तिहार विशेष : बत्तीको झिलिमिली

विजय तिमल्सिना

तिहारलाई झिलिमिलीको पर्व भनिन्छ  । धेरै अघि दियो र मैनबत्ती बालेर झिलिमिली पार्ने चलन थियो  । पछिल्लो दशकभने सहर होस् वागाउँ विद्युतीय उपकरण प्रयोग गरी तिहारमा घर, आँगन झिलिमिली बनाउने गरिन्छ । यस्ता उपकरणले झिलिमिली बनाउन सहजता प्रदान गरे पनि त्यसका लागि आवश्यक विद्युत् नहुँदा दुई वर्षअघिसम्म नेपालीले धेरै सास्ती खेपे ।

दैनिक १६ घण्टासम्म हुने लोडसेडिङले झिलिमिली पर्व तिहार इन्भर्टरको सहारामा मधुरो उज्यालोमा बिताउन बाध्य थिए, नेपाली । विद्युत् दिने मुख्य जिम्मेवारी भएको नेपाल विद्युत् प्राधिकरणले साँझको समयमा विद्युतीय उपकरण प्रयोग नगर्न सार्वजनिक सूचना जारी गर्थ्यो ।

लोडसेडिङ अहिले छैन । धेरै विद्युत् खपत नगर्न उपभोक्तालाई सार्वजनिक सूचनामार्फत सचेत गराउने प्राधिकरण अहिले कसरी विद्युत् खपत बढाउने भन्ने चिन्तामा छ । अबको एक वर्षभित्रकरिब १ हजार मेगावाट विद्युत् राष्ट्रिय प्रणालीमा जोडिने प्रक्षेपण छ । विद्युत् सबै उपभोग भएन भने खेर जान्छ । किनकि विद्युत् भण्डारण गर्न सकिने वस्तु होइन, यो त उत्पादन भएकै समयमा उपयोग गरिहाल्नुपर्छ ।

केही वर्षअघिसम्म लोडसेडिङ तालिका सार्वजनिक गरेर घण्टाको हिसाबले बत्ती दिने प्राधिकरण दुई वर्षयता भने उपभोक्तालाई बढी विद्युत् खपत गराउन प्रेरित गर्ने अभियानमा छ । विद्युत् प्राधिकरणको भार प्रक्षेपण केन्द्रका अनुसार अहिले दैनिक विद्युत्को पिक डिमान्ड करिब १२ सय ५० मेगावाट हाराहारी छ । तिहारको समयमा दैनिक माग सोही हाराहारी हुने प्राधिकरणको अनुमान छ । तिहारको बेला सबैले बत्ती बाल्दा पनि किन यत्ति मात्रै माग? तिहारको समयमा उद्योग, कलकारखाना बन्द हुने भएकाले घरायसी उपभोक्तातर्फ मात्रै माग हुन्छ । तीन वर्षयता तिहार आउनेबित्तिकै लोडसेडिङको चर्चा गरिन्छ । किनकि तिहार र लोडसेडिङको सम्बन्ध विशेष रहन गएको छ । तीन वर्षअघि लक्ष्मीपूजाको दिन पारेर काठमाडौं उपत्यकालाई लोडसेडिङ मुक्त घोषणा गरिएको थियो । पछिल्लो एक दशकमा काठमाडौं उपत्यकामा पहिलो पटक सबै घरमा एकै पटक बत्तीहरू बलेका थिए । यो अभियानको नेतृत्व गरेका थिए, प्राधिकरणका कार्यकारी निर्देशक–कुलमान घिसिङले ।

आन्तरिक उत्पादन र भारतबाट आयातित विद्युत् व्यवस्थापन गरी उपत्यकालाई लोडसेडिङमुक्त गरेको प्राधिकरणले यो वर्ष नेपालभर लोडसेडिङ अन्त्य भएको घोषणा गरेको छ । वैशाख ३१ गते त उद्योगलाई पनि २४ सै घण्टा विद्युत् दिन सकिने गरी लोडसेडिङमुक्त घोषणा गरिएको थियो ।

