कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सेलेब्रिटी डाक्टर

रीना मोक्तान

काठमाडौँ — 'वेलकम टु दिस क्रेजी वर्ल्ड' नवजात शिशुलाई हातमा लिएर यस्तै भन्ने गर्छिन् गायिका त्रिशाला गुरुङ । यो उनको बच्चालाई स्वागत गर्ने तरिका हो । 

सेलेब्रिटी डाक्टर

गायिकाबाट डाक्टर बनेकी त्रिशालाको दैनिकी अहिले फेरिएको छ । स्टुडियोभन्दा बढी उनको समय अहिले पेडियाट्रिक्स वार्डमा बित्छ । यसअघि १५ दिनजति उनले इमर्जेन्सी वार्डमा काम गरिन् । अहिले‍ नवजात शिशुलाई सफा गरिदिने अनि कपडा लगाइदिने गर्छिन् उनी । भिटामिन ख्वाइदिन्छन् ।

आफ्नो डाक्टरी पेसामा रमाइरहेकी छिन् त्रिशाला । इमर्जेन्सीमा तत्काल दुर्घटना भएको बिरामी हेर्नुपर्थ्‍यो । अहिले जन्मदै गरेको शिशु हेर्न खुब रमाइलो लाग्ने उनी बताउँछिन् । उनले नेपाल मेडिकल कलेजमा 'इन्टर्न' थालेको डेढ महिना भयो । १ वर्षसम्म यसैगरी सबै वार्डको अनुभव बटुल्ने उनको योजना छ । 'त्यसपछि भने कुनै विषयमा विशेषज्ञयता हासिल गर्छु' उनले भनिन्।

अहिले उनी ढुक्कै छिन्, परीक्षाको तनाव छैन । लाइसेन्सको परीक्षा भने बाँकी छ । तर, पनि उनको व्यस्तता बढेको छ । हरेक बिहान साढे सात बजे उनको मोबाइलमा अलार्म बज्छ । ९ बजे अस्पताल पुगिसक्नुपर्छ । दिनभरी अस्पताल, त्यसपछि ४ बजे घर ।

नाइट ड्यूटीले भने दिक्क रहिछिन् त्रिशाला । रातिको ९ बजेदेखि बिहानसम्म काम गर्नुपर्दा उनलाई झर्को लाग्दोरहेछ ।

'हे भगवान किन हुन्छ नाइट ड्यूटी भन्ने पनि हुन्छ । कहिलेकाहीँ रातभरी नै डेलिभरी भइरहन्छ । अब सुत्ने ल भनेको बेलामा ठ्याक्क १२ बजे अर्को बिरामी आइपुग्छ । आँखा झिम्मिक्क गर्न नपाउँदै अर्को २ बजे बिरामी आइपुग्छ,' हाँस्दै उनले सुनाइन् 'अब व्यस्त हुने दिन सुरु भयो । पहिला कलेजको विद्यार्थी थिएँ । अब पक्का काम सुरु भएको छ ।'

अस्पतालकी सेलेब्रिटी

गायिका भएकै कारण पनि अस्पतालमा उनलाई नचिन्ने कमै छन् । सेलेब्रिटी डाक्टर हुन् त्रिशाला । सबै डाक्टरदेखि नर्स उनीसँग सेल्फी खिच्न आइपुग्छन् । त्यतिबेला भने उनलाई सेलेब्रिटी अनुभव हुन्छ । सबैले चिन्ने भएपछि उनलाई सजिलो पनि भएको छ । कहिलेकाहीँ स्टेज सोका लागि बिदा आवश्यक परे सजिलै पाउँछिन् ।

त्रिशालाले डाक्टरी पढाई उत्तिर्ण गर्दा कलेजका सबै शिक्षकदेखि फ्यानसम्मले उनलाई बधाई दिएका थिए । 'ल अब त डाक्टर भएँ म भनेर पत्यार नै नलागेको । साइन्समा त्यति रुचि थिएन । खै कसरी डाक्टर भएँ' उनले परिक्षाको नतिजा पाउँदाको अनुभव सुनाइन् । त्योबेला २५ वर्षिया त्रिशालाले इन्स्टामा आफ्नो नामको अगाडि डाक्टर राखेर खुशी साटेकी थिइन् ।

'डाक्टर हुनको लागि शाहरुख खानले कहाँ-कहाँ गएर डिग्री लियो । म त पक्का डाक्टर हुँ नि । त्यसैले मलाई डाक्टर भन्न गर्व लाग्छ,' उनी गर्विलो सुनिइन् । राम्रो कलेजबाट अफर आयो भने पोस्ट ग्र्याजुएसन गर्न विदेशै जाने सोचमा पनि छिन् । तर अहिले नै कहाँ पढ्ने टुङ्गो लागेको छैन ।


