२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९८

ग्याजेट्स किन्ने बेला

विजय तिमल्सिना
कान्तिपुर संवाददाता

हुन त तिहार र ग्याजेट्सबीच कुनै साइनो छैन  । तिहारका बेला झिलिमिली बत्ती र भाइमसलाको बिक्री बढ्नुपर्ने हो  ।

ग्याजेट्स किन्ने बेला

तिहारसँग कुनै साइनो नभए पनि यो बेला ग्याजेट्सको बिक्री एकदमै बढ्ने गरेको व्यवसायीहरू बताउँछन् ।
दसैं सुरु भएपछि र तिहार नसकिउन्जेलसम्म ग्याजेट्स र विशेषगरी स्मार्टफोनको बिक्री बढ्ने गरेको व्यवसायीहरू बताउँछन् । ‘दसैं सुरु भएपछि बिक्री झन्डै दोब्बर हुन्छ,’ न्युरोडस्थित ताम्राकार कम्प्लेक्समा मोबाइल बिक्री र मर्मत गर्ने केन्द्रका सञ्चालक रघुनाथ लामिछानेले भने, ‘दसैंदेखि बढ्न थालेको व्यापार अहिले पनि उस्तै छ ।’ तिहारमा कपडाको साथै दाजुभाइ तथा दिदीबहिनीलाई स्मार्टफोन दिने प्रचलन पनि बढेको उनको अनुभव छ । ‘मेरो पसलमा आउने धेरैजनाले दिदीबहिनीलाई दिन कुन मोबाइल ठीक हुन्छ भनेर पनि सोध्छन्,’ उनले भने, ‘दसैंका बेला आफ्नो लागि र तिहारका बेला दाजुभाइले दिदीबहिनीका लागि वा दिदीबहिनीले दाजुभाइका लागि मोबाइल किनिदिने गरेको देखेको छु ।’
यस्तो बेला २० हजारदेखि ४० हजारसम्म मूल्य पर्ने स्मार्टफोनको बिक्री बढ्ने गरेको उनले सुनाए । ‘अहिले बिक्री हुने मोबाइलको ९० प्रतिशत हिस्सा यही मूल्यका स्मार्टफोनको हुन्छ,’ उनले भने । अहिले नेपाली बजारमा उपलब्ध ८० प्रतिशत स्मार्टफोन पनि यही मूल्यका छन् । ‘यो मूल्यका स्मार्टफोनमा महँगो स्मार्टफोनमा पाइने सबै फिचर हुन्छन्,’ लामिछानेले भने, ‘मानिसहरू विशेषगरी क्यामेरा, स्क्रिन साइज र र्‍याममा ध्यान दिएर स्मार्टफोन किन्छन् ।’
नेपाली बजारमा चल्तीमा रहेका सामसङ, हुवावे, ओप्पो, साओमीजस्ता ब्रान्डले पनि मध्यम मूल्यका बढी फोन भित्र्याएका छन् । सामसङका एम सिरिज र ए सिरिजमा एक दर्जन मोडल यही मूल्यका छन् । हुवावे र ओप्पोका धेरै स्मार्टफोन मोडल यही मूल्यमा आउँछन् । अर्को चिनियाँ ब्रान्ड साओमीले नेपालमा बिक्री गर्ने अधिकांश स्मार्टफोन ३० हजारभन्दा कम मूल्य पर्ने छन् ।
लामिछानेका अनुसार यो मूल्यका स्मार्टफोनमा पनि अहिले फोटो र भिडियोका लागि राम्रा विकल्प छन् भने धेरै एप प्रयोग गर्दा पनि केही समस्या पर्दैन । ‘ब्याट्री कति टिक्छ भनेर पनि सोध्छन्,’ उनले भने, ‘सामान्यतया स्मार्टफोनका ब्याट्रीहरू एक दिन चल्छन् ।’ स्मार्टफोनमा इन्टरनेट प्रयोग नगर्ने प्रयोगकर्ताको ब्याट्री बढी टिके पनि इन्टरनेट प्रयोग गर्दा भने बिहानदेखि बेलुकासम्म ब्याट्री टिक्ने उनी बताउँछन् ।
तिहारका बेला स्पिकरको बिक्री पनि बढ्ने उनी बताउँछन् । लामिछानेका अनुसार तिहारको समयमा ठूलो आवाज निकाल्न सक्ने र वायरलेस स्पिकरको बिक्री बढेको छ । ‘कोठामा प्रयोग गर्न मिल्ने र बाहिर समूहमा जाँदा बजाउन मिल्ने स्पिकरको माग पनि बढ्दो छ,’ उनले भने, ‘देउसी–भैलो खेल्न काम लाग्ने भएर पनि होला ।’
हुवावे नेपालकी मार्केटिङ म्यानेजर प्रनिसा श्रेष्ठका अनुसार दसैंदेखि मोबाइलको माग २० प्रतिशतले बढेको छ । ‘पछिल्ला केही वर्षको तुलना गर्दा नेपालमा मोबाइल बिक्री केही घटेको छ,’ उनले भनिन्, ‘तर, चाडपर्वका बेला माग २० प्रतिशत जति बढ्छ ।’ उनले पनि मध्यम मूल्य पर्ने खालका स्मार्टफोनको बिक्री बढी हुने गरेको बताइन् ।


