पातलाई क्यानभास बनाएका ईशान 

बुनु थारु

काठमाडौँ — नेपाल भ्रमण वर्ष २०२० चलिरहेको छ । पर्यटकलाई नेपालतर्फ आकर्षित गर्न विभिन्न प्रचारप्रसार भइरहेका छन् । केही दिन यता सामाजिक सञ्जालमा पातमा कुँदिएको भिजिट नेपालको लोगो रहेको चित्रले धेरैको ध्यान तानिरहेको छ । पहेँलो देखिने पातमा भिजिट नेपालको लोगो दुरुस्त देखिन्छ । 

ZenTravel

पातमा यसरी मिहिन ढंगले आकृति कोर्ने युवा हुन् २६ वर्षीय ईशान महर्जन ।

ललितपुर सुनाकोठीका ईशान सानैदेखि चित्र बनाउन मनपराउँथे । स्केचहरु बनाउनमा सिपालु थिए उनी ।

Meroghar

चित्र बनाउन सौखिन उनी सामाजिक सञ्जालमा विभिन्न चित्र सम्बन्धी पेजहरु पछ्याउँथे । करिब डेढ वर्ष अगाडिको कुरा हो, एक दिन उनले इन्स्टाग्राममा ‘म्यापल’ पातमा कुँदिएको चित्र देखे । उनलाई पातमा त्यो चित्र कसरी बनाइएको होला भन्ने खुलदुली लाग्न थाल्यो ।

उनले पातमै बनाइएका चित्रको अरु पेजहरु पनि फलो गर्न थाले । विभिन्न ‘भिडियो ट्युटोरिल’ (भिडियोको माध्यमबाट सिकाइने) पनि हेरे । तर भिडियोमा हेरेको जस्तो म्यापलको पात उनले पाउन सकेनन् । एकचोटी कोसिस गरौं न त भनेर घरमै रहेको ‘मनीप्लान्ट’को पातमा बुद्धको आकृति कोरे ।

‘अरु पात भेटिन त्यसमा नै पहिलो पटक ट्राइ गरें । ठिकठिकै बनेको थियो,’ उनले हाँस्दै सुनाए ।

उक्त चित्र मम्मी र साथीभाइलाई देखाएपछि सबैले उनको कलाको तारिफ गरे ।

उनले पहिलोपटक पातमा चित्र बनाउन ४० मिनेट खर्चेका थिए । अहिले भने चित्र अनुसार भरपर्ने बताउँछन् ।
एउटा चित्र बनाउन सफल भएपछि अरु पनि बनाउन सक्छु भन्ने आत्मविश्वास उनमा पलाउन थाल्यो । पातमा नै चित्र बनाउन मन बसेपछि जुन पातमा पनि चित्र बनाउन तम्सिहाल्न थाले उनी । मनीप्लान्टको पातमा उनले ५–६ वटा चित्रहरु बनाए ।

तर मनीप्लान्ट छिट्टै सुक्ने अनि कुच्चिने भएकाले उनले त्यसमा बनाउन छाडे ।

...

बिजनेस स्टडिजमा स्नातक गरेका उनी हाल ३ महिनादेखि डेनमार्कमा बस्दै आएका छन् । उनी डेनमार्क पुग्दा त्यहाँ शरद ऋतु थियो । त्यतिबेला म्यापलको रुखहरुमा गज्जबको पालुवा हुन्थे । म्यापलको पातहरु प्रशस्त पाइन्थ्यो ।

उनी गार्डेन वा पार्क घुम्न जाँदा वा बाटोमै किन नहोस् झरिरहेका राम्रो म्यापलको पात टिपेर झोलामा हालिहाल्छन् ।

‘राम्रो पात देख्नेबित्तिकै टिपेर राख्छु अनि घरमा आएर डायरी भित्र सुरक्षित राख्छु,’ उनले भने ।

उनी पहिला कसको चित्र बनाउने त्यसलाई ध्यानमा राख्छन् र इन्टरनेटबाट राम्रो फोटो खोज्छन् । अरुले रिक्वेस्ट गरेका र आफूलाई मनपरेका सेलेब्रिटीहरुको चित्र बनाउन रुचाउँछन् उनी । अनि मोबाइलमा रहेको फोटो हेर्दै पेनले चित्रको आउटलाइन कोर्छन् । अनि ब्लेडले सावधानीपूर्वक काट्छन् ।

