जहाँ पुरुष व्रत बस्छन्

अट्वारी पर्वमा थारु पुरूष निर्जला व्रत बस्छन् । दिनभर भीमको पूजा गर्छन् । भोलिपल्ट बिहानै छोरीचेली भेट्न फलफूल र अन्य खानेकुरा लिएर उनीहरुको घर जान्छन् ।
मधु शाही

नाच्ने, दर खाने अनि व्रत बस्ने । तीजका यी तीन रोचक विशेषता हुन् । थारू समुदायमा भने महिलाले तीज मनाउँदैनन् । बरु पुरुषहरू भने व्रत बस्दै आफ्ना छोरी–चेली भेट्न जान्छन् फलफूल बोकेर । यसरी मनाइने पर्वलाई ‘अट्वारी’ भनिन्छ ।

जहाँ पुरुष व्रत बस्छन्

यसपटक अट्वारी व्रत दर खाने अघिल्लो दिन आइतबार परेको छ । कुशे औंसी सकिएको पहिलो आइतबार थारू समुदायका पुरुषले ‘भीम’ को नाममा यो व्रत बस्ने चलन छ ।


आइतबार बस्ने भएकाले यसलाई अट्वारी भन्ने गरिएको थारू समुदायका अग्रजको भनाइ छ । उनीहरूका अनुसार यो पर्वमा पुरुषहरू पानी पनि नपिई निर्जला व्रत बस्छन् । दिनभर भीमको पूजा गर्छन् । भोलिपल्ट बिहानै छोरीचेली भेट्न फलफूल र अन्य खानेकुरा लिएर उनीहरूको घर जाने गर्छन् ।


कोहलपुर नगरपालिका १२, चप्परगौडी बस्ने ४० वर्षीय हरिराम थारूले बाउबाजेदेखि अट्वारी व्रत बस्दै आएको बताए । उनले पनि १० वर्षको उमेरदेखि नै बाउबाजेको संस्कार पछ्याउँदै आएका छन् । घरमा भएका अरू पुरुष समेत सामूहिक व्रत बस्ने गरेको उनले बताए । चेलीबेटीको सम्मान, भ्रातृत्व, मनको शान्ति, घरका सम्पूर्ण सदस्यको सुस्वास्थ्य लागि व्रत बस्ने गरेको उनले सुनाए । उनका अनुसार अट्वारी पर्वको दिन बिहानै उठेर नुहाउने, घर लिपपोत गर्ने, सफा लुगा लगाएर पूजा आजमा लाग्ने गरिन्छ । पूजाका सरसामान जुटाउनेदेखि सरसफाइसम्ममा उनी आफैं सरिक हुन्छन् ।


उनका अनुसार पाँच पाण्डवका ‘भीम’
व्रतका मुख्य देवता हुन् । भीमको आराधना गर्दा घरका सदस्यको रक्षा हुने र शक्ति आर्जन हुने धार्मिक विश्वास रहेको उनले बताए । ‘पुर्खाले यसै भन्थे, त्यही संस्कार मान्दै आएका छौं,’ उनले भने, ‘मैले जाने बुझेको दिनदेखि अट्वारी व्रत टुटाएको छैन ।’ भीम देवताको नाममा ठूलो रोटी चढाउने चलन पनि छ । दिउँसो १२ बजेपछि चिनीपानी मात्रै खाने गरिन्छ । बेलुका सामान्य फलफूल खाएर भोलिपल्ट खाना खाने परम्परा रहेको उनले बताए । बाँसगढीका बाधु थारूले यसरी व्रत बस्दा पूजा गरेका फलफूल र रोटी छोरीलाई अनिवार्य चखाउनुपर्ने संस्कार रहेको बताए । उनी हरेक वर्ष हरितालिकाको दिन रोटी र फलफूल बोकेर छोरीको घर जाने गर्छन् । ‘छोरीको घर टाढा छ भने एकरात उतै बास बस्ने चलन पनि छ,’ उनले भने, ‘मचाहिँ फर्किहाल्छु ।’ पूजाको प्रसाद छोरीको मुखमा पारे पुण्य हुने विश्वास रहेको उनले सुनाए । अट्वारी व्रत १३ वर्षको उमेरका किशोरदेखि बुढापाकासम्मले बस्दै आएकामा पछिल्लो पुस्ताले भने बिस्तारै भुल्दै जान लागेको उनको गुनासो छ । व्रतको अर्थ, यसमा लुकेका ऐतिहासिक र धार्मिक मान्यताप्रति पछिल्लो पुस्ता बेखबर बन्दै गएकामा उनको गुनासो छ ।


चप्परगौडीका ११ का ५९ वर्षीय भोजु चौधरीलाई अट्वारी व्रत बसेर छोरीचेलीलाई प्रसाद पुर्‍याउन जाँदा निकै रमाइलो लाग्छ । हरेक वर्ष त्यही व्रतको प्रसाद आउँछ भन्दै छोरीले बाटो कुरिरहने उनले सुनाए । ‘मेरा तीन छोरी छन्,’ उनले भने, ‘तीनैलाई बाँडेर खुवाउँछु ।’ अट्वारी व्रतको प्रसादभन्दा पनि माइतीले सम्झेर भेट्न आउँदाको क्षणले कोहलपुर २ की फुलिया थारूलाई भावुक बनाउँछ । ‘दाजुभाइ हाम्रै लागि व्रत बस्छन् । भोलिपल्ट देवतालाई चढाएको रोटी ल्याएर भेट्न आउँदा फुरुंग नहुने त कुरै भएन,’ उनले भनिन्, ‘माइतीको माया मिसिएको रोटी खाँदा निकै खुसी लाग्छ । यसपटक कान्छो भाइ आउँछु भनेको छ ।’


थारू संस्कृतिका ज्ञाता एवं लेखक एकराज चौधरीका अनुसार विशेषगरी यो व्रतमा सूर्य र भीमको पूजा गरिन्छ । व्रतालुले बिहानै घर लिपपोत गरी चिटिक्क पार्छन् । दिनहुँ पकाइने भान्साभन्दा फरक ठाउँमा चुलो बनाएर पूजाका लागि ठूलो रोटी पकाउने तयारी हुन्छ । बिहान–साँझ चढाएको रोटी र फलफूललाई ‘अग्रासन’ भनिन्छ । टपरीमा छुट्याएको अग्रासन जसरी पनि चेलीबेटीलाई पुर्‍याउने चलन रहेको चौधरीले बताए । ‘माइती र चेलीबेटीबीचको सम्बन्ध गाडा बनाउन यो पर्वले सघाउँछ,’ उनले भने ।


उनका अनुसार यो पर्व कृषि प्रणाली र प्रकृति पूजासँग सम्बन्धित छ । किंवदन्तीअनुसार थारूहरू कुलो खन्न जाने बेला भीम देवताले ठूलो रोटी लिएर आएछन् । उक्त रोटी खाएपछि उनीहरूमा कुलो खन्न सक्ने शक्ति मिलेछ । त्यसपछि थारू समुदायमा भीमको पूजासँगै रोटी चढाउने परम्परा बसेको चौधरी बताउँछन् । उनका अनुसार एकतर्फी मात्र पकाइने रोटी भएकाले यसलाई ‘एक्करव रोटी’ पनि भनिन्छ । खेतीपाती सकिएसँगै किसानले मीठो मसिनो खाने मौसमका रूपमा पनि यो पर्व लिने गरिएको उनको बुझाइ छ ।

प्रकाशित : भाद्र १५, २०७६ १२:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?