१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६८

गुणस्तर र तौलमा ख्याल

बजार अनुगमनमा सिमेन्ट बोरामै ८ किलोसम्म कम पाइएको छ । कमसल डन्डी तथा स्टिल पनि भेटिएका छन् ।
राजु चौधरी

सिमेन्ट र डन्डी किन्दै हुनुहुन्छ ? किन्दै हुनुहुन्छ भने चनाखो हुनुहोला  । तौल र गुणस्तरमा ठगिने जोखिम छ  ।

गुणस्तर र तौलमा ख्याल

सिमेन्ट जोखेर मात्रै किन्नुपर्छ । फलामको डन्डी तथा स्टिल परीक्षण (बंग्याएर, त्यसपछि सिधा पारेर) गरेर किन्ने गर्नुपर्छ । कम तौलका सिमेन्ट र कम गुणस्तरको डन्डी बजारमा भेटिन थालेका छन् । यसको पुष्टि सरकारी नियामक निकाय उद्योग वाणिज्य तथा उपभोक्ता संरक्षण विभाग र नापतौल विभागले गरिसकेका छन् । सरकारी टोलीले हार्डवेयर सप्लायर्स र सिमेन्टको नमुना संकलन गरी परीक्षण गर्दा यस्तो फेला परेको हो ।


गुणस्तर तथा नापतौल विभागका महानिर्देशक विश्वबाबु पुडासैनीका अनुसार गत आर्थिक वर्षमा विभिन्न ब्रान्डका ५ २५ नमुना परीक्षण गरिएको थियो । त्यसक्रममा ७० भन्दा बढी नमुनामा गुणस्तर तोकिएअनुसार थिएन । ती उद्योगमा आईआर र एमजीओको मात्रा उच्च थियो । ‘गुणस्तरमा शंका गर्नुपर्ने स्थिति छ,’ महानिर्देशक पुडासैनीले भने, ‘सिमेन्ट खरिद गर्दा तौलनुपर्छ,
बोराको सिल राम्रोसँग परीक्षण गर्नुपर्छ ।’ सिमेन्ट गुणस्तर भए/नभएको प्रयोग गरेको एक–दुई सातामै उपभोक्ताले थाहा पाउन सक्छन् । सिमेन्ट गुणस्तर भए चम्किलो र बलियो हुन्छ । कम गुणस्तरको भए ढलानमा चिरा पर्नेलगायतका समस्या हुन्छन् ।


सरकारले ५० किलोको बोरामा ५ सय ग्राम (आधा किलो) सम्म घटबढलाई मान्यता दिएको छ । सिमेन्ट लोड/अनलोड हुँदा केही कम हुन सक्ने भएकाले ५ सय ग्रामसम्मको घटबढलाई मान्यता दिइएको हो । तर, प्रतिस्पर्धी बजारका कारण व्यवसायीहरूले मूल्य घटाएर तौल पनि कम दिएको निरीक्षणका क्रममा भेटिने गरेको छ । ‘अनुगमन गर्दा बोरामै ८ किलोसम्म कम पाइयो,’ उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमिल्सिनाले भने, ‘यो उपभोक्तामाथि ठगी हो ।’ उनका अनुसार कम तौल हुनुमा सिमेन्ट उद्योगीभन्दा डिलर/हार्डवेयरको बद्मासी हुन सक्छ । विभागका अनुसार अनुगमन गर्दा केही डिलरले सिमेन्टको खाली बोरा पनि मगाउने गरेको पाइएको छ । खाली बोरा मगाउनुको उद्देश्य ठगी नै रहेको सरोबारवालाहरू बताउँछन् । उनीहरूका अनुसार बोरा सिल भए पनि पाइप हालेर सिमेन्ट झिक्ने गरिन्छ । तसर्थ सिमेन्ट खरिद गर्दा तौलन उनीहरूको सुझाव छ । खानी विभागका उपमहानिर्देशक रामप्रसाद घिमिरे स्वदेशी उत्पादन मागभन्दा बढी हुन थालेकाले गुणस्तरमा ध्यान दिनुपर्ने बताउँछन् । विभागका अनुसार उत्पादन बढी भएपछि सिमेन्ट उद्योगीहरूले करिब २ सय रुपैयाँसमम मूल्य घटाएका छन् । तर, त्यसका नाममा मापदण्डभन्दा बढी बालुवा, ढुंगालगायतका कच्चा पदार्थ मिसाइएको छ ।


जानकारका अनुसार तीन खालका गुणस्तर भएका सिमेन्ट छन्– ओपीसी, पीपीसी र पीएससी । ओपीसी सिमेन्ट ठूलठूला पूर्वाधार निर्माण, घरको पिलर, बिमलगायत ढलानमा उत्तम मानिन्छ । पीपीसी घरायसी पूर्वाधार अर्थात् भवन निर्माण तथा प्लास्टर आदि कामका लागि उत्तम हुन्छ । पीएससी सामान्य प्लास्टर र मसिनो लगाउन प्रयोग गरिन्छ । पीपीसीभन्दा ओपीसी गुणस्तरीय हुन्छ । तर, उद्योगीहरूले पीपीसीलाई ओपीसी भनेर समेत बिक्री गरेको भेटिएको छ ।


गुणस्तरलाई मध्यनगर गरेर सरकारले नापतौल ऐन २०२५, नेपाल गुणस्तर (प्रमाण चिह्न) ऐन २०३७, नेपाल गुणस्तर (प्रमाण चिह्न) नियमावली २०४० पनि जारी गरेको छ । तर, ऐन नियमहरू पूर्ण रूपमा कार्यान्वयन भएको पाइँदैन । ‘अनुगमन गर्ने दायित्व गुणस्तर विभागसँगै आपूर्ति विभागको पनि हो । ऐन कानुन पनि प्रशस्त छन्,’ उपभोक्ता हित संरक्षण मञ्च नेपालका अध्यक्ष ज्योति बानियाँले भने, ‘गुणस्तरसम्बन्धी जारी भएका ऐन कानुन पालना नहुँदा सर्वसाधारण कमसल सामग्री प्रयोग गर्न बाध्य छन् ।’ व्यवसायीले कमसल वस्तु बिक्री गरेको शंका भए उपभोक्ताले स्थानीय प्रहरीमा उजुरी गर्नुपर्ने उनले बताए । ‘प्रहरीले ठगी तथा झुक्याएको कसुरमा आर्थिक जरिवनासँगै कैद पनि गर्न सक्छ,’ उनले भने । सिमेन्ट तथा डन्डी कमसल भए नभएको पत्ता लाउने उपाय गुगलमा पनि हेरेर पनि जान्न सकिने बानियाँले बताए ।


स्टिल तथा रडका हकमा पनि सोही नियम लागू हुने सरोकारवाला बताउँछन् । राम्रो डन्डी बनाउन बिलेटको प्रयोग गर्नुपर्छ । तर, नेपालमा १५ प्रतिशतसम्म स्क्र्याप प्रयोग भएको डन्डी उत्पादन हुन्छ । बिक्रेताहरूले एस बेन्डको समेत मूल्य जोडी उपभोक्तामाथि ठगी गरेका छन् । महानिर्देशक पुडासैनीले पनि डन्डी खरिद गर्दा बंग्याएर/सोझ्याएर मात्रै खरिद गर्नुपर्ने बताए । ‘कमसल डन्डी बंग्याउँदा केही समस्या देखिन्छ,’ उनले भने ।

प्रकाशित : भाद्र ३१, २०७६ १२:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?