एचएममा आकर्षण

सुरज कुँवर

जब कोही मानिस एक ठाउँबाट अर्को ठाउँमा एक दिन वा एक रातका लागि जान्छ भने त्यसलाई पर्यटक भनिन्छ  ।

पर्यटकहरू कुनै पनि विषय वा भूगोलबारे जानकारी लिने, अवलोकन गर्ने, खोज अनुसन्धान गर्ने गर्छन् । मन बहलाउन वा तनावबाट मुक्त हुन गरिने यस्तो क्रियाकलापमा खानेकुराको महत्त्वपूर्ण भूमिका रहन्छ । अर्थात् खान्कीबिनाको पर्यटकीय गतिविधि कल्पनाबाहिरको विषय हो । त्यसैले संसारभर पर्यटकले गर्ने क्रियाकलाप वा गतिविधिभित्र खानेकुरा पर्छ नै ।


कृषिको विकास हुनुअघि विश्वभर मानिसहरू रूख र जीवजन्तु, कीराफट्यांग्रालाई आहाराको रूपमा लिन्थे । जब कृषिको विकास भयो मानिसको थालीमा तरकारी, फलफूल, गेडागुडी, दाना, मासु, अण्डा, दूधजन्य पदार्थ आदि खानेकुराका परिकार बने । हिजोआज जब हामी होटल तथा रेस्टुरेन्टमा पस्छौं, खानेकुराको सूची बनाइएको मेनु पढ्न समय निकाल्नुपर्छ । अर्थात् स्टाटरदेखि मेन कोर्स हुँदै डेजर्टसम्म । यी सबैलाई जोड्ने होटल म्यानेजमेन्टले हो ।


पछिल्लो सयम काठमाडौं सर्वाधिक फाइभ स्टारसहितका होटल भएको केन्द्र हो । होटल संघ (हान) का अनुसार, सबैभन्दा धेरै होटल भएको काठमाडौंमै स्टार होटलको संख्या पनि अत्यधिक छ । १६ वर्षअघि काठमाडौंमा स्थापना भएको इन्टरनेसनल स्कुल अफ टुरिजम एन्ड होटल म्यानेजमेन्ट (आईएसटी) कलेजकी प्रिन्सिपल सम्झना बस्न्यातका अनुसार, काठमाडौंसहित देशभर कम्तीमा ७० वटा होटल व्यवस्थापन अध्यापन गराउने कलेज छन् । त्रिभुवन विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, पोखरा विश्वविद्यालय र विदेशी विश्वविद्यालयबाट सम्बन्धन लिएका यी कलेजले वार्षिक १ हजार हाराहारी होटल व्यवस्थापनका विद्यार्थीहरूलाई स्नातक पास गराउँछ ।
‘पछिल्लो सयम नेपालमा होटल क्षेत्रमा लगानी अत्यधिक बढेको छ,’ सम्झनाले भनिन्, ‘नयाँ थपिँदै गइरहेका कलेजमा नेपाली जनशक्तिले स्थान ओगट्ने क्रम बढ्दो देखिएको छ ।’ उनले भनेअनुसार, अहिले अन्तर्राष्ट्रिय चेन होटलबाहेक अन्य होटलमा नेपाली कलेजबाट पासआउट भएका विद्यार्थीले अवसर लिँदै गइरहेका छन् ।


होटलको फ्रन्ट डेस्कदेखि किचनसम्म नेपाली विद्यार्थी देखिन थालेका छन् । दशकअघिसम्म यस्तो अवस्था थिएन । अर्थात् विदेशीहरूको बाहुल्य देखिन्थ्यो । आजको दिनमा होटलसँग सम्बन्धित हस्पिटालिटी उद्योग/व्यवसाय विश्वकै अन्य उद्योग बैंक, एरोस्पेस, अटो, बायोटेक, सप्लाई, कम्प्युटरजस्तै विधागत सूचीमा पर्छन् । मल्टिनेसनल होटलहरूको सेल्स, मार्केटभ्याल्यु, नाफा–घाटाबारे विश्वभर चर्चा हुन थालेको छ । फ्रेन्च भाषाबाट उत्पत्ति भएको होटल शब्द आज विश्वभर पपुलर बन्दै गएको छ । आममानिसहरूको जीवनकालमा होटल कुनै न कुनै समय आवश्यक पर्छ नै । एक जमाना थियो, होटलमा काम गर्ने व्यक्तिलाई हेयको दृष्टिकोण राखेर हेरिन्थ्यो । तर, अहिले होटलमा काम गर्ने पेस ग्ल्यामर मात्रै भएको छैनन् ग्लोबल भएको छ ।


अनलाइनहरूमा लेखिएअनुसार यो पेसाको विकास अन्य क्षेत्रको दाँजोमा तीव्र छ । विश्लेषकहरूले अबको १० वर्षमा करिब ४४ प्रतिशतका दरले होटल व्यवस्थापन उद्योगको विकास हुने प्रक्षेपण गरेका छन् । नेपालमा पनि कम्तीमा डेढ करोडदेखि ५ करोड रुपैयाँसम्म लगानीमा होटल व्यवस्थापन कलेज खुलेका छन् । एक दशकअघि नेपाल सरकारको स्वामित्व भएको रविभवनस्थित नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम) मात्रै थियो । उस्ले ८० हाराहारी विद्यार्थी भर्ना गर्थ्यो तर आवेदन दिने ८/९ सय पुग्थे । तर, अहिले नेपाली विद्यार्थीलाई ५० बढीभन्दा कलेज च्वाइस छन् ।

प्रकाशित : भाद्र २५, २०७६ १२:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?