सबै उपभोक्ताले तिहारका बेला झिलिमिली बत्ती बाल्ने भएकाले प्राधिकरणलाई यो समयमा विद्युत्को माग व्यवस्थापन गर्न निकै गाह्रो हुने गरेको थियो । प्राधिकरणका प्रबन्ध निर्देशक घिसिङ आफैं तिहारका बेला माग व्यवस्थापनका लागि खटिने गर्थे । ‘यो वर्षचैं माग व्यवस्थापनमा कुनै गाह्रो हुँदैन,’ उनले भने, ‘म उपभोक्तालाई जतिसक्दो धेरै विद्युत् प्रयोगका लागि आग्रह गर्छु ।’

हावाहुरी र आगलागीका कारण प्राविधिक गडबडी भई केही बेर कुनै क्षेत्रमा विद्युत् सेवा अवरुद्ध भए मात्रै हो नत्र तिहारको समयमा माग व्यवस्थापनमा कुनै समस्या नभएको उनी बताउँछन् । ‘अघिल्ला वर्षको जस्तो प्रेसर पनि यो वर्ष छैन,’ उनले भने, ‘तिहारका लागि भनेर विशेष व्यवस्था गर्नुपर्ने अवस्था यो वर्ष छैन ।’प्राधिकरणले उपभोक्तालाई बढी विद्युत् खपतका लागि प्रोत्साहनगरिरहेको उनले बताए । अघिल्लो वर्षसम्म आन्तरिक माग धान्न खटिने प्राधिकरणको नेतृत्व अहिले नेपालमा उत्पादित विद्युत् कसरी खपत गर्ने भन्ने योजनामा तल्लीन छ । अहिले नेपालमा उत्पादित सबै विद्युत्को खरिदकर्ता प्राधिकरण हो । प्राधिकरणले निर्माणाधीन आयोजनाको ५ हजार मेगावाटभन्दा बढी विद्युत् गरिद गर्छु भनेर आयोजना प्रवर्द्धकसँग सम्झौता गरिसकेको छ । प्राधिकरणले उक्त विद्युत् खपत गराउन सकेन भने पनि ती प्रवर्द्धकलाई पैसा तिर्नुपर्ने हुन्छ ।

यही वर्ष ४ ५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत्आयोजनाको निर्माण पूरा हुने अनुमान गरिएको छ । आयोजनाका अरू काम सकिएर पेनस्टक पाइप जडान सकिन मात्रै बाँकी छ । आयोजना निर्माण पूरा भएपछि नेपालमा वर्षायाममा विद्युत् बढी हुने प्रक्षेपण गरिएको छ । वर्षायाममाअन्यआयोजनाले पनिउत्पादन बढी गर्छन् तर खपत कम हुन्छ । वर्षायाममा बढी भएको विद्युतका लागि भारतसँग इनर्जी बैंकिङ गर्ने प्राधिकरणको योजना छ । यहाँ उत्पादन बढी भएका बेला भारतलाई विद्युत् दिने र यहाँ मागभएका बेला त्यही परिणाममा विद्युत् ल्याउने अवधारणा नै इनर्जी बैंकिङ हो ।

भारतमा इनर्जी स्टक एक्सचेन्जमा विद्युत् बिक्रीका लागिपनिप्राधिकरणले तयारी थालेको छ । भारतको इनर्जी स्टक एक्सचेन्जमासेयर कारोबार जसरी नै विद्युत्बिक्री गर्न मिल्छ । यसमा हरेक १५ मिनेटका लागिविद्युत् बिक्रीगर्न मिल्छ । भोलिलाई वातत्कालै विद्युत् आवश्यक पर्ने कम्पनीले आफ्नो माग राख्छन् भने विद्युत् उपलब्ध गराउन सक्ने कम्पनीले पनिआफूले कति परिणाम र कतिमूल्यमा विद्युत् दिन सक्छु भनेर जानकारी राख्छन् ।

किन्नेले जुनबाट सस्तो पर्छ, त्यसैबाट किन्न पाउँछ । प्राधिकरणले यो इनर्जी स्टक एक्सचेन्जमाआफ्नो तर्फबाट कारोबार गरिदिनका लागिभारतीय सरकारको स्वामित्व रहेको कम्पनी एनभीभीएनलाई प्रतिनिधि नियुक्त गरिसकेको छ । यही अक्टोबरभित्र सबै प्रक्रिया पूरा गर्ने प्राधिकरणको तयारी छ ।

