मेड इन नेपाल मोटरसाइकल ‘यात्री’ को यात्रा (भिडियोसहित)

'नेपालमा सबै चिज झुर बन्छ भन्ने भनाइ तोड्न चाहन्छौँ'

काठमाडौँ — सानैदेखि बाइकका सौखिन ३० वर्षीय असिम पाण्डेले ९ वर्षकै उमेरमा कार चलाउन सिकिसकेका थिए । त्यसपछि बाइक पनि चलाउन थाले । उनलाई बाइकमा जडान गरिएका पार्टस्हरु कसरी बन्छ होला भन्ने खुलदुली लाग्थ्यो ।

मेड इन नेपाल मोटरसाइकल ‘यात्री’ को यात्रा (भिडियोसहित)

उनी स्केच पनि राम्रो बनाउँथे । सोच्थे भविष्यमा खतरा कार/मोटरसाइकलको डिजाइन स्टुडियोमा काम गर्न पाए त कस्तो गज्जब हुन्थ्यो होला ! उनी आफ्नो सपनालाई पछ्याउँदै काठमाडौंको बुढानिलकण्ठबाट उच्च शिक्षाका लागि नेदरल्याण्ड्स पुगे ।


नेदरल्याण्ड्सको डेल्फ्ट युनिभर्सिटी अफ टेक्नोलेजीबाट मेकानिकल इञ्जिनियिरङ गरे । असिमले त्यहाँ हुँदा विभिन्न प्रोजेक्टमा काम गर्ने अवसर पाए । ‘डंकरभुट अटोमाेबाइल’ म्यानुफ्याकचरिङ कम्पनीमा २ वर्ष इन्टर्न गरे । यो कम्पनीले स्पोट्स कार बनाउने गर्दछ ।


इलेक्ट्रिक कार फोर हृवीलर डिजाइन गर्ने प्रोजेक्टमा काम गर्दा उनले डिजाइन सम्बन्धी धेरै कुरा जानिसकेका थिए । उनको हातमा सीप छँदैथियो । एक मनले सोच्यो कि यतै बसेर काम सुरु गरौं । तर, फेरि कताकता आफ्नै देशमा गएर केही गरुम भन्ने लाग्यो । आखिर मातृभूमिको मायाले तान्यो ।


बाल्यकालदेखि नै ‘खत्रा अनि भव्य’ युरोपियन डिजाइन स्टुडियोमा काम गर्ने सपना पालेका उनलाई नेपालमै यस्तो किन नगर्ने ? भन्ने इच्छा जाग्यो । त्यो इच्छाशक्तिले सन् २०१७ नोभेम्बरमा उनलाई नेपाल फर्कायो ।


असिम भन्छन्, ‘कुनै समय नेपाल नै फकेर केही गर्छु भन्ने त कहिले पनि सोचेको थिइनँ । तर, केही नयाँ गर्नुपर्छ भन्ने लाग्थ्यो । मैले आँटे । आँटेको काममा लागिरह्यो भने सपना पूरा हुने रहेछ ।’


बालुवाटारको कालिका टावरको दोस्रो तल्लामा छ डिजाइनर स्टुडियो प्रालि । स्टुडियोको अफिसमा बसेर आफ्नो यात्राको बारेमा सुनाइरहेका असिम आफ्नो निर्णयले खुसी देखिन्छन् ।


मैले विदेशमा रहेर जुनस्तरको काम गर्ने मौका पाएँ, त्यो जानेको सीप यहाँ प्रयोग गर्नुपर्छ भन्ने लागेर नेपाल फर्किएँ,’ उनी सन्तुष्ट भावले भन्छन्, ‘आज खुसी छु । नेपालमा नै डिजाइन गरेको इलेक्ट्रिक बाइक बनाउन सफल भयौं ।’


‘टेड–एक्स टक’ले जुटाएको टिम

नेपालमै पनि आफूजस्तै युवाहरुको टिम सेटअप गर्न सकियो भने असम्भव केही छैन होला भन्ने असिमलाई लागिरह्यो । उनी आइपर्ने चुनौती सामना गर्न तयार थिए ।


सुरुमा एक्लैले डिजाइन स्टुडियोको परिकल्पना गरिरहेका असिमलाई सन् २०१७ को फेब्रुअरीतिर टेड–एक्स टकमा आफ्ना कुराहरु भन्नका लागि निम्ता आयो । ती दिन सम्झिँदै उनी भन्छन्, ‘त्यो भीडमा अहिलेका साथीहरु पनि हुनुहुँदो रहेछ ।’


