क्यान्सरपीडित भाइ बचाउन १७ वर्षीय दाइको संघर्ष

सिभिल अस्पतालमा भएको ५० औं बोनम्यारो प्रत्यारोपणका दौरान उजागर भएको कालिकोटका दाजुभाइको जीवन संघर्षको मार्मिक कथा
बुनु थारु

काठमाडौँ — काठमाडौंको काँडाघारीस्थित एक घरको भुइँतल्लामा चिटिक्क परेको कोठा छ । कोठाको एउटा कुनामा भान्छा छ र छेउमै अण्डाको क्रेट छ । भाँडा धोएर घोप्टाइएको छ । त्यही कोठामा बस्छन् नविन गिरी र हेमराज गिरी । नवीन १७ वर्षका छन् भने र हेमराज १३ वर्ष लागे ।

ZenTravel

मुडुल्लो टाउको। कैला आँखीभौं। नाकमा हल्का ससाना टिकटिक परेको दाग। फुङ्ग उडेको अनुहार। रगतको क्यान्सर, लामो समयको किमो, बोनम्यारो प्रत्यारोपण र अहिले विभिन्न प्रकारका औषधि, यी सबैले कमजोर बनाएको छ हेमलाई। यति सबै हुँदा पनि उनको ओठको मुस्कान हराएको थिएन।

गत शनिबार उनीहरुको कोठामा पुग्दा मौसमजस्तै धुम्म थियो दुवैको अनुहार। नवीन थकित देखिन्थे। हेम भुइँखाटमा बसेर औषधि खाँदै थिए। उनले ४–५ थरी औषधि खाइसकेका थिए, अरु के–के खाने भनेर नवीनले पर्चा पल्टाउँदै थिए। हेमले दिनमा ३ पटक औषधि खानुपर्छ। बिहान खाने औषधि त झन् १२ वटा छन्।

नवीनले बनाएको हेमले खानुपर्ने औषधिको लिस्ट।

Meroghar


‘कुन–कुन औषधि खाइस् त हेमु?’ भन्दै हातमा सेनिटाइजर दलेर पर्चामा रहेको एक–एक औषधि चेक गरे नवीनले।

दुवैजनाको सजिलोका लागि नवीनले कापीमा कुन औषधि कति बेला खाने भनेर टिपेर राखेका छन्। काम विशेषले नवीन नभए त्यो हेरेर हेमले आफैं औषधि खान्छन्।

सबै औषधि खाएपछि हेम एकछिन बेडमा पल्टिए। उनी अलिक चकचके स्वभावका देखिन्छिन्। औषधि खाएर खाटमा पल्टिँदा पनि फर्‍याकफुरुक गरिरहेका थिए।

कोठाको अर्को एउटा कुनामा र्‍याक थियो। घडी, सेनीटाइजर, केही किताब, औषधिका पर्चा अनि २ वटा फोटो फ्रेम थिए।

दायाँ हातमा ‘लभ यू हेमु’ लेखेर खोपेको ट्याटु देखाउँदै उनले भने, ‘भर्खर त जीवन र जिम्मेवारी बुझ्दैछु। आफूले जति दुःख पाएपनि भाइबहिनीलाई खुसी भएको देख्न चाहन्छु। कोही दुःखी नहोस्।’

एउटा फ्रेममा उनीहरुको दिदीसँग नवीनको फोटो थियो। र, अर्कोमा नवीनका दाइ र साथीहरुको सामूहिक तस्बिर।

‘अनि आमा बुबाको फोटो खोइ त?’

मेरो कौतुहलतामा नवीन अलिक गम्भिर देखिए। यो प्रश्नले उनलाई असहज बनाइदियो।

केही समय उनी बोलेनन्। मैले पनि केही सोध्नै सकिनँ।

एकछिनपछि सानो स्वरमा भने, ‘उहाँहरुको डिभोर्स भयो। दुवैजनाले अर्कै बिहे गर्नुभयो। अहिले हामी दाजुभाइ र बहिनी मात्रै छौं।’

रगतको क्यान्सरका कारण बोनम्यारो प्रत्यारोपण गरिएको भाइको स्याहारमा किन एक्लै खटिएका थिए नवीन? भन्ने प्रश्नको जवाफ पनि थियो त्यो प्रतिक्रिया।


...


