३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७९५

माटोसँग चार दशक

मनोज पौडेल

कपिलवस्तु — कपिलवस्तु नगरपालिका–२, रमतलहाका भोला कोहार माटोसँग खेल्न थालेको चार दशकभन्दा बढी भयो । ५८ वर्षीय उनी चाडपर्वमा माटाका कला सिर्जनामा व्यस्त हुन्छन् । दुई महिना उनलाई कुरा गर्ने फुर्सद हुँदैन । उनी राम्रो भाँडाकुँडा बनाउँछन् ।

माटोसँग चार दशक

१५ वर्षको उमेरबाटै माटोकै भाँडाकुँडा बनाउँदै आएका हुन् । तर, उनको व्यापार अहिले खस्किने क्रममा छ । बिक्री नभएपछि छाक टार्ने समस्या हुन थालेको छ । माटाका भाँडाकुँडा बनाउने कोहार समुदायको पेसा नै संकटमा परेको छ ।


‘चार्डपर्वका बेला भ्याइनभ्याई हुन्थ्यो,’ उनले भने, ‘तर, अचेल व्यापार छैन ।’ माटोका भाँडाको राम्रो व्यापार व्यवसाय नहुँदा घर खर्च टार्न पनि गाह्रो हुन थालेको उनले दुःखेसो गरे । ‘सात जनाको परिवार जेनतेन पालेको छु,’ उनले भने, ‘अब यही पेसामा टिकिराख्न गाह्रो छ ।’ चार वर्षअघिसम्म दसैं–तिहारका बेला माटाका भाँडाकुँडा बिक्री गरेबापत् ४० देखि ५० हजार रुपैयाँ कमाइ हुन्थ्यो । यस वर्ष अहिलेसम्म मुस्किलले नौ हजार रुपैयाँको पनि व्यापार नभएको उनले बताए । उनी माटोबाट दियो, खुत्रुके, चुल्हो, गमला, हाँडी, गिलास र गाग्रीजस्ता गजबको सिर्जना गर्छन् ।


महुवाका रामकिशोर कोहारलाई उस्तै पिरलो छ । ‘माटाका भाँडाकुँडा बनाउँदै छु,’ उनले भने, ‘माटोको राम्रो व्यापार व्यवसाय नहुँदा घर खर्च टार्न पनि गाह्रो हुन थालेको छ ।’ प्रविधि विकासले विद्युतीय, प्लास्टिक र अन्य कृत्रिम सामग्री प्रयोग बढेको छ । ‘राम्रो चिटिक्क देखिन्छ,’ तौलिहवाका अनिल कोहारले भने, ‘पसलै पिच्छे पाइन्छ ।’ पेसा चौपट पारेको छ । तर सामग्री प्रयोग गर्दा हुने वातावरणीय नोक्सानीतिर कसैले ध्यान दिँदैनन् ।


‘अब माटोका भाँडाकुँडा बिक्री गरी बाँच्न सकिन्न,’ उनले भने, ‘लालाबाला कसरी पढाउने !’ तीन दशकदेखि उनले भाँडाकुँडा बेचेर घर गर्जो चलाउँदै आएका छन् । विशेष गरी दसैं र तिहारका बेला माटोका भाँडाकुँडाको माग बढ्छ । गाउँसहरका प्रत्येक घरमा पहिले दसैंतिहारमा माटोको दियोमा बत्ती बालिन्थ्यो । तर, अचेल माटोको दियो बाल्ने घर कम भइसके । त्यस्तै दसैं तिहारका बेला बालबालिका माटाका भाँडाकुँडामा खेल्दै रमाउँथे ।


‘दुई–तीन साता यहाँका माटोका बजार बालबालिकाले नै भरिन्थ्यो,’ स्थानीय रामदेव कोहरले भने, ‘अहिले प्लास्टिकका भाँडाकुँडाले बजार पाउँदा बालबालिका बजारै आउन छाडे ।’ चाडपर्व आइसक्दा पनि बत्ती बाल्न प्रयोग गरिने दियो, खुत्रुके, चुल्हो, गमला, हाँडी, गिलास र गाग्रीलगायत सामग्रीको माग छैनन् ।


चार वर्षअघिसम्म माटोको दियो बेचेर ६ जनाको परिवार चलाउँदै आएका महुवा गाउँका पुन्नवासी कोहारले अब यो पेसाले चुलोचौको थेग्न नसक्ने बताए । ‘प्लास्टिकको झिलीमिली बत्ती, मैनबत्तीको प्रचलन गाँउसम्म पुग्यो,’ उनले भने, ‘माटोका भाँडाकुँडा दियो बिक्नै छोड्यो ।’ पाँच वर्षअघिसम्म दसैं र तिहारका बेला माटोका भाँडाकुँडा बेचेर ३५/४० हजार कमाउने गरेको कपिलवस्तु नगरपालिका–३, कुदानका चिनकु कोहारले बताए । तर यस वर्ष १० हजारको पनि व्यापार गर्न गह्रो भएको उनले बताए ।


‘प्रदूषण नहुँदा स्वास्थ्यका हिसाबले पनि माटोका भाँडाकुँडा राम्रो हो,’ उनले भने, ‘तर, जान्दाजान्दै पनि उपभोक्ता प्लास्टिकका सामानतर्फ नै आकर्षित हुन्छन् ।’ पुर्ख्यौली पेसाले जीवन धान्न धौधौ परेपछि कोहार जातिको पेसा संकटमा परेको छ । पेसा संकटमा परेपछि पुर्ख्यौली पेसा बुढापाकाले सम्हालेको सेमरीका नारद कोहारले बताए । युवाले भने वैदेशिक रोजगारी र अन्य वैकल्पिक पेसा रोज्न थालेको उनले सुनाए ।


तराईमा माटोका भाँडाकुँडा बनाउने कोहार जाति हुन । राष्ट्रिय जनगणना, २०६८ अनुसार यहाँ करिब ३ सय घरपरिवार कोहार जातिका छन् ।


प्रकाशित : आश्विन १७, २०७६ ०९:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?