रोजाइमा इन्जिनियरिङ

विमल खतिवडा

स्नातक तहमा इन्जिनियरिङ विषय पढ्दा प्राय अबसरबाट बञ्चित हुनु पर्ने अबस्था रहदैन  । उदाहरण हुन सप्तरी बुधेवा त्रिहुत गाउँपालिका ५–दुधेवाका २७ बर्षिय ओमप्रकाश सेठ  ।

उनले सन् २०१७ मा काठमाडौंको एक कलेजबाट इन्जिनियरिङ सकेका उनी भन्छन्, ‘पढाई सक्नसाथ काम पाए । हाल लोकसेवा तयारी गरीरहेको छु ।’ लोकसेवा आयोगले हालै प्रकासन गरेको विज्ञापनमा स्थानीय तहमा ९ हजार कर्मचारी माग गरिएकामध्ये करिब ३ हजार ५ सिभिल इन्जिनियर मागिएको छ ।


सिभिल इन्जिनियरले सडक, भवन, ठूला जलविद्युत आयोजनामा काम पाउँछन् । जसले प्राविधिक पक्ष हेर्ने काम गर्नु पर्छ । हाल देशमा निजी तथा सरकारी दुवै क्षेत्रबाट संचालित इन्जिनियरिङ कलेज छन् । त्रिभुवन विश्वविद्यालयका ५ आंगिक कलेज छन् । जसमा पूल्चोक तथा थापाथली, पूर्वाञ्चल इन्जिनियरिङ, पश्चिमाञ्चल इन्जिनियरिङ र चितवन इन्जिनियरिङ क्याम्पस छन् । अन्य १० निजी कलेजले त्रिविबाट सम्बन्धन लिएर इन्जिनियरिङ पढाई रहेका छन् । देशभर ४६ कलेजमा इन्जिनियरिङ पढाई हुन्छ । ‘अधिकांश विद्यार्थीको आकर्षण पूल्चोक इन्जिनियरिङ कलेज हो,’ इन्जिनियरिङ अध्ययन संस्थानका एसोसिएट प्रोफेर नगेन्द्रबहादुर अमात्य भन्छन ।


पूल्चोकको उत्पादनलाई देशमै टिकाउन नसक्दा दुःख लागेको उनको गुनासो छ । ‘पूल्चोकबाट पास भएको ६ महिना भित्र यहाँ कोही पनि हुंदैन,’ उनी भन्छन,‘मास्टर्सका लागि विदेशीले स्कलरसिप दिन्छन,त्यही भएर विदेशिने बढी छन ।’ सन् २००१ बाट सञ्चालनमा आएको हिमालयन ह्वाइट हाउस इन्टरनेशनल कलेजले २००८ बाट इन्जिनियरिङको पढाई सुरु गरेको हो । शैक्षिक निर्देशक तोयानारायण पौडेलका अनुसार कलेजमा इन्जिनियरिङतर्फ बिई सिभिल र बायो टेक्नोलोजी पढाई हुन्छ । ‘बायो टेक्नोलोजी भनेको जेनेटिक इन्जिनियरिङ जस्तो हो,’ उनी भन्छन् । इन्जिनियरिङमध्येमा सिभिलमा हाल सबैभन्दा बढी आकर्षण छ । उनका अनुसार नेपालमा पूर्वाधार विकास गर्नकालागि सिभिल इन्जिनियरको आवश्यकता छ । हाइड्रो पावरलाई सुरुबाट चल्ने बनाउनकालागि सिभिल इन्जिनियरको काम हुने उनले सुनाए । हाइड्रो चल्ने भएपछि इलेक्ट्रिकल इन्जिनियरको आवश्यकता पर्छ । ‘यही अबस्था हेर्ने हो भने नेपालकालागि २ लाख सिभिल इन्जिनियरको आवश्यकता छ,’ उनी भन्छन, ‘नेपालमा बार्षिक चारदेखि ४ हजार ५ सय मात्र सिभिल इन्जिनियर तयार हुन्छन । यो संख्या मध्य कतिपय विदेश पलायन हुन्छन, देशमै रहने भनेको २० प्रतिशत मात्र हो ।’


दक्ष जनशक्ति बर्षेनी पलायन हुनु पर्ने बाध्यता छ । सरकारले यसतर्फ ध्यान दिन जरुरी रहेको शिक्षाविदहरूको सुझाव छ । ‘आफ्नै देशमा तयार भएका इन्जिनियर प्राविधिक काममा कमै प्रयोग हुन्छन,प्राय ठूला प्रोजेक्ट विदेशीलाई दिइएको हुन्छ, तिनिहरूले आफ्नै इन्जिनियर प्रयोग गरी रहेका हुन्छन्,’ पौडेल भन्छन्, ‘यहाँका इन्जिनियरले नेपालको भन्दा राम्रो सुविधा विदेशमा पाउन थाले, त्यही भएर पलायन हुने बढी छन् ।’ सिआइटी (कलेज अफ इन्फरमेशन टेक्नोलोजी एण्ड इन्जिनियरिङ) कलेजका म्यानेजिङ डाइरेक्टर तथा अध्यक्ष सुधिर गुरागाँई प्राविधिक युगको सुरु भएको तर्क गर्छन । कलेज ०५७ सालमा खुलेको हो । सुरुमा बिसिए (ब्याचलर अफ कम्प्युटर एप्लीकेशन) को थालियो । पछि बिआइटि (ब्याचलर अफ इन्फरमेशन टेक्नोलोजी) बिइ कम्प्युटर र बीबीएको पढाई सुरु भयो । ०५७ मा बिसिए, ०५८ मा बिआइटी ०६० सालमा बिइ कम्प्युटरको पढाइ सुरु भएको हो । ‘यो नेपालकै पहिलो आइटी कलेज हो,’ उनी भन्छन, ‘तीनवटै विषय आइटी सम्बन्धी हुन् ।’