‘आँखा अनि अरु इफेक्ट दिँदा पात टुट्ने सम्भावना धेरै हुन्छ, त्यसैले कटिंग गर्दा एकदमै ध्यान दिएर गर्नुपर्छ । त्यसमाथि स्केचको आउटलाइन पनि राम्रो हुनुपर्छ,’ उनले दुरुस्त चित्र उतार्नुको रहस्य खोले ।

उनका अनुसार पोट्रेट चित्र बनाउँदा २ देखि ३ घण्टासम्म पनि लाग्न सक्छ भने सामान्य लोगो वा कार्टुनको चित्र भए एक घण्टामा बनिसक्छ ।

डेनमार्क रहँदा उनी खाली नै थिए । त्यतिबेला उनले धेरै चित्रहरु बनाए ।

‘पहिले खाली थिएँ, हप्ताको ५ वटासम्म बनाउँथे । अहिले भने बिदाको दिनमा २–३ वटासम्म बनाउँछु,’ उनले भने ।
सुरुमा म्यापल पातमा चित्र कोर्दा उनले ओम लेखिएको चित्र बनाएका थिए । अरु पातभन्दा म्यापलमा चित्र कोर्ने सहज भएको र लामोसमयसम्म रहने उनी बताउँछन् ।

अहिलेसम्म विभिन्न सेलिब्रिटीहरु र साथीभाइहरुको गरेर ३५ वटा चित्र पातमा बनाइसकेका छन् उनले ।

उनले मेस्सी, रोनाल्डो, भारतीय कमेडियन कपिल शर्मा, श्रृंखला खतिवडा, सिसन बानियाँ आदीको चित्र बनाएका छन् । उनले राजा विरेन्द्रको जन्मदिनको अवसरमा बनाइएको चित्र पनि औधी रुचाइएको थियो ।

उनले खुसी साट्दै भने, ‘भिजिट नेपाल र पप गायक यमबुद्धको चित्र धेरैले मनपराइदिनुभएको छ । मलाई पनि सबैभन्दा मनपर्ने यमबुद्धकै चित्र हो ।’

उनका अनुसार यो चित्र राम्रो देखिन घामको किरणमा फोटो खिच्नुपर्छ । उनले भिजिट नेपालको चित्र करिब २ हप्ताअघि बनाएका थिए, तर घाम नलाग्दा खिच्न पाएका थिएनन् ।

२ हप्तादेखि उनी ब्यागमा यो चित्र बोकिरहेका थिए । एकदिन पछि खाने बेला घाम लागेपछि लन्च आवरमा फोटो खिचेर पोस्ट गरेको उनले सुनाए ।

...

उनी पातमा मात्र होइन छ्वालीबाट पनि चित्र बनाउन सिपालु छन् । छ्वालीबाट उनले पब्जी, मिक्की माउस आदिको चित्र बनाएका छन् ।

उनलाई चित्र बनाउन मात्र होइन ‘बिटबक्सिङ’ (मुखबाट निकालिने संगितको ताल) मा पनि रुचि रहेको छ । स्नातक पढ्दा उनले २–३ वर्ष बिटबक्सिङ पनि सिके । मुखै दुख्ने गरी अभ्यास गरेका दिनहरु सम्झिँदै उनले भने, ‘म यमबुद्धबाट निकै प्रभावित छु ।’

अहिले पनि उनी छुट्टीका बेला साथीभाइ जम्मा हुँदा बिटबक्सिङ गरेर सुनाउन तम्सिहाल्छन् । सबैबाट राम्रो प्रतिक्रिया पाएपछि उनी अहिले झन् हौसिएका छन् ।
‘चित्र बनाउनु मेरो सौखको विषय हो । सबैले यति मनपराइदिनु हुन्छ होला भन्ने त सोचेको पनि थिइनँ,’ उनले हँसिलो मुख पारेर भने ।

उनी आफूले बनाएका चित्रहरु सामाजिक सञ्जालमा पोस्ट गर्छन् । टिकटिकमा पनि राख्छन् । फलोअर्स पनि बढ्दै गएका छन् । हालसम्म यमबुद्धको चित्र ३ लाखभन्दा बढीले हेरेका छन् भने भिजिट नेपालको चित्र १२ हजारभन्दा बढीले हेरेका छन् ।