उनको विचारमा अरु साथीहरु पनि हातेमालो गर्न आइपुगे । सन् २०१८ को जुनतिर टिम सेटअप भयो । हाल असिमको टिम अहिले १० जनाको टिममा परिणत भएको छ ।


२२ वर्षदेखि २७ वर्षका युवाहरुको जमात छ यो टिममा । असिमका साथै कनिष्क सुवाल, रचिन्द्र श्रेष्ठ र अशेष श्रेष्ठ गरी ३ जना मेकानिकल इन्जिनियर छन् । साथै कृष्णप्रसाद श्रेष्ठ इलेक्ट्रिकल एन्ड इलेक्ट्रिोनिक्स इन्जिनियरको रुपमा कार्यरत छन् । ठाकुर पौडेल र अदवेत रिजाल ब्याट्री सिस्टम इन्जिनियरको रुपमा काम गरिरहेका छन् । सुलभ लाल श्रेष्ठ इम्बेडेड सिस्टम इन्जिनियर र सार्थक शर्मा पौडेल मोबाइल एप डेभलपर हुन् ।


टिममा साथीहरु जोडिँदै आएपछि मेरो सपनाले पनि मूर्त रुप लिँदै गयो असिम भन्छन्, ‘सम्पूर्ण टिमको सदस्यको अथक प्रयास र मिहिनेतले हाम्रो प्रोडक्ट बनेको हो ।’ डिसेम्बरमा डिजाइनर स्टुडियो प्रालि भनेर दर्ता गरिएको हो ।


‘स्टेरियोटाइप’ लाई चिर्दै

असिमका अनुसार ‘स्टेरियोटाइप’ हरेक कुरामा देखिने रहेछ । नेपालमै नै आफ्नै डिजाइनमा बाइक बनाउँछु भन्दा सुरुवाती दिनमा असिमले त्यस्तै कुराको सामना गर्नुपर्‍यो । ‘नेपालमा निर्मित सामान न्यून गुणस्तरको र झुर बन्छ भन्ने धारणा धेरैमा छ । आफ्नो देशमा निर्मित सामान पनि राम्रो अनि गुणस्तरीय हुन्छ भन्ने देखाउन पनि हामीले सुरु गर्‍यौं,’ असिम भन्छन् ।


‘नेपालमै बसेर बाइक बनाउने रे ? कसले किन्छ ? यस्तो नेपाली बाइकभन्दा विदेशी ठीक’ भन्नेहरु धेरै थिए तर असिमलाई त्यो कुराको प्रभाव परेन ।


आफ्नो सपनालाई पछ्याउँदै ‘असिम’ सपना बोकेर नेपाल फर्केका उनले त्यस्ता भ्रमलाई चिर्नु थियो ।


टिमका अधिकांश सदस्यहरु बाहिरबाट नै पढेर आएका हुन् । दक्ष जनशक्ति उतै नै पलायन रहेका बेला आफ्नै देशमा अवसरको खोजीमा आएका युवाहरु यात्रीमा जोडिन पाउँदा रमाइरहेका छन् ।


यात्री टिमका सदस्य २४ वर्ष कनिष्क सुवालले अमेरिकाको बकनेल युनिभर्सिटीबाट मेकानिकल इन्जिनियिरिङ गरेका छन् । आफ्नै देशमा केही नयाँ सिक्ने चाहनाले यात्रीमा आएको उनको भनाइ छ । बाहिर केही गर्नुभन्दा आफ्नै घरमा गर्नुको सन्तुष्टि छुट्टै नै हुने रहेछ उनी भन्छन् ।


हैदरावादको जहावारलाल नेहरु टेक्नोलोजिकल युनिभर्सिटीबाट इन्जिनियिरिङ गरेका २६ वर्षीय कृष्णप्रसाद श्रेष्ठ इलेक्ट्रिकल एन्ड इलेक्ट्रिोनिक्स इन्जिनियर हुन् । भन्छन्, ‘विकल्प धेरै थियो तर नेपालमै बसेर काम गर्ने अवसर जुरेको रहेछ ।’


यति ठूलो कदम चाल्ने इच्छा पालिरहँदा घरपरिवारको कस्तो साथ र सहयोग रह्यो भन्ने प्रश्नमा उनी भन्छन्, ‘सुरुदेखि नै मलाई परिवारको सपोर्ट थियो । सुरुमा विश्वास जित्न अलि गाह्रो भएको तर अहिले राम्रो मान्नु भएको छ ।’


‘चुनौती नै ठूलो रोजेको थिएँ । एकचोटी सोच्ने हो कि भन्ने प्रतिक्रिया पाएँ धेरैबाट । तर त्यो सोचको परिणाम हो अहिले ।’ छोटो समयमा नै ‘यात्री’को यात्राले सुनौलो बिहानीको संकेत दिएको छ ।


‘यात्री’ को के छ विशेषता ?

