१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

थारु इतिहासको नालीबेली ‘मासिन्या दस्तुर’ 

बुनु थारु

काठमाडौँ — जल, जमिनसँग अन्यानोश्रित सम्बन्ध भएका थारुहरु आफूलाई प्रकृतिपूजक मान्छन् । औलो पचाएर इतिहास बनाएका थारुहरुलाई सदियौँदेखि मानसपटलमा एक सोझो, इमान्दार, जातिको रुपमा लिइन्छ । थारुहरुको असली इतिहासबारे धेरै बेखबर छन् । 

थारु इतिहासको नालीबेली ‘मासिन्या दस्तुर’ 

कुनै जमनामा ती थारुहरु कमैया हैन जमिन्दार थिए । र, सयौं विघाका मालिक थिए । पूर्व झापादेखि पश्चिम कञ्चनपुरसम्म बसोबास गरिरहेका भूमि पूत्रको खास इतिहास के हो त ?


सन् ५० र ६० को दशकमा अमेरिका र विश्व स्वास्थ्य संगठनले नेपालको तराई क्षेत्रमा औलो उन्मूलन कार्यक्रमको लागि अभियान थाले । डाईक्लोरो–डिफिनाइल–ट्राइकोलोरोइथेन (डीडीटी)को प्रयोग गरेर लामखुट्टे मारियो । राजा महेन्द्रको पालाको कुरा हो यो । डा. कृष्णबहादुर भट्टचनले डीडीटीलाई त ‘डेन्जर डोज टू थारु’ नामाकारण पनि गरेका छन् ।

यो विषादीको प्रयोगले त्यहाँ किरा ,फट्याङ्ग्रा मात्र मरेनन् सम्पूर्ण पर्यावरणलाई नै प्रभावित बनायो । बसाइ सराइ पनि बाक्लो भयो । थारुहरु मात्र बसोबास गरिरहेका क्षेत्रमा अरु जातिका मान्छेको लर्को लाग्यो । त्यसपछि धेरै चिज परिवर्तन भयो । त्यसले वन विनाश मात्र निम्त्याएन, थारुहरुको बसोबासलाई पनि उत्तिकै प्रभावित पार्‍यो ।

मुलुकी ऐन १८५४ र भूमि सुधार ऐन १९६४ ले आदिवासी थारुहरुका जीवनमा आमूल परिवर्तन ल्याइदियो । मुलुकी ऐनले थारुलाई ‘मासिन्या जात’मा राख्यो । निरंकुश शासनले थारुहरुको जमिन खोसियो । अनपढ थारुहरुले आफ्नो लालपुर्जा समेत गुमाए । खेतीपाती गर्दै आफ्नो जीविकोपार्जन गर्दै आइरहेका थारुहरु भूमिहीन बन्न पुगे । कमलरी र कमैया प्रथा आयो । राजा भएर बसेका थारुहरु दमित हुँदै गइरहे ।


२०५७ साल साउन २ गते कमैया मुक्ति र २०७० असार १३ गते कमलरीप्रथा मुक्तिको घोषणा गर्‍यो । घोषणा गरिए पनि अझै यो प्रथा चलिरहेको नै छ । इतिहासका धनी थारुहरु अझै पनि विस्थापित छन् । पिछडिएका छन् । मूलधारको राजनीतिमा उनीहरुको उपस्थिति भए पनि सन्तोषजनक भने छैन ।

आदिवासी जनजाति थारु कसरी सदियौंदेखि पीडित, शोषित बन्दै आइरहेका छन् भन्ने कुरालाई कलाकार लवकान्त चौधरीको दिमागमा सधैँ खेलिरहन्थ्यो । थारुले हरेक तह र तप्कामा किन ठाउँ पाइरहेका छैनन् त ? उनीहरुको इतिहास के हो ? उनीहरुलाई नियतिले कसरी झुक्यायो भन्ने लागिरहन्थ्यो लवकान्तलाई, आफ्नो त्यही जिज्ञासुपन उनले आफ्नो कलाकारितामा पोखेका छन् । उनी भन्छन्, ‘म आफैँ थारु भएको नाताले थारु इतिहास बुझ्न चाहन्थेँ, मेरो यो प्रदर्शनी मेरो अनुभवको सिकाइ हो भन्ने लाग्छ ।’ थारुहरुको इतिहास र उनीहरुको तीतामिठा कथाव्यथा बोकेको ‘मासिन्या दस्तुर’ शीर्षकको कला प्रर्दशनी सिद्धार्थ आर्ट ग्यालरीमा चलिरहेको छ ।

सिद्धार्थ आर्ट ग्यालरीको मूल ढोकाभित्र पस्ने बित्तिकै देखिन्छ युद्धको बर्बरतमा बाँचेको एक डायरी शीर्षकको प्रदर्शनी । उक्त डायरी हो– सहिद जोखन रत्गैयाँको ।

