१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २११

काष्ठकलामा रमाउँदै मुखिया

जितेन्द्र साह

विराटनगर — यहाँका ठूला व्यवसायीको घर एवं सहरबजारका भव्य मन्दिरमा अग्ला र आकर्षक बुट्टादार मूलढोका देखेपछि धेरैले अनुमान गर्छन्, ‘यो कलात्मक ढोका विदेशबाट आयात गरिएका होलान् ।’ विल्कुलै होइन । यी त विराटनगर महानगरपालिका–७, डीएसपी मार्गका काष्ठकलाका शिल्पी शिवकुमार मुखियाको कौशल हो । 

काष्ठकलामा रमाउँदै मुखिया

यिनी पूर्वाञ्चलमै एक्ला कालीगढ हुन् । धेरैले उनलाई नामभन्दा कामबाट नै चिन्छन् । ४५ वर्षे यिनको पहिचान छ ‘जनकपुरका बुट्टा मिस्त्री’ । ‘नाम नजान्नेले बुट्टा मिस्त्री भनेरै चिन्छन्,’ उनले भने । धनुषाको जनकपुर–१७, कटरैतका उनी २१ वर्षको उमेरमा विराटनगर पसेका थिए ।

यहाँका एक व्यापारीले घर बनाउँदा विदेशबाट एक बुट्टेदार फर्निचरको नमुना मगाएका थिए । तिनले नमुना देखाउँदै त्यस्तै बुट्टादार आँखी झ्याल र ढोका बनाउन सक्ने मिस्त्रीको खोजी गर्दा शिवकुमार विराटनगर डाकिएका थिए । त्यसयता उनी यतै जमे । १९ वर्षको उमेरमा जनकपुरमा १३ रुपैयाँ दैनिक ज्यालादारीबाट काम थालेका उनले २०५२ मा विराटनगरमा २ सय ५० रुपैयाँ ज्याला पाउन थाले । अहिले दैनिक औसत एक हजार रुपैयाँ कमाउँछन् । ढोका बनाउने तथा जोड्ने क्रममा उनी काठमाडौं, इलाम, झापाको दमक र बिर्तामोड, सुनसरीको धरान एवं मोरङको रंगेलीसम्म ओहोरदोहोर गरिराख्छन् ।

विराटनगरको चर्चित काली मन्दिर, बनस्खण्डी, विश्वकर्मा मन्दिर र मोरङकै रंगेलीको प्राचीन कालीमन्दिरको अग्लाअग्ला मूलढोका शिवकुमारले नै बनाएका हुन् । यी सबै मन्दिरहरूको ढोकाको उचाइँ १० फिटदेखि १५ फिटसम्म र चौडाइ ९ फिटदेखि १३ फिटसम्म छ ।

२०५९ देखि २०७२ को अवधिमा निर्मित ती ढोकाहरूमा ७ लाख रुपैयाँदेखि २२ लाख रुपैयाँसम्म लागेको उनले जनाए । रंगेलीमा निर्माणाधीन तिरुपती मन्दिरका लागि १४ फिट उचाइ र १२ फिट चौडाइ भएको ढोकाको अर्डर उनकोमा आइसकेको छ । ‘रंगेलीको कालीमन्दिरको मूलढोका भने मोरङ भरीमै तोरणबिनाको सबैभन्दा आकर्षक र अग्लो हो,’ शिवकुमारले भने, ‘मन्दिर व्यवस्थापन समितिको आग्रहमा धर्मको कार्य भन्दै ज्याला मात्र लिएर एकदमै कम लागतमा बनाइदिएको हुँ ।’

चार वर्षअघि विराटनगरको ठाकुरबाडी रोडबाट डीएसपी मार्गमा सरेका शिवकुमारले आफ्नै कारखाना खोलेको आठ वर्ष भइसकेको छ । उनलाई यसका लागि कुनै पुँजी लागेन । ‘कालीगढका लागि हातखुट्टा नै सबैभन्दा ठूलो पुँजी हो, यो चल्नुपर्छ, अरू केही चाहिन्न,’ शिवकुमारले भने, ‘ग्राहकले दुई लाख रुपैयाँको सामान अर्डर गर्दा कम्तीमा आधा एक लाख रुपैयाँ अग्रिम भुक्तानी दिन्छन् ।’

शिवकुमारले सामान्यदेखि बुट्टेदार झ्यालढोकासम्म स्वयंले बनाउँछन् । सस्तोमा काठको ३ सय रुपैयाँको पिढादेखि महँगोमा १८ लाख रुपैयाँसम्मको बुट्टेदार ढोका बनाइरहेको उनले बताए । काष्ठकला सहज कार्य होइन । तीन/चार मिस्त्रीलाई ठूला एवं अग्ला कलात्मक ढोका बनाउन तीन/चार महिना लाग्छ भने सामान्य बुट्टादार ढोका बनाउन पनि एक महिना लाग्छ ।

उनले एक स्थायी कामदार राखेका छन् भने कामको चाप बढी भएको बेला जनकपुरबाट काष्ठकला व्यवसायी दाजु शिवशरणले आएर सघाउँछन् । भारतको विहार पटनाबाट जनकपुर आइबसेका काठकलाका मिस्त्री रामबाबु शर्माबाट यो कला सिक्दा शिवकुमार केवल १९ वर्षका थिए । घरको आर्थिक अवस्था ठिकठाक भएका शिवकुमारलाई पढाइमा मन नलाग्ने हुनाले यही काममा लागेको सुनाए । त्यही पनि जसोतसो कक्षा–८ सम्म पढेको उनले सुनाए । उनको पिता रामकिशोर मुखिया वनपाले थिए ।

उनको दाजु शिवशरण खेतीपाती र काठ मिस्त्रीकै काम, साहिलो सरोज कतारमा, काहिलो ललित मलेसियामा र कान्छो राकेश माछापालन एवं खेतीपाती गर्छन् । उनको एक मात्र बहिनीको बिहे भइसकेको छ । शिवकुमारका अन्य परिवारजन जनकपुरमै बस्छन् । २४ वर्षको कठिन श्रमपछि शिवकुमारले गाउँमा एक बिघा जग्गा जोडेका छन् ।

प्रकाशित : भाद्र १९, २०७६ ०८:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?