स्मार्टफोन किन्दा ध्यान दिनुपर्ने पक्ष
प्रयोजन : आफूले कुन प्रयोजनका लागि स्मार्टफोन किन्ने हो, विचार गरियो भने सोही कामका लागि उपयुक्त छनोट गर्न सकिन्छ । कसैलाई स्मार्टफोनमा बढी गेम खेल्न मन लाग्छ भने त्यस्तै खालको र्‍याम र प्रोसेसर भएका स्मार्टफोन छनोट गर्नु उपयुक्त हुन्छ । बढी फोटो र भिडियो खिच्ने हो भने क्यामेरामा केन्द्रित भएका स्मार्टफोन किन्दा ठीक हुन्छ ।
स्क्रिन साइज : अहिले चल्तीका स्मार्टफोनका स्क्रिन साइज ५ देखि ६.५ इन्चसम्मका विकल्प छन् । ठूला स्क्रिन साइज भएका स्मार्टफोन आकर्षक देखिए पनि बोकेर हिँड्न समस्या हुन्छ भने ब्याट्रीसमेत कम टिक्ने हुन्छ । यसैले आफूलाई बोकेर हिँड्न र चलाउन सहज हुने आकारको स्मार्टफोन किन्नुपर्छ ।
र्‍याम र प्रोसेसर : स्मार्टफोनका गति छिटो राख्न र प्रयोगकर्ताले चाहेअनुसार काम गर्न र्‍याम र प्रोसेसरको भूमिका अहम् हुन्छ । अहिले २० देखि ४० हजार मूल्यका स्मार्टफोनमा ४ देखि ८ जीबीसम्मका र्‍याम र विभिन्न क्षमताका प्रोसेसर प्रयोग गरिएका छन् । आफूले जुन कामका लागि स्मार्टफोन किनेको हो, त्यसका लागि कति क्षमताको र्‍याम र प्रोसेसर भए समस्या पर्दैन भन्ने ख्याल गर्नुपर्छ ।
ब्याट्री : स्मार्टफोनको ब्याट्री सबैको चासोको विषय हो । जुनसुकै स्मार्टफोनले पनि अहिले ब्याट्री एक दिन टिक्ने दाबी गर्छन् । केही स्मार्टफोन भने ब्याट्री केन्द्रित गरी बनाइएका हुन्छन्, जुन प्रयोगकर्ताले एक पटक चार्ज गरेपछि दुर्ई दिनसम्म चलाउन मिल्ने हुन्छन् । बढी ब्याट्री टिक्ने स्मार्टफोन चाहिन्छ भने सोहीअनुसारका मोडल छनोट गर्नुपर्छ । साथै, फास्ट चार्जिङ सुविधा भए नभएको पनि ख्याल गर्नुपर्छ ।
मूल्य : स्मार्टफोन किन्दा सबैभन्दा बढी ध्यान मूल्यमै दिइन्छ । सबै फिचर राम्रो भएको स्मार्टफोन किन्न खोज्दा प्रयोगकर्ताले बढी मूल्य तिर्नुपर्ने हुन सक्छ तर आफूलाई कुन प्रयोजनका लागि र कस्तो चाहिएको हो भन्ने निर्क्योल गर्न सके उक्त कामका लागि राम्रो भनिएको स्मार्टफोन सही मूल्यमा प्राप्त गर्न सकिन्छ ।

प्रकाशित : कार्तिक ८, २०७६ १२:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?