बंगलादेशमा विद्युत् बिक्री गर्ने योजना पनि छ । बंगलादेशले नेपालबाट विद्युत् किन्ने घोषणा गरिसकेको छ । सन् २०४० सम्ममा नेपालबाट ९ हजार मेगावाट विद्युत् किन्ने योजना बंगलादेश सरकारको छ । भारतीय संरचना प्रयोग गरी बंगलादेशमा विद्युत् लैजान सकिने नेपाली पक्षको विश्वास छ । यसका लागि नेपाल र बंगलादेशबीच ऊर्जा सचिवस्तरीय संयन्त्रमा पनि छलफल भइरहेको छ ।

दुई साताअघि बसेको नेपाल र भारतका ऊर्जा सचिवस्तरीय संयन्त्रको बैठकले नेपालबाट बंगलादेशमा विद्युत् लैजाने विषयमा छलफल गर्न नेपाल, भारत र बंगलादेशका ऊर्जा अधिकारीहरूको बैठक तीन महिनाभित्र बोलाउने सहमति गरेको छ । भारतीय विदेश मन्त्रालयले यो बैठक बोलाउने जिम्मा पाएको छ । उक्त बैठकमा नेपालबाट कति परिमाणमा विद्युत् लैजाने, कुन संरचना प्रयोग गर्ने, कति मूल्यमा खरिदबिक्री गर्ने र भारतीय संरचना प्रयोग गरेबापत कति पैसा तिर्ने जस्ता विषयमा छलफल हुनेछ ।

प्रकाशित : कार्तिक ८, २०७६ १२:४१
प्रतिक्रिया
पठाउनुहोस्

सपिङको हतार

तिहार नजिकिँदै गर्दा बजारमा किनमेलको चहलपहल बढेको छ । सुनचाँदी, तामाका भाँडा पसलमा मानिसको भीड छ ।
नुमा थाम्सुहाङ

सामाखुसीकी तिर्थकुमारी श्रेष्ठ इन्द्रचोकको एक पसलमा तामाको दियो किन्दै गरेकी भेटिइन्  । लक्ष्मीपूजामा नयाँ कुरा चढाउनुपर्ने भएकाले पूजाका लागि तामाको दियो किन्न आएको उनले बताइन्  ।

