१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

दिल्लीमा दिवाली

नेपालमा दसैंका बेला कर्मचारी र श्रमिकलाई लाभांश दिने गरिए जस्तै भारतमा दीपावलीका बेला उपहार र लाभांश बाँडिन्छ । केही व्यापारीले त आफ्ना कर्मचारीलाई घर र कार नै उपहार दिन्छन् ।
सुरेशराज न्यौपाने

नेपालमा तिहार यमपञ्चक रूपमा मनाइन्छ  । पाँच दिनसम्म मनाइने यो नेपालीका लागि दसैंपछिको दोस्रो ठूलो चाड हो  ।

दिल्लीमा दिवाली

तिहारका समयमा गरिने झिलिमिलीका कारण हुन सक्छ, हिजोआज यो चाडलाई दीपावलीसमेत भन्ने गरिन्छ । यता भारतमा भने धार्मिक हिसाबले तिहार पाँच दिनसम्म हुने गरे पनि काग तिहार र लक्ष्मीपूजालाई मात्र विशेष रूपमा मनाउने प्रचलन छ । यहाँ काग तिहारलाई धनतेरसका रूपमा मनाइन्छ भने लक्ष्मीपूजालाई दीपावली वा दिवाली रूपमा । पछिल्लो समय भारतीय अर्थतन्त्रको वृद्धिदर केही सुस्त रहेको र उद्योग तथा व्यावसायिक क्षेत्रको चहलपहलमा कमी आएको हुँदा यस वर्षको दिवालीको झिलिमिली विगतका वर्षहरूका तुलनामा कम हुने अनुमान गरिएको छ ।
भारतमा भगवान् रामले लंकामाथि जित हासिल गरेर अयोध्या फर्केपछि उनको स्वागतमा दीपावली गरिएको र त्यसैको निरन्तरतास्वरूप पर्व मनाइँदै आएको धार्मिक विश्वास छ । भारतमा धन र आरोग्यका लागि काग तिहारको दिन भगवान् धन्वन्तरिको पूजा गरिन्छ र त्यस दिनलाई धनतेरसका रूपमा विशेष ढंगले मनाइन्छ । सोही दिन कुबेरको पनि पूजा गर्ने परम्परा छ । धनतरेसलाई सुनचाँदीका नयाँ भाँडा किन्ने शुभ दिनका रूपमा पनि लिने गरिन्छ । उक्त दिन धन्वन्तरिको पूजा गर्नाले धनधान्यले भरिपूर्ण हुने र भाग्य चम्कने आम विश्वास छ । यही आमविश्वासले पनि त्यस दिन सुनचाँदी व्यवसायीहरूका लागि धनतेरस विशेष पर्व बन्ने गरेको छ । उक्त दिन धन्वन्तरिको पूजा गर्नाले धनधान्यले भरिपूर्ण हुने र भाग्य चम्कने विश्वास छ । केही वर्षयता नेपालमा पनि धनतेरसलाई पनि विशेष महत्त्वका साथ मनाउन थालेको पाइन्छ ।
सामाजिक हिसाबले पनि यो चाडको महत्त्व छ । दीपावलीको मौकामा पारिवारिक, सामाजिक भेटघाट र उपहार आदानप्रदान गर्ने चलन छ । नयाँ लुगा लगाउने र मिठा परिकार बनाउने र खाने पनि गरिन्छ । नेपालमा व्यापार र व्यवसायका दृष्टिले दसैंको महत्त्व रहे झैं भारतमा पनि दीपावलीलाई विशेष महत्त्वका साथ लिइन्छ । यही समयमा उद्योग तथा व्यापारिक कम्पनीहरूले व्यापार अभिवृद्धि गर्न विशेष योजनाहरू लागू गर्ने गर्छन् । ई–कमर्स कम्पनीहरूले त दीपावली सुरु हुन धेरै दिनअघिदेखि नै विभिन्न आकर्षक प्रवर्द्धनात्मक योजनाहरू ल्याइसकेका छन् । उनीहरूलाई पछ्याउँदै ठूला सपिङ मलदेखि साना स्टोरहरूले पनि ग्राहक आकर्षित गर्न विभिन्न योजना अघि सार्ने गर्छन् ।
नेपालमा दसैंका बेला कर्मचारी र श्रमिकलाई लाभांश दिने गरिएजस्तै यता भारतमा दीपावलीका बेला विभिन्न उपहार र लाभांश दिने गरिन्छ । त्यस्ता उपहार र लाभांश नगद मात्र नभएर होलिडेज प्याकेजसम्मका हुने गरेका छन् । केही व्यापारीले त आफ्ना कर्मचारीलाई घर र कार नै उपहार दिन्छन् । तिनैमध्येका एक गुजरातका हीरा व्यापारी सब्जी ढोलकिया हुन् । उनले गत वर्ष आफ्ना १ हजार ७ सयभन्दा बढी कर्मचारीलाई कार उपहार दिएका थिए । सन् २०१४ मा यस किसिमको महँगो उपहार दिन सुरु गरेका ढोलकियाले पहिलो वर्ष हीराका गहना र फ्ल्याट उपहार दिएका थिए । त्यसयता हरेक वर्ष उनले दीपावलीको मौकामा त्यस्तै किसिमको उपहार र पुरस्कार दिँदै आएका छन् ।