नेपाली इन्जिनियरहरुको टिमले निर्माण गरेको इलेक्ट्रिक मोटरसाइकल अरु इलेक्ट्रिक मोटरसाइकलभन्दा भिन्न देखिन्छ । स्टाइलिस अनि हेर्दा बुलेट बाइकजस्तो देखिन्छ । असिमकै शब्दमा भन्नुपर्दा यात्री बाइक ‘लुक्स’ अनि गुणस्तरका हिसाबले अरुभन्दा फरक छ ।


‘अलिकति फरक देखियोस् कम्तीमा सडकमा गुड्दा मान्छेले एकचोटी फर्केर हेरुन् भन्ने उद्देश्यले डिजाइनमा फरकपन दिन खोजेका छौं,’ असिम बताउँछन् ।


विश्वमा नै वातावरण तथा जलवायु परिवर्तनका कुरा उठिरहेको छ । इन्धनबाट इलेक्ट्रिक साधनको प्रयोग गर्न चाहेनका लागि यो सबैको रोजाइ हुन सक्छ ।


इलेक्ट्रिक भेहिकललाई स्विच गर्न चाहने धेरै सम्झौता गर्नुपर्ने देखिन्छ मार्केटको प्राइसको अवस्था हेरेर । जो त्यो व्यक्ति होस् जसले स्विच गर्न चाहेको छ उनीहरुले सम्झौता नगर्नुपरोस् भन्ने हिसाबले सुरु गरेको हो ।


कम्पनीको पहिलो परियोजना ‘प्रोजेक्ट जिरो’ एक प्रिमियम इलेक्ट्रिक मोटरसाइकल हो । यो बाइक साठीको दशकको रेसर डिजाइनबाट प्रभावित रहेको छ ।


टिमका सदस्य कनिष्कका अनुसार यो बाइक सहरी क्षेत्र र मोर्डन कनेक्टिभिटीका लागि डिजाइन गरेर निर्माण गरिएको हो । यो बाइकमा एक फुल चार्ज गरेपछि २३० किमि गुड्न सक्छ । चार्ज गर्न २ घण्टा लाग्छ ।


असिम भन्छन्, ‘हाम्रो बाइकमा अनबोर्ड चार्जर छ अरु धेरै बाइकमा अफबोर्ड चार्जर हुन्छ जसले गर्दा चार्जर आफूसित बोक्न पर्दैन । घरमै मज्जाले चार्ज गर्‍यो भने दिनभरी चल्छ ।’


३० किलोवाट मोटरपावर रहेको छ जसले ४० हर्सपावर बराबरको काम गर्दछ । अधिकांश इलेक्ट्रिक कारको क्षमता ३ किलोवाट जति रहे पनि यो बाइकले १० गुणा बढी क्षमता रहेको छ । सिटको हाइट ८.४५ एमएम अग्लो छ भने हिृवलबेस १३७० एमएम छ जुन अरु बाइकभन्दा लामो छ ।


मोटरसाइकलमा मेटल प्रयोग गरिएको छैन । कार्बन फाइबरको प्रयोग गरिएको छ । जुन आकर्षक र हलुका छ ।


मोबाइल एप डेभलपर सार्थक पौडेल भन्छन्, ‘प्रयोगकर्ताको जीवनशैली कसरी सहज बनाउने भन्ने कुरामा हामीले ध्यान दिएका छौं । बाइक प्रविधिमैत्री छ ।’


आफूले कति ‘इनर्जी’ प्रयोग गरेको, आफ्नो एभरेज स्पिड कति छ सबै मोटरसाइकलको मोबाइल एप ‘यात्री हब’ बाट थाहा पाउन सकिन्छ । बाइकमा तीनवटा मोड छ, ‘सुस्ते’, ‘ठिक्क’ र ‘बबाल’ ।