संगीत यात्रा

आलोक विद्या आश्रमबाट विद्यालय सकाएकी उनले १२ को पढाई भने गोल्डेन गेटबाट पूरा गरिन् । त्यसपछि कता भविष्य बनाउने भनेर अलमलमा परेकी थिइन् । बेलायत जाने सोच नबनाएकी पनि होइनन् । बुबा भाइकाजी गुरूङ युके लाहुरे । युके जान तनावै भएन । उनकै पढाईका लागि आमा प्रतिमा नेपालै बसिन् ।

एक समय समाचार प्रस्तोता बन्ने भूत सवार थियो उनमा । सिएनएनको टिभी प्रस्तोता देखेर उनी निकै प्रभावित थिइन् । पछि गएर समाचार प्रस्तोता हुन्छु कि त 'वेदर फोरकास्ट' रिपोर्टर बन्ने सोच्थिन् । बिस्तारै दाईले मेडिकल लाइन समाते । उनी पनि त्यतै ढल्किन् । दाई युकेकै डर्माटोलोजिस्ट हुन् ।

एउटै लक्ष्य बोकेर कहिल्यै हिँडिनन् । कहिले मिस नेपाल, कहिले इन्जिनियर, कहिले के - कहिले के बन्ने रहर जागे।

रेडियो नेपालमा प्रथम

त्रिशालाको परिवार मानव धर्मका अनुयायी हुन् । गौशालाको आश्रममा भजन गाउँदै हुर्किएकी हुन् त्रिशाला । त्यतिबेला नै उनले आफ्नो आवाजको प्रशंसक भेटिन् । उनको आवाज सुनेर कतिले भविष्यमा गायिका बन्छ्यौं भन्थे । उनलाई थाहा थिएन, एकदिन डाक्टर-गायिका हुन्छु भन्ने । कक्षा ८ मा पढ्दै गर्दा रेडियो नेपालको गायन प्रतियोगितामा प्रथम भएकी थिइन् । संगीत शिक्षक/शिक्षिकाको मनपर्ने विद्यार्थीमा पर्थिन् उनी । विद्यालयको कुनै संगीत झुण्डमा उनी छुट्दिनथिन् ।

उनलाई पनि लाग्थ्यो, गजबकै गीत गाउँछु भन्ने । तर उनले कहिल्यै संगीतमा भविष्य खोजिनन् । किनकि उनका बुवा आमाले कहिल्यै उनको गायन भविष्यतर्फ गम्भीर भइदिएनन् । मेडिकलतिरै दबाब दिए । त्यसैले चाहेरै पनि त्रिशाला गायनतर्फ मोड्न सकिनन् । पढाईतर्फ नै मन लगाइन् ।

लुकाएर कतिञ्जेल लुक्थ्यो भित्री कला । उनको गायन प्रतीभा पनि लुकेन । मेडिकल कलेजमा एमबीबीएसको अन्तिम वर्षतिर इन्स्टाग्राममा गीत गाएर छोटो भिडियो क्लिप्स राखेकी थिइन् । हजारौंले मन पराइदिए । त्यसपछि झन् हौसिएर विभिन्न गीत गाएर क्लिप्स राख्न थालिन् । दर्शकले मन पराइदिए ।

सन् २०१६ तिरको कुरा हो । उनले गाएका 'तिम्ले त होइन', 'लग्जा गले' र अरिजित सिंहको गीत इन्स्टाग्राममा अत्याधीक दर्शकले मनपराए ।

उनले कभर गीत गाएर युट्युबमै राख्न थालिन् । त्यसपछि त एकाएक चर्चामा आइन् त्रिशाला । 'सानो-सानो कभर गाउँदै गएँ । ३/४ महिनामै म फेमस भएँ,' उनले भनिन् । बिस्तारै नेपाली मार्केटले उनको आवाज मन परायो । रातारात हिट भएपछि त उनी पनि गायनलाई नै अगाडि बढाउनुपर्ने हो कि भनेर अलमलमा पनि परेकी थिइन् । त्यसैले बीचमा एमबीबीएस पढाईमा ब्रेक लिएर गायनमै अगाडि बढिन् । परिवारले पढाईलाई नै प्राथमिकतामा राख्न जोड दियो ।


त्यसपछि भने संगीतलाई साइड राखेर उनी पढाईतिरै फर्किइन् ।

गायन आफ्नो भित्र मनदेखि नै आउने उनी बताउँछिन् । तर, गायनलाई मात्र अगाडि बढाउने उनी सोच्दिनन् । 'मलाई त मार्छ नि घरबाट त्यस्तो गर्‍यो भने । घरबाटै निकाल्दिन्छन्,' उनी मुस्काइन्।

कभर गायनबाट चर्चामा आएकी त्रिशालले आफ्नै सोलो गीत पनि निकालेकी छिन् । पहिलो म्यूजिक भिडियो 'यो मन' बोलको गीतको सबै खर्च अभिभावकले गरिदिएका हुन्। त्यसपछिका सबै भिडियोमा उनले आफैले गीत गाएर कमाएको रकम खर्च गरिन् । उनको 'काठमाण्डु शहर'लाई १३ लाख बढीले युट्यबुमा हेरेका छन् ।

अस्पतालमा काम गरे पनि उनले गीत गाउन भने छोडेकी छैनन् । भ्रमण वर्ष लक्षित गरे 'सजाउ' भन्ने गीत पनि रेकर्ड गराइसकेकी छिन् । गायक विक्की गुरुङसँग मिलेर गाएको गीत 'एक र दुई' पनि सार्वजनिक गर्ने तयारीमा छिन् । गीत रेकर्ड भइसक्यो । भिडियो बन्न बाँकी छ ।

उनको परिवार अझै पनि उनको गायनलाई लिएर त्यति गम्भीर भने छैनन् । तर सकारात्मक भने भएका छन् । 'इंगलिस गीत गायो, छोटो कपडा लगायो भनेचाहिँ गाली गर्नुहुन्छ । कुर्ता लगाएर गीत गाएँ भने खुशी हुनुहुन्छ,' परिवारको रुचिबारे उनी जानकार छिन् ।

कभर गीत गाउँदा उनले लोभलाग्दो भ्यूज पाउँथिन्। उनका केही सोलो गीतले कमै भ्यूज पाएका छन् युट्युबमा । 'मेरो गीत टिपिकल पनि छैन तर मेरो रोजाइको संगीतलाई रुचाइदिनु भएको छ अहिलेसम्म,' उनले भनिन् । 'होला त के' बोलको पछिल्लो गीतले इंगलिस मिसिएका कारण कम भ्यूज पाएको उनको तर्क थियो । उनले गाएको 'जुनको साथी तारा'लाई युट्युबमा १० मिलियन भ्यूज प्राप्त भयो।

कभर गीत गाउन सुरु गर्दा नै उनको गीतलाई युट्युबमा मिलियन दर्शकले हेरिदिन्थे । 'उकाली चढौंला' बोलको गीतमा त ४ मिलियन भ्युज पाएकी थिइन् । पछि म्यूजिक नेपालले गीतमा कपिराइट हान्दियो । सुरुमा त उनलाई एकदम चित्त दुखेको थियो, पछि वास्तै गरिनन् ।

त्यसपछि उनले आफ्नो युट्युब च्यानल खोलिन्। उनलाई फिल्मको गीत गाउन पनि अफर आउनेगर्छ । पारिश्रमिक महंगो मागेको भन्दै कतिजना तर्किए । 'फिल्मको लागि पनि धेरै चुजी भएँ । पारिश्रमिक धेरै भयो अरे,' उनले सुनाइन् । उनले अहिलेसम्म फिल्मका तीनवटा गीत गाइन्।

फिल्मको गीतसँगै फिल्मकै हिरोइनको लागि पनि उनलाई अफर आउँछ । तर उनलाई हिरोइन बन्नु छैन । आफ्नै गीतमा भने अभिनय गर्न उनी मनपराउँछिन् । उमेरले दिएसम्म आफ्नो गीतमा आफै देखिने उनलाई रहर छ । बलिउडबाट राम्रो अफर आयो भने उतै पनि गीत गाउने रहर उनमा छ ।

बजारमा चलिरहेभन्दा फरक गीत ल्याउने उनको धोको छ । गीतको सबै बजार युट्युबको भ्युज र ट्रेन्डिङमा अड्किएजस्तो उनलाई लाग्छ । 'धेरैको ध्यान डान्स गर्ने गीतमा मात्रै भएजस्तो लाग्छ,' उनले भनिन्, 'मलाईचाहिँ एउटा प्योर म्युजिक गर्न मन छ ।'

तस्बिरहरु : त्रिशालाको फेसबुक पेजबाट

प्रकाशित : माघ ४, २०७६ १७:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?