चित्र बनाइदिनका लागि उनलाई थुप्रै मेसेजहरु पनि आउने गरेका छन् । तर अहिलेसम्म उनले पैसा लिएर चित्र बनाएका भने छैनन् ।

उनी भन्छन्, ‘मलाई पनि बनाइदिन त मन छ । तर अर्डर लिएर बनाइदिन सकिएन भने अप्ठेरो हुन्छ ।’

लन्ड्ररीमा काम गर्ने उनले हप्तामा एकदिन मात्रै छुट्टी पाउँछन् र फुर्सद हुनासाथ चित्र बनाउन बसिहाल्छन् ।

अहिले शरद ऋतु नभएकाले पात पाउन मुश्किल हुन्छ । ‘त्यतिबेला नै धेरै पातहरु किन संकलन गरिन भनेर अहिले सोच्छु,’ उनको यो भनाइमा चित्र मोह झल्किन्छ ।

उनले अब आर्ट नै पढ्ने सोचेका छन् भने स्केचहरु बनाउनका लागि आर्टका सामान किन्ने सुरुमा छन् ।
‘एकदिन फुर्सदमा आफ्नै चित्र पातमा बनाउन मन छ । आफूलाई कत्तिको जज गर्न सक्छु भनेर हेर्न मन छ,’ उनले भने ।



प्रकाशित : माघ ६, २०७६ १०:४०
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

गैरकृषि पेसामा महिलाको पहुँच बढ्दै

विद्या राई

काठमाडौँ — कमला सुवेदी पहिल्यैदेखि हस्तकलामा रुचि राख्थिन् । एकपटक हस्तकलासम्बन्धी प्रदर्शनीमा बंगलादेश जाने अवसर पाइन् । त्यहाँको महिला उद्यमीले हातले बनाइएका क्रिस्टलका चुरा, माला, ब्रासलेट, टप, झुम्का, औंठी बनाएर व्यापार गरेको देखिन् । प्रदर्शनी अवलोकन गर्दागर्दै बनाउने तरिका, नाफाघाटाबारे जानकारी लिइन् । नेपाल आएपछि ‘सिर्जनशील क्रिस्टल हस्तकला उद्योग’ दर्ता गरिन् ।

छ वर्षअघि कलंकीमा ५ हजार लगानी गरेर थालेको उनको व्यवसाय अहिले १ करोड रुपैयाँ हाराहारीको भएको छ । हेटौंडामा शाखा छ । दुवैतर्फ अरू ५० जनाले रोजगारी पाएका छन् ।

व्यवसायमा लागेपछि सुवेदीप्रति पति, परिवार र समाजको दृष्टिकोण फेरिएको छ । ‘चुलाचौकाभन्दा बाहिर निस्किन पाइँदैनथ्यो,’ ४७ वर्षीया सुवेदी भन्छिन्, ‘आर्थिक रूपमा महिला सक्षम भएपछि अरूको साथ पाइने रहेछ ।’

सुवेदीको विवाह १६ वर्षकै उमेरमा भएको थियो । बिहेपछि खर्चका लागि पति र परिवारको भर पर्नुपर्‍यो । दुई छोरा जन्मिएपछि जिम्मेवारी झनै बढ्यो । ०७० सालमा छोराहरूको पढाइका लागि सुवेदी सपरिवार हेटौंडाबाट काठमाडौं आएकी हुन् ।सुवेदी डिजाइन गरेर अरूलाई बनाउन दिन्छिन् । उनीहरूले कच्चा पदार्थ घरैमा लिएर जान्छन्, बनाउँछन्, ल्याइदिन्छन् । त्यसबापत ज्याला दिन्छिन् ।

सुवेदीले मुलुकभरका २३ हजार महिला उद्यमीलाई सीप विकासको तालिम दिइसकेकी छन् । उनी तालिम, प्रदर्शनी र व्यापारको सिलसिलामा विदेश पनि गइरहन्छिन् । त्यति बेला पतिले व्यवसाय धान्छन् । ‘कुनै बेला घरको दैलोबाट निस्कन श्रीमान् र परिवारको डर मान्नुपर्थ्यो, अहिले चाहेका बेला घरबाट निस्कन सक्छु, आफ्नो कमाइले सन्तुष्ट छु,’ उनले भनिन् ।

