जाँगरिली ७४ वर्षीया सुशीला

सुशीला शर्मा गएको आठ वर्षदेखि वित्तीय व्यवस्थापनको योजना बनाएर निरन्तर सहकारी हाँक्दै आएकी छन्
रूपा गहतराज

नेपालगन्ज — सरकारी सेवाबाट अवकाश पाएकी छन् । नपुग्दो केही छैन । उनकै उमेरका धेरै धर्मकर्ममा व्यस्त छन् । कोही नातिनातिनासँग रमाउँदै छन् । ७४ वर्षीया सुशीला शर्मा पनि आरामसँग ‘बुढेसकाल’ बिताउन सक्थिन् । उनको दिनचर्या हेर्दा उनलाई बुढेसकालले फिटिक्कै छोएको छैन । भेरी सहकारी वित्तीय संस्था लिमिटेडको कार्यकारी निर्देशकको जिम्मेवारी सम्हालिरहेकी छन् ।


पढाइ पूरा गरेर शिक्षण पेसामा आबद्ध भइन्। ०२३ सालमा शिक्षण पेसा सुरु गरिन्। ०६४ मा सेवा निवृत्त भइन्। त्यसपछि परिवारका सदस्यले आराम गर्न सुझाए। उनले कसैको कुरा सुनिनन्। सहकारीकी सदस्य भइन्। केही समयपछि सबैले विश्वास गरेर कार्यकारी निर्देशकको जिम्मेवारी दिए। गएको आठ वर्षदेखि निरन्तर उनी वित्तीय व्यवस्थापनको योजना बनाएर सहकारी हाँक्दै छिन्। सहकारीमा ३ हजार ८ सयभन्दा बढी सेयर सदस्य छन्। २५ करोड रुपैयाँ निक्षेप छ। ३२ करोड रुपैयाँ कर्जा प्रवाह भएको छ।

उनी सहकारी सञ्चालन गर्दै समाज पनि बुझ्दै छिन्। ‘कामले समाजलाई गहिराइबाट अध्ययन गर्न पनि सहयोग गर्छ,’ उनले भनिन्, ‘पेसामा जागिर मात्र हुन्छ तर काममा समाज हुन्छ।’ बाहिरी समाज बुझ्न फेरि कामको सुरुवात गरेको उनले बताइन्। ‘काम नहुँदा पुस्तक पढेर बस्छु,’ उनले भनिन्।

कार्यकक्षमा आउने सेवाग्राहीलाई सोधेको भन्दा बढ्ता कुरा बुझाएर पठाउँछिन्। उनी संस्थाबाट ऋण मात्र प्रवाह गर्दिनन्, त्यो पैसाको महत्त्व बुझाएर पनि पठाउँछिन्। धेरैले उनको कुरा बसेर गहिरिएर सुन्छन्। ‘मान्छे बूढो भए पनि मस्तिष्क बूढो हुँदैन,’ उनको तर्क छ, ‘तपाईं जति सिर्जनशील बन्नु हुन्छ, उत्तिकै रमाएर बाँच्न सक्नुहुन्छ।’

रूपन्देहीको भैरहवामा उनी जन्मिएकी हुन्। उनका दाजुहरू बनारस गएर पढे। उनलाई भने त्यहीं परिवारमा पनि पढ्न समस्या झेल्नुपरेको थियो। छोरीलाई पढाउनु हुन्न भन्ने सामाजिक सोच उनको परिवारमा पनि थियो। कक्षा ८ सम्म पढेपछि १६ वर्षको उमेरमै बिहे भयो। पढाइ छुट्यो। बिहे भएपछि पनि पढ्ने दृढता लिइन्। विद्रोही स्वभावकी उनले बुबासँग पढाउने कि नपढाउने भन्ने जवाफ नै मागिन्। उनको हक्की स्वभावले बुबा, आमा र श्रीमान् उनको तर्कमा सहमत भए। श्रीमान् र माइती पक्षको समेत सहयोगमा बनारस गएर पढिन्। ‘समाजले त महिलालाई सजिलै अघि बढ्नै दिँदैन,’ उनले भनिन्, ‘तर त्यही भनेर हामी चुप लागेर बस्ने होइन, विद्रोही बनेर अघि बढ्ने हो। त्यसले अवश्य सफलता हात लाग्छ।’

आफूलाई विश्वास गरेर काममा अघि बढ्न अन्य महिलालाई उनको सुझाव छ। आध्यात्मिक दर्शनमा झुकाव राख्ने सुशीला खानपानमा विशेष ध्यान दिन्छिन्। सादा भोजन गर्न रुचाउँछिन्। जहाँ पायो त्यहाँ खाँदिनन्। ‘स्वस्थ र तन्दुरुस्त रहन सकारात्मक सोच बनाउनुस्,’ उनले भनिन्, ‘खानपानमा विशेष ध्यान दिनुस्।’

प्रकाशित : आश्विन १५, २०७६ १७:३४
प्रतिक्रिया
पठाउनुहोस्

बाँके बगियामा रामलीला

रूपा गहतराज

(नेपालगन्ज) — सत्यमाथि विजयको प्रतीकका रूपमा मनाइने रामलीलाको रौनक नेपालगन्जमा सुरु भएको छ । रामलीलाको पूर्वसन्ध्यामा आइतबार रामलीला मैदानबाट शोभायात्रा निकालिएको छ । यहाँस्थित रामलीला मैदानमा घटस्थापनादेखि विजयादशमीको दिनसम्म राति ८ बजेदेखि १२ बजेसम्म रामलीला मञ्चन गरिन्छ ।