‘पर्वमा नयाँ चिज किन्यो भने घरमा सुख, शान्ति छाउँछ भन्ने विश्वास छ,’ उनले भनिन्, ‘त्यसैले आफूले सकेको सानोतिनो तामा, सुन तथा चाँदीको सामान किनेर भित्र्याउने गरेकी छु ।’
तिहार नजिकिँदै गर्दा बजारमा किनमेलको चहलपहल बढेको छ । धनतेरसका दिन जोडेको धातुका सामान स्थिर भएर बस्ने जनविश्वासका कारण सुनचाँदी र तामाका भाँडा पसलहरूमा भीड लाग्ने गरेको छ ।
इन्द्रचोकस्थित अतिथि ब्रास सेन्टरका श्रीरिजाल तामाको भाँडा सफा गर्न व्यस्त थिए । उनले धनतेरसको दिन तामाको बिक्री हुने भएकाले सबै भाँडालाई टल्काएर राख्ने गरेको बताए । तामाको लोती, दियो, कलस, गाग्री, चरेसको थाल, मूर्तिजस्ता सामान तिहारका बेला बढी बिक्ने उनको भनाइ छ । ‘वाइन सेट, कासको जगको सेट र आरती गर्ने सामान मानिसले किन्छन्,’ उनले भने, ‘अरू बेला दिनको २० हजार रुपैयाँ कारोबार हुन्थ्यो भने तिहारका बेला दिनकै ६० हजार रुपैयाँ कारोबार भइरहेको छ ।’
पूजाका लागि धातु पवित्र सामान मानिने भएकाले धनतेरसको दिन धातुको भाँडा ग्राहकले किन्ने गरेको उनले सुनाए । उनका अनुसार तामाको भाँडा किलोको १४ सय ५० रुपैयाँदेखि ४५ सय रुपैयाँसम्म पर्छ ।
३ पुस्तादेखि इन्द्रचोकमा महाराज भाँडा सञ्चालनमा छ । तिहारमा पूजाका लागि मात्र नभई सजाउन र दैनिक प्रयोजनका लागि मानिस तामाको भाँडा किन्न आउने पसलका कर्मचारी सुमन राउतले बताए । ‘सजाउनका लागि हाँस र फूलदानी किन्छन् । पूजाका लागि लक्ष्मी र गणेशको मूर्ति, दियो, कलश, आरती, पानस किन्छन्,’ उनले भने । उनले पनि अन्य दिनको तुलनामा तिहारका बेला व्यापार राम्रो हुने गरेको बताए । ‘एक दिनमा ५०/६० हजार रुपैयाँको कारोबार भइरहेको छ,’ उनले भने । त्यस पसलमा २ हजार रुपैयाँदेखि १ लाख रुपैयाँसम्म पर्ने तामाका भाँडाकुडा छन् । तिहारको समयमा भने १० हजार रुपैयाँसम्म पर्ने भाँडा बढी बिक्री हुने गरेको उनले जानकारी दिए ।
तिहारमा धनतेरस र लक्ष्मीपूजाका लागि तामाको भाँडा मात्र नभई विभिन्न घरायसी प्रयोजनका अन्य सामग्रीको समेत किनमेल हुन्छ । तिहारमा पाहुनापातको आगमन धेरै हुने भान्सामा सजिलोका लागि राइस कुकर, प्रेसर कुकर तथा मिक्स्चर किन्ने गरिन्छ ।
नक्सालकी सविता कार्की असनको एक पसलमा मिक्स्चर किनेर फर्किंदै थिइन् । ‘तिहारमा रोटी पकाउनलाई चामल पिस्न मिक्स्चर किनेकी हुँ,’ उनले भनिन्, ‘भाइटीकाको समयमा घरभरि पाहुना हुन्छन् । मिक्स्चरमा अचार पिस्न पनि सजिलो हुन्छ ।’
महाबौद्धमा १५ वर्षदेखि हारती स्टोर सञ्चालन गर्दै आएका अनिलरत्न ताम्राकार भन्छन्, ‘तिहारमा घरमा चाहिने प्रेसर र राइस कुकर, मिक्स्चरकै बढी माग हुन्छ । चाडबाडको समयमा घरका लागि एउटा नयाँ सामान किन्नुपर्छ भनेर मान्यता पनि छ ।’ यी सबै सामानको मूल्य २ हजार रुपैयाँदेखि लिएर ९ हजार रुपैयाँसम्म पर्ने उनले बताए । तिहारले गर्दा व्यापार राम्रो भएको उनले सुनाए । ‘धनतेरसले गर्दा पनि पसलमा भीड बढेको छ,’ उनले भने, ‘दिनको ५० हजार रुपैयाँको कारोबार भइरहेको छ ।’
अन्य समयको तुलनामा चाडबाडका बेला व्यापार राम्रो हुने गर्छ । तिहारको समयमा भाँडाकुँडाको कारोबार बढ्ने गर्छ । झिलिमिली बत्ती र भाइमसलाको किनबेच पनि यही बेला हुन्छ । भाइटीकामा चेलीमाइतीबीच उपहार आदानप्रदान गर्ने प्रचलन छ । उपहारका सामान खरिदबिक्री पनि यस बेला बढ्ने गरेको छ ।
असन गल्लीमा १० वर्षदेखि अनिल रत्न स्टोर चलाउँदै आएका अनिल तुलाधारले तिहारले तिहारमा विशेष धातुका भाँडा पूजाका लागि बिक्ने भए पनि घरायसी प्रयोजनका लागि भने कप सेट, बोल सेट, ग्लास सेट, ट्रे माग हुने गरेको बताए । उनको पसलमा ५० रुपैयाँदेखि २ हजार रुपैयाँसम्मका सामान छन् ।

प्रकाशित : कार्तिक ८, २०७६ १२:४०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT