मिठाईको मेला

तिहारका बेला मिठाई बिक्री चार गुणाले बढ्छ । बजारमा विभिन्न स्वादका साथै सुगर फ्री मिठाई पनि उपलब्ध छन् ।
राजु चौधरी

दसैं मासुको पर्व हो । तिहारलाई भने मिठाईको पर्व मानिन्छ । तिहार नभित्रिँदै मिठाई पसलमा भीड सुरु भइसकेको छ । मिठाई सञ्चालकलाई मिठाईको अर्डर र पैसा गन्न भ्याइनभ्याई छ ।

हुन त पछिल्लो समय खानापश्चात मिठाई खाने प्रचलन पनि बढ्दो छ । यसले पनि मिठाईको माग बढाएको छ । व्यवसायीका अनुसार तिहारका बेला भने मिठाईको कारोबार करिब चार गुणाले बढ्छ । ‘मिठाईको हकमा तिहार दसैं नै हो,’ डेरी एसोसिएसनका महासचिव प्रह्लाद दाहालले भने । उनका अनुसार मिठाई मुख्यतः लक्ष्मी पूजा र टीकाको दिनमा बढी बिक्री हुन्छ । मिठाईसँगै दहीको माग पनि २० प्रतिशतले बढ्ने व्यवसायीहरू बताउँछन् ।
तिहारमा मुलुकभर बर्फी, पेडा, लालमोहन, जेरी, दूधवरी, रसमलाई, लड्डु, रसबरी, गुलाब जामुन, क्रिम मिठाई, काजुको मिठाईको माग अत्यधिक हुन्छ । गाजरको हलुवा, मुम्बई बदामी हलुवा, सनपापडी, काजु कमल, खोया बदाम, राजभोगलायतको माग पनि सोहीअनुसार बढ्ने व्यवसायीहरू बताउँछन् ।
महासचिव दाहालका अनुसार मिठाई पसलले मागको ६० प्रतिशत पूर्ति गर्छन् । नेपाल दुग्ध विकास संस्थान (डीडीसी) डेरी उद्योग संघ र डेरी एसोसिएसनले करिब ४० प्रतिशत पूर्ति गर्ने उनले बताए । डीडीसीका योजना तथा बजार व्यवस्था विभाग प्रमुख सञ्जीव झाले पनि तिहारमा मिठाई र दहीको माग बढी नै हुने बताए ।
डीडीसीबाट मुख्यतः लालमोहन, रसबरी, पेडाको बिक्री हुन्छ । एक साताको अवधिमा लालमोहन ३६ सय बट्टा (एक वटामा १२ वटा), रसवरी ४२ सय बट्टा र पेडा २ हजार बट्टा बिक्री हुने अपेक्षा गरेको झाले बताए । ‘उत्पादन क्षमताअनुसार तयारी गरेका छौं,’ उनले भने, ‘दहीको हकमा चार दिन व्यापार बढ्छ ।’
डीडीसीका योजना तथा बजार व्यवस्था विभाग प्रमुख झाले तिहारका लागि ३२ हजार लिटर दही उत्पादन गरेको बताए । ‘मिठाईसँगै दहीको माग पनि अत्यधिक बढ्छ । तर, उत्पादन क्षमता दैनिक ८ हजार लिटर मात्रै छ,’ उनले भने, ‘जसले गर्दा पर्याप्त उत्पादन गर्न सकेका छैनौं ।’