झण्डै डेढ सय वर्षदेखि एउटा अद्भुत कलाका रूपमा यो प्रस्तुत हुँदै आएको छ । दसैंभरि सहरमा यसको छुट्टै आकर्षण हुन्छ । आस्थाले जीवन पद्धतिलाई बाँधेर राखेको हुन्छ भन्ने विश्वासले नेपालगन्जको मौलिक इतिहास रामलीलालाई थामेको छ ।

नेपालगन्जले मुलुककै पहिलो नागरिक संस्थाका रूपमा ऐतिहासिक विरासत थामिरहेको छ । जीवन्त कला अर्थात् भगवान् श्रीरामको जीवनलीलालाई भारतको वृन्दावनबाट आएका २० जना भारतीय कलाकारले हरेक दिन
प्रस्तुत गर्नेछन् । यो क्रम विगत १ सय ५३ वर्षदेखि चलिआएको प्रामाणिक तथ्य रहेको रामलीला सञ्चालक समितिका कार्यवाहक अध्यक्ष सन्तोष कनोडियाले बताए ।

सन् १९२५ देखि नेपालगन्जको रामलीला मैदानमा मञ्चन हुँदै आएको यो कला नेपालीमाझ जति परिचित छ, त्यसभन्दा बढी भारतीयबीच लोकप्रिय छ । ‘भारतको उत्तरप्रदेशबाट लाखौं श्रद्धालु यस अवधिमा रामलीला दर्शनका लागि यहाँ आउने गर्छन्,’ कार्यवाहक अध्यक्ष कनोडियाले भने, ‘भारतीय युवामाझ लोकप्रिय भए पनि नेपाली युवामा आकर्षण बढाउन सकिरहेका छैनौं । तसर्थ, अहिले नेपालमा कसरी प्रचारप्रसार गर्ने भन्नेमा हामी केन्द्रित छौं ।’

उत्तरप्रदेशको बहराइच, श्रावस्ती, लखिमपुर, खिरीबाट समेत रामलीला हेर्न यहाँ आउनेहरूको घुइँचो लाग्छ । रावण बधका दिन सबैभन्दा बढी भीड लाग्छ । रामलीलाका लागि भारत वृन्दावनबाट निम्त्याइएका दुई दर्जन कलाकारको टोलीले राम र सीताको जीवनीमा आधारित विभिन्न कथालाई नाट्य रूपमा प्रस्तुत गर्ने गर्छन् । यो क्रम रावण बध नहुञ्जेलसम्म चल्छ ।

मुलुकभित्र यसका लागि कलाकार पाइँदैनन् । त्यसैले रामलीलाको मञ्चन यहाँ महँगो पर्ने गरेको सरोकारवालाले बताए ।

कलाकारको पारिश्रमिकदेखि खाने, बस्ने र मञ्च व्यवस्थापनका लागि खर्च हुने गर्छ । घटस्थापनादेखि सुरु रामायणमा आधारित रामलीला रामको राज्याभिषेक अर्थात् विजयादशीको रातिसम्म चल्छ । ‘महँगीसँगै हरेक वर्ष रामलीला मञ्चन खर्च पनि बढ्दै गएको छ,’ कार्यवाहक अध्यक्ष कनोडियाले भने, ‘यस वर्ष पनि १५ लाख रुपैयाँको हाराहारीमा खर्च हुने अनुमान गरिएको छ । अझ पनि दाताको पर्खाइमै छौं ।’

रामलीला सञ्चालक समितिका प्रचारमन्त्री विष्णुलाल कुमालले रामलीला पश्चिम नेपालकै सम्पदा भएको बताए । ‘रामलीला संस्कार र परम्पराको धरोहर हो,’ उनले भने, ‘यसको संरक्षण अहिलेको नयाँ पुस्ताका लागि पनि आवश्यक छ ।’

बाँके बगियाको खुला चौरलाई रामलीला मैदान नामकरण गरेर मञ्च निर्माण गरिएको छ । ‘रामलीला हाम्रो संस्कृति बनिसक्यो । भगवान् रामको आदर्श र मर्यादाको प्रचारका लागि पूर्वजले सुरुआत गरेका हुन्,’ प्रचारमन्त्री कुमालले भने, ‘रामले आफ्ना प्रजाका लागि गरेको त्याग, परिवारप्रतिको समर्पण र एउटा राजाले प्रजालाई गर्ने व्यवहारबारे कथा प्रस्तुत गरिन्छ ।’ पारिवारिक सम्बन्धमा आइरहेको विचलनका कारण र परिवारभित्र एकता, प्रेम र सद्भाव कायम गर्न रामलीलाले सकारात्मक सन्देश दिने उनले बताए ।

‘दसैंको अवसरमा मञ्चन गरिने रामलीलाले नयाँ पुस्तामा धार्मिक महत्त्वको स्मरण गराउँछ,’ स्थानीय बलराम हेमकारले भने, ‘प्रजा र राजाको मात्र होइन, परिवारमा पनि कस्तो सम्बन्ध हुनुपर्छ भन्ने यस लीलाले दर्शाएको छ ।’

प्रकाशित : आश्विन १३, २०७६ १०:१२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्