कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

तीज विशेष : उन्मुक्त उत्सव

विद्या राई

सुनसरीको धरान उपमहानगरकी उपप्रमुख मञ्जु भण्डारी विद्यार्थीकालबाटै राजनीतिमा सक्रिय थिइन् । उतिबेलाका उनका अग्रज नेता थिए, मुरारी सुवेदी । गुरुचेला सम्बन्धबाट परिचित उनीहरू वैवाहिक सम्बन्धमा बाँधिए । ‘न मागी, न भागी, हाम्रो विवाह,’ तीज मान्यताको प्रसंगमा उनले सुनाइन् ।

तीज विशेष : उन्मुक्त उत्सव

मञ्जुको नजरमा तीज महिलालाई स्वतन्त्र र सामाजिकीकरण गराउने एक उत्सव लाग्छ । पार्वतीले भगवान् शिवलाई पति पाऊँ भनी निराहार व्रत बसेकै कारण शिव नै पाएको धार्मिक विश्वासबाट प्रेरित तीजको मान्यता अहिलेसम्म अक्षरशः सान्दर्भिक नहुने उनको तर्क छ । तर यही मान्यताबाटै ‘महिलाले आफ्नो वर आफैं छान्न पाउनुपर्छ’ भन्ने स्वतन्त्रताको विकास र अभ्यास भएको प्रति भने उनको समर्थन छ । ‘परिवर्तन आजको भोलि हुने होइन, बिस्तारै हुने हो, विवाहमा स्वतन्त्रताको चरण यसरी नै त आएको हो,’ उनले भनिन् ।


सानैदेखि क्रान्तिकारी स्वभावकी उनले आजसम्म तीजमा निराहार व्रत बसेकी छैनन् । तर, आफूले रोजेको मान्छेसँगै विवाह गर्न पाउनुले हिन्दु समुदायकी छोरीका लागि तत्कालीन समयमा ठूलै उपलब्धि थियो । उनकै अनुभवमा उतिबेला महिलालाई चुलोचौका, घरधन्दा, घाँसपातमै सीमित राखिन्थ्यो । विवाहित महिलाहरू वर्षभरको एक दिन घरायसी कामबाट फुर्सद निकालेर माइती जाने दुःख, सुख साट्ने अवसर मानिथ्यो । यो दिन वर्षभरका अनेक दुःखपीडा खुलेर अभिव्यक्त गर्न पाउने मुक्तिको दिनजस्तै थियो ।


विशेषगरी हिन्दु धर्मावलम्बी महिलामा सीमित रहेको यो पर्व अहिले भने आम महिलालाई जोडेको छ । समाजबाट नियन्त्रित महिलाले तीजलाई सामाजिकीकरणको आधार बनाए । दुःख, पीडा साटासाट गर्ने, परिवार, आफन्त भेटघाट गर्ने तीज महिला हक र अधिकारसँग जोडिँदै आयो । घर, मठमन्दिरमा सीमित तीजले सभा, सेमिनार, गोष्ठी, समूहको रूप लियो । नाचगान, खानपानमा सीमित तीजले महिलालाई सचेतनाको अवसर बाँड्यो । महिलालाई हेर्ने परम्परागत मान्यता चिर्न र नेतृत्वदायी भूमिकामा पुर्‍याउन तीजले पनि सघाएको मञ्जुको तर्क छ ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले पनि तीजलाई महिला मुक्ति आन्दोलनको उत्सव मान्छिन् । म्याग्दीको विकट गाउँमा जन्मिएकी उनले आजसम्म न तीजको नाममा व्रत बसिन् न त तामझाम साथ मनाइन् । उनले २०४५ सालमा जनवादी विवाह गरेकी थिइन् । उनी तीजलाई परम्परागत ढर्राभन्दा पनि महिला जागरण र सशक्तीकरणको गतिलो खम्बा ठान्छिन् । गाउँघरमा सामान्य रूपमा तीज मनाएकी उनीसँग पञ्चायतकालमा तीजकै अवसरमा महिला भेला भएर हिंसाविरुद्ध बोलेको सम्झना ताजै छन् । ‘तीजले महिलालाई संगठित गर्ने आधार दियो, संघर्ष गर्न सिकायो,’ उनी भन्छिन् ।


उनी तीजलाई नाच्ने, गाउने, रमाइलोभन्दा पनि अधिकार प्राप्ति र सक्षमतासँग जोड्न आवश्यकता रहेको ठान्छिन् । उनका अनुसार सांस्कृतिक र धार्मिक मान्यता बोकेको तीजको महत्त्व पनि समयक्रममा परिवर्तन हुँदै जान्छ । जसरी वर्षौंदेखिको लडाइँले महिलाहरू कानुनी रूपमा भए पनि बलियो बन्न सकेका छन् । वंश र अंशको हक, स्थानीय तहमा ४१ प्रतिशत र संघ र प्रदेशमा ३३ प्रतिशत महिला सहभागिताको जगमा तीजले संठगित गरेका महिला दबाबहरू पनि जोडिएका छन् ।
राजनीतिक र सामाजिक हिसाबले महिलाहरू शक्तिशाली बन्दै गएको अवस्थामा बढ्दो तडकभडकले भने केही बेतिथि निम्त्याइरहेको उनको ठम्याइ छ । ‘विकृतिभन्दा पनि सुसंस्कृत र सभ्यतालाई ख्याल राख्नुपर्‍यो,’ उनी भन्छिन् । नेपाललाई सगरमाथाको देश, बुद्धको देश भनेजस्तै बहुसंस्कृतिको देश भनेर विश्वभर चिनाउन र पर्यटन प्रवर्द्धन गर्न पनि तीजले सघाउने भएकाले आफ्नो मौलिकतासहित सभ्य भएर मनाउनुपर्ने उनको मत छ ।