निजी डेरी उद्योगहरू प्नि दही तथा मिठाई उत्पादनमा केन्द्रित भएको उनले बताए । संस्थान र डेरी उद्योगहरूले उत्पादन गरेको मिठाई/दही सुपर मार्केट, डिपार्टमेन्टल स्टोर, मिनीमार्ट र आउटलेटमार्फत बिक्री वितरण गरिन्छ । पछिल्लो समय आयातित मिठाईको पनि खपत बढ्दो छ । भारतीय ब्रान्डका मिठाई बजारमा उलब्ध हुन थालेका छन् । व्यवसायीका अनुसार हल्दीराम, गुलाब, सजनगोठ, बिकाजी, बिकानोलगायत भारतीय उद्योगका मिठाई नेपाली बजारमा उपलब्ध छन् ।
बजारमा नाम चलेका संगम स्विट्स, रामेश्वरम् स्विट्स, पशुपति फुड्सको आँगन ब्रान्डको मिठाई, गणगौर मिठाई पनि बजार बिक्री हुन्छन् । गणगैरका सञ्चालक निशान्त जोगाईले मिठाई बिक्री तिहारमा केही वृद्धि हुने बताए । ‘ग्राहकहरू स्वास्थ्यप्रति धेरै सचेत भएका छन् । मिठाईको बजार खस्किँदै गएको छ,’ उनले भने, ‘तर, तिहारमा बिक्री बढ्छ ।’ उनले मिठाईभन्दा ड्राई फ्रुटको व्यापार राम्रो भएको बताए ।
आगन ब्रान्डका प्रोडक्सन म्यानेजर सुधीरकुमार झाको भनाइ पनि उस्तै छ । मिठाईको हकमा तिहार दसैं भएको उनले बताए । ‘प्रतिस्पर्धाको बजार छ । तर, तिहारमा स्वाभाविक रूपमा बिक्री बढ्छ । भाइटीकाको दिन भ्याइनभ्याई हुन्छ,’ झाले भने । उनका अनुसार आँगनबाट मुख्यतः बदाम, काजु, खुवा बढी बिक्री हुन्छ । मिठाई दूधजन्य पदार्थ भएकाले अलमोन्ड, काजुको मिसावटबाट विभिन्न प्रकारका सेट बनाएर बिक्री गरिने उनले बताए ।
तिहारमा मिठाई उपभोगसँगै उपहारका रूपमा पनि प्रयोग गर्ने प्रचलन बढ्दै गएको छ । हाल विभिन्न स्वाद र सुगर फ्री (चिनी नभएको) मिठाई पनि बजारमा उपलब्ध छन् । मिठाईको अत्यधिक प्रयोगले सुगर रोग लाग्ने हुँदा केही व्यवसायी तिहारलाई लक्षित सुगर फ्री मिठाई उत्पादनमा केन्द्रित छन् । ‘ग्राहक धेरै सचेत छन् । त्यसैले ग्राहकलाई मध्यनजर गर्दै सुगर फ्री मिठाई बनाएका छौं,’ बानेश्वर शिव मिष्ठान्न भण्डारणका सञ्चालक जीवन साहले भने, ‘तिहारका लागि मुख्यतः आइतबारदेखि नै बिक्री हुन्छ ।’ साना पसलहरूमा मध्यम वर्गका ग्राहकले खरिद गर्छन् । उच्च वर्गका ग्राहक भने नाम चलेका ब्रान्डेड पसलमा जान्छन् । साहका अनुसार नाम चलेका ठूला पसलको तुलनामा सानामा कारोबार केही कमी नै हुन्छ । व्यवसायीका अनुसार पूजा गरेर मिठाई बाँड्ने चलन पनि छ । जसले गर्दा बिक्री बढ्ने उनीहरू बताउँछन् ।

