कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

दुई टाउके सर्पको यथार्थ

गोविन्द पोखरेल

काठमाडौँ — नवलपुर कावासोती नगरपालिकामा दुईवटा टाउको भएको करेत सर्प भेटिएको विषयलाई सरिसृप र उभयचर क्षेत्रमा कार्यरत अनुसन्धानकर्ता र विद्यार्थीहरुले चासोका साथ लिएका छन् । रुपन्देहीका सर्प अनुसन्धानकर्ता कमल देवकोटा र उनको समूहले यस सम्बन्धि थप अध्ययन र विश्लेषण गरेर रेप्टिाइल्स एन्ड एम्बिया जर्नलमा प्रस्तुत गरेको सामग्री यसै साता प्रकाशित भएपछि यो विषय बाहिरिएको हो । 

दुई टाउके सर्पको यथार्थ

कावासाेतीका स्थानीय जुद्धवीर श्रीस मगरको घरमा उक्त सर्प सन् २०१८ को मेमा भेटिएको थियो । घर अगाडि भेटिएको उक्त सर्पलाई कालगण्डकी अस्पताल लगिएको थियो । त्यही सर्पलाई अध्ययन गरेर देवकोटाको टोलीले जर्नलमा प्रकाशित भएको थियो ।

जीव विज्ञानमा यस्ता विभिन्न घटनाहरु हुन्छन् । कतिपय भेटिन्छन् तर रेकर्ड गरिँदैन । नेपालमा दुईवटा टाउको भएको सर्पलाई सर्वप्रथम त्रिभुवन विश्वविद्यालयको प्राणिशास्त्रका प्राध्यापक एवं सर्प विज्ञ करनबहादुर शाहले फेला पारेका थिए। उनले फेला पारेको सर्प सम्बन्धि सन् १९८३ मा प्रकाशित भएको थियो । शाहले फेला पारेको उक्त सर्प जेनोक्रोफिस पिस्केटर (पानी सर्प) थियो । सर्पको नमुना अहिलेपनि स्वयम्भुस्थित प्राकृतिक विज्ञान संग्राहलयमा सुरक्षित छ ।

दुईवटा टाउको भएको करेत सर्प नेपालमा पहिलो पटक भेटिएको देवकोटाको दाबी छ । भारतको उत्तर प्रदेशमा सन् १९५७ मा भीआर झाले पनि दुई वटा टाउको भएको सर्प फेला पारेका थिए । दुईवटा टाउको भएको सर्प सन् १९३७ मा रेकर्ड गरिएको थियो । अहिलेसम्म रेकर्ड गरिएका दुईवटा टाउका भएका सर्पको संख्या १ हजार ९ सय ८७ भन्दा बढी छन् ।

सर्प विज्ञ समेत रहेका शाह भन्छन्, ‘दुईवटा टाउको भएको सर्प भेटाउनु कुनै नौलो कुरा भएन । धेरै वर्षअघि देखि नै भेटिएका छन् । संसारमा धेरै जीव हुर्कन्छन्, बढ्छन् र मर्छन् । कयौंमा एकदुईवटा त्यस्ता हुन्छन् । कतिपय रेकर्ड गरिन्छन् । कतिपय गरिँदैनन् । फरक यति मात्रै हो । मैले भेट्नुअघि ३५० भन्दा बढी दुई टाउके सर्पहरु भेटिएको रेकर्ड थिए ।’

शाहले सर्पको दुईवटा टाउको बन्ने अवस्था भ्रुणको सुरुको अवस्थामा कोष विभाजनको क्रममा हुने एबनर्मालिटीका कारणले भएको बताए । उनका अनुसार सर्पहरुको लिंग निर्धारण पनि तापक्रमले निर्धारण गर्छ । दुईवटा टाउकाे हुनु अब नौलो कुरा नभएको उनले बताए ।

कसरी विकासित हुन्छ दुई टाउको ?

हर्पेटोलोजिस्ट एवं प्राध्यापक कालराम(केआर) खुम्बुका अनुसार सर्पको दुईवटा टाउको जेनेटिक एबेरेशन अर्थात् एबनर्मालिटी हो । जिनहरु मिल्ने क्रममा कुनै एउटा अवस्था नमिल्दा यस्तो देखिने गरेको उनले सुनाए । कतिपयले यसलाई ‘म्युटेसन’ भन्छन् । प्राणीशास्त्रका विज्ञ समेत रहेका खुम्बुका अनुसार कोष बन्ने प्रक्रियामा कुनै एउटा अवस्थामा कोषले असमान्य अवस्था देखाँउदा शरीरका अंगहरु बढ्ने वा नहुने अवस्था हुने गर्छ ।

शुक्रकिट र ओभ्युल फ्यूज भएपछि जाइकोट बनिन्छ । हृयाप्लोइड कोषबाट डिप्लोइड कोष बन्छ । डिप्लोइड कोष विभाजन सुरु हुने क्रममा कोषको आकार भकुन्डो जस्तो गोलो हुँदै जान्छ । सबैभन्दा पहिला एउटा तह बन्छ । त्यसपछि दोस्रो र तेस्रो तहको विकास हुन्छ । कोषको विकास हुने क्रममै जीवका अंगहरु पनि क्रम अनुसार विकासित हुने हुन्छ ।