मोबाइल एप्लिकेसनले स्पिड नियन्त्रणको लागि पनि सहयोग गर्ने सार्थक बताउँछन् । एपमा लोकेसन ट्रयाकर तथा सर्भिसिङ गर्ने समयको पनि जानकारी लिन मिल्छ ।


मोटरसाइलकलको हरेक पार्टस् इन्जिनियिरिङ र यही इनहाउस डिजाइन गरिएको हो । डिजाइन गरिएका स्पेयर पार्टस् निर्माणका लागि अमेरिका, चीन, भारत, युरोपेली मुलुकका कम्पनीहरुसँग सहकार्य गर्ने गरिएको छ ।


कम्पनीले यी मोटरसाइकलको मूल्य अझै तोकिसकेको छैन । संस्थापक असिम भन्छन्, ‘सुरुमा धेरै नै लगानी भइसकेको छ, थप उत्पादनका लागि अझै सहयोग चाहिन्छ । सन् २०२० सम्ममा मार्चसम्म ल्याउने तयारी हो मूल्य सहित ।’


उनले मूल्य एकदमै महङ्गो नतोके पनि गुणस्तरका हिसाबले अरुभन्दा अलि बढी पर्न जाने बताए ।


नसोचेको सकारात्मक प्रतिक्रिया

कम्पनीले भर्सन वान, भर्सन टु, भर्सन २.१ गरी ३ वटा डिजाइन बनाएको छ जसमा २.१ को प्रिप्रोडक्सन मोडेल हालै मात्र सार्वजनिक गरिएको छ ।


अहिलेसम्म दुईवटा बाइक बनाएको कम्पनीले सुरुको एक चरणमा ५० वटा प्रोडक्सन मोडल बनाउने तयारीमा जुटेको छ । प्रोडक्ट लन्च भएपछि सकरात्मक प्रतिक्रिया पाएका यात्री टिमले भविष्यमा अरु प्रोडक्टरहरु बनाउने लक्ष्य राखेको छ ।


असिम भन्छन्, ‘हामी सुरुवाती चरणमा छौं, सम्भवत ५–१० वर्षमा अधिकांश नेपालीहरुलाई सुहाउँदो बाइक बनाउने विचार छ किनकी इलेक्ट्रिक नै भविष्य हो ।’


असिमका अनुसार नेपालमा बाइक बिकाउनुभन्दा पनि पहिलो प्राथमिकता नेपालमै बाइकको इन्जिनियरिङ्ग र प्रोडक्ट डिजाइनको लेभल कस्तो छ भनेर देखाउनु थियो । घरपरिवारको लगानीबाट सुरु गरेका असिमका ठूलो बुबा विक्रम पाण्डेले लगानीका लागि धेरै सहयोग गरेको बताउँछन् । ‘उहाँको साथविना सायद यो प्रोजेक्टले पूर्णता पाउने थिएन होला ।’


दक्ष जनशक्तिलाई आफ्नै देशमा सीपको प्रयोग गर्न उदाहरण दिएको यो टिम देशमै केही सकिन्छ है भन्ने सन्देश दिएको छ । सरकारले यस्तो परियोजनालाई सहयोग गर्नुपर्ने असिम बताउँछन् । ‘सरकारले यस्ता परियोजनाको लागि कर छुट दिने हो भने हामी आफ्नो उत्पादन विदेश निर्यातसम्म गर्न सक्षम छौं,’ उनले भने ।


उनी भन्छन्, ‘पछिल्लोपटक मुलुकमा आयात बढ्नुका साथै त्यसले गर्दा व्यापार घाटा पनि बढेको छ । यात्री बाइकले मोटरसाइकलको आयात र पेट्रोलियम पदार्थको आयातमा पनि कमी ल्याउने लक्ष्य लिएका छौं ।’


नेपाली दक्ष युवाको समूहले नेपालमा नै इलेक्ट्रिक मोटरसाइकल उत्पादन थालेपछि विदेशी मुद्रा बाहिर जानबाट रोकिने दाबीसमेत उनको छ । ‘केही कुरा परिवर्तन गर्नुछ भने हामीले सुरुवात गर्नुपर्छ । चुनौतीको सामना गर्नुपर्छ, बाधा अड्चन आफैं पन्छिदै जान्छन् ।’

प्रकाशित : पुस ९, २०७६ १९:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?