यो डायरीमा उनको दैनिकी मात्र देखाउन खोजिएको छैन दुई पुस्ताको सम्बन्ध पनि देखाउन खोजिएको छ । कलाकार लवकान्त भन्छन्, ‘यसमा रत्गैयाँकी छोरी इन्दु थारुले पनि यस अभिलेखको लागि पुराना फोटोहरु उपलब्ध गराएर सहयोग गरेकी छन् । त्यसैले यो डायरी मात्र होइन धेरै इतिहास पनि बताउन खोजेको छ ।’

‘युद्धको बर्बरतामा बाँचेको एक डायरीमा’ जोखन मात्र होइन युद्धमा सहादत प्राप्त गरेका अरुको इतिहासको हिस्सा पनि प्रस्तुत गर्न खोजिएको छ । इतिहास मेटिए पनि उनीहरु यहाँ बाँचिरहेका छन्, बेलुवा हत्याकाण्ड, कौवापुर हत्याकाण्ड, टंक बोगटी, भगवति चौधरी, छविराज बोहरा सबै इतिहासका पानामा बाँचिरहेका छन् ।

उनले यो डायरी काठको बनाएका छन् जसमा आफैंले अक्षर कुँदेका छन् । ठूला मानिसहरुको इतिहास ताम्रपत्र, शिलापत्रमा लेखिन्छ तर आममानिसको कथा कसमा लेखिन्छ ? काठ रंगाएर पुरानो कागजको इफेक्ट दिन खोजेका छन् ।

अर्को ठाउँमा देख्न सकिन्छ गोलीसहित विभिन्न अन्नका आकृति झुण्ड्याइराखेको कला । दाल, गहुँ, चामल, मकै, तिललगायतका अन्नहरुको बीचमा गोली प्रतिकात्मक रुपमा राखिएको छ । यसमा कलाकारले गोली अर्थात् शक्ति र अन्न अर्थात् किसानको सम्बन्ध देखाउन खोजिरहेका छन् । कसरी किसान अर्थात् थारुहरु शक्तिमार्फत् पिसिँदै गइरहेका छन् त ?

गोलीले जीवन लिन्छ र अन्नले जीवन दिन्छ । त्यसको सम्बन्ध कलाकारले देखाउन खोजेका छन् । जति नै शक्तिले गलाए पनि त्यसविरुद्ध उत्रिरहन्छन् र समयक्रम चलिरहन्छ भन्ने देखाउनु कलाकारको अर्को उद्देश्य हो ।

पुराना दस्तावेज ‘दस्तुर’ माथि विभिन्न आकृति बनाइएको अर्को कला पनि देख्न सकिन्छ । करिब २५० वर्ष पुराना दस्तावेजलाई कलाकारले उत्खनन् गरेका छन् । पहिले जल जंगलको बारेमा रेकर्ड राख्नेका लागि पञ्जिकार राख्ने चलन थियो । अहिले त्यो शब्द अपभ्रशं भएर पञ्जियारको बनेको इतिहासविद्हरु बताउँछन् । यी दस्तावेजमा रहेका चित्रहरु खोपेर देखाउन खोजिएको छ । जुन थारुहरुले शरिरमा गोद्‌ना खोपाउनेसँग सम्बन्धित छ ।

उनको अर्को कलाले औलो उन्मूलनले कसरी थारुहरुलाई विस्थापित बनायो भन्ने देखाउन खोजेको छ । गोलो घेरामा लामखुट्टे आकारको आकृति नै मानिसहरु बनाइएको छ भने जनावारका चित्रहरु पनि देख्न सकिन्छ । कसरी औलो उन्मूलनले थारुहरुको बासस्थान तितरवितर बनायो भन्ने देखाउनु यसको उद्देश्य हो ।

माथिल्लो तलामा भिडियो आर्ट पनि रहेको छ । भिडियोमा बाह्रमसिया गीत बज्दैछ । थारुहरु यो गीत बाह्रैमहिना गाउने गर्छन् तर फरक–फरक भावमा । श्रीमान् तथा आफन्त टाढिएको गीतमा भावमिश्रित गीत सुन्न सकिन्छ ।

भिडियोले २०७२ भदौ ७ गतेको टिकापुर घटना देखाउन खोजेको छ– थरुहट आन्दोलनको क्रममा उक्त दिन ८ सुरक्षाकर्मी र एक बालकको मृत्यु भएको थियो । घटनापश्चात थारुहरुका ४५ घर छानीछानी जलाइएको थियो । यस घटनाले अझै पनि त्यहाँको मानिसको जीवन भयभित छ । सो समय थुप्रै निर्दोष व्यक्तिहरुलाई जेल चलान गरिएको थियो ।