स्याङ्जा पुतलीबजारकी २९ वर्षीया सुनीता क्षेत्रीले पनि सफल उद्यमीको परिचय बनाएकी छन् । क्रिस्टल, धातु र मोतीका टप, औंठी, पोते डिजाइन, कुसन र गुडियालगायतका हस्तनिर्मित सामग्री बनाउने उनले चार वर्षअघि क्रिस्टलको सानो पसल खोलेकी थिइन् । ऋणपान गरी १ लाख जुटाएर सुरु गरेको पसल अहिले आदर्श हस्तकला उद्योग बनेको छ ।

व्यवस्थापन संकायमा प्रवीणता प्रमाणपत्र पास गरेकी उनलाई स्नातक सकेर बैंकको जागिरे बन्ने लक्ष्य थियो  । पढाइ नसक्दै विवाह भयो  । बच्चाकी आमा भइन् । आवश्यकता बढ्न थाले । उनका पति वैदेशिक रोजगारीका लागि कतार हानिए । उनले घर व्यवहार सम्हाल्न थालिन् । त्यही बेला छरछिमेकीको सिको गरेर व्यवसायमा हामफालेकी हुन् ।

अहिले १० जना महिलालाई जागिर दिएकी छन् । तीन वर्षयता ललितपुर, पोखरा र बेनी तथा जिल्लाका गरी पाँच सयभन्दा बढी महिलालाई तालिम दिइसकेकी छन् । केही समयअघि इन्डोनेसियामा भएको महिला उद्यमी तालिममा छनोट हुने उनी नेपालकी एक्ली थिइन् । उद्यमको कमाइले आठ वर्ष र चार वर्षका छोरालाई निजी स्कुल पढाउन सकेकी छन् । वैदेशिक रोजगारीमा गएका पतिलाई स्वदेश फर्काउने तयारीमा छिन् । दुवै भएर उद्योग थप विस्तार गर्ने उनको लक्ष्य छ ।

राष्ट्रिय योजना आयोगको मानव विकास प्रतिवेदनले पनि पछिल्लो समय कमला र सुनीताजस्तै महिलाको आर्थिक आत्मनिर्भरता बढ्दै गएको देखाएको छ । राष्ट्रिय जनगणनाका आधारमा तयार भएको प्रतिवेदनमा गैरकृषि पेसामा महिलाको पहुँच बढेको पाइएको छ । सन् २००३ मा गैरकृषिमा स्वरोजगार बन्ने महिला ६.७ प्रतिशत मात्रै थिए भने सन् २०११ मा यो अनुपात बढेर १६.७ प्रतिशत पुगेको छ । सन् २००३ मा कृषिमा स्वरोजगार हुने महिला ७४.६ प्रतिशत थिए भने सन् २०११ मा यो अनुपात घटेर ५७.१ प्रतिशतमा झरेको छ ।

महिलाको आर्थिक उपार्जन वृद्धि हुँदै जाँदा देशको विकास र मानव विकास सूचकांकमा सकारात्मक प्रभाव पर्ने राष्ट्रिय योजना आयोगकी पूर्वसदस्य एवं राष्ट्रिय सभा सदस्य विमला राई पौडेल बताउँछिन् । ‘आर्थिक रूपमा आत्मनिर्भर हुँदा महिलाले कसैको भर पर्नु परेन, थिचोमिचोमा पर्नु परेन, शिक्षा, स्वास्थ्यमा पहुँच स्वतः बढ्छ,’ उनले भनिन्, ‘महिलाको कमाइको अधिकांश हिस्सा सन्तान र परिवारको पोषणयुक्त खाना, गुणस्तरीय शिक्षा, स्वास्थ्यमा खर्च हुन्छ, यसले दिगो विकास लक्ष्यमा सहयोग पुग्छ ।’

दिगो विकास लक्ष्यअनुसार लैंगिक समानताको लक्ष्य प्राप्त गर्न लैंगिक सशक्तीकरणलाई जोड दिइएको छ । संयुक्त राष्ट्रसंघका अनुसार नेपालमा लैंगिक सशक्तीकरण सूचकांकको मान ०.५७ छ । सन् २०३० सम्ममा यसलाई बढाएर ०.६९ पुर्‍याउने लक्ष्य छ । यसका लागि राष्ट्रिय योजना आयोगले मातहतका मन्त्रालयमा लैंगिक सशक्तीकरणका कार्यक्रमहरू लागूगरेको छ ।

प्रकाशित : माघ ६, २०७६ १०:३९
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
×