१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६३

चिसोमा उखु किसान : मण्डलादेखि सुकुम्बासी बस्तीसम्म (भिडियो)

रीना मोक्तान

काठमाडौँ — बुधबार दिउसो १२ बजेको पारिलो घाम । चिनी मिलले पैसा नदिएर हैरान भएका सर्लाहीका उखु किसान ब्यानरसहित माइतीघर मण्डलामा धर्ना बसिरहेका थिए । धर्नाको दसौं दिन आन्दोलनरत उखु किसानको संख्या थपिइरहेको थियो ।

चिसोमा उखु किसान : मण्डलादेखि सुकुम्बासी बस्तीसम्म (भिडियो)

किसानसँगै कानुन संकाय अध्यनरत केही विद्यार्थी पनि आन्दोलनमा सरिक भए । विद्यार्थीका हातमा भएको ब्यानरमा लेखिएको थियो 'म किसानको छोरी हुँ, किसान संघर्ष जिन्दावाद ।' १० जना विध्यार्थी थप भएपछि बुधबार आन्दोलनरत उखु किसानको संख्या बढेको देखिन्थ्यो । सातौं दिन (आइतबार) त्यहाँ पुग्दा किसानको संख्या कमै थियो ।

पीडामाथि राजनीति

आन्दोलनमा साथ दिनेको संख्या बढेपछि उखु किसानको मुहार उज्यालो देखिन्थ्यो । त्यसमाथि मन्त्रालयमा बैठक जाने कुराले बुधबार उनीहरुको उर्जा बढेको थियो । आइतबार पुस १३ गते मण्डलामा उखु किसान ब्यानर बोकेर उभिएका थिए । यसपटक भने उनीहरु सबैजना चौरमा बसेका रहेछन् । अगाडि पंक्तिमा उखु किसान थिए । उनीहरुका पछाडि विद्यार्थी । आइतबार यहीं धर्नामा भेटिएका रौदी महतो पनि चौरमै भेटिए ।

सोधें- कस्तो हुनुहुन्छ ? 'चिसो लाग्यो, हातगोडा दुखेको छ,' उनले परिचितलाई झैं आफ्नो पीडा सुनाए । चिसोले सहर नै कठ्यांग्रिइरहेको काठमाडौंमा रौदी भने धोतीमा थिए । जिउमा एउटा ज्याकेट थियो । पुसको चिसोले पक्कै सताउने नै भयो । उनी अहिले पनि सानेपाकै कवाडी गोदाममा बस्दैछन् । १० दिनदेखि बिहानको ११ बजे मण्डला आउने अनि ४ बजे गोदाम फर्किने गर्दै उनको दैनिकी बित्दैछ । बुधबार सरकारबाट सकरात्मक संकेत आउनेमा यो किसान समूह आशावादी थिए ।

गफगाफ अघि बढाउँदै गर्दा उनीहरु मन्त्रालय जान तयार हुन थाले । त्यतिकैमा मधेसवादी दल राष्ट्रिय जनता पार्टी (राजपा) अध्यक्ष एवं सर्लाहीका संघीय सांसद राजेन्द्र महतो आइपुगे । भूईंमा एकटक घोरिइरहेका आन्दोलनरत किसानहरु महतोलाई देखेर जर्‍याकजुरुक उठे । मिडियाका क्यामेरा राजेन्द्रतर्फ तेर्सिए । किसानको अनुहार झनै उज्यालो भयो ।

सबै किसानलाई साक्षात्कार गर्दै मिडियालाई राजेन्द्रले भने, 'किसानले आफ्नो व्यापारको मूल्य तोक्न नसक्ने । आफ्नो व्यापारको मूल्य अरुले तोकिदिनु पर्ने । पहिलो बिडम्बना त यही हो । उखु किसानलाई भुक्तानी दिलाउन सरकारले आवश्यक कदम चाल्नुपर्छ ।'


सबैको ध्यान राजेन्द्रतर्फ थियो । किसान महेन्द्र महतो भने भूईंतिर हेर्दै टोलाइरहेका थिए । यस्तो लाग्थ्यो उनलाई आफ्ना सांसद महतोको ऐक्यबद्धतामा कुनै चासो थिएन । सायद आफ्नो उखुमा लगाएको मिहेनत सम्झिरहेका थिए उनी । उनको अनुहार निन्याउँरो थियो । आफ्नो समस्या पार नहोला भन्ने डर थियो सायद मनमा ।