आइटी इन्जिनियरिङमा हरेक सेमेस्टरमा प्रोजेक्ट हुनुपर्छ । जुन अरु विश्वविद्यालयमा नभएको उनको दाबी छ । ‘यसमा सैद्धान्तिक र व्यवहारिक कक्षासंगै बिसिए र बिआइटीको प्रत्येक सेमेस्टरमा विद्यार्थीले प्रोजेक्ट गर्नु पर्ने हुन्छ,’ उनी भन्छन, ‘प्रोजेक्टले गर्दा छैठौं र सातौं सेमेस्टरमा पढ्दै गर्दा जागिर खानेहरू धेरै छन् । उनका अनुसार इन्टरनेशनल माइक्रोसफट् कम्पनीमा बिसिए, बिआइटी गरेका ७५ जना विद्यार्थी काम गरी रहेका छन् । ‘आज सम्म हामीले पढाएका कुनै पनि विद्यार्थी जव लेस छैनन,’उनी दाबी गर्दै भन्छन,‘माइक्रोसफ्टमा काम गर्ने पहिलो नेपाली परिना शाक्य हाम्रै विद्यार्थी हो ।’ त्यसबाहेक कलेजका उत्पादन बैंक तथा वित्तिय स्स्थांमा आइटी अफिसरको रुपमा कार्यरत छन् ।


बिआइटि बिसिएको कोर्षमा ८ वटा इलेक्ट्रोनिक एण्ड कम्युनिकेशन इन्जिनियरिङ अन्तर्गतका विषय थपियो भने त्यो त्यो बिआइटीको कोर्ष हुन्छ । बिआइटी भनेको आइटी र इन्जिनियरिङ हो । डिजाइन कम्सेप्टमा कम्प्युटर इन्जिनियरले काम गर्छ । ‘बिआइटीले सफ्टवेयर पनि बनाउँछ । तर त्यो सफ्टवेयरलाई हार्डवेयरसंग लिंक गराउंछ । बिसिएको काम यसले सफ्टवेयर बनाउने, नेटवर्किङ गर्ने, डिजाइनिङ गर्ने हो । बिआइटी र बिसिएको पढाई महंगो पर्दैन । तर बिइ कम्प्युटर यी दुई विषयको तुलनामा केही महंगो छ ।


एसोसिएसन अफ इन्जिनियरिङ कलेज नेपाल (एकोन) ले हरेक बर्ष इन्जिनियरिङतर्फ शुल्क निर्धारण गर्छ । यसपटक निर्धारण गरेको शुल्क न्युनतम ९ लाख ५० हजारदेखि अधिकतम १२ लाख ५० हजार सम्म छ । यो शुल्क पढाई पुरा हुंदा सम्मको हो ।

प्रकाशित : भाद्र २५, २०७६ १२:२४
प्रतिक्रिया
पठाउनुहोस्

कानुनमा क्रेज

सुदीप कैनी

विज्ञान संकायमा कक्षा १२ सकेकी सन्ध्या बुढाथोकीको अब कानुन पढ्ने तयारी छ  । विज्ञानको अध्ययनलाई ब्रेक लगाएर उनी कानुनको पछि दौडिनुका कारण थुप्रै छन्  ।

पछिल्लो समय कानुनको अध्ययनप्रति नयाँ पुस्ताको आकर्षण बढ्दो छ । पढाइ पूरा गरेपछि सजिलै रोजगारीको अवसर पाइने र तथा स्वरोजगार हुन सकिने बुढाथोकीलगायतको बुझाइ छ । जुनकुनै पेसा, व्यवसायमा भविष्य खोजे पनि ऐन, नियम जान्न जरुरी रहेकाले आफूले विज्ञानको साटो कानुन रोजेको उनले प्रस्टाइन् । ५ वर्षे बीएलएलबी सकेर कानुनी र न्यायको वकालत गर्ने नागरिक बन्ने उनको सपना छ ।
जुनकुनै विषयमा स्नातक वा सोसरहको अध्ययनपश्चात् ३ वर्षे एलएलबीमा भर्ना भएर कानुनी शिक्षाको क्षेत्रमा प्रवेश गर्नेको लर्को पनि लामो छ । गत वर्ष मात्रै त्रिभुवन विश्वविद्यालयको नेपाल ल क्याम्पसमा एलएलबीमा १० हजारभन्दा बढी विद्यार्थी भर्ना भए । यो तथ्यांकले पनि कानुनप्रतिको आकर्षण देखिन्छ ।


