प्रधानमन्त्री ओलीले बालबालिकालाई भने, ‘म झुट बोल्न जान्दिनँ’

बुनु थारु

काठमाडौँ — कमलादीस्थित नेपाल प्रज्ञाप्रतिष्ठानमा बुधबार नेपाल स्काउटले गरेको बालबालिकासँग प्रधानमन्त्री कार्यक्रमका लागि स्टेज चिटिक्क परेर सजाइएको थियो । स्काउटसँग आवद्ध विभिन्न विद्यालयका सयौँ विद्यार्थी सहभागी थिए। हल खचाखच भरिएको थियो ।

प्रधानमन्त्री ओलीले बालबालिकालाई भने, ‘म झुट बोल्न जान्दिनँ’

विद्यार्थी स्काउटको हरियो पोशाक अनि घाँटीमा स्कार्फ र ब्याच भिरेका थिए। करिब आधा घण्टापछि प्रधानमन्त्री केपी शर्मा ओली र श्रीमती राधिका शाक्यको साथमा मन्द मुस्कानसहित हात हल्लाउँदै हलभित्र प्रवेश गरे ।

बालबालिका भनेपछि हुरुक्कै हुने खालका छन् ओली । उनी मिर्गौलाको नियमित डायलाइसिस गराइरहेका छन् । धेरैपछि उनी सरकारी निवास बालुवाटार बाहिरको कार्यक्रममा देखा परेका हुन् । प्रधानमन्त्रीसँग भलाकुसारी गर्न उपस्थित विद्यार्थी उत्सुक देखिन्थे । प्रश्नोत्तरको कार्यक्रम सुरु हुँदा विद्यार्थीका कान ठाडा भए ।

बालबालिकाहरूले प्रधानमन्त्रीको बाल्यकाल, प्रेरणाको स्रोत सपनाका कुरा, राजनीति उपयुक्त छ कि छैन भन्ने जिज्ञासा राखेका थिए ।


'बाल्यकालमा तपाईंको लक्ष्य के थियो ? तपाईले कहिल्यै यो देशको प्रधानमन्त्री बन्छु भन्ने कल्पना गर्नुभएको थियो ?' विनम्र श्रेष्ठले प्रधानमन्त्रीलाई प्रश्न राखे ।


ओली एकछिन मुस्कुराए अनि छेउमा रहेको माइक्रोफोन आफूतिर सार्दै भने, ‘दुर्गम गाउँको साधारण किसान परिवारको बालकले भविष्यमा प्रधानमन्त्री बन्छु भन्ने कल्पना कहिल्यै गरेको थिइनँ । शिक्षक देखेँ, शिक्षक बन्न मन लाग्ने, विद्धान देखे विद्धान् ! निश्चित लक्ष्य थिएन । पछि बुझ्दै जाँदा समाजमा बेठिक कुराहरू देखेँ, ठीकमा ल्याउन संघर्ष तथा आवाज उठाउनुपर्ने रहेछ भन्ने लाग्यो । जेलमा हुँदा कति बेला मरिन्छ भन्ने हुन्थ्यो कहाँबाट प्रधानमन्त्री बन्छु भन्ने कल्पना गर्नू ?’


अर्का एक बालकले प्रधानमन्त्री बन्न के गर्नुपर्छ भन्ने जिज्ञासा राखे । ओलीले सरल भाषामा जवाफ दिए, ‘परिस्थिति बदलिएको छ । अहिले विभिन्न अवसर र विकल्प छन् । युवाले महान उद्देश्य लिनुपर्छ। चन्द्रमा छुने उद्देश्य लिनुपर्छ । कुनै पनि सपनाको लागि इमानदार भएर काम गर्नुपर्छ । युवा उमेरमा नै राम्रो कार्य गरेर देखाउनुपर्छ । गम्भीर भएर काम गरिएन भने परिणाम राम्रो हुँदैन ।’


बेलाबेलामा ओली बालबालिकाले गरेका प्रश्न बुझ्दैनथे। बालबालिकालाई फेरि प्रश्न दोहोर्‍याउन आग्रह गर्थे । छेउमा बसेकी पत्नी राधिकाले पानी पिउन मृगौला पीडित ओलीलाई बारम्बार आग्रह गरिरहेकी हुन्थिन् ।

बालबालिका ध्यानपूर्वक सुनिरहेका थिए । हरेक प्रश्नको उत्तरमा उनीहरु ताली बजाइरहेका थिए ।