कोषमा बाहिरी, मध्य र भित्री तह बनिन्छ । यसलाई एक्जोडर्म,मोसोडर्म र इन्डोडर्म पनि भनिन्छ । इन्डोडर्ममा शरीरका भित्री अंगहरु निर्माण हुन्छन् भने मेसोडर्म शरीरका बाहिरी अंगहरुको निर्माण हुन्छ । शरीरको कडा भाग, हड्डि, अगाडिको भाग लगायत टाउको, पुच्छर हुँदै हातखुटा मेसोडर्ममा बनिन्छ । यस्तो खालको विकास सबै प्राणीहरुमा हुने खुम्बुले बताए ।

सर्प मेरुदण्डीय जीवहरुको वर्ग अन्तर्गत सरिसृप वर्गभित्र पर्छ । सरिसृपमा छेपारो वर्ग र सर्प वर्ग पर्छ । सर्पेन्टिजहरुमा सर्पहरु पर्छन् । प्राध्यापक खुम्बुले भने, ‘भ्रुण विकास हुँदा मसोडर्ममा भएको एबनर्मलिटीका कारण अंग थपिएको हुनसक्छ । विभिन्न कारणले एबनर्मलिटी हुनसक्छ ।’

उनले यस किसिमको अवस्था कम जीवहरुमा मात्रै देखा पर्ने बताए । उनले यसलाई कोष विकासका क्रममा हुने परिवर्तनका कारण शरीरको कुनै खण्डमा हुने परिवर्तन भनेर व्याख्या गरे । कहिले काँही अनुहार पर्ने भागको कोष बढ्दा एउटै अनुहार दुई वटा पनि बनिने उनले सुनाए ।

आफूले दुईवटा पुच्छर भएको सर्प देखेको बताउँदै प्राध्यापक खुम्बुले भने, ‘पुच्छर दुईवटा हुन्छ भने टाउको पनि दुईवटा हुन्छ । लाखौंमा एक भेटिने हो ।’ कतिपय दुईवटा टाउको भएको सर्पको घाँटी एउटै हुने गरेकाले कुनैको एउटा टाउकोले काम गर्ने त कुनैले नगर्ने खालको पनि हुने गरेको उनले सुनाए ।

टाउकोमा भएको संयोजन एकै प्रकारले आएको हुँदा भेटिएको उक्त करेत दुईवटै टाउका सक्रिय थिए वा थिएनन् भन्न नसकिने बताए । उनले टाउकोबारे बुझ्‍न विष दन्त र विष थैली हेरेर मात्र थाहा हुने बताए । यो दुई टाउके सर्प व्यस्क नभएर बच्चा हो ।

करेत नेपालमा पाइने ८० प्रजातिका सर्पहरुमध्येको सबैभन्दा विषालु सर्प रहेको प्राध्यापक शाहले बताए । यो भारत, बंगलादेश, श्रींलका लगायतका मुलुकहरुमा पनि पाइन्छ । करेत धेरै नै विषालु रहेको उनले सुनाए । उनले भने, ‘एउटा गोमन सर्पको १२ मिलिग्राम भेनमले मान्छे मर्छ भने करेतको ६ मिलिग्रामले भेनमले मान्छे मर्छ ।’

करेत दिउँसो सुस्ताउने र राति सक्रिय हुने खालको सर्प हो । यसले अधिंकाश मानिसहरुलाई रात वा साँझको समयमा टोक्‍ने गरेको उनले सुनाए । नेपालमा गडाइस(कमन करेत), गनग्वारी(बेन्डेड करेत), कालो करते(लेसर ब्ल्याक करेत), ठूलो कालो करेत(ग्रेटर ब्ल्याक करेत), हिमाली करेत(हिमालयन करेत) र सिन्दकरेत(सिन्द करेत) गरी ६ प्रजातिका करेतहरु पाइन्छन् । नेपालमा सबैभन्दा बढी कमन करेत अर्थात् गडाइस प्रजाति पाइन्छ । यो सर्प विशेष गरेर तराईमा पाइन्छ ।किङ कोब्रा बाहेक अन्य सर्पहरुले गुँड लगाउदैनन् । सर्पले खाल्डो, दुलो लगायतमा अन्डा पार्छ । सुरुमा धेरै नै बच्चा भएपनि बच्चाको मृत्युदर धेरै हुने हुने गरेको उनले सुनाए ।

कमन करेत आयूसीएन रेड लिस्टमा लिस्ट कन्सर्न्ड स्पेसिको रुपमा सूचिकृत छ । यो किङ कोब्रा, पाइथन जस्तो संरक्षित एवं लोपन्मुख प्रजातिको भने हैन ।

यो पनि पढ्नुहोस्ः

राजगोमन रहस्य

नवलपरासीमा दुईवटा टाउको भएको सर्प फेला

प्रकाशित : माघ १४, २०७६ १४:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?