कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

सिमेन्टमा आत्मनिर्भर

केही वर्षयता वार्षिक १ करोड ५० लाख टन सिमेन्ट र ८० लाख टन क्लिंकर उत्पादन हुँदै आएको छ
यज्ञ बञ्जाडे

घरेलु उत्पादन कम भएकै कारण विदेशबाट सिमेन्ट आयात गर्नुपर्ने अवस्था अब छैन  । मुलुकमा सञ्चालित सिमेन्ट उद्योगले यहाँको मागभन्दा धेरै उत्पादन गर्न थालेका छन्  ।

सिमेन्टमा आत्मनिर्भर

सिमेन्ट उत्पादक संघका अनुसार केही वर्षयता नेपालमा वार्षिक १५ मिलियन टन (१ करोड ५० लाख टन) सिमेन्ट उत्पादन हुँदै आएको छ । ‘नेपालमा मागभन्दा बढी सिमेन्ट उत्पादन गर्दै आएका छौं,’ संघका अध्यक्ष ध्रुव थापाले भने, ‘गत वर्ष करिब १५ मिलियन टन सिमेन्ट उत्पादन गर्दा माग १० मिलियन टनभन्दा कम थियो । सिमेन्टमा पूर्ण रूपमा आत्मनिर्भर हुनु हाम्रो लागि गौरव हो ।’ अध्यक्ष थापाले मागभन्दा बढी उत्पादन भएको बताइरहे पनि सिमेन्टको आयात घटेको छैन ।


निरन्तर चुलिँदो आयातका कारण वर्षौंदेखि मुलुकले ठूलो परिणाममा व्यापार घाटा बेहोरिरहेको छ । यस्तो अवस्थामा सिमेन्ट उत्पादन मुलुकलाई पुग्ने गरी हुन थालेको छ । यस्तो बेला यो क्षेत्रलाई थप बलियो, प्रतिस्पर्धी र गुणस्तरीय बनाउन सरकारी तहबाट विशेष पहल हुनुपर्ने संघको माग छ । पछिल्ला वर्षकै हाराहारीमा मात्र उत्पादन वृद्धि भए पनि आउँदा ३ वर्षमा नेपाली सिमेन्ट उद्योगको उत्पादन (क्षमता उपयोग) दोब्बर हुने संघका अध्यक्ष थापाले बताए । ‘सन् २०२२ सम्ममा नेपाली सिमेन्ट उद्योगको उत्पादन क्षमता मागको तुलनामा दोब्बरभन्दा बढी हुनेछ,’ उनले भने । सिमेन्टसँगै क्लिङ्कर उत्पादनमा पनि नेपाल आत्मनिर्भर बन्दै गएको संघले दाबी गरेको छ । संघका अनुसार हाल नेपाली सिमेन्ट उद्योगहरूले वार्षिक ८ मिलियन टन (करिब ८० लाख टन) क्लिङ्कर उत्पादन गर्दै आएका छन् । यो उत्पादन नेपालको मागबराबर हो । यसअघि अधिकांश क्लिङ्कर भारतबाट आयात गरिन्थ्यो । ‘क्लिङ्कर पनि आयात गर्नु नपर्ने अवस्था बनेको छ,’ अध्यक्ष थापाले भने, ‘सरकारले नीति तथा कार्यक्रम ल्याउँदा सिमेन्टलाई निर्यातमुलक वस्तुमा राखेको छ । यसको प्रवर्द्धनका लागि भने अपेक्षाअनुसार नीति आएन ।’


