किन बदलिए तीज गीत ?

सुशीला तामा‌ङ

अहिले चेलीबेटीलाई माइती आउन र दुःख पोख्न वर्ष दिन कुर्नु पर्दैन । दिनहुँ मोबाइलमा कुरा गर्न सकिन्छ । भिडियो च्याट गर्न सकिन्छ । बदलिँदो सामाजिक चेतनाका कारण पनि चेलीहरुमा माइतीलाई पोख्ने पीडा कम हुँदै गएको छ ।

दिदीबहिनी मात्रै नाच्छन् जहिले पनि तीजमा
हामी पनि नाच्नुपर्छ बीचबीचमा...

मोडल तथा गायक दुर्गेश थापाको यो गीत यतिबेलामा चर्चामा छ । तीजका बेला गाउँघरमा गाइने पुरानै लयलाई थोरै परिमार्जन गरी थापाले डेढ महिनाअघि आफ्नै युट्युब च्यानलबाट भिडियोसहित यो गीत अपलोड गरेका थिए । समयअनुसार शब्दमा हेरफेर भए पनि एकै प्रकारको गीत बजारमा आएको अवस्थामा केही नयाँ पस्कने उद्देश्यले गीतलाई बजारमा ल्याएको थापा बताउँछन् ।


‘अहिले सबै कुरा परिवर्तन हुँदै गएको छ,’ उनी भन्छन्, ‘मादल बजाएर रमाइलो गर्ने दिदीबहिनी अहिले पार्टी प्यालेसमा गएर दर खान्छन् र साउन्ड सिस्टममा छमछम नाच्छन् । मैले पनि समयको मागअनुसार मौलिकता नमासिने गरी प्रस्तुति हेरफेर गरेको हुँ ।’ नारी–पुरुष समानताको बहस भइरहेका बेला तीज पर्व पनि मिलेरै मनाऔं र सबै पुस्तालाई समेटौं भन्ने भावना आफ्नो रहेको उनी तर्क गर्छन् । हुन त बितेका केही वर्षयता तीज गीतमा पुरुष पनि उत्तिकै हाबी छन् । बद्री पंगेनी, पशुपति शर्मा, खुमन अधिकारी, राजेश बर्देवालगायत थुप्रै लोक गायकले तीजे गीत गाउँदै आएका छन् । संस्कृति र मौलिकताभन्दा पर रहेका यस्ता रत्यौली शैलीका मनोरञ्जनात्मक गीतलाई दर्शकले पनि रुचाएको देखिन्छ ।


यसै वर्ष पनि पशुपति शर्माले ‘बैमानीले ढाँट्यो...’, ‘सुहायो चौपट्टै...’, ‘बिर्सी जाने मायालाई के भनौं...’ जस्ता तीज गीत गाए । समयअनुसार नयाँ पुस्तालाई सम्बोधन गर्ने खालका यस्ता गीत पृथक शैलीमा आउनु सकारात्मक रहेको धारणा छ गायक बर्देवाको । हालै ‘आयो आधुनिक जमाना...’ गीत ल्याएका उनी परम्परालाई गलत अर्थ नलगाई ल्याइएका गीतले पनि तीज संस्कृतिलाई नछोडेको विचार राख्छन् ।


अहिलेका तीजे गीतहरूमा टाढा गएका दिदीबहिनी, माइती, दुःख पाएका छोरीहरूको विलौनाभन्दा पनि पतिले सारी किनेर नदिएको, गरगहना, फोनजस्ता सामग्री कमी भएको जस्ता गुनासाका चल्तीमा छन् । प्रेमीले झुक्काएका, युरोपियन देशका सपना, दर खाने निम्तो जस्ता विषयवस्तुले पनि प्राथमिकता पाएका छन् । लोकगीत समाजकै ऐना भएकाले समाजमा जे व्याप्त छ, त्यसलाई उतार्नुपर्ने लोकगायिका कोमल वलीको तर्क छ । ‘अहिले जताततै समावेशिताका कुरा उठिरहेका छन्,’ उनी भन्छिन्, ‘समाजका संस्कारअनुसारका तीज भाका गाएर पुरुष पनि सहभागी हुन्छन् भने सकारात्मक रूपमै लिनुपर्छ ।’

तीजकै मौका छोपेर बजारमा आएका गीतले मनोरञ्जनसँगै कलाकारलाई समेत आर्थिक रूपमा फाइदा हुने भएकाले यस्ता गीतको लहर चलेको हो । लहर होडबाजीमा बदलिएपछि चाहिँ मौलिकताको बहस चर्को रूपमा उठ्दै आएको छ । एकथरी कलाकार मौलिकता पनि समयसापेक्ष हुने तर्क गर्छन् । समाजको पहिले जे चलनचल्ती थियो, ती सबै हराएर गएपछि तीज गीतमा पनि त्यस्ता खालका भाव नआएको हुन सक्ने उनीहरूको दाबी छ ।

‘पहिले सासू–बुहारीको कलह हुन्थ्यो । बुहारी बन्धनमा हुन्थे र त्यही दुःख माइतीमा आएर पोख्थे,’ लोकगायिका देवी घर्ती मगर भन्छिन्, ‘अहिले छोरी जस्तै बुहारीहरू स्वतन्त्र छन् । सासू–बुहारीबीच हुने व्यवहार र समाजको सोचमा परिवर्तन आइसकेको छ ।’


उनको विचारमा अहिले जनमानस र लोकले जे रुचाउँछ, त्यहीअनुसारको गीत अहिले आइरहेका छन् । यस्ता गीत मनोरञ्जन र बजारका हिसाबमा पनि उचित हुने उनको दाबी छ । समाजमा विकासकै हिसाबमा हेर्ने हो भने यातायात, सञ्चार र प्रविधिले धेरै फड्को मारिसकेको छ । पहिले जस्तो चेलीबेटीलाई माइती आउन र दुःख पोख्न १ वर्ष कुर्नॅ पर्दैन । दिनहुँ मोबाइलमा कुरा गर्न सक्छन् । भिडियो च्याट गर्न सक्छन् । बदलिँदो सामाजिक चेतनाका कारण पनि चेलीहरूमा माइतीलाई पोख्ने पीडा कम हुँदै गएको छ । ‘त्यही भएर अहिलेका गीत दर्शक र स्टेज केन्द्रित बन्दै गएका हुन्,’ लोक गायक रमेश बीजीको तर्क छ, ‘यस्ता गीतहरू समय सापेक्ष लागे पनि माइती र चेलीको सम्बन्धलाई दर्शाउने तीजको मौलिकतालाई भने बिर्सनु हुन्न ।’


४० को दशकदेखि तीज गीतमा छाएकी लोकगायिका हरिदेवी कोइराला भने पछिल्लो समय तीज र अन्य गीत छुट्याउन नसकिने अबस्था बन्दै गएरहेको बताउँछिन् । ‘अहिले तीज गीत चिनाउन नसकिने अवस्था बन्दै छ,’ उनी भन्छिन्, ‘भोलिको पुस्ताले तीज गीतको विशेषता सोध्यो भने कस्तो जवाफ दिने ?’ समाजको रूपान्तरण देखाउन खोजे पनि मौलिक परम्परा भने चटक्कै छोड्न नहुने उनको तर्क छ ।

प्रकाशित : भाद्र १५, २०७६ १२:५८
प्रतिक्रिया
पठाउनुहोस्

जहाँ पुरुष व्रत बस्छन्

अट्वारी पर्वमा थारु पुरूष निर्जला व्रत बस्छन् । दिनभर भीमको पूजा गर्छन् । भोलिपल्ट बिहानै छोरीचेली भेट्न फलफूल र अन्य खानेकुरा लिएर उनीहरुको घर जान्छन् ।
मधु शाही

नाच्ने, दर खाने अनि व्रत बस्ने । तीजका यी तीन रोचक विशेषता हुन् । थारू समुदायमा भने महिलाले तीज मनाउँदैनन् । बरु पुरुषहरू भने व्रत बस्दै आफ्ना छोरी–चेली भेट्न जान्छन् फलफूल बोकेर । यसरी मनाइने पर्वलाई ‘अट्वारी’ भनिन्छ ।

यसपटक अट्वारी व्रत दर खाने अघिल्लो दिन आइतबार परेको छ । कुशे औंसी सकिएको पहिलो आइतबार थारू समुदायका पुरुषले ‘भीम’ को नाममा यो व्रत बस्ने चलन छ ।


आइतबार बस्ने भएकाले यसलाई अट्वारी भन्ने गरिएको थारू समुदायका अग्रजको भनाइ छ । उनीहरूका अनुसार यो पर्वमा पुरुषहरू पानी पनि नपिई निर्जला व्रत बस्छन् । दिनभर भीमको पूजा गर्छन् । भोलिपल्ट बिहानै छोरीचेली भेट्न फलफूल र अन्य खानेकुरा लिएर उनीहरूको घर जाने गर्छन् ।


कोहलपुर नगरपालिका १२, चप्परगौडी बस्ने ४० वर्षीय हरिराम थारूले बाउबाजेदेखि अट्वारी व्रत बस्दै आएको बताए । उनले पनि १० वर्षको उमेरदेखि नै बाउबाजेको संस्कार पछ्याउँदै आएका छन् । घरमा भएका अरू पुरुष समेत सामूहिक व्रत बस्ने गरेको उनले बताए । चेलीबेटीको सम्मान, भ्रातृत्व, मनको शान्ति, घरका सम्पूर्ण सदस्यको सुस्वास्थ्य लागि व्रत बस्ने गरेको उनले सुनाए । उनका अनुसार अट्वारी पर्वको दिन बिहानै उठेर नुहाउने, घर लिपपोत गर्ने, सफा लुगा लगाएर पूजा आजमा लाग्ने गरिन्छ । पूजाका सरसामान जुटाउनेदेखि सरसफाइसम्ममा उनी आफैं सरिक हुन्छन् ।


उनका अनुसार पाँच पाण्डवका ‘भीम’
व्रतका मुख्य देवता हुन् । भीमको आराधना गर्दा घरका सदस्यको रक्षा हुने र शक्ति आर्जन हुने धार्मिक विश्वास रहेको उनले बताए । ‘पुर्खाले यसै भन्थे, त्यही संस्कार मान्दै आएका छौं,’ उनले भने, ‘मैले जाने बुझेको दिनदेखि अट्वारी व्रत टुटाएको छैन ।’ भीम देवताको नाममा ठूलो रोटी चढाउने चलन पनि छ । दिउँसो १२ बजेपछि चिनीपानी मात्रै खाने गरिन्छ । बेलुका सामान्य फलफूल खाएर भोलिपल्ट खाना खाने परम्परा रहेको उनले बताए । बाँसगढीका बाधु थारूले यसरी व्रत बस्दा पूजा गरेका फलफूल र रोटी छोरीलाई अनिवार्य चखाउनुपर्ने संस्कार रहेको बताए । उनी हरेक वर्ष हरितालिकाको दिन रोटी र फलफूल बोकेर छोरीको घर जाने गर्छन् । ‘छोरीको घर टाढा छ भने एकरात उतै बास बस्ने चलन पनि छ,’ उनले भने, ‘मचाहिँ फर्किहाल्छु ।’ पूजाको प्रसाद छोरीको मुखमा पारे पुण्य हुने विश्वास रहेको उनले सुनाए । अट्वारी व्रत १३ वर्षको उमेरका किशोरदेखि बुढापाकासम्मले बस्दै आएकामा पछिल्लो पुस्ताले भने बिस्तारै भुल्दै जान लागेको उनको गुनासो छ । व्रतको अर्थ, यसमा लुकेका ऐतिहासिक र धार्मिक मान्यताप्रति पछिल्लो पुस्ता बेखबर बन्दै गएकामा उनको गुनासो छ ।


चप्परगौडीका ११ का ५९ वर्षीय भोजु चौधरीलाई अट्वारी व्रत बसेर छोरीचेलीलाई प्रसाद पुर्‍याउन जाँदा निकै रमाइलो लाग्छ । हरेक वर्ष त्यही व्रतको प्रसाद आउँछ भन्दै छोरीले बाटो कुरिरहने उनले सुनाए । ‘मेरा तीन छोरी छन्,’ उनले भने, ‘तीनैलाई बाँडेर खुवाउँछु ।’ अट्वारी व्रतको प्रसादभन्दा पनि माइतीले सम्झेर भेट्न आउँदाको क्षणले कोहलपुर २ की फुलिया थारूलाई भावुक बनाउँछ । ‘दाजुभाइ हाम्रै लागि व्रत बस्छन् । भोलिपल्ट देवतालाई चढाएको रोटी ल्याएर भेट्न आउँदा फुरुंग नहुने त कुरै भएन,’ उनले भनिन्, ‘माइतीको माया मिसिएको रोटी खाँदा निकै खुसी लाग्छ । यसपटक कान्छो भाइ आउँछु भनेको छ ।’


थारू संस्कृतिका ज्ञाता एवं लेखक एकराज चौधरीका अनुसार विशेषगरी यो व्रतमा सूर्य र भीमको पूजा गरिन्छ । व्रतालुले बिहानै घर लिपपोत गरी चिटिक्क पार्छन् । दिनहुँ पकाइने भान्साभन्दा फरक ठाउँमा चुलो बनाएर पूजाका लागि ठूलो रोटी पकाउने तयारी हुन्छ । बिहान–साँझ चढाएको रोटी र फलफूललाई ‘अग्रासन’ भनिन्छ । टपरीमा छुट्याएको अग्रासन जसरी पनि चेलीबेटीलाई पुर्‍याउने चलन रहेको चौधरीले बताए । ‘माइती र चेलीबेटीबीचको सम्बन्ध गाडा बनाउन यो पर्वले सघाउँछ,’ उनले भने ।


उनका अनुसार यो पर्व कृषि प्रणाली र प्रकृति पूजासँग सम्बन्धित छ । किंवदन्तीअनुसार थारूहरू कुलो खन्न जाने बेला भीम देवताले ठूलो रोटी लिएर आएछन् । उक्त रोटी खाएपछि उनीहरूमा कुलो खन्न सक्ने शक्ति मिलेछ । त्यसपछि थारू समुदायमा भीमको पूजासँगै रोटी चढाउने परम्परा बसेको चौधरी बताउँछन् । उनका अनुसार एकतर्फी मात्र पकाइने रोटी भएकाले यसलाई ‘एक्करव रोटी’ पनि भनिन्छ । खेतीपाती सकिएसँगै किसानले मीठो मसिनो खाने मौसमका रूपमा पनि यो पर्व लिने गरिएको उनको बुझाइ छ ।

प्रकाशित : भाद्र १५, २०७६ १२:५४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्