घाम बादलसँग लुकामारी खेल्न थालिसकेको थियो । आफ्ना कुरा राखेर महतो बिदा भए । आन्दोलनलाई समर्थन जनाइरहेका विद्यार्थी समूहले पनि बिदा माग्यो । चिसो हावाले मण्डलामा भएका किसानलाई पनि चिस्याइरहेको थियो ।

३ बजेतिर किसान समूह मन्त्रालय जान तयार भयो । आफ्ना मागहरु कापीमा टिपेर उनीहरु के मन्त्रालयतर्फ प्रस्थान गर्न लागेका थिए एकजनाले प्वाक्क बोलिहाले 'तिमीहरुको बुद्धी छैन । अब त्यो राजेन्द्र आएर के गर्‍यो । एउटा फोटो खिचायो तिमीहरुसँग। अब भोली चुनाव भयो भने यही फोटो देखाएर भोट माग्न आउँछ । के सहयोग गरे तिम्रा नेताहरुले ?'

केही टाठाबाठा किसानले आफूहरु कुनै पार्टीको निर्देशनमा नचल्ने बताउँदै ती व्यक्तिलाई पन्छाउन खोजे । एकजना किसानले जवाफ दिए, 'हामी कुनै पार्टीका होइनौं । हाम्रो समस्या उखुबाट पाउनुपर्ने पैसा हो । हामी त्यही भुक्तानीका लागि यहाँ छौं ।' त्यसपछि भने उनी छेउ लागे। आन्दोलनरत केही टिम मन्त्रालयतर्फ प्रस्थान गरे । केही किसान भने नारा लगाउन थाले, 'किसानको माग पूरा गर, किसानको माग पूरा गर ।' चिसो बढेपछि हावा छेक्ने झाडीछेउ बसेर दृश्य नियाल्न थालें ।

त्यसपछि नेविसंघका विद्यार्थी टोली आन्दोलनमा मिसिए । पलेटी कसेर सबैजना त्यहाँ भएका किसान छेउ बसे । त्यहाँ बसेको ५ मिनेटमै टोलीका एक विद्यार्थी अगाडि गएर फोटो खिच्न थाले । नेविसंघका टोली गम्भीर मुद्रामा क्यामारेतर्फ केन्द्रीत भए । माहोल हेर्दा लाग्थ्यो, उनीहरु त्यहाँ फोटो खिच्नकै लागि आएका थिए । किसान महेन्द्र महतो परपरसम्म गुडिरहेको गाडी गुडेको हेरिरहेका थिए । उनको ध्यान अगाडि तेर्सिएको मोबाइलले भंग गर्न सकेको थिएन । एकटक माइतीघरबाट कोटेश्वर लाग्दै गरेको गाडीतर्फ उनको ध्यान थियो । आन्दोलनमा बसेको १० दिनदेखि उनका अगाडि क्यामेरा तेर्सिएका छन् । न्याय त कहाँ हो कहाँ !

फोटो खिच्ने क्रम चलिरह्यो । एक विद्यार्थीले महेन्द्रलाई मोबाइलको क्यामेरातिर हेर्न भने । अँध्यारो अनुहारमै महतोले मोबाइलतिर हेरिदिए । फोटो खिच्ने समय सकियो । सबैजना फेरि भूईंमै बसेर एकअर्कासँग गफिन थाले । खै के कुरा भयो, बिहानदेखि निन्याउरो अनुहार बनाएर बसिरहेका महतोको अनुहार धपक्कै बल्यो । छेउको विद्यार्थीसँग उनी मुसुक्क मुस्काए । दृश्य हेर्दा आनन्द लाग्यो । उखुको पैसा भुक्तानी पाए सायद महतोसँगै आएका सम्पूर्ण किसानको अनुहारमा यस्तै खुशी छाउँथ्यो होला ।

तर, उनको अनुहारमा हाँसो धेरैबेर टिकेन । उनी फेरि झोक्रिएर बस्न थाले । ६५ वर्षिय महतोलाई मन्त्रालयबाट कस्तो समाचार आउला भन्ने तनाव थियो सायद । घर परिवारको चिन्ता त छँदै थियो । ३ लाख भुक्तानी पाउँला नपाउँला उनलाई थाहा थिएन ।

