स्वदेशकै डिग्री

स्वदेशी तथा विदेशी विश्वविद्यालयअन्तर्गत पढाइ हुने पाठ्यक्रमले व्यावसायिकता र दक्षता अभिवृद्धि गर्नुका साथै प्रतिस्पर्धामा खरो उत्रन सक्षम बनाउँछन् ।
गणेश राई

नेपालमा आइतबार मनाइएको ४० औं राष्ट्रिय शिक्षा दिवसका अवसरमा सरकारका तर्फबाट राष्ट्रपति विद्यादेवी भण्डारीले शिक्षा क्षेत्रमा सफल हुने व्यक्तिहरूलाई विभिन्न पदक प्रदान गरिन्  ।

विभिन्न विषयमा विद्यावारिधि उपाधि हासिल २ सय ३१ जनाले ‘क’ श्रेणीको ‘नेपाल विद्याभूषण’ पदक पाए । १ सय ४९ जनाले विदेशी विश्वविद्यालयबाट उपाधि लिएका हुन् । तीमध्ये चीनको युनान युनिभर्सिटीबाट अन्तर्राष्ट्रिय सम्बन्ध विषयमा विद्यावारिधि हासिल गरेकी पहिलो संविधानसभाकी सदस्य लीला न्याइच्याई पनि तीमध्येकी एक हुन् । उक्त पदक हासिल गर्ने आफ्नो परिवारका ४ चारमध्ये तीन जनाले विदेशी विश्वविद्यालयबाट पीएचडी गरेको लीलाले जनाइन् ।


त्यसैगरी स्नातकोत्तर तहका विभिन्न विषयमा उच्चतम तहको ग्रेड प्राप्त १ सय १ जनालाई ‘ख’ श्रेणीको ‘नेपाल विद्याभूषण पदक’ प्रदान गरिएको छ । तीमध्ये ३२ जना विदेशी विश्वविद्यालयबाट उच्चतम ग्रेड पाएका छन् । यसैगरी स्वेदशका विभिन्न विश्वविद्यालयको विभिन्न संकायबाट स्नातक तहमा विशिष्ट श्रेणीमा प्रथम हुनेलाई ‘ग’ श्रेणीको ‘नेपाल विद्याभूषण पदक’ प्रदान गरिएको छ । उक्त पदक हासिल गर्नेमध्ये २ जनाविदेशी विश्वविद्यालयबाट प्रथम भएका हुन् । त्यस्तै, विभिन्न संकायमा स्नातक तहमा छात्रातर्फ प्रथमलाई ‘नेपाल छात्रा विद्यापदक’ प्रदान गरिएको छ । २३ जनाले यो पदक हासिल गरेका छन् । एक नागरिकले नेपाल सरकारको तर्फबाट पाउनुपर्ने शैक्षिक सम्मान हो यो ।