आफ्नो निर्दोष आफन्तलाई जेलबाट रिहाइ मागका लागि थुप्रै महिलाहरुले आन्दोलनमा सहभागिता जनाएका थिए । त्यसको उदाहरणको रुपमा काँधमा बच्चा बोकेकी अनि हातमा कालो झण्डा बोकेकी महिलाको चित्र त्यहाँ देख्न सकिन्छ । त्यसैगरी टीकापुर घटनाकै झल्को दिने अर्को ‘अपसाइड डाउन’ चित्रले कसरी त्यो एकदिनको घटनाले कसरी सबै परिस्थति बदलियो भन्ने अवस्था चित्रण गरेको छ ।

छेवैमा छ थारु अष्टिम्की कला । यो कलाकार मिठ्ठु थारु र किरण श्रेष्ठले बनाएका हुन् । मिथिला लोककला, थान्का चित्र आदिमात्र प्रचलित देखिन्छ तर थारु अष्टिम्की कला अझै ओझेलमा देखिन्छ । त्यसलाई मिहिन ढंगले प्रस्तुत गरेका छन् कलाकारले ।


अष्टिम्की चित्रको छेवैमा छ कालो पर्दा लगाइएको अँध्यारो कोठा । भूईंभरी पराल ओच्छ्याएको छ । साना–साना घैला डोरीमा झुण्ड्याइएको छ । घैलामा विभिन्न आकृति कुँदिएका छन् । घैलाभित्र आकृतिलाई प्रकाश पार्न बत्ति बालिएको छ । केही संविधानका धारा लेखिएका छन् जसमा समनाता र पहिचानका कुराहरु छन् । संविधानसभाको आकृति रहेको छ । टीकापुर घटनापश्चात भएका विभिन्न निर्णयहरुको बुँदाहरु पनि छन् । एउटा घैलामा जंगबहादुरको आकृति बनाइएको छ भने अर्कोमा देखिन्छ प्रथम राष्ट्रपति रामवरण यादवले संविधानसभाको पुस्तक ढोग्दै गरेको आकृति ।

यसमा कसरी इतिहासदेखि नै थारुहरुलाई मास्दै आइएको त्यो समयसीमा देखाउने प्रयास गरेको देखिन्छ । माटोको घैला थारु समुदायले दैनिकीमात्र होइन विभिन्न चाडपर्वमा पनि प्रयोग गर्दै आएका छन् ।

अनुभवले सोचको जन्म गरायो

सन् २०१५ मा लवकान्तले ‘क्याम्प हब’ भन्ने कार्यक्रम गरिरहेका थिए । आर्ट ट्रिले आयोजना गरेको उक्त अभियानमा बालबालिकाहरु सहभागी रहेका थिए । सो समय भुइँचालो गएको थियो । बालबालिकालाई कला सिकाउने सामग्री पनि भेटिन गाह्रो परिरहेको थियो । त्यहाँ उनले नेवारी समुदायका मुखौटा बनाउनेहरुसँग काम गर्ने निधो गरे ।

उनी भन्छन्, ‘मुखौटा बनाउने आदिवासी जनजातिको सीप हो, मैले बच्चाहरुलाई भाँडाकुटी बनाउन सिकाएँ । बालबालिकाहरुले भाँडाकुटीमार्फत् आफ्नो भुँइचालोको कथाहरु कलामार्फत् प्रस्तुत गरे ।

त्यस कार्यशालापछि लवकान्तले थारुहरुको परम्परागत सीप पनि छ त्यसमा किन काम नगर्ने त भन्ने हुटहुटी चल्यो । यसरी नै आदिवासी सीप तथा इतिहास बोकेको कला प्रस्तुत गर्न लवकान्तले ‘मसिन्या दस्तुर’ नामक कला प्रदर्शन गर्ने विचार गरेका हुन् ।

इतिहासमा जहिल्यै पनि थारुहरु शोषित, सोझो, जाँड–दारु खाने, घोंघी खाने भन्ने रुपमा बुझिन्छ । थारुहरुका बारेमा धेरै लिखित मौखिक इतिहास रहेका छन् तर सबै इतिहास अझै पनि लेखिएका छैनन् । आफ्नो जातिको बारेमा केही गर्नुपर्छ भन्ने सोच जागृत हुँदै गएकाले यो प्रदर्शनी गरेको लवकान्त बताउँछन्।

सर्लाही, बयलबासका लबकान्त २०६२ देखि आफ्नो कलाकारिता सुरु गरेका थिए । उनले यसअघि विभिन्न सामूहिक कला प्रदर्शनी प्रस्तुत गरिसकेका छन् भने यो उनको एकल प्रर्दशनी हो । प्रदर्शनी पुस २४ गतेसम्म चल्नेछ ।

प्रकाशित : पुस २, २०७६ १९:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?