यस वर्ष भारतीय अर्थतन्त्रको विस्तार सुस्त देखिएकाले त्यसको छाया दीपावली अर्थात् दिवालीको झिलिमिलीमा पर्ने देखिएको छ । पछिल्ला केही परिसूचकले भारतीय अर्थव्यवस्थाको गति अनपेक्षित रूपमा सुस्त देखाएका छन् । विशेषगरी अर्थतन्त्रको विस्तार, बेरोजगारीसम्बन्धी परिसूचक चिन्ताजनक छन् । अर्थतन्त्रको विस्तार सुस्त हुनुका पछाडि बजारमा मागको कमी र त्यसको प्रभावस्वरूप उत्पादनमा आएको ह्रासलाई प्रमुख कारण ठानिएको छ । अहिलेको बजारमा देखिएको मन्दीलाई आर्थिक क्षेत्रका जानकारहरूले २०००, २००१ र २००८ को अवस्थाको पुनरावृत्तिसमेत भनेका छन् । अर्थविद्हरूले यसका लागि नोटबन्दी र जीएसटीलाई जिम्मेवार ठानेका छन् । अझै पनि भारतीय अर्थतन्त्रमा ग्रामीण अर्थतन्त्रको योगदान ७० प्रतिशत हाराहारी छ । ग्रामीण क्षेत्रको श्रमशक्तिको ६४ प्रतिशत हिस्सा कृषि क्षेत्रमा आबद्ध छ । आर्थिक विश्लेषकहरूले पछिल्लो समय कृषि उत्पादनको मूल्यमा आएको गिरावटको प्रभाव ग्रामीण अर्थतन्त्र मात्र नभएर समग्र अर्थव्यवस्थामा पर्न गएको दाबी गरेका छन् । साथै तीन वर्षअघि लागू गरिएको नोटबन्दीले साना तथा मझौला उद्योगलाई सबैभन्दा बढी असर पारेकाले पनि ग्रामीण अर्थतन्त्रमा त्यसको नकारात्मक असर परेको दाबी गरिएको छ । ग्रामीण अर्थतन्त्रमा परेको नकारात्मक असरकै कारण अटोमोबाइल क्षेत्रको मागमा कमी आएको समेत उनीहरूको निष्कर्ष छ । भारतको कुल गार्हस्थ्य उत्पादनमा १७ प्रतिशत योगदान गर्ने उत्पादनशील क्षेत्रमध्ये अटोमोबाइल क्षेत्रको हिस्सा ७.५ प्रतिशत छ । त्यसैले नै यस क्षेत्रमा देखिएको मन्दीको असर समग्र अर्थव्यवस्था परेको हो । भारतको अटोमोबाइल क्षेत्रले मात्र ३.७ करोडभन्दा बढीलाई रोजगारी दिएको छ । यति ठूलो रोजगारी दिने अटोमोबाइल क्षेत्रले नै २० वर्षयताकै सबैभन्दा नराम्रो मन्दी व्यहोरेको छ । मागमा आएको कमीकै कारण यो क्षेत्रमा करिब तीन लाखले प्रत्यक्ष र करिब १० लाखभन्दा बढीले अप्रत्यक्ष रोजगारी गुमाएका छन् । यात्रु कारमा आएको कमीकै कारण मारुति सुजुकीले पहिलो पटक गुडगाँवस्थित कारखाना बन्द गरेको छ ।
बैंकिङलगायत क्षेत्रले तरलता अभावजस्ता समस्या खेप्नुपरेको छ । घरेलु मागमा देखिएको कमीका कारण समग्र उत्पादनशील क्षेत्रमा नकारात्मक प्रभाव देखिएका बेला वैदेशिक लगानी पनि प्रभावित भएको छ । यसको परिणामस्वरूप भारतीय अर्थतन्त्रको वृद्धि ६ वर्षयताकै न्यून (करिब ५ प्रतिशत) रहन पुगेको छ । साथै बेरोजगारी दरले पनि विगत ४५ वर्षकै सबैभन्दा बढी ६ प्रतिशत छोएको छ । भारत सरकारले अर्थतन्त्रलाई गति दिन विभिन्न योजना अघि नसारेको होइन । सरकारले पछिल्लो समय संस्थागत कर घटाउने, अटोमोबाइल क्षेत्रको जीएसटी दर घटाउने, सरकारी बैंकहरूमा तरलता प्रवाह गर्नेलगायतका कदमहरू चालेको छ । तर, ती निर्णयहरूको प्रभाव बजारसम्म पुगिसक्न समय लाग्ने भएकाले यस वर्षको दीपावली अर्थात् दिवाली केही खल्लो हुने निश्चित छ ।

प्रकाशित : कार्तिक ८, २०७६ १२:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?