जाँगरिली ७४ वर्षीया सुशीला

सुशीला शर्मा गएको आठ वर्षदेखि वित्तीय व्यवस्थापनको योजना बनाएर निरन्तर सहकारी हाँक्दै आएकी छन्
रूपा गहतराज

नेपालगन्ज — सरकारी सेवाबाट अवकाश पाएकी छन् । नपुग्दो केही छैन । उनकै उमेरका धेरै धर्मकर्ममा व्यस्त छन् । कोही नातिनातिनासँग रमाउँदै छन् । ७४ वर्षीया सुशीला शर्मा पनि आरामसँग ‘बुढेसकाल’ बिताउन सक्थिन् । उनको दिनचर्या हेर्दा उनलाई बुढेसकालले फिटिक्कै छोएको छैन । भेरी सहकारी वित्तीय संस्था लिमिटेडको कार्यकारी निर्देशकको जिम्मेवारी सम्हालिरहेकी छन् ।

जाँगरिली ७४ वर्षीया सुशीला

पढाइ पूरा गरेर शिक्षण पेसामा आबद्ध भइन् । ०२३ सालमा शिक्षण पेसा सुरु गरिन् । ०६४ मा सेवा निवृत्त भइन् । त्यसपछि परिवारका सदस्यले आराम गर्न सुझाए । उनले कसैको कुरा सुनिनन् । सहकारीकी सदस्य भइन् । केही समयपछि सबैले विश्वास गरेर कार्यकारी निर्देशकको जिम्मेवारी दिए । गएको आठ वर्षदेखि निरन्तर उनी वित्तीय व्यवस्थापनको योजना बनाएर सहकारी हाँक्दै छिन् । सहकारीमा ३ हजार ८ सयभन्दा बढी सेयर सदस्य छन् । २५ करोड रुपैयाँ निक्षेप छ । ३२ करोड रुपैयाँ कर्जा प्रवाह भएको छ ।


उनी सहकारी सञ्चालन गर्दै समाज पनि बुझ्दै छिन् । ‘कामले समाजलाई गहिराइबाट अध्ययन गर्न पनि सहयोग गर्छ,’ उनले भनिन्, ‘पेसामा जागिर मात्र हुन्छ तर काममा समाज हुन्छ ।’ बाहिरी समाज बुझ्न फेरि कामको सुरुवात गरेको उनले बताइन् । ‘काम नहुँदा पुस्तक पढेर बस्छु,’ उनले भनिन् ।


कार्यकक्षमा आउने सेवाग्राहीलाई सोधेको भन्दा बढ्ता कुरा बुझाएर पठाउँछिन् । उनी संस्थाबाट ऋण मात्र प्रवाह गर्दिनन्, त्यो पैसाको महत्त्व बुझाएर पनि पठाउँछिन् । धेरैले उनको कुरा बसेर गहिरिएर सुन्छन् । ‘मान्छे बूढो भए पनि मस्तिष्क बूढो हुँदैन,’ उनको तर्क छ, ‘तपाईं जति सिर्जनशील बन्नु हुन्छ, उत्तिकै रमाएर बाँच्न सक्नुहुन्छ ।’


रूपन्देहीको भैरहवामा उनी जन्मिएकी हुन् । उनका दाजुहरू बनारस गएर पढे । उनलाई भने त्यहीं परिवारमा पनि पढ्न समस्या झेल्नुपरेको थियो । छोरीलाई पढाउनु हुन्न भन्ने सामाजिक सोच उनको परिवारमा पनि थियो । कक्षा ८ सम्म पढेपछि १६ वर्षको उमेरमै बिहे भयो । पढाइ छुट्यो । बिहे भएपछि पनि पढ्ने दृढता लिइन् । विद्रोही स्वभावकी उनले बुबासँग पढाउने कि नपढाउने भन्ने जवाफ नै मागिन् । उनको हक्की स्वभावले बुबा, आमा र श्रीमान् उनको तर्कमा सहमत भए । श्रीमान् र माइती पक्षको समेत सहयोगमा बनारस गएर पढिन् । ‘समाजले त महिलालाई सजिलै अघि बढ्नै दिँदैन,’ उनले भनिन्, ‘तर त्यही भनेर हामी चुप लागेर बस्ने होइन, विद्रोही बनेर अघि बढ्ने हो । त्यसले अवश्य सफलता हात लाग्छ ।’


आफूलाई विश्वास गरेर काममा अघि बढ्न अन्य महिलालाई उनको सुझाव छ । आध्यात्मिक दर्शनमा झुकाव राख्ने सुशीला खानपानमा विशेष ध्यान दिन्छिन् । सादा भोजन गर्न रुचाउँछिन् । जहाँ पायो त्यहाँ खाँदिनन् । ‘स्वस्थ र तन्दुरुस्त रहन सकारात्मक सोच बनाउनुस्,’ उनले भनिन्, ‘खानपानमा विशेष ध्यान दिनुस् ।’

प्रकाशित : आश्विन १५, २०७६ १७:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?