रेताको प्रश्न : नाकामा रोकियो पुस्तक, सरकारले गर्न खोजेको के ? 

पोखराको मण्डला पुस्तकले हालै सामाजिक सञ्जाल फेसबुकमा यस्तो बिलौना गर्‍यो । भारतबाट विदेशी पुस्तक आयत गर्दै आएका नेपाली पुस्तक विक्रेताको साझा समस्या पोखराको मण्डलाले फेसबुकमा पोखेको हो ।


विदेशी पुस्तक भारतबाट आयत गर्दा मूल्य सस्तो पर्न जान्छ । त्यसैले विदेशका महँगा पुस्तक पनि यहाँका विक्रेताले सजिलै नेपाल भित्र्याउँथे । अनि सुपथ मूल्यमा नेपाली पाठक सामु पुग्थे । तर, आर्थिक वर्ष २०७६/७७ को बजेट पेस गर्ने बेला अर्थमन्त्री युवाराज खतिवडाले विदेशबाट छपाई तथा विक्रीका लागि नेपाल भित्रने पुस्तकमा १० प्रतिशत भन्सार शुल्क लगाउने निर्णय गरे ।


त्यसपछि पुस्तक विक्रेतामा समस्या आयो । अहिले त डलरमै कर तिर्नुपर्ने भन्दै भन्सारमा पुस्तक नै रोकिदिएको पुस्तक विक्रेताको गुनासो छ ।


मण्डलाको गुनासो पनि यतिमै सिमित छैन । मण्डला थप लेख्छ, 'नेपालका पुस्तक विक्रेताले पुस्तकमा भन्सार शुल्क तिर्ने सम्झौता गरेको छ । हामी भारतीय रुपैयाँमा कर तिर्न तयार छौं । तर सरकार डलरमै कर तिरोस् भन्ने चाहन्छ । त्यसैले पुस्तक उपलब्ध गर्न असमर्थ भयौं ।'


डलरमा कर !

मंगलबार राजधानीमा रहेका केही पुस्तक पसल चहार्दा सबै वितरकले एउटै गुनासो गरे, 'नयाँ पुस्तक भन्सारमै रोकिदियो, डलरकै मूल्यमा कर तिर्नुपर्ने रे' । उनीहरुले भारतीय रुपैयाँमा कर तिरेर पुस्तक मगाएका थिए ।


पुस्तक भन्सारमा नभइ राजश्व अनुसन्धान कार्यलय पथलैयामा रोकिएको छ । अझै पुस्तकमाथि अनुसन्धान भइरहेको त्यहाँका अनुसन्धान अधिकृतले फोन सम्पर्कमा जानकारी दिए । दुई दिनभित्रमा नै नतिजा आउने उक्त अधिकृतले बताए । 'हो एक ट्रक पुस्तक रोकिएको छ । अब अनुसन्धान हुँदैछ, उहाँहरुले गल्ती गरेको हो भने सजाय पाउनुहुन्छ । नभए पुस्तक काठमाडौं पठाउँछौं,' अनुसन्धान अधिकृतले भने ।

खासमा अहिले भन्सारमा दाखिला गरेको रकम र किताबमा लेखिएको मूल्य फरक परेपछि भन्सार कार्यालयले कर छलीको आशंका गर्दै किताब आयत रोकिएको हो । फाइन प्रिन्टका निर्देशक अजित बराल भन्छन्, 'खासमा अन्तर्राष्ट्रिय पुस्तक प्रकाशन गर्दै आएका प्रकाशकहरुले निम्न क्रय शक्ति भएको क्षेत्रमा मूल्य नै कम राख्छन् । यो सब्सीडी हो । तर यसलाई नै मूल्य कम गरेर कर छली गरेको भन्ने गलत आरोप लगाइएको छ ।'


000

थापाथलिस्थित एकता बुक डिस्ट्रिब्यूटर्सकी एक कर्मचारी माथिल्लो तल्लामा पुस्तक सम्याउँदै थिइन् । उनले पुस्तक मिलाई सकेपछि पुस्तक राख्ने दुई र्‍याक खाली भए । खाली र्‍याक देखाउँदै उनले भनिन्, 'नयाँ पुस्तक नआएर र्‍याक खाली भइसक्यो । तर भन्सारमा रोकेको नयाँ पुस्तक कहिले पो आउला ?'