नेपालमै अवसर
डा. प्रमोद भट्ट युवा शिक्षाविद् हुन् । उनी त्रिभुवन विश्वविद्यालय मानविकी तथा सामाजिकशास्त्र संकायअन्तर्गत समाजशास्त्र केन्द्रीय विभागमा कार्यरत उपप्राध्यापक छन् । दुई वर्षअघि खुला प्रतिस्पर्धाबाट उनी त्रिविका स्थायी शिक्षक बनेका हुन् । उनी डोटी जिल्लामा जन्मिएका हुन् । संयोगले पूर्ण छात्रवृत्तिमा बूढानीलकण्ठ स्कुलमा उनले पढ्न पाए । कक्षा ४ देखि एसएलसी र त्यसपछि ए लेभल पनि त्यही स्कुलमा पढे । त्रिचन्द्र बहुमुखी क्याम्पसमा बीएस्सी पढे । त्रिविबाटै समाजशास्त्रमा एमए गरे । अनि हान्निए, हिरोसिमा युनिभर्सिटी, जापान सरकारको पूर्ण छात्रवृत्तिमा । त्यहाँ शैक्षिक विकास विषयमा एमएड गरे । त्यहींको कोबे युनिभर्सिटीबाट शिक्षाको समाजशास्त्र विषयमा पीएचडी गरे । अनि फर्किए, नेपाल । किन ? ‘किनभने नेपालमा अवसरै अवसर छ,’ परिपक्व भएर अन्तर्राष्ट्रिय विश्वविद्यालयमा पढ्न जाँदाको सान बेग्लै हुने उल्लेख गर्दै भट्ट भन्छन्, ‘विदेश पढ्नु भनेको विज्ञता हासिल गर्न जानु हो । मैले जापानमै मौका पाएको थिएँ । तर मेरो लक्ष्य र उद्देश्य स्वदेशमै रमाउनु हो ।’ उनको ठम्याइमा स्नातक तहमा छात्रवृत्ति पाएर विदेश पढ्न जानु राम्रै कुरा हो । तर आफ्नै ठूलो लगानी स्नातक पढ्नको निम्ति विदेश जाँदाचाहिं दुःख पनि झेल्नु र लक्ष्यमा पुग्न मुस्किल हुने उनी उल्लेख गर्छन् । ‘घरमा सिन्को नभाँच्ने तर कक्षा १२ पास गरेपछि विदेशमा काम गर्दै पढ्छु भन्नुचाहिं बच्चाको कच्चा सोचाइ हो,’ डा. भट्ट भन्छन्, ‘नेपालमै स्वदेशी र विदेशी विश्वविद्यालयका अब्बल विषयहरूमा स्नातक तहको शिक्षा हासिल गर्न सकिने विकल्प प्रशस्त छन् । युरोप, अमेरिका, अस्ट्रेलिया ताक्ने र कलिलो उमेरमा आफैं कमाएर खानुपर्ने, पढ्नु, बाँच्नुपर्ने स्थिति आएपछि जिन्दगी डामाडोल पनि बन्न सक्छ ।’ यसतर्फ अभिभावक र विद्यार्थीलाई काउन्सेलिङको अभाव खड्किएको उनी ठान्छन् । विद्यालयमा शिक्षक र शैक्षिक परामर्शदाताले गलत सपना देखाउने प्रवत्तिले नवयुवाहरू बहकिने गरेको उनको ठम्याइ छ ।


स्वदेशमै स्नातक
कक्षा १२ पास गरेपछि स्नातक तह पढ्ने हो । नेपालमा १५ विश्वविद्यालय छन्, जसमा ४ वटाचाहिं डिम्ड युनिभर्सिटी पर्छन् । १४ सय ८ वटा क्याम्पस छन् । नेपाल खुला विश्वविद्यालय छ । ललितकला, कानुन, मानविकी तथा समाजशास्त्र, व्यवस्थापन, शिक्षाशास्त्र, विज्ञान र प्रविधि, इन्जिनियरिङ, मेडिसिन आदि उच्च शिक्षाका संकाय हुन् ।स्वदेशमै विदेशी विश्वविद्यालयका कोर्सहरू पढ्न पाउने व्यवस्था छ । शिक्षा मन्त्रालयको अभिलेखमा ९५ वटा शैक्षिक संस्थालाई विदेशी कोर्स पठनपाठन गर्न अनुमति दिइएको उल्लेख छ । ए लेभल, डिप्लोमा, अन्डरग्य्राजुएट, मास्टर्स, छोटो अवधिका तालिम दिइने ननएकाडमिक कोर्सहरू छन् । ‘विद्यार्थीले नेपालमै अन्तर्राष्ट्रिय विश्वविद्यालयको कोर्स पढ्न पाऊन् भनेर हामीले सुविधासम्पन्न भौतिक पूर्वाधार, अनुभवी शिक्षण जनशक्ति, चुस्त व्यवस्थापनसहित सेवा सुविधा उपलब्ध गराएका छौं,’ द ब्रिटिस कलेजका निर्देशक महेन्द्र कँडेल भन्छन्, ‘आफ्नै खर्चमा ब्याचलर विदेश जाँदा धेरै दुःख झेल्नुपर्ने हुन्छ ।


