गीतमार्फत चेतना जगाउँदै

सीमित व्यावसायिक कलाकारले सहरमा रेकर्ड गराएका रतिरागमय गीतको मात्रै चर्चा भइरहेको छ । व्यावसायिक गीत रच्दा, गाउँदा र अभिनय गर्दा तीजको मर्यादा, संस्कृति र त्यसको प्रभावलाई ख्याल गरेको देखिँदैन ।
अमृता अनमोल

धार्मिक रूपमा पार्वतीले निराहार व्रत बसेपछि शिव पति पाएको कथा जोडिन्छ तीजसँग  । कालन्तरमा यो आफन्त जमघट, नाचगान र रमाइलो गर्ने पर्व बन्यो  । अचेल गीतमार्फत तत्कालीन अवस्था, परिवेश, सुख, दुःख, स्वतन्त्रता, अधिकार र सशक्तीकरणको कुरा बाहिर ल्याउने माध्यम पनि बनेको छ ।

तीजका पछिल्ला गीतहरू पर्गेल्दा काठमाडौंलाई केन्द्रमा राखेर काम गरिरहेका कलाकारले तीजको मौलिकता बिर्सेको देखिन्छ । उनीहरूका गीतमा सस्तो लोकप्रियता र मनोरञ्जन पक्ष बढी भेटिन्छन् । मौलिकताभन्दा व्यावसायिक हुनेतर्फ केन्द्रित देखिन्छन् उनीहरू । यस्तो हुँदा गीतबाट समाज हराउने खतरा पनि उस्तै छ ।


मोफसलका थुप्रै महिला कलाकार भने व्यावसायिकभन्दा भिन्न छन् । उनीहरूले तीज गीतमार्फत निरन्तर कुरीति र कुसंस्कारको विरोध गर्दै चेतना प्रवाह गरेका देखिन्छन्–


हाम्रा बाले किन्दिएको मोटरसाइकल चढेर,
के काम लाग्यो स्वामीज्यूले डिग्री पढेर
वस्तुसरि मोलतोल गरी बिहे गर्नेलाई
अब छोरी दिनुहुन्न दाइजो माग्नेलाई

साउन ३२ मा देवीपुर समाज रूपन्देहीले बुटवलमा गरेको तीज मिलन कार्यक्रममा गाएको गीत हो यो । तीज आगमनसँगै बुटवलमा यस्ता थुप्रै चेतना प्रवाहका गीत घन्किएका छन् । अधिकांश हिन्दु नेपाली महिलाका लागि तीज वर्ष दिनभरिको कामको बोझ, थकान र व्यथा मेट्ने पर्व हो । वर्षभरि भन्न नसकेका कुरा गीत बनाएर गाउन पाउने अधिकारमुखी पर्व मानिन्छ तीजलाई । त्यही झल्को रेडियो मुक्ति बुटवलले भदौ १० मा गरेको तीज विशेष कार्यक्रममा पनि सुनियो–


छोरी जन्मी भनेर रुँदै हिँड्थिन् आमाले
अहिले छाती फुलाउँछिन् हाम्रा कामले
कोही डाक्टर, कोही शिक्षक, कोही नेता भएका छौं
घर, समाज, देशमा नै खुसी ल्याएका छौं


तीज गीतमा नेपाली महिलाले धक फुकाएर गाउने पुरानै चलन हो । आफ्नो परिचय दिँदा थरथरी काँप्ने महिला पनि तीजमा सयौंको मासमा छमछमी नाच्छन् । सुनाउन नपाएका खुसी, सुख र आनन्दका उद्वेगको गीत बनाउँछन् । हिंसाले थिचिँदा विद्रोह गर्न नसक्नेले विरह, विद्रोह र दमनविरुद्ध आवाज गीतबाटै उठाउँछन् । त्यही आवाज केरुंगेली सम्पर्क समाजको तीज मिलन कार्यक्रममा सुनियो–
घरको काम, अफिसको काम हुन्न एक्लै गरेर
स्वामी राजै बराबरी गरौं बाँडेर
छोराछोरी तिमी हेर, मैले भात पकाउँला
झाडु, पोछा, भाँडा माझ्ने सँगै गरौंला


समय र परिवेशअनुसार फरक भाका र लयमा रचिएका तीज गीतले त्यस समयको इतिहास बोलेका हुन्छन् । हजुरआमाका पाला भक्तियुग थियो । त्यतिबेला ‘कहाँमा जान्छौं रानीचरी बगाल बरीलै भगवान् भेट्न...’ गाइन्थ्यो । आमाका पाला सासू–बुहारीबीचको द्वन्द्व र श्रीमान्को थिचोमिचो र छोराछोरीबीचको विभेदविरुद्ध तीज गीत बने । दिदी–भाउजूले पनि तीज गीतबाट आफूमाथिका थिचोमिचोलाई बाहिर ल्याए । छोरी भएकै कारण सानैमा बिहे गरी जानुपर्ने, बाबुको अंश नपाइने, पढ्न नपाइने कुरादेखि बिहे गरी गएको घरमा समेत आफूले माया नपाएका कुरा गीत बनाए अनि गाए । तत्कालीन शासन व्यवस्था, छोराछोरीबीचको विभेद, दाइजो, बहुविवाह, बालविवाहलगायतको विरोधमा पनि तीज गीत बनेका छन् ।


नेताले बोल्न नसक्ने, समाज सुधारकले उठाउन नसक्ने विरोध र चेतनाका कुरा पनि बस्ती–बस्तीका महिलाले तीजको अवसरमा उठाउँदै आएका छन् । अहिले पनि यो क्रम जारी छ । केही दिनअघि मात्रै लायन्स क्लब अफ भृकुटी सिद्धबाबाले गरेको तीज विशेष कार्यक्रममा सुनियो–


संविधान आयो बाबा तीन तहमा सरकार
तर पनि आएन महिला अधिकार
नाम हुने काम नहुने पद आए महिलामा
कार्यकारी अधिकार छैन धेरैमा

यसपटक बुटवलमा गुरुपूर्णिमापछि दिनहुँजसो तीज विशेष कार्यक्रम भए । विभिन्न सामाजिक संघसंस्था, सम्पर्क समाज, टोल, समुदायले आफ्ना चेलीबेटीलाई जम्मा गराएर दर खुवाए । नाचे र नचाए । माइत जान नपाउने कामकाजी महिलासमेत रमाए । माइती घर गएकै आभास गरे । अधिकांश कार्यक्रम गरगहनारहित थिए । यहाँ रत्यौली भाकाका आधुनिक तीज गीत गाइएन । आ–आफ्ना ठाउँका भाका टिपेर गाए नाचे र नचाए । यहाँका केही रेडियो, टेलिभिजन र स्कुलहरूले मौलिक तीज गीत प्रतियोगितै गरे । त्यसमा लैंगिक समानता, सामाजिक सुधार, वातावरण तथा संस्कृति संरक्षण, पारिवारिक स्वास्थ्य, लागूऔषध दुर्व्यसनदेखि संविधान कार्यान्वयन, स्थानीय तह सञ्चालन र स्थानीय स्रोतसाधनको परिचालनसम्मका विषयवस्तु अभिव्यक्त भए । प्रतियोगीले योजनाकारले सरह एकसे एक समाधानका उपाय गीतबाटै बताए । घरबाहिर ननिस्के घरभित्रको सुखसयलको कुनै अर्थ नहुने सन्देशका गीत पनि सुनिए । बुटवलको इलिट स्कुलका साना भाइबहिनीले गाएको गीत यस्तो थियो–


पढेका दिदीबैनी घरमा मात्रै नबस
जागिर गर, उद्यम गर हात नबाँध


बुटवलमा जस्तै मुलुकका धेरै ठाउँमा महिला सशक्तीकरण र चेतना प्रवाहका तीज गीत गाइएको छ । तर तिनको राष्ट्रिय चर्चा र बहस खासै भएको देखिँदैन । थोरै व्यावसायिक कलाकारले सहरमा रेकर्ड गराएका रतिरागमय गीतको मात्रै तीज गीतका रूपमा चर्चा भइरहेको देखिन्छ ।


व्यावसायिक गीत रच्दा, गाउँदा र अभिनय गर्दा नेपाली समाज, तीजको मर्यादा, संस्कृति र त्यसको प्रभावलाई ख्याल गर्न सकेका छैनन् । ‘लोक, दोहोरी र रत्यौली पनि नेपाली संस्कृति हुन् । यिनको पनि संरक्षण र संवर्द्धन गर्न जरुरी छ,’ बुटवलका नृत्य निर्देशक लोकेन्द्र शाहले भने, ‘तर तीज गीतलाई नै तिनमा ढालेर गाउनु भद्दा मजाक हो । यसमा बहस जरुरी छ ।’


अधिकारकर्मीहरू तीजलाई रमाएरै मनाउनुपर्ने बताउँछन् । उनीहरूका भनाइमा समान विचार, भावना र स्तरका व्यक्तिले तीज मिलन कार्यक्रम राख्नु, भेटघाट गर्नु र नाचगान गरी रमाइलो गर्नु स्वाभाविक हो । तीजमा माइत जान नपाउने कामकाजी महिलाका लागि तिर्सना मेटाउन पनि यस्ता कार्यक्रमले राहत दिन्छ ।

‘तीज गीतसँग चेतना प्रवाहको शक्तिशाली धार पनि जोडिँदै आएको छ,’ पूर्वमन्त्री राधा ज्ञवाली भन्छिन्, ‘यस्ता गीतमा हिंसा, विभेद, विद्रोह, अधिकार र सुख, दुःखका कुरा एकसाथ उठाएर स्वतन्त्रताको वकालत गरिन्छ । यस हिसाबले तीज महिला सशक्तीकरणको पर्व पनि हो ।’

प्रकाशित : भाद्र १५, २०७६ १३:०१
प्रतिक्रिया
पठाउनुहोस्

खेल सिक्दै

अमृता अनमोल

 भाइबहिनीहरू, गृहकार्य सकेपछि तिमीहरू के गर्छौ ? रुपन्देहीका केही साथीहरू भने खेल सिक्छन्  । यहाँ विभिन्न खेलका एकेडेमी छन्  ।

तिनमा खेल्ने तरिका सिकाइन्छ, जसले ती साथीहरूलाई खेल सिक्ने अवसर जुटेको हो । रुपन्देहीमा खेलकुद गतिविधि गर्ने ५० वटा क्लब छन् । २५ वटा खेलकुद संघ छन् । तीमध्ये १४ वटाले बालबालिकाका लागि खेल एकेडेमी खोलेका छन् । तिनले फुटबल, लनटेनिस, जुडो, कराते, क्रिकेट र ब्याडमिन्टन सिकाउँछन् । एकेडेमीमा बालबालिकाको समूह बनाइन्छ । दिनहुँ खेल्न मैदान दिइन्छ । साथीहरू बिहान–साँझ एकेडेमीमा जम्मा हुन्छन् । प्रशिक्षकले खेलको नीति र विधि सिकाउँछन । यसपछि उनीहरू मज्जाले खेल्छन् ।


खेल्न पाउँदा उनीहरू धेरै खुसी छन् । केहीले भविष्यमा खेलाडी बन्ने सपनासमेत बनाएका छन् । त्यसमध्येका हुन्– बुटवलका रितेश ज्ञवाली । उनी कक्षा ६ मा पढ्छन् । दिनभर स्कुल जान्छन् । साँझमा लेख्ने र पढ्ने सबै गृहकार्य सक्छन् । बिहान भने लनटेनिस खेल्न जान्छन् । ‘बिहान साढे ५ बजेदेखि ७ बजेसम्म खेल्छौं र सिक्छौं,’ उनले भने, ‘खेल्दा निकै रमाइलो लाग्छ, शरीर पनि फूर्तिलो हुन्छ ।’ नियमित खेल्न पाएकै कारण रितेशले विभिन्न प्रतियोगितामा भाग लिएका छन् । १० वर्षमुनिको राष्ट्रिय लनटेनिस प्रतियोगितामा जिल्लास्तरीय विभिन्न खेल जितेका छन् । उनी तृतीय भएका थिए । गतवर्ष भएको ८ वर्षमुनिको राष्ट्रिय लनटेनिसमा उनका साथी ब्रिजेस अर्याल च्याम्पियन भएका थिए । यमन राना सेकेन्ड र योगेश ज्ञवाली तृतीय भएका थिए । बुटवलको देवीनगरमा लनटेनिस एकेडेमी छ । त्यसलाई लनटेनिस क्लब बुटवलले सञ्चालन गर्छ । अध्यक्ष गोपाल ज्ञवालीले नयाँ खेलाडी उत्पादन गर्न ३ वर्षयता बालबालिकालाई खेल सिकाउन थालेको बताए । ७ देखि १४ वर्ष उमेरका ५० जनाले लनटेनिस सिकिरहेका छन् ।देवीनगरमै एन्फा एकेडेमी छ । रुपन्देही फुटबल संघले यसको सञ्चालन गर्छ । त्यसमा २४ बालबालिकालाई फुलबल खेल्न सिकाइन्छ । उनीहरू दिउँसो पढ्न जान्छन् । अरूजस्तै उनीहरू घर जाँदैनन् । बिहान–साँझ एकेडेमीमै बस्छन् । दिनमा २ घण्टा एकेडेमीमै बसेर फुटबल खेल्न सिक्छन् ।


त्यसका लागि दुई जना प्रशिक्षक छन् । १० वर्षदेखि यो एकेडेमी सञ्चालनमा छ । फुटबल सिक्नेहरूमा १२ देखि १६ वर्षसम्मका छन् । राष्ट्रिय चर्चित फुटबल खेलाडी विमल घर्ती यहींका उत्पादन हुन् । उनले यही एकेडेमीमा खेल सिकेका थिए । यहाँ खेल सिकेका अरू १२ जना पनि राष्ट्रिय खेलाडी बनेका छन् । भर्खरै यहींका विद्यार्थी निराजन खत्री अन्डर–१६ का लागि राष्ट्रिय खेलाडीमा छनोट भएका छन् । ‘सानैदेखि फुटबल खेल्न र सिक्न मन लाग्थ्यो,’ उनले भने, ‘त्यसैले बाबाआमाले एन्फा एकेडेमीमा राखिदिनुभएको हो ।’ निराजनको अन्तर्राष्ट्रिय खेलाडी बन्ने धोको छ । खेलबाटै देशको नाम उचो बनाउने इच्छा छ । सुरुवातमा अगस्ट २३ देखि भारतमा भएको अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा उनले भाग लिएका छन् ।


खेल्ने विद्यार्थी पढाइमा कमजोर हुन्छन्, धेरै अभिभावक यस्तै सोच्छन् । यसैले कोहीकोही अभिभावक छोराछोरीलाई खेल्न दिँदैनन । तर यो गलत हो । रुपन्देहीको स्मृति बोर्डिङ स्कुलका प्रिन्सिपल हरि ज्ञवाली गृहकार्य सकेर खेल्ने विद्यार्थी पढाइमा कमजोर नहुने दाबी गर्छन् । उनले पाँच वर्षयता एन्फा एकेडेमीका विद्यार्थीलाई पढाइरहेका छन् । ‘खेल्ने र पढ्ने समयबीच तालमेल मिलाउनुपर्छ,’ उनले भने, ‘यसो गरे पढाइमा अझ तेज हुन्छन् ।’जानाकारहरूका अनुसार खेलकुद एकेडेमी खेलाडी उत्पादनका जग हुन् । यिनमा खेलको विधि र कला सिकाइन्छ । एन्फा एकेडेमीका व्यवस्थापक तथा प्रशिक्षक बुद्धि गुरुङ बालबालिकालाई यसरी सिकाउँदा नयाँ र राम्रो खेलाडी उत्पादन हुने बताउँछन् । उनका अनुसार खेल बालबालिकालाई अनुशासन सिकाउने माध्ययम पनि हो । यसले नियममा रहेर काम गर्न सिकाउँछ । खेलले शरीर फूर्तिलो बनाउँछ । मनोरञ्जन दिन्छ । कुलतबाट बचाउँछ । मन चञ्चल हुनेका लागि एकाग्र हुन पनि सहयोग गर्छ । तर सबै ठाउँमा रुपन्देहीमा जस्तो एकेडेमीमै गएर खेल्ने अवसर छैन ।

प्रकाशित : भाद्र १५, २०७६ ११:२६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्