१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

इँटाको इतिहास

केही वर्षयता नेपाल नेपाल इँटामा आत्मनिर्भर छ । १ हजार २ सय ४६ वटा इँटा उद्योग छन् । एउटा इँटा उद्योगले वार्षिक ५० लाख देखि एक करोडवटा इँटा उत्पादन गर्छ ।
लीला श्रेष्ठ

इँटा कहिलेदेखि प्रयोगमा आउन थाल्यो  । कसले कसरी माटोको इँटा उत्पादन गर्न थाले  ।

इँटाको इतिहास

त्यसको यकिन जानकारी कतै छैन । इतिहासविद् पुरुषोत्तमलोचन श्रेष्ठ करिब दस हजार वर्षअघि सभ्यताको युगसँगै इँटा उत्पादन भएको बताउँछन् । भक्तपुर इँटा उद्योग व्यवसायी संघका अध्यक्ष नातीभाई हेम्बा पनि धेरै पहिलेदेखि इँटा प्रयोग भइरहेको बताउँछन् । ‘उपत्यकाकै प्राचीन सम्पदा चाँगुनारायण मन्दिरमा पाकेको इँटा प्रयोग भएको छ । यसबाट पनि धेरै अघिदेखि इँटा पोल्ने परम्परा रहेको बुझ्न सकिन्छ,’ उनले भने ।

ठाडो भट्टा हुँदै जिकज्याक प्रविधिसम्म आइपुग्दा धेरै गुणस्तरीय इँटा उत्पादन हुन थालेको हेम्बाले बताए । उनका अनुसार ठाडो भट्टा, चिम्नी, फिक्स हुँदै जिकज्याक (फोर्सड्राफ्ट) सम्म आइपुगेको छ । ‘चिम्नी हुँदासम्म कालो धूवाँ फाल्थ्यो । हाल जिकज्याक प्रविधिमा आईपुग्दा इँटा उद्योग ९० प्रतिशत सुध्रिसकेको छ,’ उनले भने । उनका अनुसार इँटाभट्टाबाट निस्किने धूवाँका कारण वायु प्रदूषण बढेको गुनासो बढेपछि २०६४ मा सरकारले चिम्नी निषेध गरेको हो त्यसपछि फिक्स भट्टा सुरु भयो । ‘फिक्स भट्टा आएपछि वायु प्रदूषण तुलनात्मक रूपमा घट्यो भने इँटाको गुणस्तर बढ्यो,’ हेम्बाले भने ।


२०७० पछि जिकज्याक प्रविधि अपनाएर इँटा उत्पादन हुन थालेको नेपाल इँटा उद्योग महासंघले जनाएको छ । जिकज्याक प्रविधि पहिलोपल्ट भक्तपुरका उद्योगीले प्रयोग गरेको उनको दाबी छ । ‘जिकज्याकमा सिंगलम्यान फिटिङ हुन्छ,’ हेम्बाले भने । चीनबाहेक अन्य मूलकको तुलनामा नेपालको इँटा उद्योग उत्कृष्ट रहेको उद्योगीहरू बताउँछन् । छिमेकी मुलुक पाकिस्तानमा भक्तपुरकै उद्योगीहरू गएर जिकज्याक प्रविधिको प्रशिक्षण दिएका छन् । ‘यहाँका उद्योगीहरू पाकिस्तानमा चिम्नी बनाउने, आगो लगाउने, इँटा पोल्ने प्रविधिको प्रशिक्षण दिएर आइसके,’ हेम्बाले भने । उनका अनुसार जिकज्याक प्रविधिमा कार्बन पूरै जल्छ, उद्योगबाट बाफ मात्र बाहिर उत्सर्जन हुन्छ, कालो धूवाँ आउँदैन । नेपाल इँटा उद्योग महासंघका अनुसार मुलुकमा १ हजार २ सय ४६ वटा इँटा उद्योग छन् । एउटा इँटा उद्योगले वार्षिक ५० लाखदेखि एक करोडवटा इँटा उत्पादन गर्छ । मौसमले भने उत्पादन प्रभावित हुने गरेको महासंघका महासचिव केपी अवाल बताउँछन् । ‘वर्षात्को समयमा इँटा उत्पादन गर्न सकिँदैन, पानी धेरै परेको वर्ष इँटा उत्पादन कम हुन्छ,’ उनले भने ।


पन्ध्र वर्षअघिसम्म सीमा क्षेत्रमा भारतीय इँटा आउँथ्यो । अहिले नेपाल इँटामा आत्मनिर्भर रहेको महासचिव अवालले बताए । असीमित आयु २०७२ वैशाखको भूकम्पका कारण निजी आवास, सम्पदालगायत संरचना भग्नावशेषमा परिणत भए । अधिकांश संरचनाका निर्माण सामग्री खेर गयो तर इँटा भने पुनः प्रयोगमा ल्याइयो । सिमेन्टबाट निर्मित ब्लकलगायतको निर्माण सामग्रीको निश्चित आयु हुन्छ । इँटाको आयु असिमित हुने उद्योगीहरू बताउँछन् । ‘इँटा उत्पादन गर्दा नै भट्टीमा राखेर १ हजार डिग्री तापक्रममा पकाउने गरिन्छ,’ भक्तपुर इँटा उद्योग व्यवसायी संघका अध्यक्ष हेम्बाले भने, ‘यसरी पकाएको इँटामा प्राकृतिक असर पर्दैन, घामपानीले कुनै प्रभाव गर्न सक्दैन ।’ उनका अनुसार पाकेको इँटा वातावरण मैत्री र स्वास्थ्यकर हुने व्यवसायीको भनाइ छ । अन्य निर्माण सामग्रीमा जस्तो इँटामा कुनै रसायन प्रयोग गरिँदैन ।


नेपाल इँटा उद्योग महासंघका महासचिव अवालका अनुसार केही वर्षअघि भारतको गुजरातमा विश्वभर उत्पादित इँटाको प्रदर्शन गरिएको थियो । उक्त कार्यक्रमले इँटाको विकल्प अन्य निर्माण सामग्री नभएको निष्कर्ष निकालेको थियो । ‘बजारमा पाइने विभिन्न किसिमका रुसी ब्लक, सिमेन्टबाट बनाइएका ब्लकको निश्चित आयु हुन्छ,’ उनले भने, ‘तर, इँटाको आयु असीमित पाइएको छ । इँटा हजारौं वर्षसम्म पुनः प्रयोग भएका प्रमाण छन् ।’


माग कम
उपत्यकाका तीनवटै जिल्लामा इँटा उत्पादन हुन्छ । जसमध्ये भक्तपुरमा सबैभन्दा धेरै इँटा उत्पादन गरिन्छ । अघिल्ला वर्षहरूको तुलनामा इँटाको माग कम भएको भक्तपुर इँटा व्यवसायी संघका अध्यक्ष हेम्बा बताउँछन् । ‘इँटाको माग तल/माथि भइरहन्छ,’ उनले भने, ‘केही वर्षयता उपत्यकाबाहिर इँटा उद्योग खोल्ने क्रम बढ्दो छ ।’ उपत्यकाबाहिर इँटा उत्पादन हुन थालेपछि यहाँको इँटाको माग कम भएको उनले बताए ।


प्रतिष्ठित उद्योगको गणनाबाहिर
सम्बन्धित निकायले इँटा उद्योगलाई प्रतिष्ठित उद्योगको गणनामा पार्न नखोजेको व्यवसायीको गुनासो छ । ‘मानव सभ्यतासँगै जोडिएको इँटा उद्योगलाई राज्य तवरबाट कहिल्यै सकरात्मक पाटोबाट हेरेको पाइन्न,’ इँटा व्यवसायी नवीन प्रजापतिले भने, ‘हजारौंलाई रोजगार दिने, वार्षिक अर्बौं इँटा उत्पादन गर्ने उद्योगलाई हेयको दृष्टिकोणले हेर्छन् ।’ महासंघका महासचिव अवालका अनुसार अन्य मुलुकमा इँटा उद्योगको प्रवर्द्धनका लागि सरकारले जग्गा उपलब्ध गराउने, सहुलियत ऋण, बाटो/बिजुलीको व्यवस्थापन, श्रमिक आपूर्ति गर्ने कार्य गर्छन् । ‘हाम्रो देशमा उद्योगीले ढुक्क भएर लगानी गर्ने वातावरण छैन,’ उनले भने, ‘व्यवसायीले खुलेर लगानी गर्ने, सुरक्षाको अनुभूति गर्न सक्ने र दिगो सञ्चालनको टुङ्गो छैन ।’ इँटा उद्योग सञ्चालनको लागि राज्यस्तरबाटै सुरक्षाको सहयोग हुन आवश्यक भएको व्यवसायीहरू बताउँछन् ।


कर बढी, सुविधा कम
विशेषतः उपत्यकाभित्रका इँटा उद्योग २० वर्षभन्दा पुराना छन् । ०७२ वैशाखको भूकम्पले अधिकांश उद्योगमा क्षति गर्‍यो । चिम्नी ढल्यो । व्यवसायीले नयाँ प्रविधि अपनाउँदै तिनै उद्योगलाई मर्मत तथा पुनर्निर्माण गरी सञ्चालनमा ल्याएका छन् । २०३२/३३ पछि उपत्यकाको जनसंख्या
ह्वात्तै बढ्यो । बस्ती सोहीअनुरूप वृद्धि हुँदै आयो । सरकारले बस्तीलाई ध्यानमा राखेर विभिन्न निर्देशिका ल्यायो । उद्योग खोल्ने वातावरण खुम्चिँदै गएको व्यवसायी बताउँछन् । संघीयता लागू भएपश्चात् स्थानीय तहहरूले उद्योगलाई जथाभावी कर लगाउने गर्न थालेका छन् । तर, सुविधा केही छैन । ‘हामीले उद्योगलाई व्यवस्थित गर्न धेरै प्रयास गर्दै आएका छौं, उद्योगमा ९० प्रतिशत सुधार आइसकेको छ,’ हेम्बाले भने, ‘व्यवसाय प्रवर्द्धनका लागि राज्यस्तरबाट केही पहल भएको छैन ।’


इँटा बनाउने माटोको अभावले उद्योग नै संकटमा पर्ने अवस्था आएको उनले बताए । इँटा उद्योगको संरक्षण तथा व्यवस्थापनका लागि राज्यले एउटा स्पष्ट नीति ल्याउनुपर्ने उनको भनाइ छ ।

प्रकाशित : भाद्र ३१, २०७६ १२:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?