प्रकाशित : कार्तिक ८, २०७६ १२:४०
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

नेपाल संवत्‌का आर्थिक पक्ष

हिमेश

नेपाल संवतको नयाँ वर्ष सुरु हुन्छ, कार्तिक शुक्ल पक्षमा  । नेपाल संवत्का आधारमा लक्ष्मीपूजा नै वर्षको अन्तिम दिन हुन्छ  । त्यसैले आर्थिक दृष्टिकोणबाट यो दिनको ठूलो महत्त्व छ । तिहारलाई नेपाल भाषामा ‘स्वन्ति’ भनिन्छ र यो तीन दिन मनाउने पर्व हो । यी तीन दिनमध्ये पहिलो दिन लक्ष्मी पूजा नै भयो । दोस्रो दिन ‘म्ह पूजा’ मनाइन्छ भने तेस्रो दिन ‘किजा पूजा’ । वर्षको अन्तिम दिन भएको अर्थमा लक्ष्मी पूजा काठमाडौंका नेवारका लागि सालतमामी गर्ने दिन पनि हो ।

व्यवसायको एक आर्थिक वर्ष यही दिन टुंगिने गर्छ । त्यसको भोलिपल्टबाट नयाँ संवत् सुरु हुन्छ । त्यसको अर्थ हो, अर्को एउटा नयाँ आर्थिक वर्ष । व्यापारीवर्गले लक्ष्मीपूजाका दिन आफ्नो एक वर्षको कारोबार र त्यसको हिसाबकिताब बन्द गर्ने गर्छन् । नयाँ वर्षका दिन नयाँ हिसाबकिताब सुरु हुन्छ । आजभोलि यो चलन धेरै हदसम्म लोप भइसकेको छ । यसका पछाडि आफ्नै कारण पनि छन् । अझै पनि सांकेतिक रूपमा भने लक्ष्मीपूजाको दिन सालतमामी गर्ने चलन छँदै छ ।

धेरै समयअघिदेखि नै काठमाडौंमा एक आर्थिक वर्ष टुंग्याएर नयाँ वर्षमा फेरि नयाँ आर्थिक वर्ष सुरु गर्नु आफैंमा महत्त्वपूर्ण छ । यसलाई हाम्रो सांस्कृतिक पक्षसँग जोडेर हेर्न पनि मिल्छ । संस्कृतिविद् सुजनविलास वज्राचार्य भन्छन्, ‘एक निश्चित वर्षलाई आफ्नो व्यापारको समय सीमा मान्ने र त्यसैअनुसार हिसाबकिताब राख्ने हाम्रो विशिष्ट आर्थिक पक्ष हो । यो हाम्रो सांस्कृतिक पक्षसँग पनि उत्तिकै जोडिएको छ ।’ उनी यसलाई हाम्रो पुर्खाले सुरु गरेको गर्विलो पक्ष मान्छन् । राणाकालमा आएर नेपाल संवत्लाई सरकारका तर्फबाट सिधै बेवास्ता सुरु भएको मानिन्छ । यसैक्रममा लक्ष्मीपूजाका दिन सालतमामी गर्नै चलनमा पनि कमी आउन सुरु भयो । तर, नेपाल संवत्कै आधारमा अहिलेसम्म हाम्रा लगभग सबै पर्व रीतिथिति आधारित हुने र मनाइने हुनाले पनि यसको सालतमामीको सांकेतिक स्वरूप कायम रहन सकेको हो ।

पछिल्लो समय नेपाल संवत्लाई नेपालकै मौलिक संवत् मानेर मनाउने र यसको प्रयोग गर्ने क्रम बढ्दो छ । केही समय अगाडिसम्म पनि यसलाई नेवारले मनाउने पर्वका रूपमा मात्र हेर्ने संकुचित दृष्टिकोण थियो । अब भने यो खास वर्गको घेरा तोडेर सबै नेपालीको मौलिक संवत् हुने क्रममा छ । तिथिमितिका आधारमा यो संवत् कार्तिक शुक्ल पक्षको प्रतिपदाका दिन सुरु हुन्छ । नेपाल संवत् चन्द्रमासमा आधारित छ ।

संवत् गणना गर्ने दुई आधार छन् । पहिलो, चन्द्रमाले पृथ्वीलाई गर्ने परिक्रमा गर्ने आधारमा । अर्को भने सूर्यको आधारमा हो । नेपाल संवत् चन्द्रमाको गतिको आधारमा तय हुने गर्छ । यो नेपालको संस्कृति तथा परम्परासँग भिजेको छ । यो नै नेपाल संवत्को सबैभन्दा ठूलो विशेषता हो । ‘जन्मदेखि मृत्युसम्म जति पनि विधि अपनाउनुपर्ने हुन्छ, ती तिथिमै आधारित हुन्छन् । नेपाल संवत्को सबैभन्दा ठूलो सांस्कृतिक पक्ष भनेकै नेपालका मौलिक परम्परा यसमै आधारित हुनु हो । यसकै एउटा पक्षका रूपमा एउटा आर्थिक वर्षको अन्त्य र नयाँ वर्षको सुरुआत रहेको छ,’ वज्राचार्यले भने ।

शंखधरसँग जोडिएको किंवदन्ती
नेपाल संवत्का प्रवर्तक शंखधर साख्वा हुन् । नेपाल संवत्को सुरुआतबारे दुई खाले किंवदन्ती प्रचलनमा रहेको पाइन्छ, यी दुवै कुनै न कुनै रूपमा आर्थिक पक्षसँगै जोडिन्छन् । जस्तो, पहिलो विश्वासअनुसार शंखधरले खास साइतमा घरमा ल्याएको सबै बालुवा सुनमा परिणत भएको थियो । पछि त्यसैको मदतले उनले जनतालाई ऋणबाट मुक्त गरे । जनताको ऋण मुक्त गर्ने प्रयास शंखधरको प्रयास आफैंमा अद्वितीय छ । यसैक्रममा नेपाल संवत् सुरु भयो ।