किसानको पीडालाई समर्थन जनाएको भावभंगी गर्दै समर्थनमा आएका एकजना नेताको हुलिया भएका व्यक्तिले भनिहाले, 'तपाईंहरु आफ्नो माग पूरा नहुँञ्जेल घर नफर्कनुस् । हामी तपाईंको साथमा छौं । भोलीदेखि तपाईंहरु हामी पनि आन्दोलनमा बस्छौं । आन्दोलन चर्काउनुपर्छ ।' दिनभरी त्यही चौरको चिसोको वास्तै नगरी बसिरहेका किसानहरु ती व्यक्तिलाई चासो दिन थाले । ती व्यक्ति ठूल्ठूला कुरा गरेर बसिरहे ।

४ बज्नै लाग्दा फेरि टोपी लगाएर ४/५ जनाको समूह हतारिँदै किसानतर्फ पुग्यो । दौरा सुरुवाल अनि शीरमा टोपी लगाएका एक जवानले किसानलाई भन्नथाले, 'तपाईंहरु टोपी लगाएर आन्दोलन गर्नुस् । तल धोती नै लगाउनुस् तर शीरमा टोपी लगाएर आन्दोलन गर्नुस् । हामी तपाईँको साथमा हुन्छौं ।'

जेहोस् किसानहरुसँग दिनभर मण्डलामा बस्दा यस्ता थुप्रै पात्रहरुसँग ठोक्किए । कसैले टोपीको नाममा, कसैले साथ बसिदिएरै, कसैले न्यायको सपना बाँडेर गए । तर मण्डलाको मैदानमा बिहीबार विभिन्न राजनैतिक दलका चर्तिकला देख्दा लाग्यो, पीडित आफ्नै पीडामा छन्, उनीहरु भने त्यही पीडामाथि राजनीति गर्दैछन् ।

४ : ३० तिर मन्त्रालयबाट किसानको समूह बैठक सकेर आयो । चिसो भूईंमा सकरात्मक सन्देश पर्खेर बसेका महेन्द्रलगायतका किसान उठेर मन्त्रालयबाट फर्केकाहरुसँग कुरा गर्न थाले । सरकारले मा ७ गतेभित्र सबै रकम भुक्तानी गर्ने आश्वासन दिएको थियो । माघ ७ गतेको समयबारे थाहा पाउनासाथ समय लम्बिएको भन्दै कति किसान निराश भए । कोही भने घरतिर फोन गरेर माघ ७ मा सबै रकम भुक्तानी हुने सन्देश दिइरहेका थिए ।

मेरो आँखा फेरि रौदीमै पर्‍यो । फोनमा ठूलो आवाजमा उनी बोल्दै थिए, '७ गतेको मिति दिएको छ सरकारले। अब हाम्रो पैसा लिएरै घर फर्कन्छु ।' उनी आशावादी सुनिए ।

मण्डलादेखि सुकुम्बासी बस्तीसम्म

सरकारले माघ ७ को मिति दिएपछि किसानहरुमा आशा पलाएको थियो । सबै आफ्नो बसाई क्षेत्रतर्फ फर्किए । हरेन्द्र यादवको मुहारमा भने अझै उज्यालो छाएन । उनी साथीसँग गुनासो गर्दै थिए, 'यतिका दिन अब के खाएर बस्ने हो ? अब त साथीलाई पनि के भन्ने हो ?' काठमाडौंमा उनको नजिकको आफन्त कोही छैन । उनलाई काठमाडौंमा बस्न नै चिन्ता छ ।

हरेन्द्र वागमती किनारमा रहेको टेकुनजिक वाग्मती करिडोर छेउको सुकुम्बासी बस्तीको एउटा झुपडीमा १० दिनदेखि रात काट्दै आएका छन् । हरेन्द्रको छेउमा गएर पीडा सुन्दै गर्दा उनले आफू बस्दै गरेको झुपडीमा निम्तो दिए । ६ बजेतिर मण्डलाबाट हामी वाग्मतीको सुकुम्बासी बस्तीतर्फ पैदल गयौं ।

बाटोमा उनी सुनाउँदै थिए, '१० दिनदेखि साथीको सानो झुपडीमा हामी आन्दोलनरत ५/६ जना साथी बस्दै आएका छौं । चिसो समय, ओढ्ने ओछ्याउने छैन । २/४ हजार लिएर काठमाडौं आएको त्यो पनि सक्कियो । अब माघ ७ सम्म के खाएर बस्ने हो । न काम छ न गोजीमा पैसा ।'