बालबालिकाको भविष्यका लागि अभिभावकले प्रतीभा पहिचान गर्नुपर्छ

‘नेपाली समाजमा सानै उमेरमा बालबालिकालाई भविष्यको निर्णय लिन किन लगाइन्छ प्रमज्यू ?’ निलाशा दाहालको प्रश्नमा ओलीले पछौटेपन तथा गरिबी अझै पनि व्याप्त रहेको बताउँदै प्रतिभाको उचित पहिचान गर्नुपर्ने बताए । उनले भने, ‘खेल्ने, पढ्ने उमेरमा विवाह गराइदिने चलन छ । कुन विषयमा दक्ष छन् प्रतीभा पहिचान गरेर पढाइ, विधा र अवसर दिनुपर्छ । बालबालिका सबैमा असाधारण प्रतीभा हुन्छ । अभिभावकहरुले पनि बुझ्नुपर्छ ।’


म कहिल्यै झुट बोल्न सक्दिनँ

बाल्यकालमा कस्तो स्वभावको हुनुहुन्थ्यो भन्ने प्रश्नमा ओलीले आफू सोझो, इमान्दार र झुट बोल्न नजान्ने मान्छेको रुपमा बालबालिकाहरुलाई आफ्नो स्वाभावको बारेमा बताए ।


उनले बालबालिकासँग आफ्नो बाल्यकालको कुरा साँट्दै भने, ‘मलाई पढ्नभन्दा खेल्न बढी मन लाग्थ्यो । म कहिल्यै झुट बोल्न सक्दिनँ । गोप्य कुरा पनि राख्न सक्दिनँ मनमा । म सोझो मान्छे । मेरो मनमा आएको कुरा भन्दिन्थे ।’ आफू घरको काम गर्ने, झगडा मन नपराउने अनि आज्ञाकारी विद्यार्थी रहेको उनले सुनाए ।


प्रेरणाको स्रोत हजुरआमा

ओलीले ३ वर्षको उमेरमा आमा गुमाएका थिए । त्यसपछि प्रेरणाको स्रोत हजुरआमा रहेको उनले बताए । हजुरआमासँगको सम्झना विद्यार्थीहरूलाई यसरी सुनाए, 'मेरो प्रेरणाको स्रोत मेरो हजुरआमा हो । उहाँले नै मलाई राम्रो बोल्ने, मेहनती हुनुपर्छ, भेदभाव गर्न नहुने, सत्मार्गमा लाग्ने, शक्तिसँग नझुक्न सिकाउनुभएको हो ।'


'फुर्सदको समयमा के गर्नुहुन्छ ?' भन्ने प्रश्नमा ओलीले आफूलाई फुर्सद नै नमिल्ने गरेको सुनाए । उनले भने, ‘राति मात्र हो सुत्नेबेला मेरो फुर्सद हुने। त्यतिबेला म अबेलासम्म किताब पढ्छु । पत्रपत्रिका पढ्छुँ । नयाँ कुरा सिक्न खोज्छु ।’


उनले निदाएर देखेको सपनामा विश्वास नगर्ने बताउँदै विपनामा देखेको सपनामा विश्वास गर्ने बालबालिकाहरूलाई बताए ।


राजनीति होइन पढाइमा ध्यान देऊ

एक विद्यार्थीले राजनीतिमा लाग्नु उपयुक्त छ या छैन भनेर गरेको प्रश्नमा पहिला पढाइमा ध्यान दिनुपर्ने बताए।

उनले भने, ‘राजनीतिको बारेमा चासो राख्नुपर्छ । उनले ठट्यौली पारामा भने, ‘अहिले तपाईहरूको उमेरले प्रधानमन्त्री, राष्ट्रपति बन्न सक्नुहुन्न । पढाइमा केन्द्रित हुनुस् ।’ राजनीति गर्छु भन्ने इच्छा छ भने इमानदार भएर भ्रष्ट नहुन उनले सुझाव दिए ।


कार्यक्रमको अन्तिममा अंग्रेजीमा छोटो मन्तव्य दिँदै ओलीले बालबालिकाहरुलाई शुभकामना व्यक्त गरे । उनले भने, ‘तपाईहरू नै हो पछि प्रधानमन्त्री, राष्ट्रपति बन्ने, इमान्दार हुनुस् ।’


बालबालिका चर्को हुटिङ र सिटी बजाइरहेका थिए । ओलीले विदाइका हात हल्लाउँदै म एकदमै खुसी छु र तपाईंहरू पनि खुसी हुनुहुन्छ होला भनेर मन्तव्यलाई बिट मारे र बालबालिकाहरूसँग हात हल्लाउँदै सामूहिक फोटो खिचाए ।

प्रकाशित : पुस १६, २०७६ १८:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?