राजनीतिक, प्रशासनिक नेतृत्वमा महिला सहभागिता बढ्दै जाँदा तीजले दिलाएको चेतना र सामाजिकीकरणलाई अवसर र आमूल परिवर्तन मान्छिन्, इलामकी समानुपातिक सांसद सुजाता परियार । महिला विशेष तीजले पहिले कामधन्दाबाट मुक्ति पाउने र रमाइलो गर्न पाउने एक अवसर भए पनि कालन्तरमा संघर्ष र लडाइका निम्ति संस्थागत हुने वातावरण बनाएको उनको भनाइ छ । महिलामा पनि दलितहरू अझै पनि दमित र शोषित अवस्थामा छन् । छोइछिटो समाजको चेतना अझै खुल्न सकेको छैन । यद्यपि देशमा प्रजातन्त्र हुँदै लोकतान्त्रिक गणतन्त्रसम्म आइपुग्दा परिवर्तनका थुप्रै किरण देखिँदै छन् । ‘थुप्रै आन्दोलनपछि संविधान निर्माण भयो, समानुपाति समावेशी आधारमा महिलाहरूले सम्बोधन पाएको अवस्था छ,’ उनी भन्छिन्, ‘यो स्थानसम्म आउन महिला एक भएर लडे । उनीहरूलाई संगठित बनाउन तीज संस्कृतिले जुराएको आमाछोरी, सासू, आमाजू, नन्द, जेठानी–देवरानीबीचको अपनत्व पनि कारक हो ।’


अर्की सांसद सरिता गिरीले विवाह भएको केही वर्ष तीजको व्रत बसिन् । पछि उनले व्रत बस्न बिस्तारै छोडिन् । ‘आमाले बुबाका लागि व्रत बस्दा बुबाले आमाका लागि बस्नुपर्ने आवश्यकता थिएन, उहाँहरूको आस्थाको विषय थियो,’ उनले भनिन्, ‘तर हाम्रो पिँढीले यसलाई परिवर्तित र परिस्कृत गर्नुपर्छ भनेर तीजमा व्रत बस्न छाडें ।’


केही जिल्लामा तीजलाई तडकभडक बनाउनबाट अंकुश लगाइएका केही घटना पनि बाहिरिए । तर गिरी भने महिलाले आर्थिक, सामाजिक र मानसिक धरातलमा मनाइरहेको तीजलाई राज्यले हस्तक्षेप लाउनु राम्रो नहुने बताउँछिन् । उनी व्रत छोडेर आर्थिक र सामाजिक हैसियतमा गरिने रमाइलो, जमघट भने स्विकार्छिन् ।

एकअर्कामा महिलामैत्री भावनाको विकास गर्ने कुरामा तीजले जोडेको छ । पहिले–पहिले तीज भनेपछि घर र मन्दिरको पर्खालभित्र सीमित थियो । गीतहरूमा पीडा, करुणा र वेदना हुन्थे । बदलिँदो समयले घर र मन्दिरको पर्खाल तोडेर महिला हक, अधिकार र सशक्तीकरणलाई जोडेको छ । गीतहरूमा खुसी, उत्साह र उमंग समेटिन थालेका छन् ।


धार्मिक विश्वासबाट मनाउन सुरु भएको तीज अहिले विद्रोहको प्रतीकका रूपमा मनाउन थालिएको रुकुम पूर्वबाट निर्वाचित सांसद कमला रोका बताउँछिन् । उनले १० वर्षे जनयुद्धमा भूमिगत भएर क्रान्तिकारी र प्रगतिशील आवाज उठाउन थालेपछि व्रत बस्ने, कठोर धार्मिक मान्यतामा विश्वास मान्न छाडिन् । उनी समाजमा संस्कृतिको प्रतीक तीजका नकारात्मक पक्षलाई कम गर्दै सकारात्मक पक्षको बढावा दिँदै सचेतना जगाउने गतिविधि गरेर मनाउनुपर्ने बताउँछिन् ।


राजपाकी सांसद चन्दा चौधरीको तीज मान्यता भने अलि भिन्नै छ । तराईमा तीज अहिले पनि कठोर धार्मिक आस्था र विश्वासमै आधारित छ । तीजको अघिल्लो दिन शाकाहारी खाएर, सरसफाइ गरी तयारी हुन्छन् । जाग्राम बस्छन् । तीजको दिन निराहार व्रत बस्छन् । तराईमा गर्मीले समस्या भए दुई–तीनपटक नुहाउँछन् तर पानीको थापोसमेत मुखमा पार्दैनन् । आफन्तजन, साथीभाइ महिला भेला भएर पूजापाठ गर्छन् । कठोर तपस्यालाई अन्य समुदायले महिला शोषणका रूपमा लिने गरे पनि तराईवासी महिलाले भने ‘खास संस्कृति’ मान्ने गरेको सांसद चौधरी बताउँछिन् ।

प्रकाशित : भाद्र १५, २०७६ १३:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?