कालिकोट, रकु सानी त्रिवेणी गाउँपालिका–१, का नवीनको परिवार राम्रै थियो। कालिकोटको सदरमुकाम मान्ममा सानो कस्मेटिक पसल पनि थियो।

२०६६ सालमा बुबाआमाको डिभोर्स भएपछि सबै परिवर्तन भयो। परिवार छिन्नभिन्न भयो।

‘त्यतिबेला म ८–९ वर्षको थिएँ। डिभोर्सपछि बुबाले अर्को बिहे गरे र घरज्वाइँ भएर बसे,’ उनले भने, ‘केही समय हामी आमासँग बस्यौं। केही समयपछि आमाले पनि छोडेर जानुभयो।’ उनी भुइँतिर हेरेर टोलाए।

बाआमाले छोडे पनि नवीन, बहिनी निरुता र भाइ हेमराजलाई घरको हजुरबा–हजुरआमाले भने साथ दिए।

मोबाइलमा गेम खेल्दै गरेका हेम।

हामी कुरा गरिरहँदा हेम भने मोबाइलमा गेम खेल्नमै मस्त थिए। हाम्रो कुरामा उनलाई कुनै चासो थिएन। यी कुरा हेमको मनमस्तिष्कमा थोपर्न चाहँदैनन् नवीन।

डिभोर्स भएपछि नातामा दाइ पर्ने माइलो बुवाको छोरा नवराजले नवीनलाई सुर्खेतमा टुहुराहरुका लागि खोलिएको कोपिला भ्याली स्कुलमा भर्ना गरिदिए।

त्यहाँ नवीनले एकवर्ष मात्रै पढे। घर अनि भाइबहिनीको मायाले सताएपछि उनी गाउँ नै फर्के। गाउँकै सरकारी स्कुलमा ५ देखि १२ कक्षासम्म पढे।

नवीन कक्षा १० मा हुँदा हेम पहिलोपटक बिरामी परे। ११ वर्षका थिए हेम। एकदमै चकचके, पौडी खेल्न मनपराउने, हाँसिरहने, जिस्कने केटोलाई एकदिन ज्वरो आउने, खोकी लाग्ने, रिंगटा लाग्ने लक्षण देखियो।

‘नवराज दाइले हेमलाई सुर्खेतमा जचाउन लैजानुभयो,’ नवीन भने, ‘त्यहाँ उपचार हुन नसकेपछि भरतपुर लगियो। र थाहा भयो हेमलाई उच्च जोखिमको ब्लड क्यान्सर भएको रहेछ– एक्युटमाइलोड लिक्युमिया।’

नवीनका अनुसार हेमलाई त्यसपछि कान्ति बाल अस्पताल, भक्तपुर अस्पताल लगेर जचाइयो। र, अन्त्यमा उपचार हुँदैन भनेर घरै फर्काइएको थियो।

‘त्यतिबेलाको कुरा मलाई धेरै त याद छैन। उसको राम्रो उपचार भने हुन सकेन,’ नवीनले भाइलाई हेर्दै भने, ‘भाइको उपचारका लागि बुवाले नै अस्पताल लगेका थिए। तर उपचार गर्नुको साटो जबर्जस्ती घर फर्काएर ल्याएका रहेछन्।’

हेमको अवस्था दिनदिनै खस्किँदै गइरहेको थियो। परिवारका सबै सदस्यहरु उनको मृत्यु कुरेर बसिरहेका थिए। नवीनको मन मानेन। भाइको उपचारका लागि आफैं लाग्ने निधो गरे।

‘तेरो भाइ धेरै दिन बाँच्दैन है। बाँचे पनि दुई–तीन दिन मात्रै त होला किन अस्पताल लानुपर्‍यो?’ परिवारका सदस्यले दिएको ओठे जवाफ सम्झिँदा उनको मन अहिले पनि पोल्छ।