शंखधरबारे अर्को विश्वास पनि छ । त्यसअनुसार शंखधर व्यापारी थिए । उनले त्यसको मदतले राम्रै प्रगति पनि गरे । उनको प्रगति देखेर आफन्त र नजिककाले सहन सकेनन् । शंखधरले गलत काम गर्न थालेको प्रचार गरे । यसैक्रममा उनलाई राजाबाट सजायका भागीदार बनाइयो । तर, उनले केही खराबी गरेका थिएनन् । त्यसैले सम्पत्ति फिर्ता पाए । त्यही सम्पत्ति उनले जनताको ऋण मोचनमा लगाए अनि नेपाल संवत् सुरु भयो ।

म्ह पूजा
लक्ष्मी पूजाको भोलिपल्ट नयाँ वर्ष सुरु हुन्छ । त्यस दिन नेवार समुदायमा ‘म्ह पूजा’ गरिन्छ । म्ह पूजा नेपाल भाषाको शब्दावली हो । यसको अर्थ हुन्छ, शरीर पूजा । संस्कृतिविद् वज्राचार्य भन्छन्, ‘नयाँ वर्षको पहिलो दिन आफ्नै शरीरलाई पूजा गर्ने परम्परा आफैंमा विशिष्ट र मौलिक रहेको मान्न सकिन्छ ।’ यसलाई विशेषतः काठमाडौं उपत्यकामा ठूलो उत्साह र भावनाले मनाउने गरिन्छ । म्ह पूजाको दिन बिहान सबेरै उठेर नुहाउने चलन छ ।

यस बेला सकेसम्म सुकिलो र नयाँ लुगा लगाउने गरिन्छ । सुरुमा म्ह पूजा गर्ने स्थान निश्चित गरिन्छ । त्यसलाई सफा राखिन्छ । म्ह पूजाका क्रममा प्रयोग हुने सामग्रीहरू पनि सफा गरिन्छ । परिवारमा सदस्यको संख्या जति छ, त्यसैअनुसार पूजाका सामान र त्यसमा प्रयोग हुने अरू सामग्री व्यवस्था गर्नुपर्छ । परिवारको कोही सदस्य बिरामी छ अथवा घर बाहिर विदेशमा छ भने पनि उसको प्रतिनिधित्व गर्दै मण्डल बनाउने गरिन्छ ।

‘यो म्ह पूजाको एउटा विशिष्ट पक्ष हो,’ वज्राचार्यले थपे । सगुनका लागि विशेष खाले पूजा थालीका रूपमा कोतःलाई प्रयोग गरिन्छ । फूलमा सयपत्री, भीमसेनपाती, मखमली र गोदावरी चाहिन्छ । पूजामा सिन्दूर, अक्षता, नैवेद्य, इता (सानो बत्ती), जजंका पनि प्रयोगमा ल्याइन्छ । सगुनमा हाँसको फुल मात्र प्रयोग हुन्छ । यस्तै सिंगो माछा चाहिन्छ । भोजमा भने यस्तै हुनुपर्छ भन्ने हुन्न । सूर्योदय हुनुपूर्व अथवा अस्त हुने पश्चिम दिशातिर फर्केर म्ह पूजा गरिन्छ ।

म्ह पूजा गर्ने परिवारका जति सदस्य छन्, ती सबैको अगाडि जलमण्डल बनाइन्छ । त्यही जलमण्डलको बीचमा पाँच वटा तेलको चक्का बनाइन्छन् । यसलाई चिकंमन्द (तेलमण्डल) भनिन्छ । नजिक बस्नेले त्यसमा पनि पूजा गर्ने गर्छन् । पूजाका क्रममा पुरुषले टोपी लगाउँछन् । महिलाले दायाँ हात बाहिर निकालेर पछ्यौरा ओढ्ने गर्छन् । यो आफ्नो शरीरको तान्त्रिक विधिबाट पूजा गर्ने र वर्षभरि चोट नलाग्ने, बिरामी नहुने, सुख–शान्ति प्राप्त हुने कामना गर्ने अवसर हो ।

प्रकाशित : कार्तिक ८, २०७६ १२:३८
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT