सुनचाँदी भित्र्याउने साइत

राजु चौधरी

भारतीय प्रभावकै रूपमा नेपालमा भित्रिएको धनतेरस यहाँका गहना व्यवसायीका लागि उत्साहमय बन्दै छ  । करिब एक दशकदेखि चर्चामा रहेको धनतेरसमा मुख्यतः चाँदी र सुनको कारोबार हुन्छ  ।

सुनचाँदी भित्र्याउने साइत

धनतेरसमा गहना भित्र्याउँदा लक्ष्मीको बास हुने, शुभ साइत हुने विश्वासमा खरिदबिक्री बढ्ने हुनाले यस दिन गहना व्यवसायीका लगि दसैं बन्ने गरेको छ ।
सुनचाँदी व्यवसायी महासंघका अनुसार लक्ष्मीपूजाको दुई दिनअघि मनाइने धनतेरसमा सबैभन्दा बढी कारोबार हुने गर्छ । ‘धनतेरस मुख्यतः भारतमा मनाइन्छ । आधुनिकीकरणसँगै यसको प्रभाव नेपालमा पनि परेको छ,’ महासंघका निवर्तमान अध्यक्ष मणिरत्न शाक्यले भने, ‘यही दिन सुनचाँदीको कारोबार बढ्छ ।’
शाक्यका अनुसार दुई–तीन महिनायता सुनको भाउ प्रतितोला ७० हजार माथि छ । मूल्य बढेकै कारण तीज र दसैं खल्लो भएको महासंघको दाबी छ । धनतेरसमा भने केही बढ्ने अपेक्षा रहेको शाक्यले बताए । ‘धनतेरस र लक्ष्मीपूजा गर्नका लागि क्षमताअनुसार ग्राहकले सुनचाँदी खरिद गर्ने प्रचलन रहेकाले कारोबार बढ्ने विश्वास लिएका छौं,’ उनले भने । सुन र चाँदी लक्ष्मीको पूजामा प्रयोग गरिन्छ । सुनचाँदी भित्र्याउँदा शुभ साइत हुने मान्यता छ । धनतेरसका दिन प्रायः उपभोक्ताले आफ्नो क्षमताअनुसार सुनको सिक्का, औंठी, बाला किन्ने गर्छन् । महासंघका अनुसार त्यस बेला अर्डर गर्नेभन्दा रेडिमेड गहना किन्ने बढी हुन्छन् । चाँदीको बिक्री पनि उल्लेख्य रूपमा बढ्छ । व्यवसायीका अनुसार ग्राहकले सिक्का, पूजाको भाँडा, थाली, पञ्चपात्रो, अग्र, कलशलगायत खरिद गर्ने गरेका छन् ।
‘भाउ बढेकै कारण बजार सुस्त थियो,’ गोल्ड स्पोर्टका सञ्चालक निर्मल ज्योति तुलाधारले भने, ‘एक सातायता पुनः चहलपहल बढेको छ ।’ धनतेरसमा सुनभन्दा चाँदीको बिक्री बढी हुने उनले बताए । उनका अनुसार चाँदीमा मुख्यतः ५ देखि १०० ग्रामको सिक्का बढी बिक्री हुने गरेको छ । ‘करिब ५ महिना बजार सुस्त थियो,’ उनले भने, ‘अहिले पिकअप लिएको छ । धनतेरसमा अन्य दिनको तुलनामा करिब ५ सय प्रतिशत बढ्ने अपेक्षा गरेका छौं ।’
व्यवसायीका अनुसार बहुराष्ट्रिय कम्पनीका रूपमा भारतीय गहना व्यवसायी नेपाल भित्रिएका छन् । जसले गर्दा पनि धनतेरसले थप व्यापकता पाएको छ । व्यवसायीहरूले पनि सोहीअनुसार सुन तथा चाँदीका मूर्ति अंकित सिक्का, विभिन्न डिजाइनको गहना बनाएका छन् । ‘धनतेरसमा मुख्यत चाँदीको १०, २०, ३० देखि १ सय ग्रामको सिक्का बिक्री हुने गरेको छ । सुनको हकमा आधा र एक तोलाको बिक्री बढेको छ,’ जेजे ज्वेलर्सका सञ्चालक पवनकुमार समानीले भने, ‘अन्य दिनमा व्यापार सुस्त भए पनि अहिले चहलपहल बढ्दो छ ।’
उनका अनुसार पसलअनुसार दैनिक ३० देखि ६० लाख रुपैयाँको सुनचाँदी बिक्री भएको छ । सुनको मूल्यमा भएको वृद्धिले भने व्यवसायमा केही असर परेको उनले बताए । ‘विगतमा दुई–तीन दिन अगाडि नै बुकिङ हुन्थ्यो, अहिले मूल्य बढेकाले बुकिङ भएको छैन,’ उनले भने । महासंघका अनुसार क्षमता हुने ग्राहकले असर्फी किन्ने गर्छन् । निम्न वर्गकाले भने धातु खरिद गरेर पूजा गर्ने चलन छ । उनीहरूले चाँदीका सिक्का पनि खरिद गर्छन् । निवर्तमान अध्यक्ष शाक्यका अनुसार सामान्य दिनमा मुलुकभर करिब ८ सय किलो चाँदी बिक्री हुन्छ । धनतेरसको संघारमा दैनिक २ हजार किलोसम्म बिक्री हुने गरेको छ । व्यवसायीहरूले आवश्यकताअनुसार एलसी (प्रतीतपत्र) खोलेर चाँदी आयात गर्न सक्छन् । जसले गर्दा तिहारमा चाँदीको अभाव हुँदैन । सुनको हकमा भने राष्ट्र बैंकले कोटा निर्धारण गरेको छ । अहिले दैनिक २० किलो आयात गर्न सक्ने व्यवस्था छ । वाणिज्य बैंकले सुन मुख्यतः दुबई, हङकङ, स्विटजरल्यान्डबाट आयात गर्छन् । आयातित सुन सुनचाँदी व्यवसायी महासंघ, रत्न तथा आभूषण व्यवसायी महासंघको सिफारिसमा बिक्री वितरण गरिन्छ । दसैं–तिहारसँगै माघ, फागुन, मंसिर पनि सिजनका महिना मानिन्छ । तर, मूल्य बढेकै कारण सुनको बजार सुस्त रहेको व्यवसायीहरूको भनाइ छ । ‘गत वर्ष तिहारमा करिब ३० किलो सुन बिक्री भएको थियो,’ शाक्यले भने, ‘अहिले २० किलोमा सीमित छ ।
सामान्य दिनमा बिक्री नै हुँदैन ।’ महासंघका अनुसार सुन बिक्री नभएपछि तीज अगाडि करिब ७ सय किलो सुन बैंकमा मौज्दात थियो । अहिले करिब २ सय किलो मौज्दात रहेको शाक्यले बताए । चाँदीको हकमा भने बजार राम्रो रहेको उनले बताए । महासंघका अध्यक्ष मोहन सुनारले पनि सुनभन्दा चाँदीको बिक्री बढी हुने गरेको बताए । ‘उच्च मूल्यमा सोचेजस्तो सुनमा चहल पहल भइसकेको छैन,’ उनले भने, ‘चाँदीको हकमा व्यापार राम्रो छ । विभिन्न डिजाइनका मूर्ति बिक्री भइरहेका छन् ।’ एक–दुई दिनमा भाउ ओरालो लागे सुनको बिक्री पनि बढ्ने व्यवसायीहरूको अपेक्षा छ ।

प्रकाशित : कार्तिक ८, २०७६ १२:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?