कक्षा १२ को परिक्षा सिध्याएर बसेका नवीनले गत वैशाखमा भाइलाई सुर्खेतबाट प्लेन चढाएर काठमाडौं ल्याए। कालिकोटबाट काठमाडौं ल्याइपुर्‍याउँदा हेमको अवस्था निकै नाजुक भइसकेको थियो।

उपचारका लागि सुर्खेतबाट काठमाडौं आउँदै गरेका दाजुभाइ

‘काठमाडौं ओर्लिएर सिभिल अस्पतालको इमजेन्सी पुर्‍याउँदा हेमुको अवस्था देखेर सुरुमा त डाक्टरहरुले भर्ना नै गर्न मानेनन्,’ उनले भने। भाइको अवस्था देखेर उनको पनि हंसले ठाउँ छोड्न मात्रै बाँकी थियो।

‘आखिरमा नवराज दाइको साथीले सिभिलको बोनम्यारो प्रत्यारोपण विशेषज्ञ डा. विशेष पौड्याललाई चिन्नु हुँदोरहेछ। उहाँले हेरेपछि उसलाई आईसीयूमा भर्ना गरियो,’ उनले भने।

हेमको सबै परिक्षणहरुपछि डाक्टरले अन्तिम विकल्पको रुपमा बोनम्यारो प्रत्यारोपण गर्न मात्रै बाँकी रहेको बताए। नवीनलाई बोनम्यारो प्रत्यारोपण भनेको के हो नै थाह थिएन। तैपनि उनी प्रत्यारोपण गर्न तयार भए।

‘डाक्टरले सबै उपचार गर्दा लगभग २६ लाख लाग्छ भनेका थिए। मसँग एक रुपैयाँ पनि थिएन,’ उनले भने, ‘तैपनि खै कहाँबाट आँट आयो ‘हुन्छ, गर्ने’ भनिदिएँ।’

बाबुआमाले मर्नका लागि छोडेको भाइको उपचारका लागि २६ लाख रुपैयाँ जुटाउनु उनको लागि सजिलै सम्भव हुने काम थिएन। ‘फेरी पनि नवराज दाइले मिडिया, साथीभाइमार्फत आफ्ना कथा भन्न लगाउनुभयो। त्यसपछि बिस्तारै सहयोग जुट्दै गयो। प्रत्यरोपणका लागि पैसा उठ्न थाल्यो,’ उनले भने, ‘त्यसपछि मेरो पनि आँट झनै बढ्यो। अनि भाइ बाँच्छ कि भन्ने आश जाग्न थाल्यो।’


...


हेमलाई पछिल्लोपटक मंसिर २ गते अस्पताल भर्ना गरेर मंसिर १७ गते बोनम्यारो प्रत्यारोपण गरिएको हो। नवीनले नै हेमलाई आफ्नो बोनम्यारो दिएका हुन्।

नवराज दाइले धेरै सहयोग गरेपनि हेमको प्रत्यारोपणका सबै नवीन एक्लैले भ्याउँथे। रगतको जोहो गर्नुदेखि औषधि खरिद, भाइलाई खान्कीदेखि अस्पतालको बिल। सबै बोझ एक्लो काँधमा आइपरेपछि उनी केहीपटक बिरामी नै परे। तैपनि उनी पछि हटेनन्।

‘बोनम्यारो दिएपछि पनि केही दिन त गाह्रो भयो। ज्वरो पनि आयो तर खटिरहें,’ उनले भने।

बोनम्यारो प्रत्यारोपणका लागि नवीनको बोनम्यारो झिकिँदै गर्दा।

धपेडीका कारण नवीनको अनुहार अहिले पनि थकित देखिन्थ्यो। तर सँगै भाइलाई ठूलो रोगबाट पार लगाउन सकेकोमा उनको आँखामा आत्मविश्वास र सन्तुष्टिको भाव झल्किन्थ्यो।

वैशाखदेखि पुसको आधाआधीसम्म उनीहरुको लगभग ९ महिना अस्पतालमै बित्यो। अस्पतालको लामो बसाइँपछि कोठामा फर्किन पाउँदा हेम दंग छन् तर नवीनमा भने खुसीका साथै दुःखी पनि छन्।

‘त्यति धेरै महिना अस्पताल बसेको मलाई त त्यही नै घरजस्तो लागेको रहेछ,’ उनले भने, ‘सबैजनाले माया गर्थे। डिस्चार्ज गरेर घर आउँदा त कस्तो अर्कै लाग्यो,’ नवीनले हाँस्दै भने, ‘मेरो कथा सुनेर होला धेरैले माया गर्नुहुन्थ्यो। सिस्टरहरुले त खाजा–नास्ता नै ल्याएर दिनुहुन्थ्यो। म थकित भएर लड्दा कतिपटक त आफैंले नै खुवाइदिनु पनि भएको थियो।’

उनले भाइको लागि दौडधुप गर्दा कति छाक खाना खान बिर्से वा भ्याएनन् त्यसको गन्ती गरेकै छैनन्। ‘लाग्छ अस्पताल बस्दा मैले धेरै समय खाजा मात्रै खाएँ। बिहान र बेलुकाको खाना त त्यस्तै हो,’ उनले गर्व गर्दै भने।


...


हेमको प्रत्यारोपण सोचेजस्ता सहज र सरल तरिकाले अगाडि नबढेको रक्तक्यान्सर तथा बोनम्यारो प्रत्यारोपण विशेषज्ञ डा. विशेष पौड्यालले बताए।

‘हामीले प्रत्यारोपण गर्दा देखिनसक्ने सम्भवतः जोखिमहरु भनेर जेजति किताबमा पढेका हुन्छौं, त्यो सबै भयो,’ उनले भने, ‘त्यो सबैलाई निको पारेर उसलाई डिस्चार्ज गर्न पाउँदा म आफैंलाई निकै खुसी लागेको छ।’

अस्पतालमा हेमलाई खाना खुवाउँदै नवीन।

डा. पौडेल आफैं पनि हेमको दृढपन र नवीनको इच्छाशक्ति देखेर छक्क छन्।

‘उसले पहिला एकपटक किमो लिएर बीचमै छोडेकोले रोगको उपचार गर्न झनै कठिन थियो। हामीले अस्पताल भर्ना गरेपछि चलाएको किमोले पनि काम नगरेपछि अझै महँगो औषधि चलाउनुपर्‍यो,’ उनले भने, ‘त्यसैले पनि उसको उपचारका लागि धेरै खर्च भयो। नवीनले भाइको उपचारको लागि जे जति गरेको छ त्यो आफैंमा अचम्म लाग्दो कथा जस्तो लाग्छ।’

डा. पौड्यालका अनुसार हेमको प्रत्यारोपण सिभिल अस्पतालमा गरिएको ५० औं हो। ‘हामीले योसँगै ५० जनामा प्रत्यारोपण गरेका छौं,’ उनले भने, ‘सबैले नवीन जसरी पैसाको जोहो गर्न सक्दैनन्। त्यसैले सरकारले रगत क्यान्सर भएका बिरामीलाई प्रत्यारोपण गर्न सहयोग गर्नैपर्छ।’


...


क्यान्सरको उपचारमा बिरामीको इच्छाशक्ति त चाहिन्छ नै त्यसमाथि ठूलो शक्ति हुन्छ परिवारको ढाडस र सहयोग। उपचारको क्रममा एक्लै खटिएको देख्दा धेरैले नवीनलाई उनका बुवाआमाबारे सोध्छन्। उनलाई जवाफ दिनै मन लाग्दैन।

‘के भन्नु म? सहयोग चाहिएको बेला गरेनन्। सबैले माया मारे। अब त सबैजना मरिसकेकोजस्तो लाग्छ,’ उनले रोष पोखे, ‘घर पनि जान मन छैन। मेरा लागि सबै मरिसके।’

सिभिल अस्पताल बाहिर हेम।

यसो भनिरहँदा पनि उनले आफ्नो परिवारको एकजना सदस्यको नाम भने बढो आदर साथ लिए। ‘हाम्रो लागि नवराज दाइले धेरै नै गर्नुभयो। उहाँ हाम्रो लागि भगवान सरह नै हो,’ उनले भने, ‘नवराज दाइ नभएको भए आज भाइ हुन्थेन। बितिसक्थ्यो होला।’

यस्तै उनी सिभिल अस्पतालका नर्स र डाक्टरहरु पनि कृतज्ञ थिए।

तर जीवन अर्काको भरमा चल्दैन भन्ने उनलाई राम्रोसँग थाहा छ। ‘सधैंभरी दाताले पनि त सहयोग गर्दैनन्। दाताले सहयोग गरेको पैसा पनि सकिन लागेको छ,’ उनले भने, ‘अब केही सीपमूलक काम सिक्छु र यहीँ बसेर भाइबहिनीलाई पढाउँछु।’

दायाँ हातमा ‘लभ यू हेमु’ लेखेर खोपेको ट्याटु देखाउँदै उनले भने, ‘भर्खर त जीवन र जिम्मेवारी बुझ्दैछु। आफूले जति दुःख पाएपनि भाइबहिनीलाई खुसी भएको देख्न चाहन्छु। कोही दुःखी नहोस्।’

आफ्नो डेरामा हँसिलो मुद्रामा हेम।


प्रकाशित : पुस २२, २०७६ १३:२५
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

मर्दी हिमालको गज्जबका तस्बिरहरु

शब्द/तस्बिर: यात्रा राई

काठमाडौँ — नेपाल भ्रमण वर्ष २०२० मा पर्यटकलाई आकर्षित गर्न सक्ने एउटा गन्तव्य मर्दी हिमाल पनि हो  । कास्कीको धम्पुस, काँडे वा सिलिङबाट मर्दीको पदयात्रा सुरु गरिन्छ  ।

नेपाल भ्रमण वर्ष २०२० मा पर्यटकलाई आकर्षित गर्न सक्ने एउटा गन्तव्य मर्दी हिमाल पनि हो । कास्कीको धम्पुस, काँडे वा सिलिङबाट मर्दीको पदयात्रा सुरु गरिन्छ । यात्राको पहिलो दिन धम्पुसबाट चार घण्टा हिँडेर उकालै उकालो पोतना हुँदै समुद्री सतहबाट २,१०० मिटर उचाइमा रहेको देउरालीको उचाइमा पुगेर बसियो । दुइटा मात्रै होटल रहेको यहाँ रातमा घान्द्रुकको झिलिमिली बत्ती र बिहानको मिर्मिरे उज्यालो अनि सूर्योदयको दृश्य नियाल्न सकिन्छ ।

भोलिपल्ट बिहानको चिया पिएर हाम्रो टोलीलाई गुराँसको घना जंगल छिचोलेर सुइरो डाँडा हुँदै फरेस्ट क्याम्पमा दिउँसोको खाना खाएर ३,०५० मिटरस्थित लो क्याम्प पुग्न सात घण्टा लाग्यो । बस्ने होटल धेरै भए पनि बास बस्ने ठाउँको निधो गर्न मुस्किल पर्‍यो । कोठामा झोला राखेर लसुनको सुप र खानाको अर्डर गरेपछि क्यामेराको ब्याट्री चार्ज गर्दै डाइनिङ हलतिर लाग्यौं ।

लो क्याम्पको बसाइपछि हामी बादल डाँडा हुँदै हाई क्याम्पको फिस्टेल होटलबाट करिब बिहानको ४ बजे हिँडेर मार्दीको ४,२०० मिटरको उचाइमा अपर भ्यु पोइन्टबाट हिमाली शृंखलाको तस्बिर खिच्न ६ बजे पुगियो । स्वदेशी–विदेशी पर्यटकको घुइँचोसँगै मार्दी, माछापुच्छ्रे, अन्नपूर्ण तेस्रो, गंगापूर्ण, तारेकाङ, सिगुंचुली, खंसारकाङ, अन्नपूर्ण पहिलो, हिमचुली र अन्नपूर्ण साउथलगायत हिमालहरूको सामान्य लेन्सले नै गज्जब तस्बिर खिच्न सकिन्छ ।


प्रकाशित : पुस २२, २०७६ १२:३७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
×