उनका अनुसार दैनिक विदेशी पुस्तकको खोजीमा आउने पाठक, विद्यार्थीहरु र खुद्रा व्यापारी रित्तो हात घर फर्किरहेका छन् । अहिले भन्सारमा पुस्तक रोकिएपछि पाठक निराश बनेका उनले अनुभव सुनाइन् ।

'पहिला त २०/२५ दिनमा अर्डर अनुसारको पुस्तक आइसक्थ्यो । त्यतिबेला पाठकले खोजेको पुस्तक १ महिनाभित्रमा पूरा गरिदिन्थ्यौं । उहाँहरु खुशी हुनुहुन्थ्यो । तर अहिले त्यो अवस्था छैन । किताबको नाम टिपाएर पाठक घर फर्कन्छन्,' उनले सुनाइन् 'बीचमा सहज भएको थियो तर अहिले फेरि विदेशी पुस्तकको आयत ठप्पै भएको छ । गाह्रो छ । ६ महिनादेखि यस्तै छ हालत छ । पाठकले खोजेको किताब पाउनुहुन्न, अब पुरानो किताब कति पढ्ने ?'


विदेशी आख्यान र गैरआख्यान खोज्ने पाठक पनि पसलमा घट्दै गएको उनले बताइन् । अन्य देशमा पुस्तकमाथि कर नलगाइने बताउँदै नेपालमा पनि यस्तै अभ्यास हुनुपर्ने धारणा छ उनको ।


१० प्रतिशतले कर तिर्दा विक्रेतालाई खासै फाइदा हुँदैन । त्यसैले भन्सार शुल्कले विक्रेतालाई घाटा हुने उनी बताउँछिन् । ‘एकैचोटी १० प्रतिशत कर लगाइदिँदा त्यसले दुईगुणा फरक पार्दो रहेछ । शिक्षा क्षेत्रमा त सरकारले सुविधा दिनुपर्ने हो,' उनले भनिन् 'एक प्रकारले हाम्रो व्यापार त छँदैछ । तर हामी त मध्यस्थताको काम गरेर संसारभरको पुस्तक झिकाउने प्रयत्न गर्छौं । पाठकलाई सुलभ मूल्यमा दिने उद्देश्य नै हो ।'


अहिले एकतामा नेपाली पब्लिकेसन्सबाट छापिएका पुस्तकमा छुट दिइन्छ । विदेशी पुस्तकमा भने छुट दिनै हम्मेहम्मे पर्ने उनको अनुभव छ ।


पुस्तक मूल्य सुन्दै तर्सन्छन् पाठक

जमलमा रहेको एजुकेशन बुक हाउसकी बिना श्रेष्ठ नयाँ पुस्तक भन्सारमा रोकिए पछि हैरान छिन् ।


पुस्तक पसलमा पाठकहरुको आवाजजावत बाक्लै थियो । काउन्टरमा टोलाइबसेकी बिनाले आफ्नो दुखेसो पोखिन्, 'वीरगञ्ज भन्सारबाट पुस्तक आउँदै थियो । त्यहाँबाट आउँदै गर्दा बीच बाटोमा (राजश्व अनुसन्धानमा) डलरमा कर लिनुपर्छ भनेर किचकिच गरेर पुस्तक रोकिएको छ । सरकारले गर्न खोजेको चाहिँ के हो खै कुन्नी ? विदेशी पुस्तकको मूल्य डलरमा छ । डलरमै कर तिर्नुपर्छ भनेपछि रोकिएको हो । यस्तो अवस्थामा पाठकले नयाँ पुस्तक पढ्न पाएका छैनन् ।'


पाठक पनि सितिमिति महँगो मूल्यमा पुस्तक किनि हाल्दैनन् । करकै कारण विक्रेताहरु समस्यामा परेको सुनाउँछिन बिना । विक्रेता मात्र होइन अहिले पाठक पनि नयाँ पुस्तक पढ्न नपाएर तनावमा छन् ।


अन्नपूर्ण एक्सप्रेसका प्रधान सम्पादक तथा पाठक विश्वास बरालले भने 'अलिअलि फरक त पर्छ, आफूलाई मनपर्ने पुस्तक विदेश गएरै किन्नु पर्ने हुन्छ । यहाँ ढिलो आइपुग्छ पुस्तक पनि । कमाउनेलाई त पुस्तकमा खर्च गर्न ठूलो कुरा भएन । तर यसले विद्यार्थीहरुलाई त समस्यामा पारेको देखिन्छ ।'

केही समय अगाडि स्तम्भकार उज्ज्वल प्रसाईंले मण्डला बुक्स प्वोइन्टमा अक्स्फोर्ड युनिभर्सिटी प्रेसले छापेको केही पुस्तकहरु मगाए । लामो समयदेखि उनी कुरिरहेका छन् । तर पुस्तक आइपुगेको छैन । करकै कारण विक्रेतामा पुस्तक आयत गर्ने उत्साह घटेको उनी बताउँछन् । 'अप्ठ्यारो छ नि भनेको पुस्तक ल्याउँदैनन् । त्यसमाथि समयमा आइदिँदैन पुस्तक । नयाँ पुस्तक पढ्नु पर्‍यो भने यसै पनि दाम महँगो छ । त्यसमाथि कर लगाइदिएको भएर पाइरहेको छुट पनि पाइएको छैन । पैसा पहिला भन्दा बढी महँगो तिर्नु परेको छ,' उनले पुस्तक पढ्न नपाउनुको गुनासो पोखे ।


पुस्तक महँगो भएकै कारण दुईवटा पुस्तक लैजानेले पनि एउटै मात्र किन्न थालेको एजुकेशन बुक हाउसकी बिना बताउँछिन् । पुस्तकबाट पाउने केही प्रतिशत नाफा पनि करमै जाने भएपछि पुस्तक पसलको भाडासमेत तिर्न गाह्रो भएको बिनाले बताइन् । 'पहिला कर तिर्नु नपर्दा हामी ५ प्रतिशत नाफाले पुस्तक पसलको बहाल तिर्ने, स्टाफ खर्च समेट्थ्यो । त्यसमै मिलाएर हामी पाठकलाई पनि छुट दिएर पुस्तक बिक्रि गर्थ्यौं' उनले सुनाइन् ।


सरकारले पुस्तकमा कर लगाएको केही महिना त उनले विदेशी पुस्तकमा केही छुट दिएर नै बिक्रि गरिन् । तर, अहिले कर लगाएको पुस्तकको दाम सुनेरै पाठक तर्सिन थालेका छन् । 'विदेशी पुस्तक ८/९ सय घटी छैन । अब त्यसमा छुट नै नपाएपछि कसले किन्छ र ?' उनले प्रश्न गरिन् ।


गफिँदै गर्दा दुई युवती पुस्तक लिएर उनको काउन्टर छेउ आइपुगिन् । बिना २ वटा पुस्तकको हिसाबमा लागिन् ।


'छुट पाइँदैन ?' एक युवतीले सोधिन् ।


जवाफमा बिनाले भनिन्, 'नेपालकै पब्लिकेसनलाई १० प्रतिशत छुट हुन्छ ।'


युवतीले हत्त न पत्त भनिहालिन् 'जम्मा ?'


‘ल हेर्नुस् १० प्रतिशत छुट दिँदा पनि मात्रै भन्नुहुन्छ उहाँहरु । अब हामी अंग्रेजीमा छँदैछैन छुट भन्यो भने कसरी पाठकले चित्त बुझाउँछन् । यस्तो भइरहेको छ के समस्या !‘ युवतीलाई पुस्तक बेच्दै उनले आफ्नो पीडा दोहोर्‍याइन् ।

०००


बागबजारमा रहेको रत्न बुक डिस्ट्रिब्यूटर्समा पाठकहरु आफ्नै धुनमा पुस्तक खोज्दै थिए । म्यानेजर सुरेश श्रेष्ठ काउन्टरमा बसेर पाठकसँग पुस्तकको मोलतोल गर्न व्यस्त देखिए । रत्नमा पहिला विदेशी पुस्तक उपलब्ध हुँदा पाठक संख्या बढेको थियो । तर अहिले नयाँ पुस्तक नभएर पाठक घटेको सुरेशले सुनाए ।

पहिला कर नलगाउँदा त रत्नले विदेशी पुस्तक धेरै नै मगाउँथे । अहिले करले गर्दा पुस्तकको खर्च बढी भएका कारण मगाउने पुस्तकको संख्यामा कम भएको उनी बताउँछन् । 'भन्सार कर नलगाउँदा हामी स्वतन्त्र भएर पुस्तक मगाउँथ्यौं । अहिले त भन्सार लागेपछि पहिला १० वटा मगाइन्थ्यो भने अहिले ५ वटा मात्तै मगाउँछौं । अब एड्भान्स कर लाग्ने भयो । पुस्तक चल्ने नचल्ने थाहा हुँदैन,' उनले सुनाए ।


नेपालमै छापिएका कोर्स बुकका लागि सन्दर्भ पुस्तक विदेशी पुस्तक नै हुने गर्छ । त्यसैले पुस्तक नआउँदा यसले विद्यार्थीलाई पनि समस्यामा पारेको उनी तर्क गर्छन् । सरकारले पुस्तकमा नभइ ज्ञानमा भन्सार लगाएको उनको भनाइ छ । 'ज्ञान भनेको त बाँडिनु पर्ने हो । अहिले यही ज्ञानमा भन्सार शुल्क लगायो । खासमा पुस्तको मूल्य पनि समस्या होइन । यहाँ त पुस्तक नै आएन,' उनले सुनाए ।

प्रकाशित : माघ १५, २०७६ १६:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?