आगामी दिनमा सिमेन्टको बजार अत्यन्तै चुनौतीपूर्ण रहेको उत्पादकहरू बताउँछन् । ‘अहिले हामीसँग ५ मिलियन टन सिमेन्ट मागभन्दा बढी छ, यो बढ्दो छ,’ अध्यक्ष थापाले भने, ‘यसलाई व्यवस्थापन गर्न आन्तरिक खपत एकदमै बढाउनुपर्ने छ ।’
पछिल्ला वर्षमा करिब १० प्रतिशतले माग बढेको देखिन्छ । ‘यसलाई १५ प्रतिशतसम्म पुर्‍याउन सकिन्छ । गुणस्तर, सामाजिक, वातावरणीय सबै हिसाबले हामी निर्यात गर्न सक्ने अवस्थामा छौं । पहिलो तहमा भारतीय सीमा क्षेत्र, दोस्रो तहमा बंगलादेश निर्यात गर्न सकिन्छ,’ उनले भने, ‘चीनको सीमा क्षेत्रमा पनि निर्यात गर्न सकिन्छ ।’संघका अनुसार हाल नेपालभर ६१ वटा सिमेन्ट उद्योग छन् । तीमध्ये २१ वटा उद्योगले सिमेन्टसँगै क्लिंकर पनि उत्पादन गर्दै आएका छन् । बाँकीले भने सिमेन्ट मात्र उत्पादन गर्छन् । तीनवटा उद्योग सञ्चालनमा आउने तयारीमा छन् ।


घरेलु बजारमा सिमेन्ट उत्पादन बढ्दै गए पनि नागरिकको प्रतिव्यक्ति उपभोग नबढेको उद्योगी–व्यवसायी बताउँछन् । नेपालमा उत्पादन भएको सिमेन्टको खपत बढाउन नागरिकको उपभोग क्षमता बढाउनुपर्ने उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष पशुपति मुरारकाले बताए । ‘सिमेन्ट उद्योगको क्षमता बढ्दै गएको छ, नेपालीको उपभोग क्षमता मासिक ३ सय केजी छ,’ उनले भने, ‘उपभोग क्षमता विश्वको ५ सय केजी छ ।’ सिमेन्ट उपभोग क्षमता चीनमा सबैभन्दा बढी रहेको मुरारकाले बताए । ‘चीनको उपभोग क्षमता १ हजार ५ सय केजी छ,’ उनले भने, ‘नेपालमा सिमेन्टको खपत क्षमता बढाउनुपर्ने बेला भएको छ ।’


सरकारले सिमेन्टलाई निकासीजन्य वस्तुको सूचीमा राखे पनि सोअनुसारको सुविधा नदिएको उनले गुनासो गरे । ‘भाषण गरेर मात्र हुँदैन, गुणस्तरिय उत्पादन वृद्धिका लागि प्रोत्साहन गर्न सक्नुपर्छ,’ उनले भने, ‘अहिले भारतसँग प्रतिस्पर्धा गर्न धेरै गाह्रो छ ।’
सिमेन्टको गुणस्तर कमजोर नभएको संघले दाबी गरेको छ । ‘नेपाली सिमेन्टको जस्तो मापदण्ड संसारमै कहीँ छैन,’ सर्वोत्तम सिमेन्टका अध्यक्ष विष्णुप्रसाद न्यौपानेले भने, ‘यो कुरा हामीले पटक–पटक भन्दै आएका छौं ।’ उनले नेपाली सिमेन्टको प्रतिस्पर्धा भारतसँगै बढी रहेको बताए । ‘विदेशीहरू नेपालको हावापानी नै बेग्लै छ भन्छन् । नेपालमा इन्जिनियरिङको किताब, कच्चा पदार्थ सबै भारतबाट आउँछन् । यसकारण पनि मोटामोटी सबै भारतसँग मिल्छ,’ उनले भने ।


नेपाली सिमेन्टको गुणस्तर मापदण्ड ४० वर्ष पहिलेको छ । मापदण्ड परिवर्तन गर्नपर्छ भनेर ०७२ सालबाट विभिन्न संघसंस्था मार्फत पटक–पटक आग्रह गरेको न्यौपानेले बताए । ‘नेपाली सिमेन्टको गुणस्तर मापदण्ड परिमार्जन गर्न जरुरी छ,’ उनले भने । उद्योगी–व्यवसायीले सिमेन्ट उद्योगको क्षमता बढेको बताए पनि राष्ट्र बैंकको तथ्यांकमा त्यस्तो देखिँदैन । राष्ट्र बैंकको आर्थिक गतिविधि अध्ययनले गत आर्थिक वर्षमा सिमेन्ट उद्योगको क्षमता उपयोग ६२.२३ प्रतिशत छ । अघिल्लो वर्ष ती उद्योगको क्षमता उपयोग ७४.७१ प्रतिशत रहेको देखिन्छ ।

प्रकाशित : भाद्र ३१, २०७६ १२:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?