स्वदेशमै परिवारका साथमा रहेर पढ्नेमध्ये ९५ प्रतिशतले सफलता हासिल गरेका पनि छन् ।’ यूकेको कोर्स क्रेडिट ट्रान्सफर (आधा कोर्स यूकेमै गएर पढ्न सकिने) को व्यवस्था छ । साथै, विदेश पढ्न जाँदा लाग्ने शुल्क पाँच दोब्बर बढी लाग्ने उनको कथन छ । पाटन कलेजका अध्यक्ष पंकज जलान स्नातक पढ्न विदेश जानुपर्ने बाध्यता नरहेका बताउँछन् । मलेसियाको सम्बन्धनमा सुचारु उक्त कलेजले अन्तर्राष्ट्रिय रूपमा चलेका विषयसमेत नेपालमै उपलब्ध गराएको छ ।

‘१८–२० वर्षका विद्यार्थीले ब्याचलर एजुकेसन पढ्न विदेशमा दुःख झेल्नुपर्दैन,’ स्वदेशमा अभिभावकसँगै बस्दा पैसासमेत जोगिने उल्लेख गर्दै जलान भन्छन्, ‘देशको हावापानीमा हुर्केका जनशक्ति स्वदेशमै अवसर खोज्न सजिलो हुन्छ ।’ पुस्तकालय, अनलाइन पुस्तकालय, अनलाइन कोर्सहरूसमेत रहेको उनले बताए ।
इम्पिरियल बिजनेस कलेजका सीईओ जीवन लामा गोले नेपालकै स्नातक तहका विषयहरू गुणस्तरीय रहेको बताउँछन् । पोखरा विश्वविद्यालयको सम्बन्धनमा सुचारु उक्त कलेजले बीबीए, बीएचएसीएमजस्ता विषय पढाउँदै आएको छ । ‘संसारमै चलेका विषय हामीले सुचारु राखेका छौं,’ निजी कलेजहरूबीच स्वस्थ प्रतिस्पर्धा रहेको उल्लेख गर्दै उनी भन्छन्, ‘अन्तर्राष्ट्रिय मान्यताअनुकूलका चारवर्षे स्नातक कोर्स छन् । विद्यार्थीलाई एकाडमिक एक्सिलेन्सी, उच्चतम मार्क्स, प्राक्टिकल नलेज, काम गर्ने संस्थामा हुनुपर्ने संस्कार सिकाउँछौं ।’ पोखराकै सम्बन्धनमा सुचारु युनिग्लोब कलेजले हरे कोर्समा ५० प्रतिशत प्राक्टिकल गराउन गरेको नगरबहादुर विष्ट बताउँछन् । ‘तोकिएको विद्यार्थी कोटा र १५ जनालाई पूर्ण छात्रवृत्ति, अन्तर्राष्ट्रिय करिकुलम, टिचिङ पेडागोजी, अनलाइन सिस्टमले हामीलाई उत्कृष्ट बन्ने मौका दिएको छ,’ विष्टले भने ।


नेपाल मेगा कलेज त्रिभुवन विश्वविद्यालयको सम्बन्धनमा सुचारु छ । ‘नेपालको शिक्षा उत्कृष्ट र कोर्स राम्रा छन्,’ कलेजका कार्यक्रम निर्देशक मधुकर पाण्डे भन्छन्, ‘समयानुकूल सुधारको खाँचो हुन्छ नै । तर सरकारले युवा जनशक्तिलाई स्वदेशमै रहने वातावरण निर्माण गर्न जरुरी छ ।’ विश्वविद्यालय शिक्षाले दिने उज्यालो नेपालकै निम्ति हुनुपर्ने आम नागरिकको मान्यता छ । एक पटकको नेपाली सधैं नेपाली, हरेकले देश नेपाललाई माया गर्नु सबैको कर्तव्य हो । राष्ट्रले त्यसको सम्मान गर्छ, जसरी नेपाल, भारत, चीन, बेलायत, जर्मनी, अस्ट्रेलिया, बंगलादेशलगायतका विश्वविद्यालयबाट उच्च शिक्षा हासिल गरेकालाई राष्ट्रपतिले पदक प्रदान गरेकी छन् । यो क्रम चलिरहन्छ ।
चलिरहनुपर्छ ।