सरकारी/गैरसरकारी सेवामा जोडिएका देखि राजनीतिमा सक्रियहरू पनि कानुनी शिक्षाको शैक्षिक योग्यता हासिल गर्ने गर्छन् । कानुन जानेर आफ्नो पेसालाई टेवा पुर्‍याउनु उनीहरूको उद्देश्य हो । पेसामा सजिलै वृत्ति विकास र उत्कृष्ट कार्यसम्पादनका लागि कानुनको अध्ययन जरुरी रहेको नेपाल प्रहरीका अधिकृत शंकर आचार्यले बताए । कुनै पनि विषयमा १२ कक्षा पूरा गरेपछि ५ वर्षे कानुन विषयको अध्ययन गर्न सकिन्छ । त्रिविसहित काठमाडौं र पूर्वाञ्चल विश्वविद्यालयमा कानुनको अध्ययन गर्न सकिन्छ । त्रिविका आंगिकसहित ५ वटा, काठमाडौं युनिभर्सिटी स्कुल अफ ल र पूर्वाञ्चलका २ शिक्षण संस्थाले कानुनको पठनपाठन गराउँदै आएका छन् । नेपाल ल क्याम्पसमा भर्ना हुन आवेदन दिनेको संख्या हेर्दा विद्यार्थीको तुलनामा कलेजहरू पर्याप्त छैनन् । त्रिविका आंगिक क्याम्पसमा पनि कानुन पढ्न कोटा तोकिएको छ । भर्ना हुने तर नियमित पढ्न नआउने अन्य विषयमा विद्यार्थी कानुनमा धेरै भर्ना हुने गरेका ल क्याम्पसका प्राध्यापकहरू बताउँछन् ।


सम्बन्धन पाएका कलेजहरूले पनि निश्चित संख्यामा मात्र विद्यार्थी पढाउने गर्छन् । कानुन पढेका जनशक्तिको आवश्यकता मुलुकमा झनै बढ्दो छ । संघ, प्रदेश र स्थानीय तहसहित मुलुकमा ३ प्रकारका सरकार छन् । ३ तहमा अहिले ७ सय ६१ सरकार छन् । स्थानीय सरकारले समेत कतिपय आफ्नै कानुन निर्माण गरेर कार्यान्वयन गर्न सक्ने संवैधानिक व्यवस्था गरेको छ । त्यसले पनि कानुन पढेका जानेका जनशक्तिको खाँचो बढेको छ ।कानुनमा स्नातक गरेपछि धेरै अवसर छन् । कक्षा १२ उत्तीर्ण गरेका विद्यार्थीका लागि कानुन पनि एउटा उपयुक्त विकल्प बन्ने गरेको छ । कानुनतर्फ स्नातक तहमा बीएएलएलबी र एलएलबी गरी दुईथरी कार्यक्रम छन् । १२ कक्षापछिका विद्यार्थीका लागि पाँचवर्षे बीएएलएलबी छ ।


एलएलबीमा पनि निश्चित कोटा तोकेर पठनपाठन गराउन निर्णय गरेर कार्यकारी परिषद्मा पठाएको त्रिवि कानुन संकायका डिन विजयसिंह सिजापतिले जनाए । परिषद्ले निर्णय गरेर निश्चित संख्यामा मात्रै आंगिक क्याम्पसमा विद्यार्थी भर्ना हुन पाउँछन् । त्यसकारण त्रिविका अन्य क्याम्प्समा पनि कानुनको पढाइ सुरु गर्न दबाब बढ्दो छ ।
ल क्याम्पसमा पूर्वाधार र शिक्षकहरूको कमीले धेरै विद्यार्थी पढाउन असमर्थ रहेको जनाउँदै आएको छ । विद्यार्थीको चापअनुसार शिक्षण संस्थाको कमी रहेको सिजापतिले जनाए । ‘धेरै क्षेत्रका जनशक्ति कानुन पढेर आफूलाई अब्बल बनाउन चाहन्छ,’ उनले भने, ‘त्यसका लागि अध्ययन/अध्यापनको परिपाटीलाई सुधार गर्नु आवश्यक छ ।’


मुलुकको समृद्धि र असल शासनका लागि पनि कानुनी शिक्षाको प्रचार गर्नु र यसको दक्ष जनशक्तिको उत्पादन गर्नु निकै जरुरी यस क्षेत्रका विज्ञहरू औंल्याएका छन् । आफ्नो जुनसुकै पेसा व्यवसायमा पनि कानुनी शिक्षाको सहयोगी भूमिका हुने र स्वतन्त्र व्यवसाय गर्न सक्ने हुँदा पनि कानुन पनि क्रेज झन्झन् बढेको हो । नेपाल बार काउन्सिलका अनुसार १७ हजारभन्दा बढीले कानुन व्यवसायीको इजाजत लिइसकेका छन् ।

प्रकाशित : भाद्र २५, २०७६ १२:२४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्