अबको दिन कसरी काट्ने उनलाई यही कुराले सताइरहेको छ । हरेन्द्रलाई बाटोको धुलोको वास्ता थिएन । सर्लाहीमै छोडेर आएको परिवारको चिन्ताले उनलाई सताइरहेको रहेछ । लामो सास फेर्दै उनी भन्न थाल्छन्, 'बालबच्चा, बुढी अनि माँ सबै मलाई कुर्दैछन् । पैसा नलिइ त म जाँदै जान्नँ,' उनी दृढ देखिन्थे ।

३० मिनेटको हिँडाईपछि बस्ती पुग्यौं । ससाना झुपडीका बीच २ तल्लाको घर मुस्किलले देखियो। झुपडी वर केही मानिसहरु आगो तापिरहेका थिए । बालबालिकाहरु अँध्यारोमै खेलिरहेका थिए । बस्तीमा छेउमै रहेको वाग्मतीको दुर्गन्ध नाकमै ठोक्कियो । बस्तीका झुपडीबाहेकका ठाउँमा बत्ती कतै थिएन । त्यसैले बाटो पहिल्याउन गाह्रो पर्‍यो ।

वाग्मती किनारको साँघुरो बाटो हुँदै हरेन्द्रले आफू बस्दै आएको ठाउँ देखाए । झुपडी अव्यवस्थित देखिन्थ्यो । एउटै बल्बले कोठाभरी उज्यालो दिइरहेको थियो । भित्तामा ब्यागहरु झुण्ड्याइएको थियो । झुपडीमा आन्दोलनरत अरु साथी पहिल्यै आएर खाना पकाइरहेका रहेछन् । ग्याँसमा डेक्ची बसालिएको थियो, छेउमा तरकारी छरपस्ट । आलु, भन्टा, एक पोका दाल ग्याँस नजिकै राखिएको थियो । एउटा पलङ । अटाइनअटाइ ५ जना आन्दोलनरत किसानहरु त्यहाँ ढल्कँदै थिए । दिनभरी धर्ना बसेको शरीरलाई आराम त्यही झुपडीबाट मिल्थ्यो ।

पुसको चिसोमा ओढ्ने ओछ्याउनको अभाव । सिरक थिएन । पातलो तन्नामै उनीहरु रात काटिरहेका थिए। आन्दोलनमा हिँडेपछि हरेन्द्रको मात्रै होइन अन्य किसानको पनि गोजी रित्तिसक्यो । काम नभएपछि साथीकै भरमा त्यहाँ बस्दै आएका छन् ।

हरेन्द्रका साथी सामान्य काम गर्छन् । साथीलाई आफ्नै दैनिकी चलाउन गाह्रो छ । त्यसमाथि हरेन्द्रको समूह त्यहाँ बस्न थालेपछि रासनपानी बढ्यो । सुरु सुरुमा त साथीलाई रासनपानीमा सहयोग गर्थे हरेन्द्र । तर अहिले उनको समूहलाई कसरी अझै १५ दिन त्यहाँ बिताउने चिन्ता छ । 'कति दिन खाने साथीको ? अब त रासनपानी नै छैन । साथी नभएको भए मेरो पनि कोही छैन,' उनले सुनाए ।

अर्का एक किसान आक्रोश पोख्दै थिए ,'एकजना साथीले कमाउँछ । कतिञ्जेल यसरी खाने हो थाहा छैन । काठमाडौंमा खान बस्नलाई पानी चाहिन्छ, पिसाब गर्नलाई पैसा चाहिन्छ ।' त्यहाँ बसिरहेका कुनै किसानको १ लाख, कतिको डेढ लाख त कतिको ७० हजार अन्नपूर्ण चिनी मिलले दिन बाँकी छ।

हरेन्द्रले अन्नपूर्ण चिनी मिलबाट ७० हजार पाउन बाँकी छ । काठमाडौंमा बस्नलाई धौधौ परिरहेको बेला जाने ठाउँ कतै छैन। उनी आफ्नो सम्पूर्ण भुक्तानी लिएर घर फर्कन चाहन्छन् । त्यसैले चिसो रातमा, पैसा लिएर फर्केको सपना देख्छन् । उनलाई अब माघ ७ सम्म सरकारको नतिजा कुर्नुभन्दा त्यस समयसम्म काठमाडौंमै टिक्न गाह्रो परिरहेको छ ।

खाना पाक्यो । दिनभर भोक्कै बसेका किसान टिम खान खान बसे ।

प्रकाशित : पुस १७, २०७६ २०:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?