३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

सपिङको हतार

तिहार नजिकिँदै गर्दा बजारमा किनमेलको चहलपहल बढेको छ । सुनचाँदी, तामाका भाँडा पसलमा मानिसको भीड छ ।
नुमा थाम्सुहाङ

सामाखुसीकी तिर्थकुमारी श्रेष्ठ इन्द्रचोकको एक पसलमा तामाको दियो किन्दै गरेकी भेटिइन्  । लक्ष्मीपूजामा नयाँ कुरा चढाउनुपर्ने भएकाले पूजाका लागि तामाको दियो किन्न आएको उनले बताइन्  ।

सपिङको हतार

‘पर्वमा नयाँ चिज किन्यो भने घरमा सुख, शान्ति छाउँछ भन्ने विश्वास छ,’ उनले भनिन्, ‘त्यसैले आफूले सकेको सानोतिनो तामा, सुन तथा चाँदीको सामान किनेर भित्र्याउने गरेकी छु ।’
तिहार नजिकिँदै गर्दा बजारमा किनमेलको चहलपहल बढेको छ । धनतेरसका दिन जोडेको धातुका सामान स्थिर भएर बस्ने जनविश्वासका कारण सुनचाँदी र तामाका भाँडा पसलहरूमा भीड लाग्ने गरेको छ ।
इन्द्रचोकस्थित अतिथि ब्रास सेन्टरका श्रीरिजाल तामाको भाँडा सफा गर्न व्यस्त थिए । उनले धनतेरसको दिन तामाको बिक्री हुने भएकाले सबै भाँडालाई टल्काएर राख्ने गरेको बताए । तामाको लोती, दियो, कलस, गाग्री, चरेसको थाल, मूर्तिजस्ता सामान तिहारका बेला बढी बिक्ने उनको भनाइ छ । ‘वाइन सेट, कासको जगको सेट र आरती गर्ने सामान मानिसले किन्छन्,’ उनले भने, ‘अरू बेला दिनको २० हजार रुपैयाँ कारोबार हुन्थ्यो भने तिहारका बेला दिनकै ६० हजार रुपैयाँ कारोबार भइरहेको छ ।’
पूजाका लागि धातु पवित्र सामान मानिने भएकाले धनतेरसको दिन धातुको भाँडा ग्राहकले किन्ने गरेको उनले सुनाए । उनका अनुसार तामाको भाँडा किलोको १४ सय ५० रुपैयाँदेखि ४५ सय रुपैयाँसम्म पर्छ ।
३ पुस्तादेखि इन्द्रचोकमा महाराज भाँडा सञ्चालनमा छ । तिहारमा पूजाका लागि मात्र नभई सजाउन र दैनिक प्रयोजनका लागि मानिस तामाको भाँडा किन्न आउने पसलका कर्मचारी सुमन राउतले बताए । ‘सजाउनका लागि हाँस र फूलदानी किन्छन् । पूजाका लागि लक्ष्मी र गणेशको मूर्ति, दियो, कलश, आरती, पानस किन्छन्,’ उनले भने । उनले पनि अन्य दिनको तुलनामा तिहारका बेला व्यापार राम्रो हुने गरेको बताए । ‘एक दिनमा ५०/६० हजार रुपैयाँको कारोबार भइरहेको छ,’ उनले भने । त्यस पसलमा २ हजार रुपैयाँदेखि १ लाख रुपैयाँसम्म पर्ने तामाका भाँडाकुडा छन् । तिहारको समयमा भने १० हजार रुपैयाँसम्म पर्ने भाँडा बढी बिक्री हुने गरेको उनले जानकारी दिए ।
तिहारमा धनतेरस र लक्ष्मीपूजाका लागि तामाको भाँडा मात्र नभई विभिन्न घरायसी प्रयोजनका अन्य सामग्रीको समेत किनमेल हुन्छ । तिहारमा पाहुनापातको आगमन धेरै हुने भान्सामा सजिलोका लागि राइस कुकर, प्रेसर कुकर तथा मिक्स्चर किन्ने गरिन्छ ।
नक्सालकी सविता कार्की असनको एक पसलमा मिक्स्चर किनेर फर्किंदै थिइन् । ‘तिहारमा रोटी पकाउनलाई चामल पिस्न मिक्स्चर किनेकी हुँ,’ उनले भनिन्, ‘भाइटीकाको समयमा घरभरि पाहुना हुन्छन् । मिक्स्चरमा अचार पिस्न पनि सजिलो हुन्छ ।’
महाबौद्धमा १५ वर्षदेखि हारती स्टोर सञ्चालन गर्दै आएका अनिलरत्न ताम्राकार भन्छन्, ‘तिहारमा घरमा चाहिने प्रेसर र राइस कुकर, मिक्स्चरकै बढी माग हुन्छ । चाडबाडको समयमा घरका लागि एउटा नयाँ सामान किन्नुपर्छ भनेर मान्यता पनि छ ।’ यी सबै सामानको मूल्य २ हजार रुपैयाँदेखि लिएर ९ हजार रुपैयाँसम्म पर्ने उनले बताए । तिहारले गर्दा व्यापार राम्रो भएको उनले सुनाए । ‘धनतेरसले गर्दा पनि पसलमा भीड बढेको छ,’ उनले भने, ‘दिनको ५० हजार रुपैयाँको कारोबार भइरहेको छ ।’
अन्य समयको तुलनामा चाडबाडका बेला व्यापार राम्रो हुने गर्छ । तिहारको समयमा भाँडाकुँडाको कारोबार बढ्ने गर्छ । झिलिमिली बत्ती र भाइमसलाको किनबेच पनि यही बेला हुन्छ । भाइटीकामा चेलीमाइतीबीच उपहार आदानप्रदान गर्ने प्रचलन छ । उपहारका सामान खरिदबिक्री पनि यस बेला बढ्ने गरेको छ ।
असन गल्लीमा १० वर्षदेखि अनिल रत्न स्टोर चलाउँदै आएका अनिल तुलाधारले तिहारले तिहारमा विशेष धातुका भाँडा पूजाका लागि बिक्ने भए पनि घरायसी प्रयोजनका लागि भने कप सेट, बोल सेट, ग्लास सेट, ट्रे माग हुने गरेको बताए । उनको पसलमा ५० रुपैयाँदेखि २ हजार रुपैयाँसम्मका सामान छन् ।

प्रकाशित : कार्तिक ८, २०७६ १२:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?