प्रकाशित : भाद्र २५, २०७६ १२:२२
प्रतिक्रिया
पठाउनुहोस्

यसरी हुन सक्छ डेंगु नियन्त्रण

कान्तिपुर संवाददाता

कान्तिपुरमा प्रकाशित ‘७० हजारलाई डेंगु’ समाचारले लाजै लाग्यो  ।

किनभने बैसाखदेखि फैलिएको डेंगुबाट आजसम्म ७ हजार बिरामी सरकारी अस्पतालमा पुगिसकेका देखिन्छन् । सरकारी स्वास्थ्य संस्थामा नआएका तर निजी स्वास्थ्य संस्थामा उपचार गराएका बिरामीसमेत जोड्दा ७० हजार पुग्ने अनुमान गरिएको छ । ४८ जिल्लामा फैलिएको डेंगु ज्वरोबाट आजसम्म ४ जनाको मृत्यु भएको औपचारिक पुष्टि भएको छ भने अन्य २ जनाको यकिन हुन बाँकी रहेको बताइन्छ ।


डेंगु ज्वरो नियन्त्रण गर्ने सवालमा स्वास्थ्य मन्त्रीको सेना र प्रहरी परिचालन गर्नुपर्ने हास्यास्पद कुराले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय बिलकुलै फितलो प्रमाणित भएको छ । संघीयताको निहुँमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ७७ वटा जिल्लाका जनस्वास्थ्य कार्यालयलाई चुस्त संरचना गराउने भन्दै ३५ जिल्लामा घटायो । एक जिल्लाले तीन जिल्लालाई हेर्नुपर्ने भयो । विभिन्न कार्यक्रम हेर्ने ८ जना सुपरिवेक्षकबाट घटाइ ३ जनामा सीमित गर्‍यो । प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला, तालिम केन्द्र, मेडिकल स्टोर कटौती गरियो ।


भेक्टरबर्न डिजिज कन्ट्रोल सहायक/निरीक्षकदेखि विशेषज्ञ समेतको दरबन्दी काटियो । स्वास्थ्य जनशक्तिको तलब–भत्ताको आर्थिक दायित्व बढाउने तर फाजिलमा पार्ने र जिम्मेवारीविहीन गराउने अनि फाजिलमा पारिएका डेंगु लगायत भेक्टर वर्न डिजिज कन्ट्रोल गर्ने जनशक्तिलाई परिचालन गर्न नसकेर सेना र प्रहरीलाई परिचालन गर्ने ? लामखुट्टेद्वारा सर्ने डेंगु रोग नियन्त्रण गर्न भेक्टर कन्ट्रोल निरीक्षक लगायत दक्ष जनशक्तिलाई लामखुट्टेका लार्भा खोजी–खोजी नष्ट गर्न परिचालन गर्नुपर्छ । दिउँसै टोक्ने र सफापानीमा फुल पार्ने इडिस लामखुट्टेबाट बँच्न फुटेका सिसा, बोतल, गमला, कुलरमा पानी जम्न नदिने, पूरै शरीर ढाक्ने लुगा लाउने, खुला भाँडामा खानेपानी नराख्ने, घर वरिपरि सफा राख्ने, खाल्टा–खुल्टीमा मट्टितेल, डिजेल, पेट्रोल आदि विषादी छर्किनुपर्छ । बेस्सरी कपाल दुख्ने, आँखाको गेडी र शरीर दुख्ने, ज्वरो आउने, नाक, गिँजा र अन्य अंगबाट रगत बगेमा तुरुन्त नजिकको सरकारी स्वास्थ्य संस्थामा परीक्षण गराउनुपर्छ । स्वास्थ्य, शिक्षा र सञ्चार सन्देश र सरकारले परीक्षण किट तथा उपचार व्यवस्थापन गरेमा डेंगु ज्वरो नियन्त्रण हुन्छ ।
– गंगाराज अर्याल, पाणिनि–८, अर्घाखाँची

प्रकाशित : भाद्र २५, २०७६ १२:२१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्